क्यानभासमा इतिहास कल्पिँदै

‘चित्रकलाले मूल रुपमा आनन्द दिन सक्नुपर्छ । यदि तपाइ कुनै चित्रमा घोत्लिनु भयो र तपाइको मनमा त्यस चित्रले छाप छोड्न सफल भयो भने हाम्रा लागि त्यो नै ठूलो उपहार र सम्मान हुनेछ ।’

केः नेपाल थ्रु द एजेज
कहाँः नेपाल आर्ट काउन्सिल, बबरमहल
कहिलेः भाद्र २० देखि आश्विन ०९ सम्म
कोः हरिप्रसाद शर्मा
प्रवेशः निःशुल्क

समयलाई ब्याकवार्ड गियरमा हिंडाई इतिहासमा जीउन पाइयो भने कस्तो महशुस होला ? यसपालीको आर्ट काउन्सिल बबरमहलको चित्रहरुमा घोत्लिदा त्यहि महशुस हुने पक्का छ । पाका उमेरका कलाकार श्री हरि प्रसाद शर्मा उमेरले आठ दशक भन्दा बढी कटिसकेका छन् । उनले यसपाली नेपाल आर्ट काउन्सिल बबरमहलको पहिलो र दोश्रो तलामा भइरहेको प्रदर्शनीमा पानी चित्र र तैलिय चित्रहरुले भरिभराउ करिव ४५ वटा चित्रहरु प्रदर्शनीमा राखिएका छन् ।

भुइतलामा तलामा प्राचिन नेवारी समाजलाई झल्काउने १७ वटा चित्र राखिएका छन् । अचेल प्रायः लोप भइसकेका नेवारी तथा नेपाली संस्कृतीका ती पाटाहरुलाई चित्रका माध्यमबाट सजिव बनाउन खोजेका छन् चित्रकारले । वैवाहिक कार्यक्रमहरुमा प्रायः  पञ्चेबाजा बजाई लिङ्गो ठड्याइ पुजा गर्ने चलन अचेल ब्यान्डबाजा र पार्टी प्यालेसले खाइसकेको सन्दर्भमा ती पहिलेको चित्रलाई जस्ताको तस्तै चित्राङ्कन गरिएको छ । नेपाली र नेवारी समाजमा पहिलेको समयमा बजाउने गरिएको पञ्चेबाजा र विवाहको रौनकलाई यस चित्रले जस्ताको तस्तै देखाएको महसुस हुन्छ ।

आजको पुस्तालाई किम्बदन्ती जस्ता लाग्ने त्यतिबेलाबा साँढेजुधाइ, सामान्य बाँडाको रहनसहन, जुवाको खाल, नङिनी, त्यतिबेलाका घरको अगाडिको चोक (बहा)मा जम्मा भइ घाम ताप्ने र आफ्नो काम गर्ने चलन, लुगा धुने इनार तथा राजा जयप्रकाश मल्लका कुमारीसँगको पासा खेल्दाका मणिमाणिक्य जडित चित्रहरुमा प्रकाश र कलाकौशलको सम्मिश्रणले अहिले नै बोलि हाल्छन् भन्ने भान पार्छन् ।

उमेर अंकहरुको जोड मात्र हो भन्ने कुरा प्रदर्शीत प्रत्येक चित्रहरुले इंगित गर्छन् । ८२ वर्षको उमेरमा पनि अझै कुची र रङहरुसँग बुबाले खेलिराख्नुपर्छ भन्दै झकझक्याउने उनका छोरा प्रा. विष्णुप्रसाद शर्मा बुवाको कला कौशलको व्याख्या गर्दा अझै बढी मुस्कान छर्छन् । ‘चित्रकलाले मूल रुपमा आनन्द दिन सक्नुपर्छ । यदि तपाइ कुनै चित्रमा घोत्लिनु भयो र तपाइको मनमा त्यस चित्रले छाप छोड्न सफल भयो भने हाम्रा लागि त्यो नै ठूलो उपहार र सम्मान हुनेछ ।’ प्राध्यापक शर्मा आफ्ना बुबाका कलाकृतिबारे भन्नुहुन्छ ।

माथिल्लो तल्लामा अझ बढी वैभवशाली चित्रहरु राखिएका छन्, सम्राट अशोक लुम्बिनी आउँदाको वैभव देखि प्राचिन शिखर शैलीको रानीपोखरीको विचको बालगोपालेश्वरको मन्दिर र ती स्थापनाकालका तान्त्रिक पुजाहरुको तस्विरले मन त्यसै त्यसै लोभ्याइदिन्छ । कुनै पुस्तकहरुमा लेखिएका अक्षरहरुलाई कल्पना गर्दा मस्तिष्कहरुमा दृष्यहरु त बनाइदिन्छन्, त्यही मस्तिष्कबाट निस्किएका दृष्यहरुसँग हुवहु साक्षात्कार गर्नका लागि नेपाल कला परिषद् बबरमहलमा यस पटक तपाइहरुलाई कुरिरहेका छन् ।

काठमाडौंको लगन गोफल टोलमा जन्मेका शर्मा, समाज, संस्कृतिक र इतिहासलाई बेजोड ढङ्गबाट क्यानभासमा उतार्न सफल भएका छन् । प्रत्येक चित्रहरुमा गहनतम अध्ययनहरु गरिएका छन् भने चित्रहरुसँग तिनीहरुको ऐतिहासिक वर्णन राखिएकाले कलाकारिता हेर्न झनै आनन्द आइरहनेमा दुईमत छैन ।

काठमाडौं शहरको परापूर्व कालको दृष्य र अहिले घरहरुको थुप्रोले कुरुप हुँदै गएका छन्, प्रदर्शनी हेर्न जानेले परापूर्व कालको सुन्दर कान्तिपुरी नगरीको कल्पना आफ्नो दिमागमा जीवन्त बनाउन सक्छन् । त्यतिबेलाको स्वच्छ, सफा र कञ्चन बागमती नदी, बागमतीबाट माटोको गाग्रोमा पानी बोकी घर गइरहेको दृष्य जीवन्त छन् । तर अचेल त्यही नदी पुग्दा नाक थुन्दै हिँड्नुपर्ने बाध्यतालाई सम्झिँदा प्रत्येक नेपालीलाई खिन्न लाग्न सक्छ । चित्रकलाले जीवन्त र यथार्थपरक ऐतिहासिक दस्तावेजको झल्को दिन खोजेको छ ।

समग्रमा हामी नेपाली पहिले कत्तिका धनी थियौं कला, संस्कृति र जीवनशैलीमा, कहाँ निर चुक्यौं ? अब हाम्रो शान उच्च गराउनका लागि के गर्न सकिएला भनि चित्रकला हेर्न आउने प्रत्येकलाई सोच्न बाध्य बनाउनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *