समुन्द्रदेखि हिमाल पारी

खोज पत्र
खोज पत्र २ मंसिर २०७६, सोमबार ०६:००
3 Min Read
Aa

निरन्तर प्रकृतिको छटामा रम्दै प्रकृतिसँगै खेल्दै, डुल्दै, हुर्कंदै र प्रकृतिको सुन्दरतालाई कुचिको सहायताले क्यानभासमा उतार्दै जीवन यापन गरेका कलाकार क्षेत्रलाल कायस्थ हाल काठमाडौंको बबरमहल स्थित नेपाल कला परिषद्को भवनमा एकल चित्रकला प्रदर्शनीमा व्यस्त देखिन्छन् ।

उनको यस एकल चित्रकला प्रदर्शनी यस पटक विशेष छ । ७६ वर्ष पार गरेका कायस्थले २०७६ साल पारेर आफ्ना ७६ वटा चित्रकला प्रदर्शनीमा राखेका छन् । ४६ वटा ‘ल्यान्डस्केप’ र ३० वटा ‘अमूर्त’ चित्रकला रहेका छन् । कार्यथलो पोखरा भएका कायस्थको यस पटकको प्रदर्शनीमा अष्ट्रेलियाको समुद्री सतहदेखि हिमाल पारीका चित्रहरुलाई समावेश गरेका छन् ।

कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान, पोखराको आयोजनामा भइरहेको प्रदर्शनीको मूल नारा भने “जीवनलाई सिर्जनात्मक कलाले सिगारौँ” भन्ने रहेको छ । जीवन सिर्जनासँगै रङ्गिन बनाउन सकिए सार्थक हुने विचार कलाकारको रहेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटन गर्नुभएको कार्यक्रममा उहाँले आफ्नो मौलिक पहिचानलाई देशमा मात्र सिमित नराखी विदेशमा समेत चित्रकलाको माध्यमबाट पहिचान गराउन युरोपमा नेपाली कलाकारहरुले कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

कला क्षेत्रमा लामो समयदेखी काम गरिरहेका सर्जकहरुलाई पुरस्कार वितरण पनि गर्ने कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले रु. तीन लाखको अक्षय कोष बनाई प्रत्येक २–२ वर्षमा निरन्तर चित्रकलामा योगदान पु¥याउने कलाकारहरु मध्येबाट एक जना कलाकारलाई छानी पचास हजार राशीको ‘नविन कलाश्री’ पुरस्कार दिने गरेकोमा यस पटक भने वरिष्ठ कलाकार श्री किरण मानन्धरज्यूलाई यो पुरस्कार दिइएको छ । त्यसैगरी यस प्रतिष्ठानले हाल पोखराको ६ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ६,७,८ का विद्यार्थीहरुलाई नियमित रुपमा कला शिक्षाको व्यवस्था मिलाएको छ जसबाट करिव १५०० विद्यार्थी लाभान्वित भइरहेका जानकारी पनि गरायो ।

कलाकार कायस्थका लागि अमूर्त चित्रकला एउटा यस्तो साधना हो जहाँ कलाकार आफुमा ओतप्रोत भएको भावनाहरुलाई क्यान्भासमा उतार्ने छुट पाउँछन् । उनका अनुसार विना कुनै बन्देज आफुमा रहेको भावनालाई अमूर्त चित्रकलामा विभिन्न रंगहरुको उपयोग गर्दै पस्कन पाउने भएकाले अझ बढी प्रिय लाग्दछ । उनका अमूर्त चित्रकलामा लामो समयको साधना झल्किन्छ भने उक्त कलाहरु शान्ती प्रदायक पनि छन् । तर ल्यान्डस्केपमा पनि रंगहरुको छनौट तथा ढाँचाहरुमा नविनतम प्रयोगले गर्दा उत्कृष्ट मान्न सकिन्छ ।

प्रकृतिलाई नै पहिलो पाठशाला मान्ने कायस्थ विभिन्न समयमा नेपालका विभिन्न प्राकृतिक सम्पदाहरुमा घुमि विभिन्न चित्रकलाहरु बनाएका छन् भने उनले विक्रम सम्वत् २०२२ सालमा बनाएको एउटा चित्रकला पनि यसै प्रदर्शनीमा ल्याएका छन् ।

यस चित्रकला प्रदर्शनीमा मुस्ताङका प्राकृतिक गुफाहरुको चित्र पनि यहाँ समावेश गरेका छन् । त्यस्तै अमूर्त चित्रकलाको चर्चा गर्नुपर्दा उनले भोजपत्रमा समेत प्रयोग गरेका छन् ।

उनका अमूर्त चित्रकलामा मध्ये एउटा क्यानभासमा बाँसको चोयालाई टाँसेर त्यसमा रङ्ग भर्ने काम पनि गरेका छन् ।

कायस्थको एकल चित्रकला प्रदर्शनी यहि मंसीर १ गतेदेखि ४ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्