कोथिना मिठो छ

खोज पत्र
खोज पत्र २५ चैत्र २०७५, सोमबार ०६:००
6 Min Read
Aa

फुड लभर्सहरुलाई यहाँको सेवा, वातावरण र मेन्युको मुल्य खुबै मन पर्न सक्छ । स्पेनिश अम्लेट (तोर्तिज्या) बढी स्वास्थ्य बर्धक हुन्छ र जुनसुकै बेला यसलाई खान सकिन्छ । यहाँको कोल्ड सुप (गास्पाचो), ड्रिङसमा मोजितो यहाँको विशेषता हो । अर्गानिक तथा स्वस्थवर्धक विदेशी तथा स्वदेशी खानेकुरा खाँदै पारिवारिक वातावरणमा रमाउन कोथिना तपाइका लागि उचित गन्तव्य हुन सक्छ ।

 

टन्टलापुर घाम । एक्कासी चल्ने हुरीबतास । असिना–पानी पर्ने भएकोले चैत्र महिनाको समयमा मानिसहरु हातमा छाता बोकेर हिंडेका देखिन्छन् ।

टहल्दै जाँदा होटल ग्याङ्गजोङ्गको ठिक पारीको गल्लीबाट थोरै अगाडि जाँदा फिनिस एम्बेसीको अगाडि खुला ठाउँ देखियो । सेतो बोर्डमा हरियो अक्षरले लेखिएको थियो “कोथिना मिठो छ रेस्टुरेन्ट एण्ड बि एण्ड बि” । ।

सफा–सुग्घर चिटिक्क मिलेको गार्डेन । चारैतिर हरियाली । सेतो रङ्ग लगाएको भवन । चारैतिर हेर्दा लाग्यो यो विदेशी हो कि ! नेपाली हो ! ठम्याउनै गाह्रो ।

“मिठो छ” भन्ने त नेपाली शब्द भयो, तर ‘कोथिना’ भनेको के रहेछ ? बुझे पो ! मानसपटलमा भएका अंग्रेजी शब्दकोश केलाएँ । तर, कतै अर्थ भेटिन ।

खाजा खाने दौरानमा रेष्टुरेन्टका संचालक देवेन्द्र पोखरेल सँग भलाकुसारी गर्ने मौका जुर्यो । उहाँका अनुसार “कोथिना“ स्पेनीश शब्द भएको र यसको अर्थ नेपालीमा “भान्सा” हो ।

भान्सामा मिठो मिठो परिकार पकाएर पाहुनाहरुलाई पस्कने भएर नाम कोथिना मिठो छ भनि जुरेको रहेछ ।

स्पेनिश भाषामा समेत राम्रो दख्खल भएका संचालक आफ्ना ग्राहकलाई घरायसी वातावरणको झल्को दिने हिसावले सेवा दिने रहेछन् ।

गोरखा जिल्लामा जन्मिएका देवेन्द्रको बाल्यकाल कहिले घाँस । कहिले दाउरा । कहिले बारीमा लगाएका बाली खान आएका बाँदर धपाउने काम गर्दै वितेछ ।

पढाइमा अब्बल रहेका उनी उच्च शिक्षा हासिल गर्नका लागि आजभन्दा करिब २० वर्ष अगाडि काठमाडौंमा पाइला टेकेका रहेछन् । सानै उमेरदेखि समाजका लागि केही योगदान दिनुपर्छ भन्ने सोच उनमा थियो रे । तर उनले यो सोचलाई मर्न भने दिएनन् ।

तत्कालिन समयमा स्पेनिसहरुले नेपालका विपन्न बालबालिकाहरुलाई धर्मपुत्र/पुत्रीको रुपमा लैजाने चलन रहेछ । नेपालमा आएका बेलामा स्पेनीशहरुले विपन्न बालबालिकाको लागि शिक्षा, खाना, लुगाफाटो, पैसा दिएर सहयोगी मनले सहयोग गर्ने रहेछन् । कतिपय अनाथाश्रममा पनि सहयोग गरेका रहेछन् ।

आफ्नो समाजसेवा गर्ने चाहनालाई पुरा गर्नका लागि उनलाई पनि केही गर्न मन लाग्यो र स्थापित रेस्टुरेन्ट तथा होटलबाट भएको आम्दानीबाट निःशुल्क रुपमा विपन्न युवाहरुलाई रोजगार मूलक तालिमको सुरुवात गर्ने सोच पलायो ।

आफ्नो कार्यलाई मूर्त रुप दिनका लागि उनले जागिर गर्दाको समयमा विभिन्न कुटनैतिक निकायमा कार्यरत स्वदेशी, बिदेशी तथा व्यापारीहरुसँग सल्लाह लिए । स्पेनिशहरुसँगको छाता संगठन “नेपाल आकी” (जसको अर्थ ‘नेपाल यहाँ’ हो) सँग सम्बन्धन पनि लिए ।

मुनाफारहित संस्थाको रुपमा दर्ता भएको रेष्टुरेन्टमा स्वदेशी तथा विदेशीहरुले खर्च गरेको रकमबाट सामाजिक कार्य गर्न थालियोे । संस्थाको नेटवर्क ठूलो भएको कारण एक हप्ते छुट्टी मनाउन नेपाल आएका विदेशीहरुको लागि यो रेस्टुरेन्ट पहिलो छनौटमा पर्ने रहेछ । नेपाल घुम्न पनि पाइने र घुम्दा खर्च गरेको रकम पनि सामाजिक कार्यमा खर्च हुने । कस्तो काइदा, दुवै हातमा लड्डु !

विपन्न र अनाथ बच्चाहरुले विद्यालयको पढाइ सकिएपछि बेरोजगार बस्न नपरोस् भनी विभिन्न शीपमुलक तालिमहरु निःशुल्क प्रदान गरिरहेको यस संस्थाले कुक, वेटर, वारिस्टा, स्पेनिश भाषा, जनरल इटिक्वेट लगायतका रोजगारमूलक तालिम दिइरहेको छ । तालिम सकाइसकेपछि जागिर खोजिदिने काम पनि ‘कोथिना मिठो छ’ ले नै गरिदिन्छ । यहाँ तालिम सकाएर रोजगारीमा लागेका एक विद्यार्थी भन्छन् – ‘हामीलाई यहाँ ल्याएर तालिम दिएर दक्ष बनाइ रोजगारी समेत दिलाइदिने यो संस्था नभएको भए आज म के बन्थे थाहा छैन । देवेन्द्र सरलाई मुरी मुरी धन्यवाद ।’

‘संस्थाको मुल उदेश्य नै विपन्न युवाहरुलाई स्वालम्बी बनाउने हो’ – देवेन्द्र थप्नुहुन्छ । संस्थाले आजको दिनसम्म आइपुग्दा करिब ४५० जना दक्ष जनशक्ति उत्पादन गरिसकेको छ ।

सहयोगी हातहरुले मानिसलाई सगरमाथाको शिखरमा पुर्याउन मदत गर्दछ । ठिक त्यसरी नै ‘कोथिना मिठो छ’ लाई पनि सहयोग गर्ने जमातको कमी रहेन ।

उनका विद्यार्थीहरु दक्ष हुन्छन् र त धेरै ठाउँबाट कामदारको माग हुन्छ । माग बमोजिम पूर्ति गर्न नसकिरहको अवस्थामा आगामी दिनमा तालिमको कोटा बढाएर महिनामा १०० पुर्याउने योजनामा रहेको संचालकको भनाइ छ ।

यहाँ नेपाली मात्र होइन विदेशी भोलेन्टियरहरु तालिम दिनको लागि आउने रहेछन् । होटल व्यवसायमा दक्ष जनशक्ति पाउन कठिन भइरहेको अवस्थामा कुनै पनि दक्ष व्यक्ति वेरोजगार बस्नु नपर्ने देवेन्द्रको कथन छ ।

सन् २०१५ को भुकम्प पछि रेस्टुरेन्ट तथा होटलमा विदेशीहरुको चाप बढेको छ । यहाँको भवन भुकम्प प्रतिरोधी पनि छ । जम्मा ७ वटा कोठा मात्र रहेको यस रेस्टुरेन्ट ‘स्कुल अफ हस्पिटालिटी’ को नामले पनि चिनिन्छ ।

सुरुवाती दिनको भन्दा अहिलेको मेन्युमा पनि परिवर्तन भएको र आम नेपाली नागरिकलाई समेत लक्षित गरी खानाको मुल्य घटाइएको देवेन्द्र बताउनुहुन्छ ।

विदेशीहरुलाई लक्षित गर्दै नेपाली खानाको मेन्यु थपियो र विदेशीहरुको माग अनुसार विदेशीहरुका लागि मात्र नेपाली खाना बनाउने तालिम पनि दिन थालियो  ।

फुड लभर्सहरुलाई यहाँको सेवा, वातावरण र मेन्युको मुल्य खुबै मन पर्न सक्छ । स्पेनिश अम्लेट (तोर्तिज्या) बढी स्वास्थ्य बर्धक हुन्छ र जुनसुकै बेला यसलाई खान सकिन्छ । यहाँको  कोल्ड सुप (गास्पाचो), ड्रिङसमा मोजितो यहाँको विशेषता हो  ।

ग्राहकहरुको स्वास्थ्यलाई ध्यान दिएर कोथिनाले अर्गानिक र स्वस्थवर्धक खानेकुरा खुवाउने गर्दछ ।

अर्गानिक तथा स्वस्थवर्धक विदेशी तथा स्वदेशी खानेकुरा खाँदै पारिवारिक वातावरणमा रमाउन कोथिना तपाइका लागि उचित गन्तव्य हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्