मिथिलाको संसारः समय चक्रको कथा

कलाको प्रेरणाको रुपमा आफ्नी हजुर आमालाई मान्दछन्

सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलका भित्ताहरु अहिले कलाकार एस.सी.सुमनका मैथिली कलाहरुले सिंगारिएका छन् । पहिलेको मिथिला राज्य दक्षिणमा गंगा नदीले, उत्तरमा हिमालयहरुले र अहिले नभएको काशी र गण्डकी नदीले पूर्व र पश्चिममा घेरिएको थियो । जसको सिमाना अहिलेको भारतको विहार खण्डसम्म थियो । त्यस प्राचीन राज्यको राजधानी अहिलेको जनकपुरधाम हो । जहाँ राजा जनकको राज्य थियो र उनको छोरी सीताको विवाह रामसँग भयो ।

तीन हजार वर्षसम्मको समयमा मिथिला कला महिलाहरुमा मात्र सिमित थियो । यस कला र यसको प्राविधिक पक्ष मैथिली महिलाहरुले आफ्नो घरमा माटो, गोवर, बाँस जस्ता चिजहरुले भित्तामा सिँगार्न र पुजाआजा गर्नको लागि गर्दथे ।

विभिन्न पर्वहरुमा शुभसंकेत, शुभ साइतका लागि चित्रहरु बनाइन्थे तथा वर्षा याममा परेको पानीले ती आकृतिहरु मेटिन्थे र पुनः पर्वहरु आउँदा त्यसलाई पुनः बनाइन्थ्यो । मूलतः १९९० को दशकमा भित्तामा बनाइदिने चित्रहरुलाई कागजमा पनि बनाउन सकिन्छ भन्ने एक जना विदेशी क्लेयर वर्कट थिए । विस्तारै मानिसहरुले भित्तामा बनाइने चित्रहरुलाई कागजमा उतार्न सुरु गरे ।

साँस्कृतिक हिसावमा मिथिला कलालाई जम्मा तीन जाती ब्राम्हण, कायस्थ र दुसदले प्रयोगमा ल्याउने गर्दछन् । मिथिला कला जातीयता अनुसार भिन्न भिन्न हुने गर्दछ । प्रत्येक कला धार्मिक, पर्व र स्थानिय संस्कृतिसँग अन्र्तसम्बन्धित हुन्छ । एस.सी. सुमन कायस्थ जातीमा पर्दछन् । जहाँ महिलाहरुले लामो समयदेखि त्यस्ता कलाहरु बनाउँदै आइरहेका छन् । सुमन आफ्नो कलाको प्रेरणाको रुपमा आफ्नी हजुर आमालाई मान्दछन् । जसले स्थानीय रुपमा प्रयोग हुने पिनेको चामललाई पानीमा घोलेर, गोवर, बाँस, निँगालो जस्ता प्राकृतिक कुराहरुको प्रयोगबाट आफ्नो साधना गर्ने गोसाइ घरमा प्रत्येक दिन चित्रहरु बनाउने गर्दथिन् । जहाँ अविर, सिन्दुर, केशरी जस्ता चिजहरुको पनि प्रयोग हुने गर्दथे । त्यसको ठूलो प्रभाव एस.सी.सुमनको चित्रकलामा देख्न सकिन्छ ।

डिसेम्बर १० देखि १५ जनवरीसम्म चल्ने चित्रकला प्रदर्शनीमा उनका ३२ वटा चित्रहरु समावेश छन् । जसमा उनले विभिन्न युग, समाज, समय,वातावरण, संस्कार आदि विषयहरुमा आफ्नो कला प्रस्तुत गरेका छन् ।

चार युग

मैथिल भाषिहरुका अनुसार युगले समयलाई इंगित गर्दछ भन्ने मान्यता राख्दछन् । उनिहरु उत्पत्ति र विनाशको चक्रलाई पनि विश्वास गर्दछन् । सत्य युगको आयु १७ लाख २८ हजार वर्षको हुन्छ भन्ने मान्यता राख्दछन् । उक्त युगमा भगवान विष्णुले शासन गर्दथे र उहाँलाइ कछुवाको रुपमा पुज्दछन् । समुन्द्र मन्थनको कथा यही युगमा भएको विश्वास लिइन्छ । यसलाई स्वर्ण युगको रुपमा मानिन्छ । उक्त कथालाई सुमनले आफ्नो चित्रमा प्रस्तुत गरेका छन् ।

त्रेता युगको आयु १२ लाख ९६ हजार वर्षको मानिन्छ र यस युगलाई रामायणको युग पनि भनिन्छ । एस.सी. सुमनले बनाएको त्रेता युगको चित्रमा उक्त समाजमा पाइने जन विश्वास र श्री हनुमानले द्रोणागिरी पर्वतलाई आफ्नो हातमा उचालेको चित्रहरु देख्न सकिन्छ । त्यति बेलाको अवस्थालाई सुमनले आफ्नो चित्रबाट प्रस्तुत गरेका छन् ।

द्वापर युगको समय ८ लाख ६४ हजार वर्षको रहेको मानिन्छ । जसमा भगवान विष्णुको आठौं अवतार श्रीकृष्णको जन्म भएको थियो । जसले आफ्नो बुद्धि र मायाँले सबैलाई लठ्ठ पारेका थिए । त्यस समयलाई इंगित गर्ने कृष्णका लिलाहरु लगायतका विषय उनको चित्रमा प्रस्फुटित भएको पाइन्छ ।

कलियुगको आयु ४ लाख ३२ हजार वर्षको मानिन्छ । अपवित्रता, द्विविधा जस्ता गुणहरु कलियुगले बोकेको हुन्छ । जसमा दमन, मृत्यु, ठुलोले सानोलाई थिचोमिचो गर्ने जस्ता गुणहरु पाउन सकिन्छ । उनका कलामा कलियुगको अवस्था हेर्न सकिन्छ ।

दश अवतार

उनका दश अवतार नाम दिइएको अर्को कलामा विष्णुको दश अवतारको विषयमा व्याख्या गरिएको छ । जुन व्याख्या चित्रको माध्यमबाट अति नै विशिष्ट तरिकाले कलाकारले गर्नुभएको छ । जसमा हरेक अवतारहरुले त्यति बेलाको अवस्थालाई सहि तरिकाले अगाडि बढाउन मदत गरेको विषय उजागर गरिएको छ ।

वातावरणीय सन्तुलन

मानिसहरु प्राकृतिका उपज हुन् । प्रकृतिबाट नै उनिहरुको दिनानुदिन दैनिकी चलिरहेको हुन्छ र जब प्रकृतिलाई मानिसहरुले दोहन गर्दछन् तव प्रकृतिले नै उनिहरुलाई पाठ सिकाउँदै विभिन्न विपद्हरु निम्त्याइ प्रकृतिलाई सन्तुलनमा ल्याउन मदत गर्दछ भन्ने सन्देश मूलक चित्र उनको अर्को विशेष आकर्षण हो ।

कोहवर चित्रकला

कोहवर नवविवाहित जोडिहरुको लागि बनाइएको हुन्छ । जहाँ त्यस्तो चित्रकला बनाइएको हुन्छ जसलाई कोहवर चित्रकला भनिन्छ । जुन चित्रकला नव विवाहित जोडीहरुलाई शिक्षा दिने हिसावले बनाइएको हुन्छ । जसमा घेराभित्र पञ्चदेवता, सुगा, मयुरको जोडी, माछा, कमलका पातहरु जुन जरासँग जोडिएका हुन्छन् लगायतका विषयहरुलाई विम्वको रुपमा प्रयोग गरी चित्र बनाइएको हुन्छ । सुखमय दाम्पत्य जीवन र प्रजननलाई मदत गर्ने हिसावले उक्त चित्रकला बनाइएको हुन्छ । त्यस्तै चित्रकला सुमनको यस प्रदर्शनीमा पनि देख्न सकिन्छ ।

प्रदर्शनीमा प्रर्दशीत चित्रकलाहरुले मिथिला चित्रकला के हुन् र के होइनन् भन्ने ज्ञान चित्रकार एस.सी. सुमनबाट पाउन सकिन्छ  । यी सुन्दर चित्रहरुको रसस्वादन गर्न सिद्धार्थ आर्ट ग्यालरी तपाइ आफैं गएर त्यसको स्वाद लिन सक्नुहुन्छ ।

Back to top button