नर्सरीका नाइके

करिव २० रोपनी जतिको क्षेत्रफलमा फैलिएको नर्सरीमा पहिले विदेशीहरुले विभिन्न प्रजातीका ६ लाख जति विरुवा वितरण गर्ने गरिएकोमा हाल मुस्किलले वर्षमा डेढ लाख जति विरुवा वितरण हुने गरेको सूचना पनि त्यही काम गर्ने एकजनाले बताए । र, धुपीको बुटो लिनका लागि एक जना बुढा बन नाइके छन्, तिनको स्वीकृतिमा मात्र दिने गरिएको कुरा पनि उनले थपे ।

केही समय अगाडि बारीमा लगाउनका लागि धुपीको बोट ल्याउने सल्लाह भएको थियो । तर, धुपी कहाँ पाइन्छ भन्ने कुराको केही अत्तो पत्तो थिएन । एउटा बोटको २०० रुपैयाँ सम्म पाए हाल्ने विचार गर्दै यता उतै भौतारिने क्रममा, एकजना नर्सरीका मानिससँग सोध्दा त्रिभुवन विश्वविद्यालयको गेट भन्दा अलि माथि बायाँ तिर एउटा नर्सरी छ, त्यहाँ पाइन्छ भन्ने सूचना पाइयो । उनका सूचना पछ्याउँदै मोटरसाइकलको कान बटार्दै त्यतातिर लागियो ।

त्रि.वि को गेटबाट अलिक अगाडि लागेपछि दायाँ तिर एउटा नर्सरी देखियो, मूल द्वारदेखि भित्रको भवनसम्मै लस्करै धुपी लगाएको देखियो । त्यति देखेपछि पक्का यहाँ पाइन्छ भनी आनन्द मान्दै त्यहाँ कार्यरत मानिसहरुसँग कुरा गर्दा धुपीको बोट चाहिएको भए, चाल्नाखेलमा सरकारी नर्सरी छ, त्यहाँ पाइन्छ भन्ने अर्को सूचना पाइयो । बतासजस्तो मन त्यहाँ पुग्न फेरी अर्काे उडान भर्न भरियो र भटभटेको कान बटार्र्दै त्यतै लागियो ।

सुख्खा बन्दरगाहको धुलाम्मे बाटो हुँदै अलि माथि पुगेपछि पिच बाटो शुरु हुँदै अगाडि बढेपछि चाल्नाखेलको चौतारो देखियो । धन्न चौतारो बाटोको छेवैमा रहेछ, बाटोमै परेको भए चौतारो पनि बाटोमा परिणत भइसकेको हुन्थ्यो होला,  विकास जो गर्नु छ देशको । उक्त चौतारोबाट अलिकति अगाडि हिंडेपछि एउटा बाटो दक्षिणकाली तर्फ मोडिन्छ भने बायाँतर्फको सानो बाटो नर्सरी तर्फ जाँदो रहेछ । कच्चि बाटोमा भटभटेको कानलाई संयमित ढङ्गबाट बटार्दै केही मिनेटमा बाटोको दायाँपट्टि रातो गेटबाट भित्र जँगलको छेउमा फैलिएको बन नर्सरी भेटियो । 

माटो राख्ने प्लास्टिक तयार गर्दै महिलाहरु

करिव २० रोपनी जतिको क्षेत्रफलमा फैलिएको नर्सरीमा पहिले विदेशीहरुले विभिन्न प्रजातीका ६ लाख जति विरुवा वितरण गर्ने गरिएकोमा हाल मुस्किलले वर्षमा डेढ लाख जति विरुवा वितरण हुने गरेको सूचना पनि त्यही काम गर्ने एकजनाले बताए । र, धुपीको बुटो लिनका लागि एक जना बुढा बन नाइके छन्, तिनको स्वीकृतिमा मात्र दिने गरिएको कुरा पनि उनले थपे ।

अग्लो कद, दौरा सुरुवाल लगाएका, निधारमा यू आकारको टिका लगाएका रसिला, दिलबहादुर कुँवर नाम गरेका मानिस त्यहाँका बन नाइके रहेछन् ।

‘साँढे चार बीस’ कटेका उनी नर्सरीमा कृयाशिल र उर्जावान तरिकाले त्यहाँ काम गर्नेहरुलाई काम सिकाइरहेका थिए ।

नर्सरीले ओगटेको क्षेत्र देखाउन जानुहुँदै नाइके

उनलाई हेर्ने वित्तिकै हाँसि मजाक र कुराकानीको सुरुवात गर्दै ‘अगाडिका दाँत त झरेछन् नि बा ?’ भन्नेप्रश्नमा उनको जवाफ थियो– ‘अब मासु चपाउने दिन पनि त सकिँदै गएको छ नि बाबु भने ।’

हामीलाई धुपीका बोट चाहिएको छ । के छ त बा दिन मिल्छ ? उनी मुसुक्क हाँस्दै यहाँ सम्म आइसक्नुभयो, कहाँबाट आउनुभएको ? अहिले त धुपी दिन मिल्दैन भनेर अर्कोतिर जान लागे ।

तै पनि कोट्याउँदै कुरा गर्दै जाँदा उनले धेरै दिन नमिले पनि र्दुइवटा बोटसम्म दिन सकिने बताए । ‘नहुनु मामा भन्दा कानो मामा जाती’ भने जस्तै दुईवटा मात्र भए पनि दिनुहोस् न भने पछि उनले लौ पछि लाग भनि धुपीको विरुवा भए तिर लिएर गए ।

‘हैन बा, यत्तिका वर्ष सम्म त्यही पहिलाको घ्यू खाएर होला है तगडा भएको ?’ उनि भन्छन् काम गर्ने मानिस धेरै लामो समय बाँच्छन् । अहिले पनि म विहान बेलुका नाती पनाती खेलाएर दिउँसो यही काम गर्छु ।

नर्सरीका नाइके

उनि थप्दैगए, उहिलेका मानिसहरु गाइवस्तुको मल खेत बारीमा हाली त्यहाँबाट उब्जेका अन्न खाएकाले निरोगी भएका हुन्, अहिले त नयाँ नयाँ के के जाती मल प्रयोग भइ अन्नहरु पनि चाँडै उत्पादन हुन्छन् र हलक्क बढ्छन् । तीनले स्वास्थ्यमा विभिन्न नकारात्मक असरहरु गर्छन् अनि मानिसहरु पनि चाँडै मर्छन् जस्तो लाग्छ ।मैले २०७२ सालसम्म घरमै गाई पाली दुध, घ्यु खाने गरेको थिएँ । पहिलाको चामल, रायोको साग पकाउँदा पड्काएको खुर्सानीको वास्ना गाँउभरि फैलिन्थ्यो । अहिले कहाँ पाउनु त्यस्तो बास्ना आउने चामल, खुर्सानी र रायोको सागहरु । अहिलेका त जर्कटा, खाँदा पनि स्वाद नलाग्ने तरकारीहरु मात्र उत्पादन हुन्छन् ।

पहिलेका मानिसले खाने भनेको दुध, दही, मोही, घ्यू त हुन् नि ! त्यही खाएकोले अहिले सम्म हृष्ट पुष्ट नै छु । अझ भन्ने हो भने आजभोली त म चियाको अम्मली भएको छु । दिनमा तीन–चार कप नभइ हुँदैन ।

चिया पहिले कहाँ पाउनु । मान्छेहरु दूध त वेच्दैनथे, जति दूध उत्पादन हुन्छ पिउथेँ र बाँकी घ्यू बनाउँथे । ती घ्यूका बास्ना कति हररर आउँथे ।

नर्सरीमा हुर्कंदै गरेका विरुवाहरु

२००३ सालतिर जब म १८ वर्षको भएँ , पल्टनमा जागिर खान भर्ना भएको थिएँ । मेरो भर्ना हुने फी ५ रुपैयाँ थियो । अहिले सम्झन्छु हाँसो उठ्छ । बा सँग खर्च माग्दा चार आनाको पाँच पैसा हुने र पाँच पैसाले नपुग्दा आठ आना(दस पैसा) माग्थेँ । त्यतिले कत्रो खर्च टथ्र्यो । त्यो बेलाको पैसा पो पैसा । अहिलेका पैसा खोस्टा जस्ता छन् बाबु । हेर्दा ठूला, किन्न गयो केही पनि नआउने ।

पल्टनमा जागिरको क्रममा २००७ साल तिरको आन्दोलनमा म भैरहवा तिर थिएँ । प्रजातन्त्र आयो भनी खुसी मनाउँदै गर्दा, आफुलाई तातो न छारो जस्तो लाथ्यो । त्यहाँ १० वर्ष काम गरिसकेपछि घरायसी कामले गर्दा पल्टनको जागिर छोडेँ । यतै आएर कहिले गोठ त, कहिले घर गर्दै केही समय विताएँ ।

त्यो बेलामा अहिलेको जस्तो यातायातको सुविधा पनि थिएन । जता जाँदा पनि हिँडेर जानुपथ्र्यो । चाल्नाखेल देखि टुँडिखेल म दुई घण्टामा पुग्थेँ । मानिसहरु सबैको कथा व्यथा एउटै, नहिँडि नहुने । गाडि भए पो चढ्ने, अहिले पो सररर गाडिमा घुइकिन्छन् ।

उनिसँग कुरा गर्दै जाँदा उनले नर्सरीमा कस्ता माटो प्रयोग गर्दा रहेछन् भन्ने जिज्ञासामा उनको जवाफ थियो । नजिकैको जंगलबाट चार इन्ची जति नापेर त्यो सतहको माटो उठाइन्छ  र डोकोमा ल्याएर नर्सरीको माटो राख्ने कक्षमा राखिन्छ । तीन चार महिना राखेपछी सड्छ र कुहिन्छ त्यसपछि राम्रो मल बन्छ । त्यसलाई पछि निकालेर छान्दै चार सावेल माटोमा दुई सावेल बालुवा मिसाइ त्यही माटोमा विरुवा उमारिन्छ । यसरी विरुवा उमार्दा विरुवा हलक्क बढ्ने र राम्रो हुनेहुन्छ ।

नर्सरीका विरुवाहरु

त्यति बेला धेरै पढ्ने चलन थिएन, त्यसैले मैले सबै सिकेका कुराहरु मेरा अनुभव हुन् । कहिलेकाही तपाइजस्ता मानिसहरु, तालिम दिन र अर्को नर्सरीबाट विरुवा लिन यहाँ आउँछन् । मैले तालिम दिएका, मेरा नर्सरीबाट विरुवा लगेका मानिसहरुले विरुवा सरेको कुरा फोन गरेर बताउँदा औधी खुसी लाग्छ ।

अहिले त बाबु विकास बेसमारी आयो, जिल्ला जिल्लामा बन नर्सरीहरु छन् । त्यसैले मै बुढो बसेको यो गोठ चौरको नर्सरीमा पहिले जस्तो मानिसहरु आउँदैनन् । नआए पनि के छ र ? कोही आउन् या नआउन्, म पानी जस्तै बगिरहन्छु ।

पानमार चुरोटको सर्को

टाउकाको मोल तोकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *