सोचले बनेको ‘मोना’

ठमेल भन्ने बित्तिकै मानिसहरूको दिमागमा के आउँछ होला ? अनुमान लगाउनुहोस् त ? रात्रिकालीन जीवन, व्यस्त बजार, भट्टी, नृत्य प्रदर्शन गर्ने थलो आदि । तर विस्तारै सोच बदलिँदै छ । ठमेल भन्ने बित्तिकै कला, संस्कृति, इतिहासलाई समेटेर राखिएको एउटा जीवन्त नेपाल अवलोकन गर्न सकिने थलोको रुपमा पनि मानिसहरूले बुझ्न थालेका छन् । किनकि विदेशीलाई यहाँ नेपाल चिनाएर आफ्नो  गुजारा चलाउने व्यवसायीहरू पनि त्यत्तिकै छन् ।   

चित्र सौजन्यः मोना

त्यस्तै ठमेलको व्यस्त बजारबीचमा अवस्थित काठमाडौं गेस्ट हाउस भित्र म्युजियम अफ नेपाली आर्ट (मोना) ले मानिसको सोचमा परिवर्तन ल्याउनेमा विश्वस्त छन् मोनाका सञ्चालक राजन शाक्य । 

मोना के हो ? मोनाको आवश्यकता किन ? लगायतका विषयमा बुझ्ननका लागि राजन शाक्यसँग गरिएको कुराकानीमा आधारित यो आलेख तपाईंको लागि महत्वपूर्ण हुनसक्छ । 

एक नेपालीको नाताले आफ्नै  देशमा सृजित नेपाली कला र इतिहास हेर्न तथा बुझ्न खोज्दाखोज्दै पनि कतिपय कलाहरु हेर्न नपाउनुले पक्कै पनि उनलाई खुसी बनाउन सत्तैन । त्यस्तै भयो राजन शाक्यलाई पनि । कुनै दिन पाटनको एक चियापसलमा बसिरहँदा एउटा चित्रकारले बनाएको नेपाली चित्र कुनै विदेशीमार्फत हेर्न खोज्दा हेर्न नपाउँदा उनी दुःखी भए । आफ्नो देशको कला–संस्कृति आफुले चाहँदा हेर्न नपाउनु, त्यो पनि एक स्थापित व्यवसायीको जीवनमा कस्तो अनुभव भयो होला ? तपाईं अनुमान लगाउन सक्नुहुन्छ । 

चित्र सौजन्यः मोना

उनी कलाका पारखी त पहिले देखिनै हुन्, उनले देश तथा विदेशमा रहेका नेपाली कला तथा संस्कृति झल्कने मूर्तिकला तथा चित्रकला किनेर राखिरहेकै थिए । अब भने उनलाई त्यतिले मात्र पुगेन । उनको मनमा अब उनले घरमा थन्क्याएर राखेका चित्र तथा मूर्तिहरुलाई सबै सामु देखाउनु पर्छ, नयाँ नयाँ कलाकार तथा ख्यातिप्राप्त कलाकारहरुको ऐतिहासिक कला कृतिहरुलाई जगेर्ना गर्नुपर्छ भन्ने लाग्न थाल्यो । हाम्रो राष्ट्रको सम्पत्ति हाम्रो राष्ट्रमा नै रहनुपर्छ र त्यसको रसास्वादन गर्न हरेक नेपालीले पाउनुपर्छ भन्ने उद्देश्यकासाथ उनले मोना नाम दिई एक आर्ट म्युजियम शुरु गरेका रहेछन् । 

मोना शुरु गर्दाको संघर्ष पनि त्यत्तिकै सुन्न लायकको छ । उनका पिता कर्ण शाक्य नेपाली समाजमा परिचित नाम हो । जब उनले बुबासँग म्युजियम खोल्ने आफ्नो सोच बताए, तब उनका बुबालाई शुरुमा मनाउन निकै कठिन भएको थियो । तर अन्त्यमा राजनको सोचले जीवन्तता पायो र म्युजियम अफ नेपाली आर्ट (मोना) को शुरुवात भयो । उनका बुबा कर्ण शाक्य र दाजु सुनिल शाक्यले पछि मोना खोल्न लागेको उदेश्य बुझ्नु भयो र राजनलाई सहयोग गर्नुभयो । ‘उहाँहरुको साथ र सहयोगविना यो म्युजिम खोल्न सम्भव थिएन’– राजनको भनाइ थियो ।

नेपाली कला संस्कृति आफैँमा विविधताले भरिपूर्ण छन् । नेपालका कला, संस्कृति र धरोहरको मूल्य नेपाली भन्दा विदेशीहरुमाझ अझ बढी प्रख्यात छ । विदेशमा नेपालीहरुलाई चिन्छन् त केवल गोर्खा, गोर्खा सैनिक, सगरमाथा र गौतम बुद्धको जन्मथलोको आधारमा । उनीहरुको वफादारी र इमान्दारीको किस्सा मात्र विदेशीहरुमाझ प्रख्यात छ । तर, के कारणले गर्दा यस्तो संस्कार नेपालीहरुमा आयो भन्ने कुराको बारेमा धेरै विदेशीहरु अनविज्ञ नै रहेको शाक्य बताउँछन् । 

तस्विरः खोजपत्र

त्यही साँस्कृतिक, कला र धरोहरलाई जगेर्ना गर्नको लागि म्युजियमहरु त खुलेका छन् तर यथेष्ठ संरक्षण भने कुनै पक्षबाट पनि भएको छैन । नेपालीले बनाएको एउटा चित्रको मूल्य करोडौंमा विदेशीहरुले किनिरहेका छन् र ती चित्रहरु नेपालीहरुले हेर्न समेत पाउँदैनन् । ‘म काठमाडौंको एउटा प्रख्यात व्यापारी नेवारको छोरो हुँ, मैले समेत त्यस्ता चित्र इच्छा हुँदाहुँदै हेर्न पाउँदिनँ भने सामान्य मानिसले त त्यसको कल्पना नै गर्न सक्दैन । अनि भित्रबाट हुटहुटि सुरु भयो । नेपाली चित्र नेपालीहरुलाई नै देखाउन म्युजियमको स्थापना किन नगर्ने ? मानिसहरुका लागि बौद्धिक मनोरञ्जन (इन्टिलेक्च्युअल इन्टरटेनमेन्ट) को थलो किन नबनाउने ?’

एकदिन शाक्यको भेट जापानी मूलका एक मानिससंग पाटनमा भयो । एक होटल व्यवसायीको रुपमा शाक्यले उक्त मानिससंग कुराकानी गरे । कुराकानीका क्रममा ती विदेशीले देखाएको नेपाली संस्कृतिसँग जोडिएका चित्रहरु, मूर्तिहरुसँगको अगाध सम्बन्धले शाक्य द्रविभूत भए । 

ती जापानीले वर्षौं अगाडि नेपालको मूर्तिकारसँग कुनै एक मूर्ति किनेका रहेछन् र आपूm ज्यादै बूढो भइसकेको हुनाले उक्त मूर्तिलाई जापानको कुनै एक म्युजियममा हस्तान्तरण गर्ने सोच बनाएका रहेछन् ।

जसरी कस्तुरी मृगले आफ्नो सुगन्ध थाह नपाई जीवनभर त्यही सुगन्धको श्रोत के हो भनी खोजी हिँड्दछ, त्यसरी नै हामी नेपालीहरु संस्कृती र कलामा बेजोड हुँदाहुँदै उही कस्तुरी जस्तो हुन बाध्य भएका छौ । 

राजनले ती जापानीसँग उक्तमूर्ति नेपालमा नै राख्नको लागि धेरै प्रयासगरे र अन्त्यमा तिनले पनि उक्त मूर्ति राजनलाई दिन राजी भए, तर सर्त यस्तो थियो कि म्युजियम बनाएर त्यसलाई प्रवद्र्धन गरिनु पर्ने । ‘यस्तै साना साना कुराहरुले छुँदै गर्दा सन् २०१८ मा मैले देश विदेशबाट संकलन गरेका चित्र तथा मूर्तिहरुलाई म्युजियम अफ नेपाली आर्ट भनेर नेपाली संस्कृति र कलालाई जगेर्ना गर्ने हिसावले यो म्युजियम खोलेको हुँ ।’

चित्र सौजन्यः मोना

करिब पाँच सय जति चित्र तथा मूर्तिहरु संकलन गरिसकेका शाक्य म्युजियमकालागि खरिद गर्दा केवल चित्रहरु मात्र हेर्दैनन् । त्यस चित्र बनाउँदा चित्रकारको काममा आएको निखारता, कौशलता जस्ता कुराहरुलाई ध्यान दिँदै गएर जब उनलाई उक्त चित्र म्युजियमको लागि अत्यावश्यक लाग्दछ तब मात्र त्यसलाई खरिद गर्ने गर्दछन् । जुन चित्रले हाम्रो संस्कृति प्रतिविम्बित गर्दछ, त्यसलाई उनी बढी महत्वदिने बताउँछन् । 

विदेश भ्रमणमा रहँदा समेत नेपालका कलाकृतिहरुलाई कसरी नेपालमा नै फर्काई भावी पुस्ताका लागि एउटा सिकाइको माध्यम बनाउन सकिन्छ भन्नेमा उनी घोत्लिरहन्छन् । उनका अनुसार, कुनै पनि चित्रकला तथा कलाका सामग्रीहरुले मूल्य आफैँं तोक्दछ । त्यसको बनोट, त्यसमा लागेको मेहनत र मानिसले हेर्दा त्यसबाट पाउने आनन्द नै चित्रको मूल्य निर्धारण गर्ने आधार बन्दछ । 

एक प्रसङ्गमा चित्रहरु तथा मूर्तिहरु खरिद गर्दा वास्तविक कलाकार को हो वा होइन भनेर निर्क्योल गर्न ज्यादै कठिन हुने शाक्य बताउँछन् । जीवित कलाकारहरुको चित्र किन्न त खासै समस्या नहोला तर संसार छोडिसकेका चित्रकारहरुको अमूल्य नीधिलाई कसरी चिन्ने ? त्यसको लागि केमिकल टेस्ट गर्नुपर्ने बाध्यता पर्दछ । जसकालागि नेपाल तथा भारतमा त्यसको व्यवस्था नभएको उनी बताउँछन् । नेपाली चित्रकला कुन वास्तविक हो वा होइन भनेर निर्क्योल गर्न केमिकल टेस्टको लागि सिंगापुर लानुपर्ने बाध्यता छ र यो कार्य जो कोहीका लागि सहज नहुन पनि सक्दछ । 

चित्र सौजन्यः मोना

नेपाली जनसमुदायलाई नेपाली कलाको विषयमा जानकारी हुन सक्ने उद्देश्यकासाथ मोनाले महिनाको हरेक पहिलो र तेस्रो बुधबार निःशुल्क म्युजिम घुम्न पाउने व्यवस्था गरेबाट आम नेपालीले हाम्रो कला, संस्कृतिको अवलोकन गर्न सक्नेछन् ।

अन्य दिनमा म्युजिम घुम्नु परेमा प्रत्येक नेपालीले ५०० रुपैयाँ तिर्नुपर्ने र विदेशीको हकमा ७०० रुपैयाँ तोकिएको शाक्य बताउँछन् । ‘म्युजियम व्यवस्थापन व्यक्तिगत लगानीमा गर्नुपर्ने भएको हुनाले यो रकम त्यति धेरै होइन,’ उनी बताउँछन् । 

चित्र सौजन्यः मोना

विद्यालयका विद्यार्थीहरुका लागि र कला प्रेमीहरुका लागि मोनाले विभिन्न अन्तर्कृया  कार्यक्रमहरु पनि सञ्चालन गर्दै नेपाली कला र संस्कृति भावी पुस्तामा हस्तान्तरण गर्ने जमर्कोकासाथ लागिपरेको छ शाक्य भन्दछन् । आगामी दिनमा अझबढी अन्तर्कृया, अन्तरसम्वाद गर्दै कला र कलाप्रेमीहरुसँग जोडिँदै जाने लक्ष्य मोनाले लिएको म्युजियम सञ्चालक राजन शाक्य बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *