दृश्य १
सरकारी अस्पताल : आफ्नी ९० वर्षकी हजुरआमाको आँखा जाँच गराउन एउटा नाति अस्पतालको पुर्जी लिने लाइनमा घन्टौं उभिएको छ। अरू पनि यसैगरी उभिएका छन् । एउटाले अर्कालाई सहने र धैर्य गर्ने अवस्था छैन। यसरी बस्नुपर्ने लाइन एक होइन अनेक छन् । यसरी घन्टौं लगाएर उभिइसकेपछि बल्ल बल्ल डाक्टर भेट्ने पालो भाग्यवश आइहाल्यो भने त्यस दिनको कुनै विशेष बिरामी मात्र हेर्ने पालो भएको डाक्टरको ड्युटी सक्किसकेको हुन्छ। नाति आफ्नी हजुरआमाको जाँच गराउन सक्दैन । ऊ निराश हुन्छ। रातभर बस्ने ठाउँ छैन । कत्रा दुखले पहाड र डाँडा छिचोलेर अस्पताल आइपुगेको छ। सहरमा चिनेको कोही छैन। सहरको खानेकुरो खानै पर्यो। कहिल्यै बाहिरको खाना नखाएकी वृद्ध हजुरआमा बिरामी पर्छिन् । अर्को समस्या सुरु हुन्छ। नातीको सोझोपनाको सीमा छैन। के गर्ने र नगर्नेको दुविधामा पिङ खेल्दै नाति र आमै त्यसै अलपत्र पर्दै अस्पतालमा यता र उता दुगुरिरहन्छन् । यता आमैलाई पखाला चल्न थाल्छ। अनेक कष्टले आज बल्लतल्ल आँखा जाँच्ने पालो आको थियो डाक्टरले नातिलाई जानुस् पहिला डाइरियाको टृटमेन्ट गरेर आउनुस भन्यो। नाति हजुरआमालाई लिएर यताउता सोधपुछ गर्दै कुदिरह्यो । उसले फेरि डाइरिया जाँच्ने पुर्जी बनाउनुपर्ने भयो। त्यो पनि बनायो। पटकपटक शौचालय लैजादा एक चोटि चिप्लिएर आमैको खुट्टो सड्कियो। उनी हिड्न सकिनन् । यी सोझा मनुष्यलाई कति आपत पर्यो । अब के गर्ने ? नातीले केही सोच्न सकेन। अस्पताल फेरि पनि चलिरहन्छ। हाम्रा दुखाइका सुस्केराहरू निस्किरहन्छन् ।
दृश्य २
पहाडको कुनै गाउँ : खानेपानीको पाइप कुन्नी कसले बिगार्यो वा आफैं बिगृयो । गाउँमा पानीको सङ्कट सुरु भयो। पानीको पाइप बनाउन जाने सुरसार कसैले गर्दैन। ससाना नानीहरू छन् । पटकपटक आची गर्छन् । लुगा बिगार्छन् । धुन पानी चाहिन्छ। चौबिसै घन्टा पानी चाहिन्छ। गाईवस्तुहरू छन् । पानीको समस्या राम्रैसँग परिसक्यो। गाउँलेहरू पानी के भयो त भनिरहन्छ्न् तर लौन धारो बनाउन जाऔँ भन्दैनन् । ऊ जाला कि भन्दै एउटाले अर्काको बाटो हेर्छ। अर्को पनि यो गए हुन्थ्यो नि कति कराको होला भन्छ , बस्छ। गारै परेपछी एउटा समूह जान्छ र बल्लतल्ल पानी बनाएर ल्याउँछ। यतिसम्म ठिक छ। ओहो ! समाज कति चुत्थो भएछ हँ ? धारो बनाउने त्यो समूह त कुनै फलानो पाटीको पो रहेछ। त्यही गाउँका मान्छे हुन् । सबै एकाअर्काका छिमेकी हुन् । आफन्त हुन् । धाराको पाइप बनाउने काम पनि पाटीकरण भएको देख्दा हाम्रो सामाजिक भावना कुन हदसम्म मरेर गएछ र पाटी राजनीतिको प्रदूषणले गाउँहरू कसरी आफ्नो मौलिक गाउँपना भुलिरहेका छन् चिन्ता लागेर आउँछ।
दृश्य ३
आत्मनिर्णयको अधिकार , जातीय पहिचान , जातीय राज्य , सकारात्मक विभेद , आरक्षण , समानुपातिकता , समानता र शोषणमुक्त समाज इत्यादि । यी सबै कुरा आधुनिक लोकतान्त्रिक व्यवस्थाका आधार हुन्? यी प्रावधानमा आपत्तिजनक कुराहरू छन् कि छैनन् ? कसैको विमती छैन। हाम्रो समाजमा यी आदर्श मूल्यहरू कसरी कुनै एक खास जातीय समूहले अर्को खास जातीय समूहलाई तह लाउने औजारका रूपमा प्रयोग भइरहेका छन् ? कसैले गम्भीरतापूर्वक सोचेको छ ? खस भाषा बोल्ने , हिन्दु धर्म मान्ने , कमीज सुरुवाल लाउने , बाहुन र क्षत्रीहरू , जसलाई पहाडे शासक खलकका सन्तान मान्ने गरिन्छ। देश बिगार्ने , जात व्यवस्था मान्ने , एउटा खास धर्मको पक्षपोषण गर्ने , सबैलाई शोषण गर्ने आदि पहिचान बनाएको वर्ग जो सदैव अन्य जाति र समुदायको रिस र घृणाको पात्र बनेका छन् । एकपटक अलिक फराकिलो सोच राखेर हेरौं त । यो देशका वास्तविक शासकहरू को हुन् ?
कुनै एक बाहुन जो आफ्नो बैंस र बुताले सकुन्जेल कुनै लिम्बू वा तामाङ लाहुरेको खेत जोतेर आफ्ना सन्तानलाई कुनै झुत्रो सरकारी स्कुलमा पठाउँछ। ताकि कम्तीमा आफ्ना सन्तानले आफ्नो जस्तै नरकतुल्य जीवन भोग्नु नपरोस् । त्यस बाहुनचरीका सन्तानको जिन्दगी त झन् पिताको भन्दा नरकतुल्य हुन्छ । किनकि मरीतरी पास गरेको एसएलसी पछि अलि गतिलो शिक्षा पढ्न बाउको हुति र पुँजी दुइटै पुग्दैन। लाहुरे हुन कर्म र जात दुइटैले दिएन। नहुनु तन्नेरी भैहालियो। भोकैतिर्खै बस्न सकिँदैन । बाउ सेतै फुलिसके। आमाको गालामा चाउरीका रेखाहरू देखिइसके। पाटीको सदस्य हुन झुत्रो स्वाभिमानले दिएन । पढौँ खर्च र बुद्धि दुइटै छैन। आजकल देशमा आएको महान लोकतन्त्रले छर छिमेकी , साथीभाइ र अन्य समुदायको नजरमा शोषक र शासकका खलक भैखाइएको छ । अब के गर्ने भन्दा करेसाबारी बन्धकी राख्ने खाडी जाने। बेस्सरी पैसा कमाउने । बाकसमा लास त अरूको पो आउँछ त बाहुनको त आउँदैन। यसपछि बाहुनका सन्तानको देश परदेशको यात्रा सुरु हुन्छ।
दृश्य ४
यो महानगर हो। यहाँ के छैन ? सबथोक छ। आलिशान महल , चिल्ला गाडी , झिँगा चिप्लिने सडक , ठुला ठुला अस्पताल , सपिङ मलहरू , कलेज , व्यापारिक केन्द्रहरू , ठुल्ठुला नेता र मन्त्रीहरू , तरहतरहका फेसन, नामै नसुनिएका खानेकुराहरू, झिलिमिली र सुखका सारा केन्द्रहरू ! ओहो , सहरमा के छैन र ?
सम्पन्नता र सुखले भरिपूर्ण देखिने यो सहरमा वास्तवमा महसुस गर्न लायक चिज केही छैन। यद्यपि हामी सबैको उत्पात आकर्षणको केन्द्र भन्नु नै यही एउटा सहर हो । बेस्सरी पढेका र लेखेकाहरू जम्मा भएर नाम चलेका ठुलाठुला राष्ट्रिय पत्रीकाहरूमा दिनहुुँ रोजगारी नामको काम खोजिमर्नु यिनको धन्दा हो। यो पनि एउटा पुरानो धन्दा हो । बल्लतल्ल वर्षको एकपल्ट २०/२५ जनालाई खुल्ने सरकारी मुखियाको जागिर पाउनु करिबकरिब असम्भव भएपछी यी पढेकाहरू नामि पत्रिकामार्फत निकालिएको विज्ञापनको फाराम भर्न कर्पोरेसन हाउस पुग्छन् । ( त्यो कुनै कर्पोरेसन हाउस त किन हुन्थ्यो र कुनै दलाली हाउस हुदो हो ) फाराम पनि भर्छन ! तर कहिल्यै कुनै दिन कसैलाई कर्पोरेसनले जागिर खान आइज त भन्दैन त गाँठे ! कति लाटो बनाएको हँ यो शिक्षाले मानिसलाई ? त्यसैले जेष्ठ नागरिकहरू भन्छन् : चार विद्या , चौध चतुर्याइँ बाबै हो ! फेक विज्ञापन दिने दलालहरू कमाइरन्छ्न , सत्य र तथ्यको समाचार लेख्ने राष्ट्रिय दैनिकहरू दलालको दलिल छापिरहन्छ्न् र लाटा शिक्षितहरू ठगिइरहन्छन् । यो सिलसिला चलिरहन्छ।
दृश्य ५
हाम्रा छरछिमेकमा रहेका सक्रिय राजनीतिक कार्यकर्ता काका , बुबा , दाइ , बाजे र अन्य प्राय, अधबैंसे आफन्तलगायतका हाम्रा नजिकका प्यारा र आदरणीय व्यक्तिहरू दलीय राजनीतिको अप्रिय र तितो तिकडम सिकेर समाजका अन्यहरूको मूल्यांकन गर्न माहिर भएका छन् । कसैको आर्थिक अवस्थाको चियो गर्नु , प्राइभेट कुराको जानकारी लिन खोज्नु , अरुका कामकारबाहीमा अति चासो राख्नु यिनको दैनिकी हो। यी तिनै व्यक्तिहरू हुन् जो स्थानीय निकायको विकास निर्माणका निम्ति आएको द्रव्य कहाँ , कुन , कसरी र कस्तो माध्यम प्रयोग गरेर यसो आफ्ना भागमा पनि चुहाउन सकिन्छ भनेर रातभर ननिदाईकन बस्छन् र दिनभरि घरमा नबसी ठुटे नेताकहाँ धाइरहेका हुन्छन् । सबैको सेटिङ र मिटिङमा के के गर्न सकिन्छ गरिन्छ। विकास निर्माणको यो मोडेल अहिले देशभरी लोकप्रिय छ। उदेकलाग्दो के छ भने यिनै मध्येकाहरू सहरबाट घर फर्केका युवाहरू ( जो पसिना बगाउन बाहेक केही जान्दैन ) लाई नाप्छन् ,जोख्छन र छाम्छन । यी मोराहरू हामीलाई आदर गर्छन् कि गर्दैनन् , कति मानमर्यादा राख्छन् भनेर परख गर्छन् र युवाहरूको नैतिकता र आचरणमाथी प्रश्न पनि उठाउछन् ।
यसरी गाउँको चित्र र चरित्रमा अचेल एउटा अनौठो रङ देखिएको छ। यद्यपि यो चित्र र चरित्र सबैमा सामान्यीकरण गर्न मिल्दैन।
यसरी यी र यस्ता अनेक दृश्यहरू थप्दै जान सकिन्छ। यी दृश्यहरूको अन्त्य कहिले हुन्छ भन्न सकिन्न। अमुक नेताको कुर्सीमा समस्या आउन थाल्यो भन्ने सुइँको पाउनासाथ विदेशी षड्यन्त्रको कूटनीति र दुनियाँको भूराजनीतिक स्थितिको पुराण भन्न सक्ने नेता र कार्यकर्ताहरूले ( जो एकै आह्वानमा तुरुन्तै लाखौं सङ्ख्यामा सडकमा टायर बाल्न उपस्थित हुन सक्छन् ।) सजिएको मुलुकमा अस्पताल , विद्यालय , यातायात , सडक , शिक्षा , संस्र्कृती र सोचको यो विकृत हालत सुधार्न किन कहिल्यै अघि नसरेका होलान् ? प्रस्ट छ। माथि उल्लेख गरिएका निकायहरूको हालत सुध्रिन थाले यिनको हाल बिग्रन थाल्छ !!
प्रतिक्रिया दिनुहोस्