पानमार चुरोटको सर्को

विपि बाबुले देखेको सपना र अहिलेको राजनीतिज्ञको तालमेल नै देख्दिन म ।

एक दिन २०१७ सालमा विश्वेश्वर बाबुले थापाथलीमा भाषण गर्दा गर्दै महेन्द्रले ‘कु’ गरेर पार्टीलाई प्रतिबन्ध लगाई विपिलाई सुन्दरीजल जेलमा हाले । त्यतिबेला विपि पानमार, कैंचीमार चुरोट खानुहुन्थ्यो । चुरोट भनेपछि हातबाट ननिकाल्ने खालको । उहाँलाई घाँटीको क्यान्सर थियो । त्यतिबेला म उहाँलाई जेलमा भेट्न गएँ । विश्वेश्वरबाबुले त्यो भेटमा भन्नुभएको थियो– ‘तपाईं गाउँमा बसेर राजनीति गर्नुहोस्, यो महेन्द्रले पञ्चायती व्यवस्था ल्याउँछ र त्यो व्यवस्थामा भित्रपसेर तपाईंले काम गर्नुपर्छ । राजनीतिमा एउटा पार्टीबाट अर्को पार्टीमा जानुको कारण त्यस पार्टीभित्रको गतिविधि गोप्य रुपमा आफ्नो आस्थावान पार्टीमा ल्याउन सजिलो होस् भनेर हो । राजनीति गर्ने नै त्यसरी हो । त्यसो गर्दा सबै मान्छेहरुलाई आफ्नो हातमा लिन सकिन्छ र व्यवस्था र सत्ता पल्टाउन सजिलो हुन्छ । त्यसैले तपाईं जेलमा नपर्नुहोस् । राजनीति पनि नछाड्नुहोस् है भनेर धाप मार्नुभएको थियो ।’ त्यसपछि मैले आफ्नै पैसा खर्च गरेर पनि राजनीति गरें, तर दुःखको कुरा अहिलेका मानिसहरुले नेपाली कांग्रेस विगारेकोमा दुःख लागेको छ । त्यस समयमा राजनीति गर्न कठिन थियो, राजनीति गर्नेलाई अर्राष्ट्रिय तत्वको ट्याग लाग्थ्यो । त्यसपछि हामी जनतासँग भिजेर काम गर्न थाल्यौं । अहिलेका साथीहरु जनतासँग भिज्न नसकेर चुनाव हार्न बाध्य भएको मैले बुझेको छु । वर्तमानमा साथीहरुमा पदको लोभ बढी भयो । पार्टीमा पदको पछि लाग्ने होइन, देश र पार्टी बनाउने हो । इज्जतबढाउने काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

२०२० सालमा चुनाव भएन, विपिले दिएका आश्वासनहरु अब त्यहाँ काम लागेनन् । जिल्ला विकासमा आएको विकास खर्चमाथि घोटाला भयो र घोटालाको रकम खाने मानिस तराइ लागे । त्यतिबेला कृष्णप्रसाद उप्रेतीले पञ्चायतको तर्फबाट राजनीति संगेल्ने काम गरे । आफ्नै परिवारका मानिस भएका हुनाले मलाई त्यति कठिन परेन ।

सिडियो कार्यालयमा एउटा घटना भएको थियो, दुई जना गएका थियौं, म जो सँगै गएको थिएँ, उहाँलाई मेच थियो तर मेरा लागि थिएन, त्यतिबेला केन्द्रिय नेता भनेको ठूलो मान्छे मानिन्थ्यो, तर तिनले छुस्स केही कुरा निकाले तर त्यो कुरा निकाल्नुपर्ने अवस्था थिएन, उनले डोमिनेट गर्न खोजेका थिए, तर सिडियोले मेच मगाएर मलाइ बसालेको देखेपछि उनको मनमा चिसो पसेको हुनसक्छ । त्यहाँ सिडियोले तपाईंहरुजस्तो मान्छे, प्रजातन्त्रको लागि भिडेर त्यत्रो काम गरेको पुरानो मान्छे यसो कहिलेकाहीं आउनुहोस् न भने, मलाई त्यति भनेपछि मसँग गएका जुरुक्क उठेर बाहिर निस्के ।

मृगेन्द्रको क्षेत्रमा हराउने ठिटो

पछि गणेशमानजीले चाक्सीबारीमा बोलाउनुभयो, मिटिङमा गणेशमानजीले भन्नुभयो– ‘बुझ्नुभयो, दुर्गा बाबु एउटा समय थियो, विपी र मैले ऊ त्यो चौतारीमा बसेर नेपाली कांग्रेस जिन्दावाद ! जिन्दावाद !! भन्थ्यौं । वरिपरि बसेका मानिसहरुले दुई जना बहुलाएर त्यहाँ चौतारीमा के के भनिरहेका छन् भन्थे । त्यसपछि हामी दुईलाई पुलिसले पक्रेर लान्थे, थुन्थे फेरी निस्केर आउँथ्यौं ।’ यातायात मन्त्री भएका बेला गणेशमानजी रामेछाप जाने कुरा भयो, त्यतिबेला म उहाँकै निवासमा थिएँ । बाटोमा खाना खुवाउनेपर्ने जिम्मेवारी मैले लिएँ । चामल चाहिएको थियो ३० पाथी । म चाक्सीबारीबाट निस्केँ । र, गणेशमानजी रामेछाप आउँदा बाटामा खाना खुवाउने सबै कुराका जोहो मैले गरें । यो २०१६ सालको कुरा हो ।

***

हामी काठमाडौंबाट दोलखाको नाम्दु जाँदा र नाम्दुबाट काठमाडौं आउँदा पैदल नै हिँड्थ्यौं । २०४२ सालमा मात्र मोटर बाटो पुगेको जस्तो लाग्छ । चरिकोटबाट हिँडेर दोलालघाट निस्कन्थ्यौं । काटाकुटी आयो, त्यसपछि फेदमा बस्यो, ढुङ्गिन बस्यो, कार्कीपार्टी पाँचखाल, अनि काठमाडौं । दोलखाबाट काठमाडौं आउँन करिव पाँच दिन लाग्थ्यो ।

२ नम्बर दोलखा, ३ नम्बर ओखलढुङ्गा, ४ नम्बर भोजपुर, त्यसरी भन्दै जान्थ्यो, तर त्यो नम्बर कसरी राखेको हो थाहा भएन ।

राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरिदिएर पञ्चायती व्यवस्था ल्याएपछि २०१७ देखि २०३६ सालसम्म गाउँ गाउँमा राजनीतिक जनचेतनाको काम गरियो । बन्दुक लिएर लडाइ गर्न सम्भव थिएन । आ–आफ्नो ठाउँबाट पञ्चायती व्यवस्था ढाल्न रणनीतिक तरिकाले काम गरियो ।

हामीले रातमा धेरै जस्तो कार्यक्रमहरु गथ्यौं, पञ्चायती व्यवस्थाले गुटबन्दी ग¥यो भनेर कार्वाही गथ्र्यो, त्यसबाट पनि बच्नुपर्ने हुन्थ्यो । कतिपय अवस्थामा जंगलमा बसेर पनि काम गरियो । यो पञ्चायती व्यवस्थालाई जनताबाटै उखेलेर फाल्नुपर्छ भनेर लाग्यौं ।

यही तीन जिल्लाले राम्रै काम गरेको हो, जुलुस निस्कँदा कसैलाई लगेर थुन्थ्यो, कोही भाग्थे, त्यसरी ज्यान जोगाउने काम पनि गरियो र सँगसँगै पञ्चायतीको विरोध पनि ।

पञ्चायती  व्यवस्थाको अन्त्य भइसकेपछि विपि सँग भेट भयो । ७५ जिल्लाबाट मानिस भेला पारेर प्रजातन्त्रको लागि काम गर्नुपर्छ भन्नुहुन्थ्यो । मलाई अन्य पार्टीमा वा राजासँग मिल्नको लागि ठूलो रकमको अफर पनि गरिएको हो तर मैले त्यसो गरिन । घुस मैले खाइन । झुटो कुरो मैले केही गरिन ।

२०४६ मा म गाउँमै थिएँ । राजनीतिक चेतनाको काम गाउँमा गरियो । राजनीतिमा पद र धनको लागि जतिसुकै निस्वार्थ सेवा गरेको भए पनि खुट्टा तान्ने प्रवृत्ति हावी हुँदै गयो पार्टीभित्र ।

एमालेले सभापति दिन्छु भन्दा पनि मैले नेपाली कांग्रेस छोडेर कतै जान्न भनेर भनेँ । मलाई विश्वेश्वरले यो पार्टीमा काम गर है भनेर धाप मारेको हो । जुनसुकै कार्यक्रममा मलाई बोलाउँथे विश्वेश्वर बाबुले । दोलखाको प्रतिनिधित्व चाहिँदा मलाई नै डाकिन्थ्यो ।

पार्टी भित्रका पदहरुमा जब आपसी समझदारीमा जिम्मेवारी बाँड नभइ चुनावको परिपार्टी आयो तब पार्टीभित्र चलखेल सुरु भयो र पार्टी दुषित हुँदै गयो । चुनाव गराएपछि मनमुटाव भइजान्छ । मनमुटाव भएपछि आफु आफुमा फाटो हुन्छ । पार्टी बलियो बन्न सक्दैन । पार्टीभित्र नेतृत्व छान्नुपर्दा उसले गरेको काम र उसको जनतासँगको पहुँचको आधारमा जिम्मेवारी दिनुपर्छ भन्ने मेरो मान्यता छ ।

***

एक दिन दोलखाको चरिकोटमा म घुम्दै गएको त, त्यहाँको टुँडिखेलमा टन्न थामी बसेका रहेछन्, अघि हाम्रा पालामा शेर्पा आउँथे । हामी भुरा हुँदा लाहा लिएर आउँथे । पिठो देउ भन्थे । त्यतिखेर तिनीहरुनै आएर भात पकाएर खान लागेका रहेछन् टुँडिखेलमा । उनिहरु चामल किन्न नेता कुरेर बसेका रहेछन् । मैले चाल पाएँ र के भएको हो भनि सोधेँ त्यतिबेला विगुका एक जना मानिसले हामीलाई खाद्यमा चामल किनिदिन्छु तँ आइजो भनेको हुनाले आएको उनिहरुले बताए । उनीहरु आएको ७ दिन भइसकेछ । तर उनिहरुले कुरेका सुन्दर नआइदिएर चामल किन्न नपाइकन, सात दिन देखि त्यसै बसेका कुरा मलाई सुनाए ।

आफ्नो पैसा तिरेर चामल किन्नलाई त्यो सुन्दर नेता किन चाहियो मैले बुझिन । त्यसपछि मैले गरिदिए पनि हुन्छ भनेर उनिहरुलाई सोधें । त्यसपछि बाजेको घर कहाँ प-यो भन्यो –मेरो घर यही नाम्दु हो । जिल्ला यही हो । तिमीहरुलाई चामल किनेर पठाइदिए भयो त त्यसो भए भनेर, ल आउ, कति कति लाने चामल तिमीहरुले भनेर सोधें । उनिहरुले ल्याएको पैसाको सबै चामल लाने बताए । पैसा बुझाएर चालीस जनाको चामल जोखेर पैसा बुझाइ दिएर, चामल हाल्न लगाएर पठाइदिएँ ।

टाउकाको मोल तोकियो

पछि विष्णुप्रसादले तेरो के काम गर्नुपर्छ भन है बाजे भन्यो, आफ्नो त्यतिखेर केही थिएन, पार्टीको केही थिएन, पञ्चायती व्यवस्था थियो अनि पछि दाइ उठ्नुभएको रहेछ, दाइलाई भोट दिनु भनेँ । त्यसपछि ती भोट जति जम्मै त्यहाँ खन्याउन लगाएँ ।

अहिले नेपाली कांग्रेसमा त त्यस्ता मानिसहरु नै छैनन् जस्तो लाग्छ । कतै केही घटना घटेमा पुगिहाल्ने, केही सहयोग चाहिएमा गरिहाल्ने । त्यसो गर्दा मानिसहरुप्रति सहानाभूति राख्दा राम्रो हुन्छ । मेरो बुझाइमा अहिले त कांग्रेस पार्टी कस्तो भएको छ भने– केही खानुपर्दा, अरुले खोजिदिनुपर्ने, ल्याइसकेपछि अरुले नै चपाइदिनुपर्ने, हुँदाहुँदा निल्न पनि अरुलाई नै लगाएर बस्ने खालको छन् । त्यस्तो हुनुहुँदैनथ्यो भन्ने मेरो विचार हो ।

अहिले बनेको संविधान नै ठिक छैन, सबैले हात ठोकेर बसे । जनताले घरमै खान पाएको छैन, त्यो संघीयता बन्न खर्वौ रुपैयाँ लाग्छ भने त्यो किन चाहियो ? यसको आवश्यकता नै छैन । यस्तो व्यवस्था फेरिदिनुपर्छ । जनताले खोजेको, सुख, शान्ति, झैझगडा नभइकन आनन्दसँग बसेर मजाले खान पाउनुपर्ने । संघीयताले त आफ्नो मानिसलाई एउटा–एउटा पद दिनको लागि  हो जसले भ्रष्टाचार बढ्छ । देशको अर्थतन्त्र बढ्दैन । जनता मारमा पर्छन् । गरिवको लागि अझै प्रजातन्त्र आएको छैन, गणतन्त्र आयो तर गरिवको लागि आएको छैन । यो त नेताका आफ्ना नातेदारहरुको लागि मात्र आएको छ । धनीलाई मात्र आएको छ । गुण्डागर्दी गर्नेलाई मात्र आएको छ ।

विचमा बस्ने साथीले पार्टीप्रति गर्नुपर्ने धर्म, उसले पार्टीप्रति निभाउनुपर्ने भुमिका छोडिदिए । पार्टीभित्र सहयोग गर्ने । देश र पार्टी बचाउने भन्दा पनि स्वार्थको राजनीति भयो । सहयोगी राजनीति र निश्वार्थ राजनीति भएन । सेवा गर्ने भावले राजनीति पटक्कै भएन ।

विगतमा कैयौंका ज्यान मार्नेहरु, गुण्डागर्दी गर्नेहरु नेपाली राजनीतिको बागडोर सम्हालेर बसेका छन् । त्यस्ताबाट हामीले के आशा गर्ने ? देश र जनताको सेवा गर्ने भन्ने मानिसहरुलाई अहिले पनि पाखामा फालिएको छन् । दुषित राजनीति भएको छ ।

विपि बाबुले देखेको सपना र अहिलेको राजनीतिज्ञको तालमेल नै देख्दिन म । नैतिकतामा बस्न चाहेनन् । पार्टीमा पदको भोगि भएको हुनाले समस्या आएको हो । हिजोका दिनमा राणाहरुले मानिसलाई पासो लगाएर मर्न बाध्य बनाउँथ्यो, त्यो व्यवस्था परिवर्तन गर्न नेपाली कांग्रेस लागिपर्यो । तर हेर्नुहोस्, आजको दुषित राजनीतिले गर्दा हिजोको राणा शासनको भन्दा क्रुर अवस्था आएको छ । देशमा जनताहरु दिनदिनै पासो लगाउन बाध्य छन्, जसले गणतन्त्र ल्यायौं भन्छ, यो गणतन्त्र होइन, राणातन्त्र भन्दा पनि क्रुर व्यवस्था हो भन्ने लाग्छ मलाई  ।

नेपाली कांग्रेसमा हिजोका दिनमा लागेर सक्रिय रहेका निस्वार्थहरुलाई आजका दिनमा कसैले सम्झिँदैनन्, उनिहरु पद र लोभमा लागिपरेका छन् । नैतिकता भन्ने विषय हराएको छ । विपीको सपना तुहिँदै गएको छ । पद र पैसामा नेपाली कांग्रेस हरायो । व्यक्तिवादी भयो । राज्यवादी भएन । 

(प्रजातन्त्र सेनानी श्री दुर्गाप्रसाद उप्रेतीसँगको कुराकानीमा आधारित )

टाउकाको मोल तोकियो

नर्सरीका नाइके

Leave a Reply

Your email address will not be published. Required fields are marked *