चित्रकलाले बढाएको भावनात्मक सम्बन्ध

खोज पत्र
खोज पत्र २० माघ २०७६, सोमबार ०६:००
6 Min Read
Aa

भावनात्मक रुपमा मानिसलाई मानिससँग जोड्ने माध्यम कला नै हो । बोलि–चाली, रहन–सहनमा भौगोलिक परिस्थितिले फरक पारे तापनि मानिस मानिसमा अन्तर्निहित संवेदना, चेतना तथा भावहरु भने सदैव एकाकार नै हुने गर्दछन् । त्यहि एकतालाई कलाको माध्यमबाट देखाउनका लागि नेपाल आर्ट काउन्सिल, बबरमहलमा “नमस्ते नेपाल काठमाडौँ कन्टेम्पररी आर्ट एक्जिबिसन २०२०” नाम दिइएको चित्रकला प्रदर्शनी भइरहेको छ ।

उक्त चित्रकला प्रदर्शनीको उद्घाटन वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका थिए भने नेपाल र कोरियाको भौगोलिक अवस्थको बारेमा कुरा गर्दै कोरियाको तीन भागमा पानीले घेरिएको र नेपाल भुपरिवेष्ठित मुलुक हुँदा हुँदै पनि भावनात्मक रुपमा नेपाल र कोरियाको सम्बन्ध अझ प्रगाढ रहिआएको कुराको पनि जानकारी दिए ।

१४ नेपाली कलाकार र २१ कोरियाली कलाकारको संयुक्त चित्रकला प्रदर्शनी १ फरबरी देखि ६ सम्म रहनेछ ।

कोरियाली कलाकार लि इ हो यस पटक इन्स्टलेसन आर्ट लिई प्रस्तुत भएका छन् । उक्त आर्टमा उनले ढुङ्गामा काठको फलेक अड्याई एकातिर बुद्धको प्रतिमा र अर्काे तिर ढुङ्गा राखी ब्यालेन्स गरेर राखेका छन् जसलाई ‘साइलेन्स’ नाम दिइएको छ । उक्त आर्टमा ढुङ्गा र बुद्धको प्रतिमा दुवै समन्वयात्मक ढङ्गले मानिसमा आस्थाहरु रहेका र यि दुवैले मानिसलाई जिउने कला सिकाउने उनको कथन छ ।

त्यस्तै अर्का कोरियाली चित्रकार गुम नुरी पनि यस पटक इन्स्टलेसन कला प्रदर्शनी गरिरहेका छन् । यसमा उनले आप्mना कोठामा प्रयोग हुने सम्पूर्ण सामाग्रीहरु जस्तै ब्रस, क्लिप, जुत्ता, फोटो, किताब जस्ता सामान्य बस्तुहरु पनि गुरुत्वाकर्षणले गर्दा तल तल खस्दै गर्दा पनि केहि चिजले हामी र हाम्रो अस्तित्व सदैव अडिइ नै रहेको हुन्छ भन्ने देखाउन खोजेको बताउँछन् ।

त्यस्तै अर्की कोरियाली कलाकार सारा पार्कले यो विश्व ब्रह्माण्ड सबै धागो र धागोमा बनेका गाँठाहरुको जालो भित्र अन्तर्सम्बन्धित हुन्छन् भन्ने देखाउनका लागि ब्रह्माण्डका गोलाहरुलाई भकुण्डोको संज्ञा दिँदै त्यहि जालोहरुमा नै जीवन घुमिरहेको सन्देश दिन खोजेकी छन् ।

त्यस्तै अर्की कोरियाली चित्रकार लि डाय सुन् ह्वाले विश्वको मुटु देखाउनका लागि एक चित्र प्रदर्शनीमा राखेकी छन् । माछाका कत्लाहरु जस्ता देखिने उक्त चित्रमा मानिसको बनावट, रुपरङ्ग जस्तो सुकै भए पनि उनीहरुको अन्तर सम्बन्ध रहने हुनाले भाइचाराको रुपमा जीवन जिउनु पर्ने सन्देश दिन खोजेकी छन् ।

त्यस्तै अर्का कोरियाली चित्रकार चोइ योङ्ग सनले पनि फलामको गोलाकार आकृती प्रदर्शनीमा राखेका छन् । ‘कम्पोजीसन’ नाम दिइएको उक्त आकृतीमा मानिसहरु बाहिरबाट हेर्दा उस्तै देखिएता पनि उनीहरुको विचार, भावनाले गर्दा छुट्टाछुट्टै हुने कुरा बताउँछन् ।

त्यस्तै अर्का कोरियाली कलाकार जो युन जुले जिन्दगीका अनुहारहरु नाम दिइएको चित्र बनाएकी छन् । जसमा एउटा सकृय छेपारो कसरी एउटा फुलको आकृतीमा परिवर्तन हुन्छ भन्ने कुरा देखाउन खोजेकी छन् । उनका अनुसार हामीले देख्ने सबै कुरा सत्य नहुन पनि सक्दछन् र सत्यता एउटा भ्रम मात्र हो भन्ने कुरा पनि देखाउन खोजेकी छन् ।

त्यसै गरी नेपाली चित्रकार मदन चित्रकार ‘ट्रान्ससेन्डडेन्टल नजेल’ भावातित ज्ञान नाम दिइएको चित्रकला प्रदर्शनीमा राखेका छन् । उक्त चित्रमा विभिन्न आकृतीका ध्वजाहरुले विश्वमा शान्ती र सुखी जीवन जिउन उत्प्रेरित गरिरहेको देखाउन खोजेको उनी बताउँछन् ।

त्यस्तै अर्का चित्रकार जीवन राजोपाध्याय ‘अनटाइटल्ड’ नाम दिइएको अमूर्त चित्रकला प्रदर्शनीमा राखेका छन् । आकृती बेगरका रंगहरुको सम्मिश्रणले नै धेरै कुरा उजागर गर्दछन् भन्ने राजोपाध्यायका उक्त चित्रहरु कलाको वेजोडता समाहित गरिरहेका छन् ।

त्यस्तै अर्का चित्रकार वरुण पोखरेलले भने कोरियाली पैसामा अङ्गित चित्रहरुलाई प्रदर्शनीमा समावेश गरेका छन् । मानिस पैसाका लागि मिहिनेत गर्ने र त्यही पैसामा जीवन चक्र धुम्ने उनको बुझाइ रहेको छ ।

अर्का चित्रकार विकु कुमार थापा भने प्राकृतिक विनाश र भौतिक विकासलाई प्रकृतिको आमाको आँखाबाट नियाल्दा, भै परि आउने परिणामलाई क्यानभासमा उतारेका छन् । उनको उक्त चित्रकला अंग्रेजी कविता फेयरवेल टु द सेडमा वर्णन गरिएको पोप्लार फिल्ड जस्ता देखिन्छन् ।

अर्का नेपाली कलाकार कृष्ण गोपाल श्रेष्ठ भने पुरातात्विक महत्व भएको तर अचेल सुकेको ढुङ्गे धाराको चित्रलाई यस प्रदर्शनीमा प्रस्तुत गरेका छन् । उनका अनुसार यस्ता ढुङ्गे धाराहरु विस्तारै लोप हुने अवस्थामा पुगी सकेका छन् भने यसको जगेर्ना गर्दा सिङ्गै देशको कला कौशल तथा शिल्पिको विकास हुने कुरा जनाउँछन् ।

अर्का चित्रकार मुकेश श्रेष्ठ भने यस पटक ‘एडमिरेसन’ नाम दिइएको चित्रकला प्रदर्शनीमा राखेका छन् । एउटा मानिस सुतेर कसैको बारेमा कल्पना गर्दा उसको चित्र मानसपटलमा घुमिरहेको जस्तो भान हुने उक्त चित्रकलामा मानिस शारिरिक रुपमा कसैसँग टाढा भए पनि भावनात्मक रुपमा यदि कसैसँग नजिक छ भने उसको रेखा चित्र मानसपटलमा मात्र नभई उसको सम्पूर्ण अवएवमा पैmलने कुरा उक्त चित्रकलामा देखाउन खोजिएको छ ।

अर्की चित्रकार मुना भँडेल भने फोटोग्राफमा रेखाङ्कन गरिएका चित्रहरु प्रदर्शनीमा राखेकी छन् । अहिले खाली भएका ती पूराना घरहरुमा पहिले कस्ता कस्ता कृयाकलापहरु हुने गर्थे भन्ने देखाउनका लागि यस्ता चित्रहरु बनाइएका हुन् । ती बितेका पलहरु अब फेरी फर्केर कहिले आउलान् भन्ने कल्पनामा कोरिएका यी चित्रहरु यस प्रदर्शनीमा बेग्लै मिठास भर्न काफी छन् ।

समग्रमा सबै कलाकारहरुको उत्तिकै मिहिनत र लगनशिलता झल्किने उक्त चित्रकला प्रदर्शनी यहि माघ १८ गते देखि २३ गतेसम्म रहने छ । कलाका पारखीहरुलाई उक्त चित्रकला प्रदर्शनीले वेग्लै छाप छोड्ने कुरा पक्का छ ।

 

प्रतिक्रिया दिनुहोस्