टाउकाको मोल तोकियो

बन्दुक पड्काउने कांग्रेस थिए । तीन नम्बरका राई किराँतहरु थिए । बुस्ती बेसी भन्ने ठाउँमा हाम्रो खेत थियो । उनिहरु त्यही बस्ने भए । तर उनिहरुको लागि खानाभन्दा पनि पकाउने भाँडाको समस्या परेछ । कांग्रेसी पनि डङ्गुरै थिए, करिब ४-५ हजारको फौज थियो होला ।

पहाडको बसाइ खेती र पशुपालन गर्नुपर्ने त्यतिबेलाको समय । वि.सं. २००१  पिताजीको देहवसान हुँदा म सात वर्षको थिएँ । आमाको काखमा हुकिएको म । २००७ सालमा देशमा प्रजातन्त्र आउँदा म १४ वर्षको ठिटो थिएँ ।

बैशाख जेठ तिरको कुरा होला गाउँमा कांग्रेस आउने भयो रे भनेर खुब हल्ली खल्ली थियो । किन आउने ? के का लागि आउने ? भन्दा प्रजातन्त्रको लागि रे भन्थे । आफुलाई भने के हो प्रजातन्त्र केही थाहै थिएन ।

त्यस्तै कुरा गाउँमा चलिरहँदा रामेछापबाट शुरु भएको कांग्रेसको मोर्चा दोलखाको चरिकोट आइपुग्यो । लस्करमा दङदङदङ बन्दुक पड्किए । निरन्तर पड्केको पड्क्यै भए । एकदमै कुहिरिमण्डल भयो । नाम्दुबाट हेर्दा आकासमा धुँवाको कुहिरिमण्डल देखिन थालेको थियो । मेलुङदेखि तलका सबै ठाउँमा बन्दुक पड्काएकोले त्यस्तो दृष्य देखिएको थियो । अब कुहिरो मेलुङमा मात्र सिमित रहेन । त्यो चरिकोट सम्म देखियो । आफुलाई भने साह्रै रमाइलो लागेको थियो त्यतिबेला । 

बन्दुक पड्काउने कांग्रेस थिए । तीन नम्बरका राई किराँतहरु थिए । बुस्ती बेसी भन्ने ठाउँमा हाम्रो खेत थियो । उनिहरु त्यही बस्ने भए । तर उनिहरुको लागि खानाभन्दा पनि पकाउने भाँडाको समस्या परेछ । कांग्रेसी पनि डङ्गुरै थिए, करिब ४-५ हजारको फौज थियो होला ।

नेपालका गाउँमा अहिले त खान–लाउन दुःख छ त्यतिबेला कस्तो थियो होला तपाईं अनुमान लगाउनुहोस् न ! गाउँमा त्यत्रालाई पकाउने भाँडा कमैका घरमा हुन्थे । हाम्रा बाजे त्यतिबेलाका डिठ्ठा, हाम्रामा दुईचारवटा ठूला खालका खड्कुला थिए । त्यही जोहो गरेर उनीहरुले हाम्रा खेतमा बसेर भात पकाएर खाएका ।

***

मेरा बाजेका तीन श्रीमती । तीन श्रीमतीबाट जन्मेका १७ भाइ छोरा र १९ वटा छोरी थिए । मैले काका भन्नुपर्ने । यज्ञप्रसाद काकाको छोराको विहेमा सुनखानी गएका थियौं। करिव ५०-६० जनाको जन्ति लिएर, त्यसलाई कुम्ले विहे भनिन्थ्यो । भोलिपल्ट दुलही लिएर फर्किँदा बाटामा जन्ति बाख्रोपनि खायौं ।

तामाकोसीको नागदह भन्ने ठाउँमा मान्छेहरु आइरहेका थिए । गैरीमुदीमा माइलाबा बस्नुभएको थियो । उहाँ पनि डिठ्ठा हुनुहुन्थ्यो । अर्का विष्णुप्रसाद थिए राजनीतिमा हिँड्नुभएको ।

कांग्रेसीहरुले पड्काएका बन्दुकको आवाजसँगै गाउँमा प्रजातन्त्र आइरहेको थियो । तर त्यतिबेला गफमा मात्र सिमित प्रजातन्त्र केही समय पछाडि गाउँमानै आयो । फौज अब गाउँमा आउने भयो । गाउँमा कुराहरु चल्न थाले । कांग्रेसले त आइमाइहरुलाई बलात्कार पनि गर्दा रहेछन् भनेर । घरका आइमाइलाई एकै ठाउँमा जम्मा गरेर देवीको ठाउँमा हजार जना अट्ने ढाँडमा राखियो । म भने देवीको थानबाट तल झरेँ । त्यतिबेला बस्तुभाउ धेरै थिए । करिब पचासवटा बाख्रा, ३०-४० वटा गाइ भैँसी थिए । त्यतिखेर हाम्रामा गोठालेहरु पनि थिए । तर कांग्रेस गाउँ पसेको भनक पउने वित्तिकै उनिहरु पनि कता लागे कता ।

बाख्राहरु १७–२७ को मदानमा हुलिदिने गरिएको थियो । अब कांग्रेस जो गाउँ छिरेको थियो । अब त उसले सबै बाख्रा, खसी, बोका खाने भयो । गाउँमा त कांग्रेसले मानिस त छोड्दैन भन्थे अब पशु कहाँ छोड्थ्यो । लुकाउने ठाउँ पनि थिएन । जुक्ती लगाएँ, मतानबाट छुट्याएरतल्लो तलामा ६ वटा खसी राखियो । करिब १७/१८ धार्नीका थिए ती खसीहरु । कांग्रेसहरु गाउँको माथिबाट ह्वाररर ह्वारररती आए । मान्छेदेखेपछि खसी कराइहाल्यो ।

नाम्दुमा तामाङको बस्ती थियो । उनिहरुलाई जाँड रक्सी चाहिने, उनिहरु जाँड रक्सी खाएर टनाटन भएर झरेका रहेछन् । त्यसपछि उनिहरुले भन्न थाले–‘लौ यहाँ खसी चाहियो, खसि दिनु प-यो ।’ मैले जवाफ फर्काएँ–‘यहाँ खसी छैनन् हजुर बाख्रा मात्र छन् ।’

मेरा कुरा के सुन्थे, हातमा बन्दुक जो बोकेका थिए । ढोका खोल भने । ढोका खोलिदिएँ, माथिपट्टि बार्दली जस्तो थियो, घुमेको । बार्दलीमा हिँड्दा त्यसको तल राखेका सबै खसी माथि हेरेर कराउन थालिहाले । त्यसपछि उनिहरुलाई के चाहियो र ? यहाँ तल खसी राखेको रहेछ त, यो फटाहा रहेछ । खसी निकाल, हामीलाई लैजानु प¥यो भने । खसी मात्रले के मान्थ्यो र ? घरमा भएको एउटा भयंकर राँगो थियो त्यो पनि लिएर गए । उनिहरुका हातमा बन्दुक, त्यो पनि भरुवा । उनिहरुसँग धन्न राइफल रहेनछ भनेर म दङ्ग परेँ । पछि पो थाहा पाएँ, उनिहरुसँग राइफल पनि रहेछ । त्यही राइफलको प्रयोगबाट चरिकोटमा करिब दुई हजार देखि पच्चीस सय जति मान्छे मारे । मेरा लागि उनिहरुसँग राइफल रहेको गतिलो प्रमाण सावित भयो त्यो घटना ।

मेरा घरबाट त्यसरी खसी, राँगा लिएर जाँदा मलाई कुनै दुःख लागेन । त्यतिबेला तीन नम्बर ओखलढुङ्गा, चार नम्बर भोजपुर ।त्यहाँ मानिसहरु प्रजातन्त्रका लागि बन्दुक पड्काउँदै हिँडेका अब भात खान दोलखा आएका मान्छे भात खानकै लागि उतै त जाँदैनन् नि ?  जहाँ पुगेका हुन्छन्, त्यही मागेर खानुपर्ने हो । मलाई त्यतिबेला यस्तो खाले सोच कहाँबाट आयो थाहा भएन । म सँग चामल पनि मागे । हाम्रामा त्यतिबेला दुई देखि अढाइसय मुरी धान हुन्थ्यो र ‘रसद पानी दिनुपर्छ तेँले दे’ भनेर उनिहरुले भने । २० मुरी चामको माग भयो ।

मैले सहर्ष स्वीकार गरी गाउँलेहरु बोलाएर सबैलाई दश दश पाथी धान कुट्न लगाएँ, करिब तीस मुरी धान कुटियो । सबैले घर घरमा धान लगेर ढिकीमा कुटेर चामल ल्याइदिए । करिब चौध मुरी चामल भयो । त्यही चामल, राँगा, खसीसँगै १८ जोर परेवा लिएर उनिहरु त्यहाँबाट निस्के ।

***

मेरा काकाको टाउकोको मोल तोकियो, पछि जब साम्य भयो त्यसपछि काका शैलुङमा हुनुहुन्थ्यो । त्यतिबेला उहाँ मेरो काका डेढ वर्ष बङ्करभित्र बसेर वित्नुभयो । उहाँको टाउकोको मोल तोकिएको थियो  । पराल हालेर, खाल्डो खनेर भित्र बस्नुभयो । उनलाई आफ्ना छोरा छोरीले लुकाएका हुन् । उहाँलाई कालुमान भन्थे, तर उनको नाम रामप्रसाद थियो ।

हाम्रा पुर्खाका तीन भाइ नाम्दुबाट धुलिखेल र धुलिखेलबाट कुमाउगढ गएका, पृथ्वीनारायण शाहको पालामा हाम्रा जीजुबाजे पुरेत रहेछन् । अहिले हामी चौध पुस्तामा छौं । हाम्रो बंशावलीले पनि त्यसलाई प्रमाणित गर्दछ । विश्वेश्वर, रामनाथ र गौरीकान्त मध्ये हाम्रा हजुरबा गौरीकान्त हुन् । बाजे पवटीबाट नाम्दु गएका रहेछन् । उनका तीनवटी श्रीमतीबाट जन्मेका १७ भाइ छोरा ।

त्यतिबेला हाम्रा बारेमा गीत पनि गाउँथे ‘जगन्नाथ डिठ्ठाका सत्र भाइ छोरा कोही नेपाल कोही काँशी पोखरा’ भनेर ।

वि.सं. २०१२ सालमा गोर्खापरिषद्को सँगठन भयो । त्यसमा हाम्रो दाइ पनि हुनुहुन्थ्यो । त्यतिबेला बसेको वैठकमा म सामेल भइन, मलाई कसैले बोलाएको पनि थिएन । उनिहरुको गोप्य मिटिङ हो कि भनेर म गइन र घरमै बसिरहेँ ।

त्यस बैठकमा विष्णुप्रसाद र ढाल बहादुर खड्का भन्ने साथीहरु सामेल थिए । भेडो पनि काटिएको थियो । बेलुका रघुनाथ जीले भन्नुभयो –‘तपाईं त्यस मिटिङमा नजानु भएर ठिक गर्नुभएछ ।’ मैले प्रतिप्रश्न गरेँ–‘किन ठिक गर्नुभयो भनेको ?’ उहाँको उत्तर थियो–‘राणाहरुलाई हटाउनै भनेर प्रजातन्त्र ल्याएको, तपाईं लाग्ने नै हो र राजनीतिमा इच्छुक हुनुहुन्छ भने नेपाली कांग्रेसमा लाग्नुस् ।’ त्यतिबेला दोलखाको गैरीमुदी, नाम्दु, क्षेत्रपा, ठूलापातला गरी चार ठाउँमा कांग्रेसको झण्डा गाड्न विष्णुप्रसादले दिनुभएको थिएन । उनि गोर्खापरिषद्मा जो थिए । तर मैले विचार गरेँ, सोचेँ । म भन्दा जेठो भवानी प्रसाद घिमिरे भन्ने एक जना हुनुहुन्थ्यो । उहाँले नेपाली कांग्रेसमा लागेर काम गरौं भन्नुभयो । अर्का नेत्र प्रसाद दाहाल हुनुहुन्थ्यो । हाम्रो सहमति भयो र तीन जना मिलेर नेपाल कांग्रेसमा लागियो ।

(प्रजातन्त्र सेनानी श्री दुर्गाप्रसाद उप्रेतीसँगको कुराकानीमा आधारित )

पानमार चुरोटको सर्को

नर्सरीका नाइके

Leave a Reply

Your email address will not be published. Required fields are marked *