फागु पूर्णिमामा चित्रकला कार्यशाला हुने

कलाकारहरुसँग रङ्गकोअन्योन्याश्रित सम्बन्ध छ । कहिले सदृष्य रुपमा त कहिले कल्पनामा रमाई कलाकारहरु आफ्नो सृजनामा तल्लिन भइ नै रहन्छन् । कहिले काहिँ कलाप्रेमी वा कलाकारहरु स्वयंलाई लाग्न सक्छ, ‘आहा…. !! यस्तो चित्र बन्छ चाहिँ कसरी ! कुनै कलाकारहरुले काम गरिरहेको देख्न पाए कति रमाइलो हुन्थ्यो होला !’ यहि कौतुहलतालाई केही हदसम्म चिर्नका निमित्त आर्ट क्लब नेपालले यहि चैत्र १५ गते फागु पूर्णिमाको दिन नेपाल कला परिषद् बबरमहलमा ‘कला कार्यशाला’ आयोजना गर्दैछ । 

उक्त कार्यक्रम नयाँ तथा पूराना पुस्ताका कलाकारहरुको भेटघाट, विचारहरुको आदान प्रदान गर्नको लागि पनि कार्यशालाले भूमिका खेल्ने आर्ट क्लब नेपालका अध्यक्ष सुदर्शन बिक्रम राणा बताउनुहुन्छ । 

अध्यक्ष राणाका अनुसार कार्यशालामा अतिथि कलाकारहरुको रुपमा कृष्ण मानन्धर, जीवन राजोपाध्याय, विजय थापा, एन बि गुरुङ्ग, डि. राम पाल्पाली सहित ५ जनाले क्यानभासमा रङ्ग पोतेर आफ्ना सिर्जनाहरु प्रस्तुत गर्नुहुनेछ ।

साथै, अन्य कलाकारहरुले पनि आफ्नै ब्रस र क्यानभास लिएर रङ्गका माध्यमबाट आफ्नो सिर्जना पस्कन सक्ने छन् जसका कारण रमाइलो वातावरणको सिर्जना हुनेमा आर्ट क्लबका अध्यक्ष विश्वस्त हुनुहुन्छ ।   

कार्यशाला फागु पूर्णिमाको दिन मध्यान्ह १२ बजेदेखि सुरु भएर बेलुकी ६ बजेसम्म चल्नेछ । कार्यशालामा कलाप्रेमीहरुले सहभागिता जनाउन सक्नेछन् । कार्यशालामा सहभागिता जनाउनुका साथै त्यहाँ चलिरहेको कला प्रदर्शनी पनि अवलोकन गर्ने मौका पाउनेछन् । आर्ट क्लबले आयोजना गरेको यस कार्यक्रममा आगन्तुकहरुले आर्थिक सहयोग पनि गर्न सक्नुहुनेछ । आर्थिक सहयोग गर्नेहरुलाई नेवारी खाजा र पेय पदार्थको पनि व्यवस्था रहेको तथा कार्यक्रममा आउनुहुने जेष्ठ नागरिकहरुलाई घरबाट लिएर ल्याउने र घरसम्म पु-याउन जाने पनि व्यवस्था रहेको छ । आयोजकका तर्फबाट अध्यक्ष राणाले दिनुभयो।

बढ्दो कोरोनाको जोखिमको पनि समय भएकाले उक्त दिनमा सामाजिक दुरीलाई पनि कायम गर्दै रङ्ग साटासाट तथा कार्यशालाको आयोजना गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *