बोधिसत्वको प्रभाव रङ्गमञ्चमा प्रस्तुत गर्दै बुद्ध थिएटर फेस्टिबल

गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रङ्गमञ्च मार्फत विश्वमाझ चिनाउन तथा उनले प्रदान गरेको ज्ञानका विभिन्न आयाममाथि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा नयाँ बहस गर्ने उद्देश्यकासाथ बागमती प्रदेश सरकारको सहयोग र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर र डबली थिएटरको संयुक्त आयोजनामा बुद्ध थिएटर फेस्टिभल चैत्र ८ देखि चैत्र १४ सम्म आयोजना हुने भएको छ ।

उक्त कार्यक्रम सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमल, काठमाडौंमा हुन लागेको हो । यस कार्यक्रमको दौरानमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ वटा नाटक मञ्चन, चर्या नृत्य तथा कार्यपत्रहरु समेत प्रस्तुत हुने कार्यक्रमको सहजकर्ता डा. सचिन घिमिरेले एक कार्यक्रममा जानकारी दिएका थिए ।

चैत्र ८ गते देखि शुरु हुने यस कार्यक्रममा पहिलो दिनमा भारतको डा. दानी कर्माकरको तथागत नाटक मञ्चन हुने कार्यक्रम रहेको छ । उक्त नाटकमा भाग लिने कलाकार रबिन्द्रनगर नाट्ययुद्धका हुनेछन् भने ९ गते नेपाली निर्देशक विकास जोशीको सिद्धार्थको गृह त्याग नाटक मञ्चन हुने कार्यक्रम रहेको छ । यस नाटक मण्डला थिएटर नेपालका कलाकारहरुको समुहले गर्नेछन् । त्यसैगरी १० गते सेलो थिएटरका कलाकारहरुले निशा पाख्रिनद्वारा निर्देशित तागमोल्हिजीन नाटक मञ्चन हुने कार्यक्रम रहेको छ भने ११ गते झोराहट थिएटरका कलाकारहरुले सुदिप जंग कार्कीद्वारा निर्देशित रबिन्द्रनाथ ठाकुरको मालिनी नाटक मञ्चन गर्नेछन् ।

त्यसैगरी चैत्र १२ गतेको कार्यक्रममा ६ जना व्यक्तित्वहरुले बुद्धको जीवनी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दैछन् । कल्पना पराजुलीले मिलारेपाको बारेमा, पुण्य पराजुलीले बुद्धको जीवनको बारेमा, डा. शिव रिजाल र प्रा. डा. अभि सुवेदीले बुद्धको बारेको नाटकको बारेमा, संजय शाक्यले हाम्रा धर्म संस्कृतिमा बुद्धको प्रतिनिधित्वको बारेमा गर्दैछन् भन् एउटा कार्यपत्र मेघराज अधिकारीले समेत प्रस्तुत गर्दैछन्  । सोही दिन हङ्गकङ्गका कलाकारहरुले म्यान लिको निर्देशनमा सिद्धार्थ इन हङ्गकङ्ग नाटक बेलुकी ५ बजेबाट मञ्चन गर्दैछन् भने कार्यपत्र प्रस्तुती केही समय अगाडि सुरु गरेर नाटक हेर्न सहज आयोजकले जनाएको छ ।

चैत्र १३ गते माला आर्ट्स एकेडेमीका कलाकारहरुले संदिप डंगोलद्वारा निर्देशित बिम्बका सपना नाटक मञ्चन हुने कार्यक्रम रहेको छ । चैत्र १४ गते नाचघरका कलाकारहरुले विरेन्द्र हमालद्वारा निर्देशित प्रतित्य समुत्पद नाटक मञ्चन तथा समापनको कार्यक्रम रहेको छ । 

बुद्धको बारेमा विभिन्न संचार माध्यम तथा होर्डिङ्ग बोर्डमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखेर मात्र नहुने तर यदि सच्चा रुपमा नेपालमा बुद्धको जन्म भएका हामीसँग दस्तावेज हुँदा हुँदै पनि बुद्धको जीवनी तथा उनको कुराहरुको बारेमा सबैलाई नाटकको रुपमा देखाउँदा अन्तराष्ट्रिय जगतमा ठूलो प्रभाव पार्न सकिने कुरा कार्यक्रमका सहजकर्ता डा. सचिन घिमिरेले जानकारी दिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *