कृषकका समस्या समाधानमा आधुनिक प्रविधि

 २०१८ मा सुन्दरबजारको कृषि क्याम्पसबाट कृषि विज्ञानमा स्नातक गरेका रादिप तण्डुकार अहिले जिओकृषिमा कार्यक्रम निर्देशकको रुपमा कार्यरत छन् ।  कृषक सँग गफ गर्न रुचाउने तण्डुकार, डिजिटल प्रविधिको प्रयोगबाट किसानका समस्याहरू हल गर्न इच्छुक छन्। दोहोरो संवादबाट नै आवश्यकता अनुरूपको आविष्कार आउँछ भन्नेमा उनी विश्वास राख्छन्। खोजपत्रले उनीसँग जिओकृषिको बारेमा गरेको कुराकानीः

जिओ कृषि एप के हो ?

एउटा अनुसन्धान अनुसार नेपालका कृषकहरूले उत्पादन गर्ने प्रमुख बाली जस्तै धान मकै गहुँ र आलुमा उत्पादन गर्ने क्षमता भन्दा ४०%-६०% कम उत्पादन गर्दछन् । अन्न बालीमा नेपालको उत्पादकत्व दक्षिण एशिया कै सबै भन्दा थोरै रहेको छ । साथसाथै विश्व बैंकद्वारा एक प्राविधिकले २५०-५०० किसान सम्मलाई गुणस्तरीय सेवा दिन सक्छ भनेको छ तर नेपालमा एक जना प्राविधिकले लगभग २५०० कृषकलाई सेवा दिइरहेका छन् ।

तस्विर सौजन्यः रादिप तण्डुकार

यी दुवै पक्षलाई नजिकैबाट नियालेर हेर्दा नेपालका कृषकहरू माझ सूचनाको पहुँचमा कमी भएको स्पष्ट देखिन्छ । उत्पादन गर्ने किसान तथा कृषि मूल्य शृङ्खलामा संलग्न रहेका विभिन्न निकायहरूलाई एउटै सूत्रमा गाँस्ने एउटा डिजिटल प्रविधि हो जिओकृषी। कृषि मूल्य शृङ्खलामा कार्यरत विभिन्न अभिनेता बिच सूचना तथा प्रश्नको आदान प्रदान गर्ने डिजिटल प्लेटफर्म मध्ये कृषकको उत्पादन र उत्पादनको गुणस्तर वृद्धि गर्ने एउटा अंग हो जिओ कृषि फर्म एप।

एन्ड्रोइड मोबाइलमा आधारित यस एपले एउटा डिजिटल कृषि परामर्श सेवाको भूमिका खेल्दछ र एउटा सामान्य कृषकलाई आवश्यक योजना देखी बिक्री वितरण सम्म चाहिने सम्पूर्ण जानकारी यस एपले कृषकको हात हातमा पुर्याउँछ । यसको मुख्य उद्देश्य हरेक कृषकलाई सही सूचना, सही समयमा र सही तरिकाबाट प्रसारण गरी उसलाई बाली उत्पादन बारे निर्णय लिन सहज गर्नु हो।

यसले कसरी काम गर्छ?

जिओ कृषिले अन्य एपको तुलनामा कृषकको बाली योजनामा केन्द्रित रहेर सूचनाहरु निर्वाह गर्दछ । यस एपले सर्वप्रथम हरेक कृषकको परिचय, खेतको जानकारी र बाली योजनाको बारेमा डाटा संकलन गरी हरेक कृषकको डिजिटल प्रोफाइल स्थापना गर्छ । कृषक को हो ? उसको ठगाना कहाँ छ ? उसको खेत कहाँ छ ? कति क्षेत्रफलमा छ ? उसले कुन बाली लगाउँदै छ ? कहिले र कति जग्गामा उत्पादन गर्ने योजनामा छ भन्ने बारे जानकारी प्राप्त गरी सिस्टमले सुसंकृत सूचना किसान समक्ष पस्कने गर्दछ ।

यस पश्चात जिओ कृषिले कृषकको खेतमा कुन बाली उत्पादन गर्दा सुहाउने देखी त्यस बाली उत्पादन गर्दा कसरी रोप्ने, खेत तयारी कसरी गर्ने, बाली व्यवस्थापन कसरी गर्ने जस्ता आवश्यक सम्पूर्ण जानकारी पनि किसान समक्ष पुर्याउने काम गर्दछ। यस बाहेक यसमा किसानको खेतको ठेगानाको ५ दिन सम्मको मौसम पूर्वानुमान, नजिकैको बजार केन्द्रको मूल्य सूची र किसानको लागि गतिविधि रेकर्ड गर्ने डायरी पनि यसैमा सम्मिलित छ।

यस एपले कुन बालीमा, कति जग्गामा, कुन बाली चरणमा, कति मल हाल्ने देखी त्यस बालीमा सम्भावित मुख्य रोग र किराको सूची सँगै व्यवस्थापन गर्ने विधिको बारेमा तस्वीर सहित लेखिएको हुन्छ । अझ किसानले रोग कीरा चिन्न सकेन भने उसले एप मार्फत नै रोग लागेको अंगको फोटो सहित शीर्षक र विवरण लेखी विज्ञहरुलाई पठाउन पनि सक्छन्। कृषकको प्रश्नको उत्तर भने विज्ञहरुले एप मार्फत नै दुई देखी तीन दिनमा दिने छन् ।

तस्विर सौजन्यः रादिप तण्डुकार

कस्ता खाले किसानलाई यसले फाइदा पुग्दछ ?

यस एपले साना देखी  व्यवसायिक रूपमा कृषि गर्ने सबै कृषकलाई समेट्ने प्रयत्न गरेको छ। यसमा कृषकको कुनै पनि वर्गीकरण नगरेको भएकोले कृषक ले आफूलाई आवश्यक र अनुकूल जानकारी एप मार्फत आफै प्रयोग गर्न सक्ने छन्

तस्विर सौजन्यः रादिप तण्डुकार

यो एप कसको सहयोगमा आएको हो ?

जिओ कृषि एप थापाथलीमा अवस्थित Pathway Technologies and Services Pvt Ltd र Digital Data for Sustainable Development (DDSD) को सहकार्यमा स्थापना भएको हो । सन् २०१७ मा भएको USAID द्वारा आयोजित Digital Data Farming Competition मा पनि जियो कृषिले प्रथम पुरस्कार जित्न सफल भएको थियो। देशका सबै क्षेत्रका किसानलाई समेटी, अन्तरबार्ता गर्दै र धेरै विज्ञहरुसँग सुझाव पछि विभन्न संस्करण पश्चात अहिलेको एप किसान समक्ष उपलब्ध भएको हो ।

यो एप निशुल्क हो कि सशुल्क हो ?

एउटा सामान्य किसानको लागि यो एप डाउनलोड गरी प्रयोग गर्न पूर्ण रूपमा निःशुल्क छ । अहिलेको लागि प्रयोग गर्न अथवा कुनै सेवा लिन कृषकलाई कुनै प्रकारको शुल्क बुझाउन पर्ने छैन। संस्थाको दिगोपनको लागि जिओ कृषिले विभिन्न कृषि सहकारी, कृषि संस्था तथा स्थानीय सरकार संग पनि हातेमालो गर्दै आएको छ। साझेदारी पछि जिओ कृषिका प्राविधिकहरुले जिओ कृषि फार्म मात्रै हैन, सहकारीलाई हुने जिओ कृषि वेब एप पनि प्रयोग गर्न सहज बनाउने छ।

त्यसमा तिरिएको पैसा कहाँ जान्छ ? र, त्यो पैसा के मा प्रयोग हुन्छ ?

अहिलेको लागि जिओ कृषिले कुनै पनि किसान सँग शुल्क लिएको छैन भने कृषि सहकारी सँग साझेदारी गरेपछि सहकारीमा आबद्ध किसान हरुलाई निशुल्कमा सेवा सुविधा दिँदै आएको छ। एक वर्ष पश्चात एपको बाली बारे जानकारी थप्न, विज्ञ सेवा निरन्तर गर्न र एपमा आवश्यक मर्मत गर्न एउटा न्यूनतम शुल्क प्रस्ताव गर्ने योजना भने आवश्यक छ ।

तस्विर सौजन्यः रादिप तण्डुकार

अहिलेसम्म कतिवटा नगरपालिकाले यसको प्रयोग गरिरहेका छन् ?

जिओ कृषिले अहिले सम्म २५०० किसानलाई सेवा दिन सफल भएको छ र यो देशको सातै वटा प्रदेशमा पुग्न सफल भएको छ। अहिले सम्म देशका तीन नगरपालिका तथा दुई गाउपालिकाले भने जिओ कृषि सँग औपचारिक रुपमै कृषकहरुलाई सेवा दिने सम्झौता गरी सकेको छ ।

यसको सवल पक्ष के के छन् ?

नेपालका सामान्य देखी व्यवशायिक कृषकलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी यस एपमा संलग्न गरिएको छ । यो एप पूर्ण रूपले नेपाली भाषामा निर्माण गरेको हुँदा यो एप सामान्य लेख पढ गर्न सक्ने कुनै पनि सामान्य किसानले प्रयोग गर्न सक्नेछन् । यो एप एकदमै हलुको छ र किसानले प्रयोग गर्न सामान्य एन्ड्रोइड फोनमा पनि सजिलै चल्छ । यो एपलाई प्रयोग गर्न किसानहरुलाई इन्टरनेटको आवश्यकता पर्ने छैन। यो एपमा केवल ३ चोटी इन्टरनेटको आवश्यकता पर्ने छ: डाउनलोड गरेपछि खेत र बाली थप्न, दैनिक रूपमा मौसम र बजार मूल्यको जानकारी लिन र विज्ञ समक्ष रोग किराको फोटो खिचेर पठाउन मात्रै इन्टरनेटको आवश्यकता पर्ने छ। नत्र यस एप का अन्य सुविधाहरूको लाभ लिन डाटा बिना नै सम्भव छ। यदि किसानले डाटा खोलेरै यो एपको प्रयोग गरेमा एक वर्ष भरीमा यस एपले जम्मा २५० MB लिनेछ, त्यो भनेको लगभग वार्षिक रूपमा रु १०० मात्रै हो।

यसमा सुधार गर्नुपर्ने पक्ष अझै केही बाँकी छन् भने के के छन् ?

हामी निरन्तर रूपमा किसानबाट प्रतिक्रिया लिन अग्रसर छौं। यस एपका मुख्य प्रयोगकर्ता किसान भएकाले कृषक मैत्री कसरी बनाउने सकिन्छ र किसानलाई प्रयोग गर्न अझै कसरी सहज गर्न सकिन्छ भनेर यो एपमा हामी सानातिना सुधार गरिरहेका हुन्छौ। आउँदो संस्करणमा बाली सँगै गाई-वस्तुको जानकारी जोड्नु साथै किसानलाई बजार सँग कसरी जोड्ने भन्नेमा पनि हामी अनुसन्धान गर्दै छौं।

के किसानहरु यस्तो खाले एप चलाउन सक्छन् ?

कुनै पनि नयाँ प्रविधिको उपयोगिता त अवश्य नै जटिल हुने गर्दछ र किसानहरुलाई नयाँ प्रविधि समक्ष आकर्षण हुन्छ भन्ने कुरा पनि छैन । तापनि अहिले सम्म चलाउन सिक्नु भएका किसानहरूले यो एप प्रयोग गर्न त्यति गर्हो भने मान्नु भएको छैन । फेसबुक टिक टक जस्ता एप प्रयोग गर्ने युवा कृषकले सजिलै यो एप प्रयोग गर्नु भएको छ तर अलि उमेर भएका तथा डिजिटल प्रविधि सँग अनविज्ञ भएका पाको किसान लाई एप बारे सिक्न अलि समय लागेको छ।

दुर्भाग्यवश नेपालमा कृषकहरू माझ स्मार्टफोनको पहुंच कम भएको कारण यस एप सबै किसानको हात हातमा पुग्न सकेको छैन। तर हरेक घरमा भने एउटा स्मार्ट फोन अवश्य पुगेको छ, त्यसै कारणले हरेक किसानले यसको प्रयोग गर्न नसके पनि यस एप र यसका सुविधाको बारे ज्ञान भयो भने परिवारका सँग सदस्यबाट पनि यस एपको लाभ उठाउन सक्ने छन्।

तस्विर सौजन्यः रादिप तण्डुकार

नजान्ने किसानहरुलाई कसरी सेवा प्रदान गरिएको छ ?

आबद्ध सहकारी र सहकारीमा आबद्ध सदस्य किसानलाई हामीले विशेष तालिमको व्यवस्था गरेका छौं र सहकारीका कृषि प्राविधिकलाई अझै विस्तृत तालिम पनि दिने गरेका छौं। कुनै नयाँ किसानले हाम्रो Youtube मा भएको भिडियो बाट पनि एक प्रयोग गर्ने तरिका सिक्न सक्छ। साथ साथै हरेक आबद्ध भएको किसानलाई हामीले हाम्रो call center बाट फोन गर्नेछौं र प्रयोग गर्न गर्हो भएमा हाम्रो Viber र WhatsApp group मा सामेल गरी कुनै समस्या भए त्यसको तुरुन्तै निदान पनि गर्ने व्यवस्था छ।

किसानले आफ्नो उत्पादन राम्रो मूल्यमा बेच्न सक्ने अवस्था यस एपले कसरी सिर्जना गर्दछ ?

जिओ कृषिले किसानलाई कुनै पनि बालीको तत्कालीन खरिद र बिक्री मूल्य कति छ भन्ने जानकारी दिँदै उसको बजार प्रतिको ज्ञान र मूल्य निर्धारण गर्न सक्ने क्षमता लाई बलियो बनाउँदछ । यस एपले किसानलाई प्राङ्गारिक उत्पादन शैली तर्फ प्रेरित गर्छ र किसानले यस एपबाट उत्पादनलाई कसरी बढाउन सक्छ भनेर पनि जानकारी दिन मदत गर्दछ ।

यसले कतिवटा बालीलाई समेट्दछ ?

हालको लागि यसले अन्न तरकारी मसला र फलफुल गरी १८ वटा बालीलाई समेटेको छ र आउँदो दिन हरुमा थप बाली सँगै गाई वस्तु थप्ने प्रक्रियामा छ।

कस्ता किसिमका समस्या समाधान गर्न यसले मदत गर्दछ ? कसरी ?

यसले बाली उत्पादनको कुनै पनि जिज्ञासालाई सरल तरिकाले समाधान गर्ने उद्देश्य लिएको छ । कुनै पनि बाली कसरी उत्पादन गर्ने देखी बालीमा के के रोग तथा किराको प्रबल सम्भावना छ भन्ने सूची पनि यस एपमा समावेश गरिएको छ। यस एपले कुन बाली मा कुन कुन रोग तथा किराको प्रकोप सबै भन्दा बढी छ, कसरी चिन्ने, के हामी पुर्याउँछ र व्यवस्थापन कसरी गर्ने भन्ने जानकारी पनि दिने गर्दछ ।

फोटोः http://geokrishi.farm/blog/

अन्य केही थप विषय ?

किसानहरूले बुझ्नुपर्ने मुख्य कुरा भनेको विभिन्न अनुसन्धान केन्द्रहरूमा अनुसन्धानको एक मात्र उद्देश्य भनेको वास्तविक किसानहरूसम्म पुग्न र उनीहरूको समस्याहरूलाई सम्बोधन गर्नु हो। खोज सधैं किसानहरूको विभिन्न समस्याहरू समाधान गर्न र विभिन्न विधि प्रविधि विकास गर्न समर्पित हुन्छ जुन महत्त्वपूर्ण हुन्छ बालीको उत्पादन बढ्छ। बीउ र मलहरूको विभिन्न प्रकारको बीउ रोप्ने विधि वा प्रयोगको विधिमा साधारण परिवर्तनले महत्त्वपूर्ण पैदावार वृद्धि गर्न सक्दछ। यी जानकारीहरू कृषकहरूका लागि धेरै महत्त्वपूर्ण छन्। हाम्रो सन्दर्भमा सूचनाको महत्त्व अझै साकार हुन सकेको छैन जसले कृषि अभ्यास, मौसम अवस्था, बजार संरचना र यस्तै अन्य जानकारी समावेश गर्दछ। यी सूचनाहरू समग्र सामाजिक र आर्थिक उत्थानका लागि दिगो, उत्पादक र व्यावसायिक कृषिमा महत्त्वपूर्ण छन्।

तपाईंहरू मार्फत

तपाईंहरू मार्फत भन्नै पर्ने अर्को कुरा भनेको  काभ्रेमा हामीले प्रत्येक किसान सँग कुनै पनि शुल्क उठाएका छैनौ । सम्पूर्ण सेवा ICIMOD , CEAPRED र नमोबुद्ध नगरपालिकाको पाथ्वे सँगको सहकार्यमा जारी भएको हो ।

भन्ने पर्ने अर्को कुरा भनेको  काभ्रेमा हामीले प्रत्येक किसान सँग कुनै पनि शुल्क उठाएका छैनौ । सम्पूर्ण सेवा ICIMOD , CEAPRED र नमोबुद्ध नगरपालिकाको पाथ्वे सँगको सहकार्यमा जारी भएको हो ।

पत्रिकाको पेन्सिल

स्वर्ग वासी, नर्क वासी

हिमाल, पहाडका सजिवता

Leave a Reply

Your email address will not be published. Required fields are marked *