बेतलवी कुचिकार

“हजुर शुरुवात त एकजना कोहि न कोहिले गर्नै प-यो नि, जसले यो रोपेको हो, उसलाई त मतलबै छैन नि, होइन ? तर के गर्नु यहि काम गर्दा पनि कहिलेकाहिँ जेलमा परिँदो रहेछ ।”

काठमाडौँमा सुरुभएको बर्षा भदौ सम्म पनि टुङ्गिएको छैन । यस समयबाट काठमाडौँवासीले राम्रोसँग पानी परेको देख्न थाले । उखरमाउलो गर्मीलाई चिर्दै बादलहरुले आकाशबाट राम्रै वर्षा हुन सक्ने कुरा जल तथा मौसम विभागले जनाउँदै गर्दा बिना कुनै पूर्व सूचना एक्कासी धोबी चुट वर्षा हुन थाल्यो । काठमाडौँको बाटोमा वर्षा हुँदा भटभटे चलाउनेहरु वर्षाती ओढेर आफ्नो गन्तव्यलाई पछ्याउँछन् भने वर्षाती बिर्सने म जस्तो भूलक्कड चाहिँ  कहाँ तातो चियाको चुस्की लगाउन पाइन्छ भनि भटभटेको कानलाई बटार्दै रुझेको बिरालो हुन बाध्य हुन्छन् ।

त्यस्तैमा एक पसल अगाडि भटभटे फ्याट्टै रोकें र चिया पसलमा गएर चियाको अर्डर गरें  । निथु्रक्क भिजेको शरिरमा भिज्न बाँकि कुनै अंग थिएन, ‘साहुजी’ ले अनौठो मान्दै मलाई नियाले । आफु भने आफ्नै धुनमा चियाको पर्खाइमा बस्दै गर्दा सडकको पारी एकजना मानिस एक हातमा छाता र अर्काे हातमा कैँची लिइ खोलाकिनारामा लगाइएका रुखहरुका हाँगालाई काँँटछाँट गर्दै थिए । कटाइ गरिसकेपछि उनले सडकमा फालिएका चाउचाउ, परागका खोलहरु पनि फाल्न थाले । दृश्य अनौठो थियो र साहुजीलाई ती मान्छे को हुन् भनि जिज्ञासा राख्दा तिनीलाई पनि थाहा नभएको कुरा आयो ।

ती मानिस आफ्नै धुनमा काम गरिसकेर हातमा लागेको फोहरलाई सडकमा जम्मा भएको आहालमा हात कोचलेर सफा गरिसकेर सोही पसलमा चिया खान आए र मिठो चियाको अर्डर दिए । साहुजीले त्यहि भाँडोमा पानि, चिनी र दुध अलिकति थपिदिए ।

“म यो कैँचीलाई एकछिन यतै राख्छु है साहुजी, ” उनले हातमा भएको कैँचीलाई राख्नको लागि साहुजीको -याकमा हात बढाए र साहुजीले स्वीकारोक्ति दिए ।

अचम्मका व्यक्ति देखिएपछि स्वभाविक कौतुहलतावश कुरा गर्न मन लागिहाल्यो । कुराकानीको शुरुवात— “कस्तो जाँगरिलो हुनुहुँदो रहेछ है दाइ तपाई त ! यस्तो झरीमा नि सफा गर्दै हुनुहुँदो रहेछ नि ।”

“हजुर शुरुवात त एकजना कोहि न कोहिले गर्नै प-यो नि, जसले यो रोपेको हो, उसलाई त मतलबै छैन नि, होइन ? तर के गर्नु यहि काम गर्दा पनि कहिलेकाहिँ जेलमा परिँदो रहेछ ।”

“जेलमा !? तर कसरी ?” कौतुहलता साम्य पार्नका लागि फेरी प्रश्न सोधियो ।

“बाटो सफा गरेर नि ।” उत्तर आयो ।

“लौ बाटो सफा गर्दा पनि जेलमा परिन्छ र ? ” म प्रतिप्रश्न गर्छु ।

“परिँदो रहेछ भाई, रातीको २ बजे सफा गर्दा पुलिसले चोर ठानेर रातभरी मामाघरको छिँडिमा कोच्यो नि भाई, सायद मलाई पुलिसले अर्थोक नै सोच्यो होला ।”

“हाहाहा…. अनि राती सफा गर्दिनुहुँदो रैछ अनि के नसमातोस् त पुलिसले ।”

“त्यस्तो होइन भाई, कोहि न कोहिले त यसरी सफा गर्ने अभियान थाल्नु प¥यो नि । मैले गरेको काम कसैले नदेखे पनि भगवानले त देख्नुहुन्छ होला नि एकदिन ।”

कुराकानीले साँच्चै रसिलो मोड लिन थालिसकेकाले अर्काे एक कप चिया खाँदै कुराकानीलाई अझै अगाडि बढाइयो ।

सबै कुराहरु आफैंमा राम्रो या नराम्रोहुँदैन् । उनि थप्दै गए– बझाङको अति दुर्गम क्षत्रमा मेरो जन्म भएको थियो । गाउँको विद्यालयबाट एलएलसी परिक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न काठमाडौं पहिलो पटक वि.सं. २०४७ सालमा आएको थिएँ। पढाइमा अब्बल भएकै कारण सबै नातेदारले भने अनुसार नै त्रिचन्द्र क्याम्पसमा विज्ञान पढ्न भर्ना भएँ । त्यस ताका विज्ञान पढ्नु भनेको फलामको चिउरा चपाउनु जत्तिकै गाह्रो लाग्यो मलाई । मेरो नजिकै कलाकार मदनदास श्रेष्ठ बस्नुहुन्छ उहाँसँग पनि घनिष्ठ थिएँ । उहाँको बस्ने, खाने, फुर्सदको बेलामा तास खेलेर दिनचर्या व्यतित हुन्थ्यो ।

विस्तारै पढाइको असफलताले  मलाई आध्यात्मिकतातिर धकेल्न थाल्यो । सबैतिरबाट आएको दबाबको बाबजुद म विस्तारै इसाइ धर्ममा छिरें ।

इसाइ धर्मलाई अवलोकन गरेपछि विस्तारै म इस्लाम धर्म तिर लागेँ । इस्लाम धर्मममा ‘खतना’ नगरिकन एक सच्चा मुस्लिम हुन नपाउने नियम रहेको थाहा पाएँ । त्यसपछि मुस्लिम धर्मलाई परित्याग गर्दै राधे राधे तिर लागेँ । भारतको राधे राधे आश्रममा पाँच वर्ष विताएँ र त्यहाँ रहँदा मलाई नचिन्ने कोही पनि थिएन । त्यसपछि जब म नेपाल फर्किएँ, त्यस बेलामा दशैं चलिरहेको थियो । तिहारको टिका थापी वरी त्यही रात मलाई काठमाडौंको फोहोर सफा गर्ने जाँगर चल्यो । किनकी त्यही दिनको भोलीपल्ट म भिक्षु बन्न जाने निर्णयमा पुगिसकेको थिएँ । समाजलाई कुनै न कुनै रुपमा आफुले सकेको सहयोग गर्नुपर्छ र त्यस काममा म निरन्तर लागिनै रहनेछु र त्यो निरन्तरताको एक क्रम मात्र थियो ।

सोही रात जब म घरको बाहिर तिर बसिरहेको थिएँ, गस्तीमा आइरहेका पुलिसले घरमा पठाउन खोजेको थियो, तर म बाहिर बस्न मन गरिरहेको थिएँ तर मलाई भ्यानमा उठाएर चौकी लग्यो ।

रातभरको छिँडीको बासमा मलाई पुलिसले दिमागी सन्तुलन विग्रेको बहुलाहा ठाने जब पछि कुराकानी भयो । मलाई ससम्मान भ्यानमा राखेर भोलिपल्ट मेरो घरमा लगेर छाडिदिए । त्यसको भोलीपल्ट म भिक्षु बन्न हिँडिहालेँ ।

जीवन आफैंमा सुन्दर छ र अझ सुन्दर पार्नका लागि जीउने कला विभिन्न धार्मिक सम्प्रदायमा लागेर सिक्नुपर्छ । भिक्षु बनिरहेका बेला मलाई विहारमा मेरो भतिजाको फोन आयो । जसलाई मैले यदि ऊ विदेश गयो भने उसका बाबु आमा  (मेरा दाजु भाउजु) लाई हेर्छु भनी वचन दिएको थिएँ । त्यसैले मैले भिक्षुको जीवन च्वाट्टै छोडि अहिले दाइ भाउजुको सेवा गरेर बस्दैछु, किनकी सेवा नै परम धर्म हो । कुनै दिन यदि मेरो भतिज फर्केर आयो भने म फेरी भिक्षु बन्न जानेछु ।

चित्रकलाको सेतु

काट्टो महिमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *