तस्विरमा शताब्दी पुरुष

खोज पत्र
खोज पत्र २० मंसिर २०७८, सोमबार १७:१६
6 Min Read
Aa

– सुनिल राज ढकाल

विहानको १०:३० बजे पाटनको कृष्णमन्दिर नजिकै रहेको बखुम्बहालमा अवस्थित शताब्दी पुरुष सत्यमोहन जोशीको घरमा राम्रै चहलपहल थियो । बाहिरबाट हेर्दा पुरानो घरको दृष्य, उहाँको घरमा प्रवेश गर्नेद्वारको अगाडि महादेवको शिवलिङ स्थापित एउटा सानो मन्दिरको छेउबाट घरको प्रवेशद्वार स्पष्ट देखिन्थ्यो ।

केही मानिसहरु द्वाबारबाट बाहिर निस्कँदै थिए । हामी भने भित्र प्रवेश ग¥यौं । भित्री प्राङ्गमा अस्तव्यस्त सामग्रीहरुलाई केहीहदसम्म व्यवस्थित गरी कुर्सीहरु राखिएको थियो । शताब्दी पुरुषको पुरानो घरको छेउमा आज एक कार्यक्रमको उद्घाटन समारोह थियो । जसको चाँजोपाँजो मिलानउन केही मानिसहरु तल्लिन देखिन्थे ।

कार्यक्रम स्थलमा एउटा व्यानर टाँगिएको थियो जसमा लेखिएको थियो–‘क्यानभासमा सत्यमोहन बा’। त्यसको ठिक छेउमा एउटा सानो गेटबाट भित्र पट्टि शताब्दीपुरुष केही मानिसहरुसँग भलाकुसारी गर्दै हुनुहुन्थ्यो । त्यस प्राङ्गणको अगाडिपट्टि उहाँका लागि निर्माण गरिएको सुन्दर घर अवस्थित थियो । त्यसै घरलाई संग्रहालयको रुपमा विकसित गर्नका लागि उहाँले आफ्नो जीवनकालमा संग्रह गर्नुभएको विभिन्न बहुमूल्य सामग्रीहरु संग्रहित थिए ।

करिब ११ बजेर १५ मिनट जाँदा कार्यक्रमका विशेष अतिथि उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री मननीय पम्फा भुषाल लगायत अन्य विशिष्ठ व्यक्तिहरु कार्यक्रम स्थलमा प्रवेश गर्नुभयो । र त्यहाँ शताब्दी पुरुष सत्यमोहन जोशीका ‘क्यानभासमा सत्यमोहन बा’को विषयमा सबैलाई जानकारी दिँँदै उद्घाषकले कार्यक्रम सुरु गर्नुभयो ।

करिब २ वर्ष अगाडि योङ पिकासो ग्रुप नामक एक संस्थाले पाटन संग्रहालयसँग मिलेर करिब ४०० कलाकारहरु सहभागी गराइ शताब्दी पुरुष सत्यमोहन जोशीका दैनिकीलाई क्यानभासमा उतार्ने कामगरेको थियो । जीउँदो इतिहासका रुपमा परिचित सत्यमोहन जोशीको युवा अवस्था देखि हालसम्मको मुहारचित्रलाई क्यानभासमा उतारिएको र उक्त चित्रहरुबाट करिब ४० वटा मुहार चित्रलाई प्रदर्शनीमा राखिएको थियो । नयाँ तथा पुराना कलाकारहरुको सहभागितामा तयार गरिएको मुहार चित्र नयाँ पुस्ताका लागि एउटा प्रोत्साहन थियो ।

प्रदर्शनीमा राखिका मुहारचित्रहरु बनाउने क्रममा कसैले साँस्कृतिक धरोहरका विचमा उभिएको देखाएको थिए भने कसैले उनको युवा अवस्था, त कसैले अनुहारमा मुजा परेका पाको उमेरको प्रतिधित्व हुने खालका चित्र कोरेका थिए । उहाँको मुहारमा देखिएको मुजाहरुले उमेरलाई मात्र इंगित गर्दैन, जीवन्त इतिहास, अनुभव र देशलाई पु-याउनुभएको योगदानको समेत झल्को दिने खालको छ ।

वाङ्मय पुरुष सत्यमोहन जोशीको निवासमा एक हप्तासम्म चल्ने उक्त चित्रकला प्रदर्शनी उद्घाटन थोरै औपचारिकता र धेरै अनौपचारिकतामा सिमित रहेको थियो । योङ पिकासो ग्रुपका निर्देशक अजय देशारले –जोशीका यी चित्रकलामा सत्यमोहन जोशीलाई नपाइन सक्छ । किनकी प्रत्येक कलाकारले चित्र बनाउँदा व्यक्तित्व सँगैसँगै आफ्नो कल्पनासिलतामा पनि ध्यान पुर्याएका हुन्छन् र प्रदर्शनीमा समेटिएका चित्रकलाहरु जोशीको जीवनभरका प्रतिनिधिका रुप इंगित गर्नुभएको थियो । प्रदर्शनीमा राखिएका चित्रहरु विक्री गरि आएको रकम मध्येबाट ३५ प्रतिशत कलाकारलाई दिने, २० प्रतिशत अस्तव्यस्त रहेको भौतिक संरचना निर्माणमा खर्च गरिने, १५ प्रतिशत रकम योङ पिकासो समूहलाई जाने र बाँकी ३० प्रतिशत रकम विभिन्न दूर दराजमा रहेका ग्रामिण क्षेत्रमा कलाको विकासका लागि गरिने अभियानमा खर्च गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री माननीय पम्फा भुषालले यस किसिमको कार्यक्रममा आफु सहभागि हुन पाउनु आफैंमा गर्वको विषय रहेको बताउँनु भयो । उहाँले कार्यक्रममा आफ्नो एक महिनाको तलव सहयोग गर्ने, क्याटलगलाई अझ बढी छापाइ गर्न लाग्ने खर्चको व्यवस्थापन गरिदिन पर्यटन बोर्डलाई समेत अनुरोध गर्ने र पर्यटन बोर्ड लगायत एयरलान्समा राख्न पहल बचन दिनुभयो । आफु उर्जा मन्त्री भए पनि पर्यटन मन्त्रीसँग कलाको विकासका  लागि आफुले सक्ने पहल गर्ने समेत उहाँले कार्यक्रममा बताउनुभयो ।

त्यसैगरी अर्का विशेष अतिथि प्रतिनिधि सभा सदस्य माननीय कृष्णलाल महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशीको निवासलाई संग्रहालयको रुपमा विकास हुनु आफैंमा गर्वको कुरा रहेको तथा जोशीको सानिध्यता र आशिर्वाद पाउनुलाई ठूलो अहोभाग्यको रुपमा लिएको बताउनुभयो । सांसद कोसबाट रकम निकासा गरी सत्यमोहन जोशीको लागि निवास तथा संग्रहालय निर्माणमा पहल गर्नुभएको समेत कार्यक्रमका सञ्चालकले जानकारी दिनुभयो ।

सभासंरक्षक संस्कृतिविद् शताब्दी पुरुष र युगनायक उपाधिले विभूषित डा. सत्य मोहन जोशीले उक्त कार्यक्रममा सम्बोधन गर्दै योङ पिकासो समूहको सामाजिक उत्तरदायित्व सम्बन्धि कार्य आफैंमा सह्रानीय रहेको बताउनुभयो । उक्त कार्यक्रममा उहाँले पिकासोले पनि लामो समयसम्म यस्तै खाले चित्र बनाउँदै आधुनिकता भित्राउने कार्य गरेको कुरा स्मरण गराउनुभयो । नेपालमा पनि त्यस्ता धेरै पिकासोहरु रहेको र पिकासोको चित्रकला अमूर्त हुनुका साथै विशेष रहेको समेत अवगत गराउनुभयो ।

करिब १३ औं शताब्दीमा नेपालका सिद्ध हस्त कलाकार अरनिको चीनमा गइ नेपाली कलाको प्रचार गरेको कुरालाई समेत उहाँले स्मरण गराउँदै नेपालको चित्रकलामा अझै धेरै विकास हुनुपर्ने तथा सरकारी निकायले यसमा विशेष ध्यान दिनु जरुरी भएको समेत बताउनुभयो ।

त्यसैगरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले सत्य मोहन जोशीका विभिन्न आयामहरु र भाव भंगीमामा बनाइएका यी चित्रहरु आफैंमा सह्राहनीय रहेको र यस्ता कार्यक्रमहरु भविष्यका दिनहरुमा पनि विकसित गरिँदै लैजानु पर्नेमा जोड दिनुभयो ।

शताब्दी पुरुषको निवास स्थललाई संग्रहालयको रुपमा विकसित गर्दै लैजानुपर्छ भन्ने जोशीको विचारलाई पूर्णता दिनका लागि सरकारी स्तरबाट कामहरु भइरहेको र उहाँले संग्रह गर्नुभएको बहुमूल्य सामग्रीहरु सुरक्षित तरिकाले भवनका हरेक तल्लामा व्यवस्थित तरिकाले संग्रह समेत गरिएको छ ।

सत्यमोहन जोशीको चित्र अंकित मुद्रा, उनको चित्र अंकित हुलाक टिकसमेत यहाँ हेर्न सकिन्छ । नेपालमा विभिन्न समयमा निस्केका मुद्राहरुको उक्त भवनमा संग्रहित छन्  । रणोद्वीप मल्लको पालामा निस्केको निस्केको विश्वका सबैभन्दा सानो मुद्रा समेत यस भवनमा अवलोकन गर्न पाइन्छ । जोशीले आफ्नो जीवनकालमा प्राप्त गर्नुभएको विभिन्न सम्मान तथा उहाँले लेख्नुभएका विभिन्न पुस्तकसमेत यहाँ संग्रहित छन् । बहुमुल्य चित्रकलाहरुलाई भने भवनको माथिल्लो तल्लामा व्यवस्थित तरिकाले संग्रहितगर्नका लागि कामहरु भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array