शिक्षा र सभ्यता एक अर्काका पूरक हुन् तथापि यी एक अर्काका पूरक हुन नसकेको अनुभूति भइरहन्छ । यसका विविध कारकहरू छन् । श्रम र शिक्षा पनि एक अर्काका पूरक हुन् तर हाम्रो शिक्षा प्रणालीद्वारा उत्पादित शिक्षितहरू श्रमलाई सम्मान गर्न जान्दैनन् । यो राम्रो सङ्केत होइन। शिक्षा र विनय पनि एक अर्काका पूरक हुन् तर शिक्षितहरूसँग जति अहङ्कार शायदै कसैसँग होला। शिक्षा दिने संस्थाहरू ज्ञानका मन्दिर हुन् तर यी संस्थाहरू सहरमा लस्करै थापिएका पसल जस्तै छन् । यी ज्ञानका मन्दिर त बिल्कुलै बन्न सकेका छैनन् कदाचित यिनीहरू शिक्षाका सामान्य औपचारिक प्रतिष्ठान समेत बन्न सकेका छैनन् । शैक्षिक संस्थाहरूको चर्को व्यापारीकरण र पसलीकरणको राप र चाप तीव्र गतिमा बढ्दो छ तर सरोकारवालाहरू गहिरो नीदमा मग्न छन् । मानौँ जगतमा तमाम व्यवस्थाहरूको लय बिल्कुलै सुमधुर र सुरिलै तालमा बजिरहेकै छन् । बजार र पसलहरू किनबेचका केन्द्र अवश्य हुन् किन्तु यी विकृति , बदमासी र बेथितिका केन्द्र पनि हुन् । यिनलाई ठिक ठाउँमा ल्याउन समुदाय , सरकार र सबै सरोकारवालाहरू चनाखो हुनु जरुरी हुन्छ ।
मैले चिनेका एक जना भाइ इन्जिनियरिङ पढ्दै छन् । पढ्नमा तेजिला छन् । पढाइ पूरा गरेपछी उनी एक प्राविधिक जनशक्ति बन्छन् । यो खुसीकै कुरा हो परन्तु सुन्दरता र कुरूपताका बारेमा उनको धारणा सुन्दा उनी धेरै तल्लो स्तरका एक असभ्य प्राणी लाग्छन् । सडक छेउछाउ मकै पोलेर बेच्ने काला , मैला र धुस्राफुस्रा केटीहरू उनलाई मन पर्दैन । एक दिन मकै किनिरहेका बखत उनले ती विचरा मिहिनेत गरेर खाने कालाहरूलाई कति नराम्ररी गाली गरे भने मैले उनीसँगको मित्रतालाई लिएर पुनर्विचार गर्न थालेको छु। प्राविधिकहरूले पनि नीति र संस्कृतिका केही सामान्य ज्ञान हासिल गरे हुने भन्ने मलाई लागिरहन्छ।
कुनै एउटा प्राइभेट संस्थामा अन्तर्वार्ताका निम्ति क्याडरहरूको ठुलै जमघट देखिन्छ। सबै पढेका , जान्ने र सुन्ने छन् । हुनु पनि पर्यो। ऊ भन्दा ऊ खत्रा , ऊ भन्दा ऊ तगडा लाग्दो हो सबैलाई । पालो कुरेर बसेका छन् । बस्नै पर्यो । भाग्य वा दुर्भाग्य के ले भनौं म पनि क्याडर बनेर आफ्नो पालो कुरिरहेको थिएँ । यस्तो कुराइ अचम्मको हुन्छ ! भित्र साहुहरूले अन्तर्वार्ता लिइरहेका हुन्छन् , बाहिर क्याडरहरूको भलाकुशारी चलिरहेको हुन्छ। बेरोजगारहरूको यो यस्तो सामान्य भेला हो , त्यो त्यहीँ उपस्थित सबैलाई था छ। सबैजना काम पाइन्छ कि भनेरै आएका हुन् । यो कुरा घाम जुन जत्तिकै छर्लङ्ग छ। यसमा लुकाउने छ्काउने कुरै त्यस्तो के छ र ? तर हामी शिक्षितहरू कति नाटक गर्न जान्दछौँ भने ओहो ! भनी साध्य छैन। कोही भन्छ : होइन म त के रछ भनेर बुझ्न मात्र आको । अर्को भन्छ : यसो टाइम पास पनि हुन्छ गइदिउँ न त भनेर आको । मलाई त यो भ्याकेन्सी भन्ने थाहै थिएन साथीले भनेर यसो आको । कस्तोलाई राख्ने रछ ? खै ? अनि तपाई कहाँ के गर्नुहुन्छ ? ( तर आफ्नो बारेमा पटक्कै भन्दैन वा भन्न चाहदैन ) कोही भाग्यमानी यस्ता पनि हुन्छन् , जो सगर्व सुनाउँदै हिड्छन् : मेरो त यहाँ स्योर हो । स्योरै छ। मेरो मामाको हो । मेरो अङ्कलको हो नि । बोर लागेर यसो टाइम पास पनि हुने , अलिली गाँठ पनि हुने भनेर हो यार। होइन म त सरकारीमै थिएँ , मेरो करार सकियो यार। करार सकिए पनि सुरु भए पनि उहाँको शुभ उपस्थिती त काम खोज्नै भनेर होला। यस्त एक होइन अनेक प्रसङ्ग र गनथन लेख्न सकिन्छ। मेरो भनाइ यति मात्र हो : हामी किन यति धेरै एक्टिङ गर्छौं , किन यति अनावश्यक कूटनीति देखाउँछौँ जबकी हालत र हैसियतले त लगभग सबैको समान नै देखिन्छ। बरु यो समानतालाई शक्ति बनाउन खोजे हुन्न र ? यो समान हैसियतलाई पुँजीकृत गर्न खोजे हुन्न ? एउटा आन्दोलनको मन्च बनाउन खोजे हुन्न ? यस्ता ड्रामा त जीवनमा धेरै गरियो ; अझै कति गर्न बाँकि होला। खै के भयो त ? हामी सबैसँग ठुल्ठुला डिग्रीहरू छन् । तर सज्जनता र सभ्यताको एउटा साधारण डिग्री समेत भएजस्तो लाग्दैन।
पढेकाहरूले वरको सिन्को पर सम्म सार्नु हुन्न। श्रम , मिहिनेत र पसिनालाई गिल्ला गर्नु , पसिना चुहाउनेहरूको सुन्दरतालाई गिल्ला गर्नु , काम पाइएन यार भन्नू र कुराले आकाश पाताल जोर्नु उनीहरूको मुख्य पहिचान हो। यसले हाम्रो सभ्यताको धरातल राम्रैसँग प्रकट गरिरहेको छ। तर सायद मजा यसैमा भएर होला, यो नित्य चलिरहेकै छ।
एकथरी मान्छेहरू छन् : जो अभिनयको सीमा नाघ्छन् । उनीहरूको जिब्रामै झुन्डिएको हुन्छ : अ्याक्चुली मेरो नेपाली राम्रो छैन सो डोन्ट माइन्ड है ! मलाई नेपाली आउदैन है सो …. , ठिक छ , सबैको नेपाली राम्रै हुन्छ भन्ने भन्ने छैन। सबैको नेपाली राम्रै हुनुपर्छ भन्ने पनि होइन। तर आग्रह कति मात्रै हो भने : नेपाली राम्रो छैन त यसलाई नेपालीमै किन भनिरहनु पर्यो र ? नेपाली नराम्रो भएको कुरा यति गर्व र शानका साथ किन भन्नू पर्यो र ? नेपाली ठिकसँग नजान्नुको मतलव इङलिसमा योग्य भएको प्रमाण हो र ? यो जिब्रो बटार्नुले अङ्ग्रेजी राम्रोसँग नजानेकाहरू र अङ्ग्रेजी कमजोर भएकाहरूलाई अपमानित गर्छ कि गर्दैन ? अङ्ग्रेजीका भीमकाय डिग्री लिनेहरूले सभ्यताको यो साधारण अध्यायसमेत नपढेको देख्दा मलाई त त्यो बकम्फुसे डिग्रीको दरिद्रतामा दया लाग्छ तर डिग्रीधारी मनुवालाई कस्तो लाग्छ बुझ्न सक्ने मेरो हुति छैन।
अहिले त जताततै कोरोनाको प्रकोप छ। सावधानी र सचेतताको अभ्यास हामी कति र कसरी गरिरहेका छौँ ; ज्यादै गम्भीरतापूर्वक सोच्नु जरुरी छ। भिडभाड नगर , भीड नगरी हुन्न। मास्क लागाऊ , मास्क लगाएर कसरी हावा खाने होला ? लाइनमा उभिएर पर्खौँ : लाइनमा उभिने नेपाली संस्कृती नै होइन कसरी उभिनु ? सामाजिक दुरी कायम गर : दुरी कसरी कायम हुनु ? सधैं नजिक रहने नेपाली पारा छ। हामी एक अर्कालाई टाढाको देख्नै सक्दैनौं । जतासुकै नथुक : कसरी नथुक्नु ? खैनी च्याप्या छ मुखमा ! चुरोट नखाई प्राण धानिन्न । साबुनपानीले हात धोऊ : बाबू बाजेले नधोको म कसरी धोऊँ ?
यी र यस्ता अनेक अप्रिय र असभ्य तौर तरिकाहरू छन् , जसमा हाम्रो शिक्षाको चेतना जोडिएको छैन। हाम्रो यो यान्त्रिक र पत्थरिलो डिग्रीले हामीलाई के साँच्चै सुखी , सभ्य र सज्जन बनाउन नसकेकै हो त ?
प्रतिक्रिया दिनुहोस्