काट्टो महिमा

काट्टो खुवाउँदा विभिन्न परिकारहरु बनाइ एक ब्राह्मणलाई दक्षिणा सहित पुजा गरेर ख्वाइन्छ । उसलाई आवश्यक लत्ता कपडा, आफ्नो गक्ष अनुसार सुन, चाँदी, जग्गा, खाना पकाउने सामाग्री, खाट, ओढ्ने ओछ्याउने देखि लिएर जति सकिन्छ सबै दान गरिन्छ । यस भूलोकमा दान गरे मृतकले उता पाउने विश्वासका साथ ।

ब्राह्मण कूलमा यदि तपाईको जन्म भएको छ र यदि तपाईलाई कसैले ‘ए काट्टे’ भनेर जिस्कायो भने त्यो भन्दा ठूलो अपमान तपाईका लागि केहि हुनै सक्दैन । अझ पण्डित र पुरेत्याइँ गर्ने कसैलाई भन्नु भयो भने त तपाईलाई त्यसले जीउँदो राख्छ कि राख्दैन भन्ने कुरामा उनै पण्डितले पुजा गर्ने राम या कृष्णलाई मात्र थाहा होला ।

फ्ल्यासब्याकमा आफुले थाह पाउने काट्टो शब्द प्रयोग भएको २०५८ साल तिरको हो । नारायणहिटि राजदरवार हत्याकाण्डमा वीरेन्द्रको सपरिवार सकिएपछि । त्यति बेलाको माहोल नै त्यस्तै । जब राजाको स्वर्गबासको खबर आयो, महिला, पुरुष, बालक, वृद्ध सबैले स्वइच्छाले केश मुण्डन गरेको देखिन्थ्यो । यहि क्रममा जब एघार दिनको पुण्य तिथी आयो, त्यो बेलामा यो शब्द धेरैले पहिलो पटक सुन्न पाए । ओहो राजाको काट्टो खाने बाहुनले त हात्ती, सुन, चाँदी, जग्गा जमिन देखि लिएर सबैथोक पाउँछन् रे । त्यतिमात्रै कहाँ हो र, राजकिय चौरासी व्यञ्जन समेत खाइ हात्तीमा चढेर हिँड्छन् रे । यस्तो समाचार त्यो दुःखद क्षणको बालमस्तिस्कमा रमाइलोपनको सञ्चार ल्याइदिनका लागि पर्याप्त थियो ।

ब्राह्मण कुलमा आफ्नै जन्म भएता पनि यो नयाँ कुरा कसलाई भनुँ वा कसको नाम राखुँ भनि त्यो बेलामा भएको कुतकुतीलाई शान्त गर्न स्कुलका विभिन्न साथीहरुको अनुहार मनमा खेलाउँदै स्कुल पुगियो । हाम्रो स्कुलमा धेरै साथीहरु नेवार मुलका थिए भने जातीय हिसाबले हामी चनाचटपटे जस्ता मिश्रित रुपमा थियौँ । हेर्दै जाँदा एक जना ब्रह्मण कुलमा जन्मिएका पनि हाम्रा कक्षामा थिए । अब के चाहियो र, विहानको प्रार्थना सकिएपछि लुसुक्क उसको बेन्चमा गएँ र त्यसलाई आज म तँ संग बस्छु है भनी फकाएँ । उसले पनि हुन्छ भन्ने संकेतले मुन्टो हल्लायो ।

त्यसपछि सुरु भयो फकाउने काम… “सुन् न मान्छे मरेपछि एघारौँ दिनमा खुवाउने चिजहरुलाई के भन्छन् थाह छ ?”

‘त्यस्ता श्राद्धमा कति गएको छु कत्ति’ उसको जवाफ थियो । कत्ति न सबै थाह पाएको जस्तो गरी भन्यो ‘काट्टो’ । ऊ थप्दै गयो, थाह छ त्यसमा त चौरासी व्यञ्जनदेखि लत्ता कपडा सबैथोक पाइन्छ नि ।

कुरा मोड्दै मैले भनेँ, “राजाको काट्टो खाने पण्डित पाइएन रे, तँलाई सबैथोक थाह रहेछ, म खान्छु भनि हात उठाउँदै जा न त, खान पाइस् भने चौरासी व्यञ्जन त पाइस् पाइस्, एउटा हात्ती पनि पाउँछस्, बरु हात्ती पाल्न नसके मलाई पाँच रुप्पेमा बेच्दे,”।

यति बोली भुँइमा झर्न पाएको थिएन, पण्डित बाजेको ताण्डव शुरु भइसकेको थियो । शान्त बस्न रुचाउने तिनी कतिबेला उग्रचण्डी र भैरवको समिश्रण बनिसकेका थिए, पत्तो पाउन मुश्किल परिसकेको थियो ।

“जा, तँ ह्याँ नबस्, अर्काे बन्चीमा गएर बस्,” भनि पाखुरा समाति उठाउन र कुट्न तयार भई गयो । हाँसोको बाढी थाम्न हम्मे हम्मे परेतापनि म अभैm जिस्काउने पक्षमा थिएँ, तर बोली फुस्के पो । रोक्न खोज्दा खोज्दै पनि खितिति हाँसो फुस्कि गो ! कक्षामा पढाइरहेका गुरुबाको ध्यान कुन बेलादेखि हामी दुइमै रहेछ, पछाडीबाट ढाड खुस्किने गरी ड्याम ड्याम दुइ बेतका लौरी ढाडमा बजारिसकेका थिए । एकातिर हाँसो, अर्का तिर ढाड खुस्किनेगरी खाको बेते लौरी, पिसाब नै चुहिएला जस्तो भो । त्यसपछि कुटाइ खाने पालो पण्डितजीको रहेछ । एक लौरी बजाइसकेपछि थाहा भयो सुम्लो उठेको पनि, पण्डितजी रुखबाट लड्न लाग्दाको बाँदरको जस्तो मुख पारी बक फुटाए, “मैले होइन, यसले के के भनेर मलाई जिस्काइराथ्यो ।”

शिक्षकसँग मुख लाग्छस् भन्दै शिक्षकले दुइ लौरो बढी ती पण्डितको ढाडमा बर्साए । एक त मैले नराम्रोसँग जिस्काएको, अर्काे शिक्षकको बेतको लौरी बेफ्वाँकमा खान परेको, ती बाजे आँखाबाट बलिन्द्र आँशु झार्दै पख् तँलाई स्कुल छुट्टी भएपछि घर जाने बेलामा जान्याछु भनेर मलाई खाउँला झैँ हेर्दै थियो ।

यसले बेलुका मार्नी भो भन्ने परिसकेको थियो । दिनभर त्यसले केहि नगरोस् भनी आफुले ल्याएको मिठो खाजा पनि बरु बाँडेर खानुप-यो र फकाउनु पर्यो भन्ने सुरले अनेक तिकडम प्रयोग गरियो तर त्यस दिन कुनै तिकडमले काम गरेन ।

घर फर्कने बेलासम्ममा त्यसले अर्कै केहि कुरामा भुलेर बल्ल बल्ल बाँचिएको थियो ।

भोलिपल्टबाट जिस्काउनका लागि कोड वोर्ड “का” ले मात्र पनि पुग्ने भइसकेको थियो । खुबै जिस्काइयो तिनलाई ।

पछि सोचेर ल्याउँदा किन त्यस्तरी जिस्काएँ झैँ लाग्छ । जब बुझ्ने भएँ तब यस विषयमा केही जान्ने उत्सुकताले खोजी गर्न थालें ।

मानिस जन्मेपछि उसका जीवनमा अनेकन आरोह, अवरोह हुन्छन् तर जीवनमा सबभन्दा महत्व राख्ने तीन कर्म हुन्छन् – जन्म, विवाह र मृत्यु । जन्म र विवाहका बारेमा भन्दा यहाँ चर्चा गर्न खोजिएको विषय अझ बढी रोचक छ । त्यो विषय हो हिन्दु धर्ममा मानिस मरिसकेपछि एघारौँ तिथिमा काट्टो खुवाउने चलन ।

यो चलन कहिले देखि र कसरी चल्यो भन्ने विषय यकिन छैन । मनिस बाँचुन्जेल उसले विभिन्न कर्म गर्दै आफु र आफ्नो सन्ततिका लागि दिन र रात एकै पार्दै सम्पति जोड्छन् । विहान बेलुका आफ्नो छाक काट्दै आफ्ना छोरा छोरीको भरण पोषणका लागि पसिनाका धारा बगाउँछन् । तर जब मृत्यु सैय्यामा पुग्छन्, उनका सम्बन्धि परिवारले उनी जहाँ पुगेका छन् त्यहाँ सम्पति नभइ दुःख नहोस् भनी यो दान गर्दछन् ।

काट्टो खुवाउँदा विभिन्न परिकारहरु बनाइ एक ब्राह्मणलाई दक्षिणा सहित पुजा गरेर ख्वाइन्छ । उसलाई आवश्यक लत्ता कपडा, आफ्नो गक्ष अनुसार सुन, चाँदी, जग्गा, खाना पकाउने सामाग्री, खाट, ओढ्ने ओछ्याउने देखि लिएर जति सकिन्छ सबै दान गरिन्छ । यस भूलोकमा दान गरे मृतकले उता पाउने विश्वासका साथ । मानिसहरुको जीवन चलाउने सबैभन्दा ठूलो कुरा विश्वास नै हो । यस चलन कसका पालादेखि कसरी चल्यो भन्ने आधिकारिक पुष्टि कतै भएको पाइदैन ।

शास्त्रमा बताइए अनुसार मानिस बिते पछि विभिन्न दिनमा विभिन्न संस्कारहरु गरिँदै आत्माको मुक्तिको कामना गरिन्छ । प्रत्येक दिन पिण्ड बनाई त्यसलाई पुजा गरिँदै उनको मुक्तिको कामना गरिन्छ । पहिलो दिनमा जलाईसकेपछि त्यहि पिण्डको माध्यमबाट मृतकको आत्मा यदि भड्किरहेको भए खान पाउँछ भन्ने चलन पनि छ । त्यसरी एघारौँ दिनसम्म आइपुग्दा यदि मृतक प्रेत योनीमा परेको छ भने त्यहाँबाट मुक्त हुनका लागि यसरी काट्टो खुवाउने गरिन्छ । यहि दिनमा मृतकले शुक्ष्म शरिर धारण गरि आप्mनो कर्म अनुसार भावी कर्म आँपैmले गर्छन् भन्ने पनि गरिएको छ ।

अचम्म छ मानिसको चोला ! अझ रोचक र आश्चर्यजनक कुरा त के पनि छ भने ऊ कहाँबाट आएको हो ? के गर्न आएको हो ? कसको कोखबाट जन्म लिने ? काम सकिएपछि यहाँबाट विदा भएर कहाँ जाने ?  यो सब अज्ञात नै रहन्छ । विभिन्न वेद, उपनिषद बेत्ताहरु शास्त्रमा उल्लेख भए अनुसारको अर्थ लगाउँछन् । तर यी सब फगत सूचना संकलन जस्तो मात्र हो किनकी न उनीहरु स्वयंलाई यो कुराको अनुभव र ज्ञान छ, न त कोहि यस भूलोक छोडिसकेका विद्वान फेरी फर्केर आएर बताएका छन् । अनौठो संसारको अनौठो रित !

फेरी काट्टोकै विषयमा जाउँ ।

कस्ता व्राह्मणले खान्छन् काट्टो ?

प्रचलन अनुसार जब कुनै व्राह्मणले काट्टो खान्छ, उसको जात जान्छ भनिन्छ । ऊ कुनै पनि धार्मिक कार्य गर्नका लागि विटुलो हुन्छ भनिन्छ । उसले चढाएको वा पुजेको जप, तपले भगवान प्रसन्न हुँदैनन् भन्ने जनविश्वास पनि छ ।

सबै व्राह्मणहरु धनी हुँदैनन् । उनीहरुको आ–आप्mनै कर्म हुन्छ । त्यहि कर्म गर्दै जाने क्रममा कोहि यति सम्म विपन्न हुन्छन् कि विहान खाए पछि बेलुका के खाने भन्नेसम्मको स्थितिमा पुगेका हुन्छन्, जो आफ्नो गरिबिका कारण अति नै कष्ट पाएका हुन्छन् र बरु जात गए जाओस् तर यो गरिविबाट भने छुटकारा मिलोस् भन्ने भावना पलाएका व्राह्मणहरुले आप्mनो आर्थिक उन्नतिका खातिर काट्टो खान थालेको हुनसक्छ । 

किंवदन्ति अनुसार जसले काट्टो ग्रहण गर्छन् उसले जसको नाममा काट्टो खाएको हो उसको जीउ पनि ग्रहण गर्छ भन्ने पनि जनविश्वास छ । काठमाडौँको चलन अनुसार राजाको काट्टो खाइसकेपछि जावलाखेलको काट्टेपाटीमा २ दिन विश्राम गर्न दिइ त्यहाँबाट डाँडो कटाइन्थ्यो, त्यो पनि चारपाटा मुडेर ।

काठमाडौँबाट ख्वाएर पठाएका त्यस्ता पण्डितले आफ्नो ३ पुस्ता सम्मलाई आफुले गर्दै आएको धर्म कर्म, गर्न नदिने पनि चलन छ ।

हाल आएर यस कुरामा विस्तारै परिवर्तन आइरहेको छ । त्यो बेला जस्तो हात्ती, सुन, असर्फि दिई चार डाँडा कटाउने चलन विस्तारै पुरानोे भइसकेको छ ।

चित्रकलाको सेतु

बेतलवी कुचिकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *