नेपालका ढुङ्गाका मूर्तिहरु

इतिहास बनाउनेहरु कहिल्यै इतिहास बनाउन लागेका हुँदैनन् । उनिहरुका कर्म र उनिहरुका कुनै विषय प्रतिको लगाव कालान्तरमा गएर इतिहास बन्ने हो । लामो समयको अध्ययन, अनुसन्धानबाट खारिए पछि बनाइएको दस्तावेज कालान्तरमा गएर ऐतिहासिक बन्दछन् ।

सन् १९६५ ताका २२ वर्षको उमेरमा पहिलो पटक नेपाल आउँदा उल्लरिक भोन स्कोइडरलाई आफुले त्यो बेलामा खिचेका फोटोहरुलाई के मा उपयोग गर्छु भन्ने थाहा थिएन । भारत हुँदै नेपाल आएका उनलाई नेपालको मूर्तिहरुले मन चो-यो । काठमाडौँको बसन्तपुर, भक्तपुर र पाटनका मन्दिरहरुमा रहेका ढुङ्गाका मूर्तिहरुलाई क्यामराले कैद गर्न उनी भाडाको साइकल चढेर घुम्थे । मूलतः घुम्न रुचाउने उनी नेपाल बाहेक एशियाका विभिन्न देशहरुमा घुमेका छन् । त्यहाँ घुम्ने क्रममा त्यहाँका अनेकौँ धार्मिक धरोहरहरुको बनावटले उनलाई सधैँ तानिरहन्थ्यो । यसरी घुम्ने उनले फोटोहरुको सँगालोलाई कसरी अझ बढी उपयोगी र प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा ध्यान जान थाल्यो । त्यस बेलाकी उनकी प्रेमिका एक फिलिपिनो महिला थिइन् । उनको फिलिपिन्समा एक टापुमा रहेको एकान्त रिसोर्ट उनको लागि कार्यथलो सावित भयो । विभिन्न देश घुमेर संकलन गरिएका ती फोटोहरुलाई उनले विस्तारै किताबको आकार दिन थाले ।

कुराकानीको क्रममा उनि बताउँछन् कि उनले यति लामो समय लगाएर बनाएका ती किताबहरु उनले किन बनाए भन्ने कुराको उनीसँग जवाफ छैन । उनी थप्दछन्, ‘कुनै मानिसहरुसँग पहिलो पटक कुरा गर्दा, “तपाईलाई कुन कुरामा विशेष रुचि छ ?” भनी प्रश्न गर्दा उसले यदि धेरै थोकमा रुचि छ भन्ने जवाफ दिए भने यो बुझ्नुहोस् कि उसले जीवनमा कुनै ठूलो चिज गर्ने छैन । उसले यो र त्यो भन्दैमा कुनै कुरामा पनि आफ्नो पुर्ण ताकत र बुद्धि लगाउन सक्दैन । मेरा लागि म स्पष्ट थिएँ कि मलाई नयाँ नयाँ ठाउँमा घुम्दै त्यहाँका फोटोहरु खिच्नमा रुचि थियो । फलस्वरुप यस आकारको पुस्तक तपाईहरुको सामुन्ने ल्याउन सफल भएको छु ।’

तिब्बत तिर घुम्न जाने बेलामा उनी नेपाल हुँदै जाने गरेका थिए । नेपालमा आउँदा उनको भेटघाट लैनसिँह वाङ्देल, शुक्र सागर श्रेष्ठ तथा फोटोग्राफर सुनिल डंगोलसँग पनि भएको थियो । फलस्वरुप उहाँहरुसँगको भेटघाट अनि विचार तथा ज्ञानको आदानप्रदानले समेत उनलाई नेपालका मूर्तिहरुका बारेमा यी पुस्तकहरु लेख्न मद्दत पुगेको बताउँछन् । आफु विदेशी भएकाले नेपालका हिन्दु मन्दिरहरुमा जानको लागि उनलाई अनुमति थिएन, त्यसैले पनि उनका मित्र शुक्र सागर श्रेष्ठको असिमित सहयोगलाई ध्यानमा राखि उनले आफ्नो पुस्तक उनै शुक्र सागर श्रेष्ठलाई समर्पित गरेका छन् ।

‘मैले निकालेको यो पुस्तक नेपालीहरुले अहिले महत्व नबुझेतापनि अबको ५० या भनौँ १०० वर्षपछि हुनेछ किनकी दुःखको कुरा नेपालका ती मूर्तिहरु विदेशतिर धेरै तस्करी हुने गरेका छन्, त्यसले पनि भावी पुस्ताले आफ्नो धर्म संस्कृतीमा गर्व गर्दै आफ्ना मूर्तिहरु विदेशबाट फिर्ता ल्याउन मेरो पुस्तकले मद्दत गर्नेछन् । मेरो नेपालप्रतिको मायालाई मैले पुस्तकको आकारमा ल्याएको छु । आगामी दिनमा नेपालका शोधकर्ताहरुले मैले जस्तो किताब नपाएर दुःख नपाउन् भन्नका लागि पनि यस पुस्तकले मद्दत गर्नेछ ।’

७८ वर्षमा हिँडिरहेका उनी अहिले नेपाल आउनुको कारण म्युजियम अफ नेपाली आर्टका सञ्चालक राजन शाक्यलाई भेट्न पनि हो । त्यहाँ उनले आफ्ना यी दुई अमर कृति छोडेका छन् भने नेपाली मूर्तिकलाको दस्तावेजीकरणको इतिहासमा सन्दर्भ ग्रन्थको रुपमा महाभारत वा भागवत् गीतालाई हेरेको जस्तो यो पुस्तकलाई हेर्न सकिने म्युजियम संचालक राजन शाक्यको ठम्याइ रहेको छ ।

नेपालका हिन्दु तथा बौद्ध ढुङ्गाका मूर्तिहरुका बारेमा लेखिएका किताबहरु बाहेक उनको इन्डो‒ टिबेटन धातुका मूर्तिहरु, श्रीलंकाका बौद्ध मूर्तिहरु, श्रीलंकाका मूर्तिहरुको स्वर्णिम युग, टिबेटका बौद्ध मूर्तिहरु, ग्यान्त्सेमा रहेको महासिद्धहरुको तिब्बती भित्तेचित्रहरु, तिब्बतका १०८ बौद्ध मूर्तिहरु, एलाइन बोर्डेरिएर फाउन्डेसनको तिब्बती कला आदि पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

कतिपय अवस्थामा मूर्तिहरुको ठीक नाप लिन उनी आफैं ‘इन्चि टेप’ लिई नाप्न जाने गरेका थिए र ल्याइएका नापहरुलाई आफ्नो पुस्तकमा मूर्तिको बनोट, मूर्तिले धारण गरेका आयुधहरुलाई विभिन्न सन्दर्भ ग्रन्थहरुको सहायताले आधिकारिकता दिने प्रयास समेत गरेका छन् । भावी पुस्ताले आफ्नो धरोहरहरुका उपयोगिता थाहा पाउन सके भने ती मूर्तिहरु विदेशमा लिलाम हुने थिएनन् जस्तो लाग्छ उनलाई । अहिले डेनभरबाट नेपालको लिलामिमा राखेको मूर्ति नेपाल फिर्ता ल्याउनमा उनको पुस्तकले पनि महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् ।

कोरोना सकिए पछि अझ सक्रिय रुपमा नेपालमा आई नेपालका ढलोटका मूर्तिहरुको बारेमा अर्काे पुस्तक लेख्ने सोचाई भएका उल्लरिक भोन स्कोइडर नेपालका युवापुस्ताका लागि एक प्रेरणा हुन सक्छन् किनकी उमेरले ७८ टेक्दा समेत केही गर्नुपर्छ भन्ने जोश र जाँगर उनमा प्रशस्त भेट्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *