आत्मियताका कुरा

खोज पत्र
खोज पत्र २५ माघ २०७६, शनिबार ०६:००
3 Min Read
Aa

फेब्रुअरी १४ प्रेमिल जोडिहरुका लागि माया आदान प्रदान गर्ने दिनको रुपमा लिइन्छ । हुन त प्रेम गर्नलाई कुनै दिन या महिनाले कहिले पो छेक्छ र ? ता पनि यहि सेरोफेरोमा रहि महिना दिनसम्म नै मनाउने चलन पनि छ । त्यहि आत्मियता र भावनाका कुराहरुलाई चित्रमा उतारी नेपाल आर्ट काउन्सिल, बबरमहलमा सबिता डंगोल र इशान परियारको संयुक्त चित्रकला प्रदर्शनी भइरहेको छ । उक्त प्रदर्शनी फेब्रुअरी ६ देखी १० सम्म रहनेछ । प्रदर्शनीको उद्घाटन गायक नविन के. भट्टराईले गरेका थिए । उनले संगीत र चित्रप्रति आफ्ना केही भनाइहरु समेत राखेका थिए ।

अर्का अतिथि ज्योति प्रकाशले जसरी क्यानभासमा चित्रहरु कोरिएका छन् त्यसरी दुईजना चित्रकारहरुको जीन्दगी पनि प्रेममय देख्न पाइयोस् र राष्ट्रिय तथा अन्तर्राष्ट्रि क्षेत्रमा समेत यस्ता कलाहरुले झाँगिने अवसर प्राप्त गरुन् भन्ने शुभकामना दिएका थिए ।

शून्य रातमा पर्खि बस तिमी

म जुन बनि तिम्रो सामु आइदिन्छु

निद नपरेको तिम्रो नयनमा

म सपनी बनि छाइदिन्छु

–चित्रकार सबिता डंगोल

उनका यसै कविताको सेरोफेरोमा रहि यस प्रदर्शनी भइरहेको छ । कुनै पनि कुरा अभिव्यक्तिको माध्यम व्यक्ति अनुसार फरक परे तापनि कला पनि एउटा त्यस्तै माध्यम हो जसबाट भावना अभिव्यक्त हुन्छन् । अझ प्रेमको अभिव्यक्तिको लागि कला झन् उपयुक्त माध्यम हुने नै भयो र यहि रोजेका छन् यी युवा जोडि इशान र सबिताले ।

इशानका चित्रकलामा डुंगाहरु पानीमा तैरिरहेका छन् भने त्यस डुंगामा एक जोडि युवा युवती यात्रा गरिरहेका छन् भने कुनै डुंगाहरु खाली नै छन् । यस प्रसँगमा इशान बताउँछन्, “डुंगा गन्तव्यसम्म पु¥याउने एउटा साथी हो र म पोखरामा हुर्कको हुनाले मलाई डुंगाहरु प्रति विशेष मोह छ । यसले अप्ठ्यारा परिस्थितिहरुबाट पार लगाउन पनि मद्दत गर्दछ ।”

त्यस्तै चित्रकार सबिता डंगोलका केहि चित्रहरुमा एउटै शरिर तथा भिन्नाभिन्नै टाउकोहरु काइँयोको वरिपरि जेलिएको वा काइँयो वरिपरि रहेको बनाइएको छ । उनका अनुसार, “जसरी काइँयोले अल्झेका केश राशीहरुलाई सुल्झाइ सहजता प्रदान गर्दछन् त्यसरी नै दाम्पत्य जीवनमा कहिँ कतै गाँठो परेका छन् वा अभिव्यक्तिमा समस्या हुँदा यसरी नै सुल्झाउनु पर्छ ।”

त्यस्तै इशानका केहि चित्रहरुमा भने गुलाफका फुलहरु पाउन सकिन्छ । गुलाफ प्रेम अभिव्यक्तिको उच्चतम माध्यम रहेको उनको ठम्याइ छ र उनलाई विशेष प्रितिकर लाग्ने कारणले उनले ती चित्रहरु बनाएको बताउँछन् ।

चित्रकार सबिताको अर्काे एक चित्रमा संसारमा कतै नपाइने चराको सेरोफेरोमा दुइ प्रेमिल जोडिहरु बसिरहेको देख्न सकिन्छ । जब प्रेमको भावना मानिसमा पलाउँछ तब यो संसारका अरु सबै चिजहरु फिका लाग्ने र देखिएका सामान्य चिजहरुमा पनि नौलोपना आउने उनको बुझाइ रहेको छ ।

कला कौशल तथा शिल्पिका आधारमा अलग्गै पहिचान राख्ने यस प्रदर्शनीको रसस्वादन गर्न सम्पूर्ण कलाप्रेमीहरुका लागि यस प्रदर्शनी १० तारिखसम्म नेपाल आर्ट काउन्सिलमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array