११ कलाकारहरुको कला प्रदर्शनी

बबरमहलको नेपाल कला परिषदको भुइँ तलाका भित्ताहरुमा यहि चैत्र ७ गतेदेखि १४ गतेसम्म एघार जना कलाकारहरुको “आर्टिस्ट एलेभेन” शीर्षकको कला प्रदर्शनी सुरु भएको छ । कलाकारद्वय आशा डंगोल र एरिना ताम्राकारको आयोजनामा उक्त कला प्रदर्शनी भइरहेको छ । कलालाई नै जीवन ठान्ने यी जोडी नवप्रतिभाहरुको कलाप्रतिको लगावलाई होस्टेमा हैंसे गर्दै कला प्रवर्दनमा लामो समयदेखि तल्लिन छन् । आफुसँग कुनै न कुनै रुपमा चित्रकला सिक्न आएका नवप्रतिभाहरुलाई कलाका विभिन्न पाटोहरुको ज्ञान साटासाट गर्दै र उनीहरुको उत्कृष्ट कलाहरुलाई यस प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी विहान ११ बजेदेखि बुलुकी ६ बजेसम्म अवलोकन गर्न सकिनेछ ।

कलाकार शैली राणा विष्ट आफ्नो चित्रहरुमा प्रकृतिका विभिन्न छटाहरुलाई नियाल्न रुचाउँछिन् । प्राकृतिक सौन्दर्यमा हराउन रुचाउने राणा, आफ्नो कलाहरुमा आफ्नै मुहार चित्रलाई प्रयोग गरी जीन्दगीका विभिन्न आयाम तथा पलहरुलाई क्यानभासमा उतार्न रुचाउँछिन् । ‘मलाई आफ्नै मुहारचित्र बनाउन मन पर्छ किनकी म नै त्यो व्यक्ति हुँ जसले मलाई राम्रोसँग बुझेको छ,’ कुराकानीको क्रममा उनी सुनाउँछिन् । उनका करिब २५ वटा कलाहरु यस प्रदर्शनीमा राखिएका छन् । 

कलाकार चन्द्रा श्रेष्ठले अर्ध अमूर्त ४ चित्रकलालाई यस प्रदर्शनीमा राखेकी छन् । ‘म नेवारी संस्कृतिमा हुर्केकी हुँ, र प्रत्येक वस्तुहरुको आ‒आफ्नै किसिमका रंगहरु हुन्छन् । जस्तो कि हामी विहान पुजा गर्न रुखको मुनि गई त्यहाँ रंग, अक्षता पोख्छौँ, मलाई त्यहाँ देखिएका ती रंगीविरंगी रंगहरुले पहिलेदेखि नै आकर्षित गर्थे र तिनै कुराहरुलाई यस पटकको प्रदर्शनीमा ल्याएकी छु ।’

पलिस्था मानन्धर युवा पुस्ताकी नव कलाकार हुन् । उनको अनुसार उनलाई सांस्कृतिक विषयहरुमा काम गर्ने रुचि पहिले देखिनै थियो । सांस्कृतिक रुपमा धनी रहेको काठमाडौंका प्रचिनतम त्यस्ता सम्पदाहरु सबैलाई चिनाउने खालका ५ चित्रहरुलाई प्रदर्शनीमा समावेश गरेकी छन् । ती सम्पदाहरुको चित्र कोर्न मन पराउने उनी भन्छिन्, ‘बाटोमा यी लाखे अनि जात्राहरु तथा मूर्तिहरु देखेतापनि कहिल्यै वास्ता हुँदैनथ्यो, त्यसैले ती कुराहरुको बारेमा जानकारी मिलोस् भनी  चित्रहरु प्रदर्शनीमा ल्याएकी छु ।’

कलाकार निना वैद्य जोशी फूलहरुमा काम गर्न रुचाउँछिन् । उनका ८ वटा चित्रहरु प्रदर्शनीमा राखिएका छन् । उनका अनुसार फूलहरु शान्ती, उन्नती, र प्रेमका प्रतिक हुन् । ‘नेपालको राष्ट्रिय फूल लालिगुराँस, क्याक्टसका फूलहरुको चित्रहरु मलाई विशेष लाग्छन् । यी फूलहरुले सौन्दर्यलाई पनि जनाउने भएकाले यिनलाई प्रदर्शनीमा राखेकी छु ।’

मिना नेवा गुलाफका फूलहरु असाध्यै मन पराउँछिन्, त्यसैले आफ्ना बगैँचामा आफैंले उमारेका गुलाफहरुको चित्र कोर्न रुचाउँछिन् र यस प्रदर्शनीमा ८ वटा आफुले नै हुर्काएका ती गुलाफका चित्रहरुलाई प्रदर्शनीमा राखेकी छन् । ‘ती सुन्दर गुलाफहरु सधैँ रहिरहँदैनन् र तिनको सुन्दरतालाई यदि क्यानभासमा उतार्ने हो भने ती सँधै जीवन्त रहन्छन् र सधैँ खुशी प्रदान गरिरहन्छन्, त्यसैले मैले यस प्रदर्शनीमा गुलाफका फूलहरुलाई ल्याएकी छु’, उनी बताउँछिन् ।

रशना श्रेष्ठले भने कमलका फूलहरुका ७ चित्रलाई आफ्नो क्यानभासमा उतारी प्रदर्शनीमा राखेकी छन् । ‘हिलोबाट नै उम्रेता पनि हिलोको एउटा छिटा नपरी उम्रने कमलका फूलहरुले सधैँ आफ्नो संघर्षहरुबाट अँध्यारोबाट उज्यालोतर्फ जाने प्रेरणा दिएजस्तै मलाई कमलका फूलहरुले सधैँ शिक्षा दिइराख्दछन्,’ उनी बताउँछिन् । 

सुनिभा श्रेष्ठ महिलाहरुको व्याख्या गर्न रुचाउँछिन् । उनका चित्रहरुमा प्रायः महिलाहरुको बलिदान, निस्वार्थताका कुराहरुलाई चित्रका माध्यमबाट देखाउने कोशिष गरेकी छन् । यस प्रदर्शनीमा उनका ७ वटा चित्रकलाहरु प्रदर्शित छन् । 

न्हूज: रायले १२ जना चर्चित सङ्गितका स्रस्टाहरुको चित्रलाई प्रदर्शनीमा राखेका छन् । उनका अनुसार यी स्रस्टाहरुले दिएका कालजयी गीतहरुले उनलाई सधैँ प्रेरणा दिइराख्दछन्, त्यसैले यी स्रस्टाहरुका चित्रहरुलाई कलाका शिशाकलमका माध्यमबाट यी चित्रहरु प्रदर्शनीमा राखेका छन् । 

नयना शाक्य आफ्ना चित्रहरुमा आफैं भित्रको बुद्धलाई खाज शिर्षकका चित्रहरुमा काम गरेकी छन् । उनका अनुसार प्रत्येक मानिसभित्र बुद्धत्व लुकेको हुन्छ र ती बुद्धलाई आफैंले खोजेर अगाडि बढ्नुपर्ने हुन्छ । उनका अनुसार उनका चित्रहरुले कसरी आफुले मेहेनतका साथ आफ्नो लक्ष्यमा हिँड्दा सफलता पाइन्छ भन्ने कुराको सन्देश दिन्छन् ।

रीता मानन्धरका लागि नेपालको धर्म संस्कृती र प्रकृतीले सधैँ चित्र कोर्न अभिप्रेरित गरिरहन्छन् । मानिसहरु जहिले पनि आफ्नो खुशी  र शान्ती बाहिर खोजिरहेका छन् तर जसरी एउटा कस्तुरीले आफु भित्र आफ्नो नाभीमा रहेको सुगन्ध थाहा पाउँदैन, त्यसरी नै ती शान्ती र खुशीलाई आफु भित्र नै खोज्न सिकाउन खालका चित्रहरु क्यानभासमा उतारेकी छन् । आफु भित्रको वास्तविकता खोज्ने प्रेरणा सबैलाई मिलोस् भन्नका निम्ति उनले यस प्रदर्शनीमा आफ्नो चित्रहरु प्रदर्शित गरेकी छन् । 

विशाल महर्जन यस प्रदर्शनीमा आफ्ना २१ चित्रकलाहरुलाई प्रदर्शनीमा राखेका छन् । मूलतः सांस्कृतिक कला सम्पदाका चित्रहरु कोर्न रुचाउने महर्जन कहिलेकाहिँ प्रयोगवादी चित्रकलाहरुमा खेल्न पनि उत्तिकै रुचाउँछन् । मूलतः कहिलेकाहिँ अमिल्दा रंगहरुसंग पनि खेल्न रुचाउने उनी रंगकै माध्यमबाट खुशी, हाँसो र आँशु जस्ता संवेदनाहरु प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वास लिन्छन् । 

यस कला प्रदर्शनी चैत्र १४ गतेसम्म रहने भएकाले यसको रसस्वादन गर्न तपाई आफैं पनि नेपाल कला परिषद्, बबरमहल जाने कि ? 

2 thoughts on “११ कलाकारहरुको कला प्रदर्शनी

  1. ‘न्हुजा रोय’ लाई ‘न्हूज: राय’ सच्याइ दिनु भएमा आभारी हुने थिए…

Leave a Reply

Your email address will not be published. Required fields are marked *