सल्लाघारीका सुसाइहरू

खोज पत्र
खोज पत्र १ पुष २०७८, बिहीबार ०९:०७
2 Min Read
Aa

हिउँदका यी चिसा रातहरूको

उच्चाटलाग्दो  पर्खाइपछि

भोलिको बिहानी सुन्दर  हुन नपाउँदै

घाम तन्नेरी  हुनु अघि नै

धर्तीमा मिर्मिरे खस्नै नपाई

उसलाई  खेत , खलियान र बुट्यानहरूले डाकिसकेका हुन्छन् !

 

ती चराचुरुङ्गी र सप्तरङ्गी  फूलबारीले

निम्त्याइसकेका हुन्छन् !

झुलिरहेका बाली

खेतका आली र  सुनाखरीले

बाबरी र चमेलीले  सम्झाइरहन्छ्न

सताइरहन्छ्न !

 

यो सताउनुसँग पनि  पिरती गाँसिन्छ उसको

यो सम्झनुसँग पनि  अतिथि निम्तिन्छ उसको

आरुका फूल सँगै फुल्ने उसका सपनाका फूलहरू

सयपत्री सँगै फक्रने उसका खुसीहरू

एक ढक्की टिपेर लगिदिनु छ

एक पिँडी लिपेर  राखिदिनु छ ।

 

न्याउली रुँदा  मेरो मन रुन्छ

नरोए है न्याउली

पसिना र तिर्खाको साइनो

जून र  जुनेलीको  शीतलता

पैँयुका रूखले सम्झाइरहने  तीतो अतीत

व्यस्तता र मिहिनेतले  जोगाएका

चौपाया , पखेरू र मानिस

अनि  तिनका सन्तान र दरसन्तानहरू

 

एक टुक्रा खुसी

अनि

एक धर्सो  मुस्कुराउनु

डोको डालो र कोदालोले हातमा ठेला उठाउनु

समय नपुगी  सेताम्मे हुन लागेका

उसका सुनकेस्रा जुल्फी देखेर

मलाई अनायास रुन मन लाग्छ।

तँ  घुम्दा मेरो मन घुम्छ

नघुमे है   सप्तकोशी !

 

मखमली बैंसले  कानैमा आएर सुसेल्दा पनि

जोर पैँयुका बोटहरूले  सग्लो पिरती लाइसक्दा पनि

पसिनै मात्र बगाइरहने

असिनै मात्र टिपिरहने

ए मेरी सङ्गीनी

तिम्रो जोबन  कता गयो ?

तिम्रो यौवन कता गयो ?

 

सल्लाघारीको सल्लो सुसाउँदा

उसकै सुस्केरा सुनेझैँ लाग्छ।

 

तँ सुसाउँदा मेरो मन सुक्छ

नसुसाए है  सल्लाघारी !

प्रतिक्रिया दिनुहोस्

Array