मिथिला कलामा आधुनिकता

एक कलाकारलाई प्रकृतिमा भएका तथा सम्पूर्ण परिवर्तनहरुले छोइरहेको हुन्छ ।

नेपालको प्राचिनतम कलामध्ये पर्ने मिथिला कला आफैंमा विशेष विशेषता बोकेको एक विधा हो । प्राचिन कालका मानिसहरु कसरी सोच्दथे, आफ्नो भोगाइहरुलाई साधारण चित्रकलामार्फत सम्प्रेषित गर्नका लागि मिथिला चित्रकला पहिलेदेखि नै चलिआएको हो । यसै मिथिला चित्रकलामा सन् १९९० दशकदेखि अनवरत रुपमा साधना गरिरहेका र मिथिला चित्रकलामा नै आधुनिकता भित्र्याउने सर्जक कलाकार एस.सी सुमनसँग गरिएको कुराकानीको आधारमा यो आलेख तयार गरिएको छ ।

बाल्यकालमा हजुरआमाले गरिरहेको चित्रकलाहरुबाट प्रभावित भई चित्रकलामा लागेका सुमन कलामा जहिले पनि प्रयोगवाद हुनुपर्छ र यसैबाट नै ‘बादेबादे जायते तत्वबोध, बोधे बोधे बोध्यतेइड्यामीशः (बादबिबादबाट नै तत्वबोध हुन्छ अनि त्यसैबाट नै मूल कुराको बोध हुन्छ ।)’ भनेजस्तै आफुले गरेका कलाहरुबाट मूल मर्म वा तत्व सम्म पुग्ने चेष्टा र यात्रा मान्छन् आफ्नो कलालाई ।

कलामा जब विस्तृतता तथा विविधता थपिन्छ तव मात्र यसले पूर्णता पाउनेमा उनि विश्वस्त छन् । कलामा मौलिकताको आवश्यकता पर्छ र यही मौलिकतालाइ नै पिछा गर्दा र आफ्ना अव्यक्त चिजहरुलाई नै व्यक्त गर्दा नै आधुनिकता आफैंमा आउँछ । किनकी आधुनिकता वर्तमान हो ।

जसरी कमिलाका ताँतीले वर्खामास वा जाडो महिनाको लागि च्याउको विउ संकलन गरी आफु बस्ने ठाउँको वरीपरि छरिदिन्छन् र जाडो महिनाको लागि ओत र खाने कुराको काम गर्छ त्यसैगरी प्रकृतिका हरेक प्रकृतिक चिजहरु पनि सोही अनुरुप कार्य गरिरहेका हुन्छन् र यस्ता धेरै कुराहरु छन् जसले मलाई चित्रकारिता सिर्जनागर्नलाई प्रेरणा दिन्छ ।

जब सुक्ष्म अतिसुक्ष्म चिजहरुलाई आफुले अनुभूति गर्दै चित्रकलामा ल्याइन्छ । ती चित्रहरुले मलाई मात्र आनन्दित पार्दैनन् । यसले विभिन्न मानिसहरु जसले मेरा चित्रकलाहरु हेर्छन्, उनिहरु पनि उत्तिकै आकर्षित हुन्छन् र विक्रि तथा प्रवद्र्धनको लागि मैले केही कदम चालिराख्नै पर्दैन । उनिहरु आफैं आई मैले बनाएका चित्रहरुको माग गर्दछन् र उनिहरुको भित्तामा गइ सजिन्छ ।

‘एक कलाकारलाई प्रकृतिमा भएका तथा सम्पूर्ण परिवर्तनहरुले छोइरहेको हुन्छ । जाडो महिनामा सिरक डसना बनाउन आउने मानिसहरुको टङटङको झंकार देखि फोहोरमा गुडुल्किरहेको एउटा समान्य लेजको खोल देखि विभिन्न चिजहरु नै कथाबस्तु हुन्छन् । त्यही चिजहरुलाई समावेश गर्दै अझ प्राचिनतम ग्रन्थ रामायण, महाभारत जस्ता ग्रन्थहरुमा उल्लेखित कथावस्तुहरुलाई यी नयाँ नयाँ चिजहरुसँग मिसाउँदै कला सिर्जना गर्नु चुनौती त आफैंमा हो, यसमा काम गर्दाको मजाहरुले पनि तानिरहेको हुन्छ ।’ त्यसैले नै मेरा चित्रहरु विक्रि पनि सोही अनुरुप भइरहेका हुन्छन् ।

किनकी झण्डै चालीस वर्षको साधना पुरा भइसकेको छ र अझै पनि चित्र साधना चलिनै रहेको छ । चार दशकको मेहनतबाट निखारिएका चित्रहरुले सबैलाई लोभ्याउने नै स्वभाविक नै हो ।

चित्रकारिता आफैंमा साधना हो । कलाकारहरुले मनको अन्तरकुन्तरमा रहेका भावहरुलाई पहिले देखि नै व्यक्त गर्दै आइरहेका छन् । यो विकासक्रम अझै पनि कायम नै छ । आजभोलिका नयाँ पुस्ताले गरेका चित्रहरु पनि उत्तिकै आकर्षक हुन्छन् । नयाँ नयाँ प्रयोगहरु गरिँदै गरिएका यस्ता चित्रकलाहरुले पनि मलाई घोरिन बाध्य बनाउँछन् । नयाँ पुस्ताका कलाकारहरु चित्रकारितामा उत्तिकै सघन रुपमा लागिरहेको देख्दा मन आनन्दित हुन्छ । उनिहरुले गरिररहेका नयाँ नयाँ प्रयोगहरुले मलाई पनि केही नयाँ कुरा सिर्जन ागर्न अभिप्रेरित गरिरहन्छ ।

विकास एकै दिनमा सम्भव छैन । या्े त निरन्तर प्रक्रिया हो र जहाँ पुग्नुपर्ने हो, त्यस गन्तव्यलाई नयाँ नयाँ सर्जकहरुले पनि पिछा गरिरहेको नै पाउँदछु ।

जसरी महाभारतकालीन कथाहरुलाई संगालेर मिथिला चित्र कला कोरिन्छ तब एउटा जीवन्त प्रस्तुती भएको अनुभूति मलाई हुन्छ । हामीले सुन्दै आएको त्यस्ता कथाहरु महाभारत, रामायणमा रचिएका विषयवस्तुहरुलाई मैले चित्रकलाको माध्यमबाट प्रस्तुत गरिरहेको हुन्छ । तर, मिथिला चित्रकला एउटा निश्चित घेरामा सिमित नपारी मैले भने अहिलेको आधुनिकतालाई पनि मिथिलाचित्रकलामा ढाल्दै आएको छु । जस्तै उदाहरणको लागि, प्रकृतिका हरेक प्राणीहरु प्रकृतिमा रमाइरहेका हुन्छन् । तर मानिसहरुले प्रकृतिको दोहन गरिरहेका छन् जसबाट विभिन्न प्रकोपहरु सिर्जित भएका छन् । त्यस्ता कथावस्तुलाई शब्दमा व्यक्त गर्नुभन्दा मैले मिथिला चित्रकलाको माध्यमबाट व्यक्त गर्ने गरेको छु । जुन मानिसहरुलाई धेरै मनपर्छ । तर त्यस्तो चित्र मन पर्नको लागि कथा बुझ्नु वा बुझाउनु पनि उत्तिकै जरुरी हुन्छ ।

पुरातन अवस्थादेखि आधुनिक अवस्था सम्म आउँदा हामीले यस प्रकृतिमा बनाएका ठूला ठूला इमारतहरुले कसरी मानव जीवन लगायत चराचर जगतलाई प्रभाव पारिरहेको छ भन्ने विषयमा पनि मैले चित्र कोरिनै रहेको छु । वर्तमानमा चलिरहेको कोरोनाको विषयवस्तुमा समेत मैले मिथिला चित्रकलाको माध्यमबाट उक्त घटनालाई प्रस्तुत गरेको छु । त्यस्तै त्रेता, द्वापर र कलीयुगको समिश्रणबाट समेत मैले एउटा मिथिला चित्रकला कोर्दै छु । जुन चित्रले तीन वटा युगमा भएका घटनाहरुलाई प्रस्तुत गर्दछ ।

लंकामा रावणले सीता हरण गरेर लगेको कथावस्तुदेखि रावणको बध सम्मको कथा र कृष्णले रचेका रासलिलादेखि गोपिनीहरुसँगको सम्बन्ध तथा महाभारतमा कृष्णको भूमिकासम्मलाई मिथिला चित्रकलामा प्रस्तुत गरेको छु। अहिलेको विकास तथा विश्वमा भइरहेको जलबायु वरिपवर्तनले पारेको प्रभाव । विभिन्न औद्योगिक कल कारखनाले पारेको प्रभाव तथा अहिलेसम्म भएको विकास र विकासले निम्त्याएको विनासलाई समेत मिथिला चित्रकलाको माध्यमबाट प्रस्तुती गर्ने जमर्को गर्दैछु ।

Back to top button