खिइएका तिम्रा ति चप्पलहरुले
बाध्यताका कदमहरु घिसारिरहदा,
जब जीवनका काडाहारुले घोचिदिन्थे
तिमिले कहिल्यै भनेनौ कि
“मलाई पनि दुख्छ भनेर”
बरु ल्याईदिन्थेउ एक जोडी नयाँ चप्पल
अनि भन्थेउ ” बिस्तारै हिंड नत्र चोट लाग्छ।”
थाकेर लत्रिएका तिम्रा ति परेलीहरुमा
बिबशताका पलहरु नाचिरहदा,
कहिल्यै टलपलायनन तिम्रा दुखका आशु
न त रमाए कहिल्यै तिम्रा सपनाहरुनै,
बरु दिए तिनले मलाई
सन्सार चियाउने थप एकजोडी नयनहरु।
समयसङै कमजोर बनेका तिम्रा ति औंलाहरुले
मेरालागि सपनाका महलहरु सजाईरहदा,
कहिल्यै सजाएनन आफ्ना रहरहरु
बरु म कमजोर र लाचार बन्दा
सलबलाए मेरा केशराशीमा
अनि भने ” केहि हुँदैन,कोशिस गरेर त हेर।”
वरपर नहुदा पनि हुने तिम्रो आभाष
अनि ‘मभित्रको तिमिले’ दिइरहने साथ,
कहिल्यै लागेन कि म एक्लो छु
या लाग्यो हराउने छु कतै बिरानीमा।
त्यसैले त,
छायां जस्तै लाग्छौ तिमी
आफ्नै दायाँबायाँ लाग्छौ तिमी
प्रतिक्रिया दिनुहोस्