चित्रकलाको सेतु

भारतको सर्वभारत संगीत तथा संस्कृति परिषद् बंगलादेशको छायाँनाथ (स्याडो प्लेयर्स) र नेपालको नेपाल सोसाइटी अफ मोडर्न आर्टको संयुक्त आयोजनामा प्रदर्शित चित्रकलामा नेपाल, भारत र बंगलादेशका चित्रकारहरुको उपस्थिति रहेको छ ।

भिन्न भिन्न ‘प्यासन’ भएका मानिसहरु यस संसारमा छन् । आफ्ना प्यासनलाई मर्न नदिन उनिहरु निरन्तर साधनारत रहन्छन् । कला साधनाबाट निखारिन्छ र त्यसले जीवन्तता पाउँछ । चित्रकला पनि एउटा यस्तो विधा हो जसको निरन्तर साधनाले मानिसहरु चित्रकार कहलिन्छन् ।

आश्विन महिनाको ३० गते देखि कार्तिकको ३ गते(१७ देखि २० अक्टोबर २०१९ तारिख) सम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी भइरहेको चित्रकलाले नेपाल, भारत र बंगलादेशको कला संस्कृतिलाई जोड्ने काम गरेको छ । भारतको सर्वभारत संगीत तथा संस्कृति परिषद् बंगलादेशको छायाँनाथ (स्याडो प्लेयर्स) र नेपालको नेपाल सोसाइटी अफ मोडर्न आर्टको संयुक्त आयोजनामा प्रदर्शित चित्रकलामा नेपाल, भारत र बंगलादेशका चित्रकारहरुको उपस्थिति रहेको छ । चित्रकला प्रदर्शनीको उद्घाटन नेपालका लागि बंगलादेशी राजदूत मस्फी विन्त साम्सले गर्नुभएको थियो । कार्यक्रममा भारतीय दूतावास मिसनका उप प्रमुख डा. अजय कुमारको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालका लागि बंगालादेशी राजदूत साम्सले चित्रकलाले संस्कृति र जीवनलाई राम्रोसँग बुझ्न सकिने कुरा औंल्याउँदै सबै कलाकारहरुलाई बंगलादेशमा पनि आगामी दिनमा यस्तै कार्यक्रम हुनुपर्ने बताउनुभयो ।

भारतीय दूतावास मिसनका उप प्रमुख डा. अजय कुमारले सर्व भारत संगीत तथा संस्कृति परिषद्को कार्यको सराहाना गर्दै यस्तो किसिमको संयुक्त चित्रकला प्रदर्शनीले विभिन्न राष्ट्रका संस्कृतिलाई अझ राम्रोसँग घुलमिल गर्ने मौका मिल्ने बताउनु भएको थियो । यस चित्रकला प्रदर्शनी आउँदा वर्षहरुमा गरिने प्रदर्शनीको खम्बको रुपमा विकास हुने कुरा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सर्वभारत संगीत तथा संस्कृति परिषद् भारतमा १९७६ मा स्थापित संस्था हो । यसले विगत लामो समयदेखि कला, संस्कृतिलाई बचाइराख्नका निमित्त विभिन्न कलेजहरु खोलि योगदान प¥याउँदै आएको छ । हाल यस संस्थामा पाँच लाख भन्दाबढी भारतका विभिन्न भूभागमा विद्यार्थीहरु अध्ययनरत रहेको कुरा त्यस संस्थाका एसिस्टेन्ट सेक्रेटरी सान्तनु सेनगुप्ताले उक्त उद्घाटन कार्यक्रममा जानकारी दिनुभएको थियो ।

आयोजकका तर्फबाट चित्रकला प्रदर्शनीमा जम्मा ७२ जना कलाकारका ९९ भन्दा बढी चित्रकला प्रर्दशनीमा राखिएको र नेपालका १३, भारतका ५५ र बंगलादेशका ४ कलाकारहरुको उपस्थिति रहेको कुरा त्यहाँ उपस्थित चित्रकार शंकर राज सिंह सुवालले जानकारी दिनुभयो ।

म मेरा सपनाहरु तिम्रा खुट्टा मुनि विछ्याउने छु
त्यसमा तिमी विस्तारै टेक किनकी
ती मेरा सपनाहरुहुन् जहाँ तिमी ट्क्दैछौ ।
– डब्लु. वी.एट्स

साँच्चैनै एक कलाकारको सपना भनेको उसका कृतिहरु नै हुन् । त्यही सपनालाई पछ्याउँदै बंगलादेशका हाट बजारका चित्रहरु हुन् वा लह लह सितल बतासमा झुल्दै गरेका पहेंलपुर धानका बारीहरु, यी सबै चित्रले हेर्ने आँखामा आनन्दको भाव जगाइदिन्छ ।

पश्चिम बंगालका विश्वनाथ दासले बनाएका खजुराको चित्रकला अहिले नै क्यानभासबाट बाहिर निस्कि बोलि हाल्छ कि भन्ने भान हुन्छ । नेपालमा रहेका टुँडालहरुमा गहन अध्ययन भइ नसकेको अवस्थामा भारतको यस जीवन्त खजुरा चित्रले सबैको मन एक पटक तान्ने पक्का छ ।

त्यसैगरी अर्को अचम्म लाग्ने चित्र विनय दुलाइ नामक भारतीय चित्रकारको छ । उनले बनाएको चित्रलाई ‘काउब्वाइ’ नाम दिइएको छ । जसमा एक बालक भैंसीमाथि चढेर रमाइरहेको छ भने उनका पछाडि तीनवटा भैंसीहरु रहेका छन् । कागजमा चित्रकोरी त्यसलाई चौध पटक सम्म पानीमा धुँदै बनाइएको यस चित्रमा चित्रकार दुलाइका अनुसार भैसीहरुको आँखा र नाकको वरीपरी (जीवन) भरीएको छ । साँच्चै नै ती भैंसीहरु हेर्दा अहिले नै बोल्लान जस्ता लाग्छन् ।

‘वन्डर हर्न’ नाम दिइएको अर्को चित्रका स्रष्टा दिपक बर्मनले हिमाली भेगमा पाइने भेडाको चित्र बनाएका छन् । जसमा भेडाको सिंङमा गरिएको ‘मिहिन’ कामले सबैको ध्यान एक पटक तान्ने कुरामा दुई मत छैन ।

त्यसैगरी अर्की भारतीयकलाकार श्रवानी लोदले बनाउनुभएको अर्धनारेश्वरको चित्र पनि आफैंमा विशेष छ । प्राय अर्धनारेश्वरको अनुहार बनाउँदा पुरुषको मुखाकृतिलाई आधिभाग नारीको जस्तो बनाइने चलन भन्दा फरक यस चित्रमा नारीको मुखाकृतिबाट आधि भाग महादेवको जस्तो बनाइएको छ ।

त्यसैगरी अर्का भारतीय चित्रकार शिव प्रसाद दत्त शर्माको ‘प्रि डिभाइन्ड वाइ टुमरो’ शीर्षकको चित्र पनि आकर्षक देखिन्छ । जहाँ एउटा ठूलो माछाले एउटा विरोलाई खान मुख बाइरहेको छ भने विरालोको हातमा पनि एउटा माछा छ र त्यही माछा पनि विस्तारै हड्डीमा परिणत भइ समयसँगै विलाइ रहेको छ । समग्रमा भन्नुपर्दा यस चित्रले मानिसको भगिरथ प्रयासको अन्तिम लक्ष्य भनेको त्यही माछाको हड्डी जस्तो कुनै दिन विलाएर जानुपर्ने कुरालाई इंगित गर्न खोजेको छ ।

यस चित्रकला प्रदर्शनीमा नेपाली चित्रकलाहरु भने लैनसिंह वाङ्देलका शिष्यहरुको रहेको छ । जसमा चित्रकार शंकरराज सिंह सुवालको गणेशको चित्र यस प्रदर्शनीको अर्को दमदार आकर्षण हो । मुलत यस्तो किसिमका चित्रलाई ‘सर्रियलिजम’ भनिन्छ जहाँ सपना देखिएका जस्ता आकृतिहरुलाई जस्ताको तस्तै उतारिन्छ । यस चित्रमा गणेशको टाउको साना साना गणेशहरुको आकृति बनाइएको र गणेशको सम्पूर्ण परिवार साथै उनलाई मनपर्ने परिकार लड्डु तथा उनको बहान मुसालाई हावाको तरंग जस्तो देखिने ‘मिस्टिक’ ढंगबाट देखाइएको छ ।  त्यस्तै उनको अर्को चित्रमा शिवको चित्र बनाइएको छ, जसमा शीवको क्षमता वर्णन गर्ने कोसिस गरिएको छ । शीवको क्षमता कसैले बुझ्न सक्दैनन भनि विभिन्न रङहरुको प्रयोग गरिएको चित्रकारले बताउनुभएको छ ।

त्यस्तै अर्का नेपाली चित्रकार नरेश सैंजु चित्रकलामा ‘ल्यान्डस्केप’ उतार्न मन पराउँछन् । उनका चित्रहरु प्रकृतिसँगको सामिप्यतालाई बुझाउने खालका छन् ।

त्यस्तै विगत लामो समयदेखि चराहरुको खोज तथा अनुसन्धान कार्यमा लागि ‘बर्डस् इन नेपाल’ नामक पुस्तकमा आफ्ना कलाहरु राख्नुभएका चित्रकार हेम पौडेलको चराको चित्र पनि आकर्षक छ । यस चित्रमा उनले हिमाली भेगमा पाइने जोडी चरा एउटा रुखमा बसेको चित्र प्रदर्शनीमा राखेका छन् । त्यही रुखमा एउटा आँखा जस्तो बनाइ तीन वटा रङहरु पोतिएका छन् । चित्रकारका अनुसार यी तीन रङले हरेक प्राणीहरुमा भएको सत्व, रज  र तम गुणलाई बुझाउँछन् । समग्रमा प्रत्येक कलाकारका लागि आफ्ना कृतिहरु आफ््नै सन्तान जत्तिकै प्यारा हुन्छन् अझ तीन देश विचका कलाकारहरुको बेजोड कृतिहरुको रस्वास्वादन गर्न तपाइहरु आफैं नेपाल आर्ट काउन्सिल बबर महल जाने कि ? प्रदर्शनी अशोज ३० देखि कार्तिक ३ सम्म तदनुसार अक्टोबर १७ देखि २० सम्म हुनेछ ।

बेतलवी कुचिकार

काट्टो महिमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *