स्वरमा ‘कक्टेल’

खोज पत्र
खोज पत्र २६ भाद्र २०७६, बिहीबार ०६:००
4 Min Read
Aa

जीन्दगीमा एउटा मात्र भए पनि गीत गाउँछु भन्ने सोच उनमा पहिलेदेखि नै थियो । गीत संगीतमा रमाउन चाहने उनी आफ्ना चाहना र इच्छा भन्दा फरक क्षेत्रमा काम गर्दा गर्दै एकाएक उनले आफ्नो ‘प्यासन’लाई मर्न दिएनन् र साँगितिक क्षेत्रमा उदाउँदो ताराका रुपमा देखा परे गायक निर्मल दाहाल ।

सन् २००८ देखि पत्रकारिताको क्षेत्रमा काम गरेका उनलाई त्यसले समय विताउन त मदत ग¥यो तर उनको भित्री इच्छा पुरा गर्न भने मदत गरेन । नेपालमा हुने विभिन्न सांगीतक कार्यक्रमको उनले उपस्थिति बाक्लै हुने गर्दथ्यो ।

‘जब घाम ढल्छ…..’ गीत कसरी बन्न सफल भयो भन्ने विषयमा निर्मल भन्छन्–‘गीत संगीत प्रति रुचि भएको र दत्त चित्त भएर यसैमा लागिरहँदा नविन के. भट्टराई भट्टराई दाइसँगको भेटले यो गीत आउन सफल भएको हो ।’

उनको गीत करिब युट्युवमा मात्र करिब १३ हजार भन्दा बढीले हेरिसकेका छन् । पहिलो गीत त्यति मान्छेले हेर्नुमा पनि केही हदसम्म आफु सफल भएको निर्मल ठान्दछन् ।

उनी अगाडि थप्दै भन्छन्–‘म जहाँ जहिले पनि गीत गुनगुनाइरहने मान्छे, एक दिन नविन दाइसँगै रहँदा उहाँले – आफुले एउटा कम्पोज दिनुभयो र गीत शब्द तयार गरेर गीत रेकर्ड गराउन भन्नुभयो, मैले सहर्ष स्वीकार गरेर रेकर्ड गरेको हुँ ।’

आजभन्दा करिब चार वर्ष अगाडिदेखि होला मेरो सम्बन्ध नविन दाइसँग बाक्लिएको । त्यो जमात र दाइको सल्लाहले गर्दा मेरो प्यासन मर्न पाएन । सायद नविन दाइको साथ पाउँदिनथें भने मलाई अझै केही वर्ष लाग्थ्यो कि – दाहालको भनाइ थियो ।

तपाइले यसमा नयाँ पन के दिनुभयो ? भन्ने प्रश्नमा उनको जवाफ थियो–‘हरेक मानिसले गीत सुन्दा ठ्याक्कै फलानोको जस्तो गाएछ भन्छन् तर त्यसभित्र केही न केही नयाँपन हुन्छ भन्ने कुरा प्रायले याद गर्दैनन्, यस गीतमा पनि मैले केही नयाँ पन ल्याउन कोसिस गरेको छु । सँगीत बुझ्नेहरुले पक्कै त्यो नयाँ पनलाई बुझ्नेछन् ।’

‘कतिपयले नविन के. भट्टराइको जस्तै स्वर पारेर गाएको भनेर पनि भन्छन् तर गाउने क्षमता हुने मानिसले जसको स्वरमा गाए पनि कालान्तरमा उसको विजय अवश्य हुन्छ । तर उसको गाउने क्षमतामा ह्रास आउनु भएन ।’– निर्मल थप्छन् ।

मेरो गीतमा नविन के. भट्टराई र सुगम पोखरेलको ‘कक्टेल’ छ र केही नयाँ पन पनि, सायद सानै देखि मैले नविन दाइ र सुगम दाइको गीत सुन्दै गुनगुनाउँदै जाने क्रममा मेरो शैली पनि उहाँहरुको जस्तै भएको हुनसक्छ ।

संगीतको ज्ञान त्यति नभए पनि तपाइ यति राम्रो गीत गाउन सफल हुनुको पछाडिको कारणका बारेमा उनको आफ्नै भनाइ छ, हरेक गायकले सँगीत बजाउन जान्नुपर्छ जसले आफुले चाहेजस्तो निखारता ल्याउन मदत गर्छ तर संगीत बजाउन नजाने पनि जसले संगीत बुझेको हुन्छ, उसले आफ्नो ज्ञान र आफुले चाहेको के हो अर्कोलाई बुझाउन सक्छ भने पनि त्यसले राम्रो गीतको निर्माण गर्नसक्छ ।

नविन भट्टराईले तपाइलाई नै ट्युन गिफ्ट दिएको चाहिँ किन होला ? भन्ने प्रश्नमा उनको जवाफ थियो –‘त्यो विषय चाहिँ नविन दाइलाई नै गएर सोध्नु पर्ला, तर मलाई लागेको चाहिँ उहाँले मेरो गायकीमा केही देख्नुभएर होला । यस शहरमा धेरै मानिस छन्, नविन दाइको फ्यानहरु पनि धेरै छन् तर मलाइ नै दिनुको कारण त्यही हो जस्तो लाग्छ ।’

यो गीत निस्किसकेपछि अब अर्को प्रेसर भने ‘क्रियट’ भएको छ, जस्तै कि अझै फरक ढङ्गबाट कसरी गाउन सकिन्छ र त्यसलाई दर्शक तथा श्रोताले कसरी लिन्छन् ? आगामी दिनमा अहिलेको भन्दा पक्कै पनि राम्रो गर्छु र राम्रो गर्नुपर्छ भन्ने चेतना मलाई छ – दाहालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्