हाम्रो वाणी सभ्यता

बोली र  वचनको  मिठास पनि  अहिले  त  सत्यको  प्रकाशका  निम्ति  होइन   चाप्लुसी  र  चाकरी   अनि  झुटो   प्रशंसाका  लागि  दुरुपयोग  भएको  छ।

कोही  बोलीमा  रस  हुन्छ

कोही  बोलीमा  रिस

यै  बोलीले  गर्दा  पिउँछन्

मानिसले  विष  राजै  मानिसले  विष 06

उदय  सोताङ्ले  गाएको  माथिको   गीतले  मान्छेको  बोली  कति  सार्थक  हुनसक्छ  र  मान्छेकै   बोली  कति  घातक  पनि  हुन सक्छ   भन्ने  कुरालाई  ज्यादै  सुमधुर  ढङ्गले  सम्झाएको   छ।  नेपाली  समाजमा  बोली र  वचनको  प्रभाव र  असरका   सम्बन्धमा  खास  अध्ययनहरू  भएका  छैनन् ।  शब्दलाई नै  ब्रह्म  मान्ने  दार्शनिक  परम्परा  भएको  यस  भूमिमा  वाणी  सभ्यताको  स्वस्थ   इतिहास  बिस्तारै  धूमिल  बन्दै  गएको  अनुभूति  हुन्छ।  हाम्रो समाजमा  अहिले मान्छेको    बोली भन्दा    बन्दुकको गोली  र पैसाको  ठेली  शक्तिशाली  हुँदै  आज  जनताको  आवाज  र  जिब्रो  थुत्न  दल नामधारीका  नाइकेहरू  हत्ते गरेर  लागिरहेको  दृश्य  सामान्य   भइसकेको  छ।   शब्द  , मन्त्र   र तन्त्रको  आध्यात्मिक  शक्तिको  बखानले  भरिएका  ग्रन्थहरू  समेत  बन्दुकका  गोलीका  अगाडि  मौन  धारण  गरी  आफ्नो  प्राचीन  गरिमा  र  महिमामा   लागेको  धुलो  समेत  टक्टक्याउन  नसकी  निसासिइरहेका  झैँ  लाग्दछन् ।

बोली र  वचनको  मिठास पनि  अहिले  त  सत्यको  प्रकाशका  निम्ति  होइन   चाप्लुसी  र  चाकरी   अनि  झुटो   प्रशंसाका  लागि  दुरुपयोग  भएको  छ।  हुन  त  रोटी  चिल्ला  मिठा   , कुरा  खस्रा  मिठा  भन्ने  नेपाली  उखानले   खस्रो  बोलीको  महत्त्व  दर्साउन  खोजेको  होला  तर  यस  उखानले  बोलीको  सत्य तथ्यको  चुरो   महत्त्वपूर्ण  हुन्छ   भन्न  खोजेको  होला ।   नेपाली  समाजमा  बोलिने   बोली र  वचनलाई   सांस्कृतिक  मूल्यको  तुलामा   तौलदा  थाहा  लाग्छ  :  वास्तवमा   हाम्रो  समाजले  बोली वचनको  मूल्य  र  गरिमा  क्रमशः  बिर्सदै  गएको  छ।

लोकतान्त्रिक  समाजमा  बोली र  वचनको पनि  मूल्य  हुन्छ।  आफ्नै  सांस्कृतिक  अभ्यासहरू  हुन्छन् ।  लोकतान्त्रिक  मूल्य प्रणालीअनुसार   सामाजिक  मर्यादा  र  अनुशासनका  केही   सांस्कृतिक  प्रतिमानहरू  हुन्छन् ।    असलमा  वाणीको  पनि आफ्नै  लोकतान्त्रिक  सभ्यता  हुन्छ  तर  हाम्रा  बोली   र  वचनका   पनि  भिन्नभिन्न  शक्ति  केन्द्रहरू  छन्  र  तिनका  निम्ति  बोलिने  शब्दका  छुट्टै   बान्की  र  आकृतिहरू छन् ।  समाज  परिवर्तनशील  छ  , समाजको  उत्पादन  प्रणालीअनुसार  मानिसका  सांस्कृतिक  क्रियाकलापहरू  पनि  बदलिरहेका  हुन्छन् ।  दास  युगमा  दासहरूले  मालिकका  निम्ति  बोल्ने  वाणी  र  दासहरूका निम्ति    मालिकले  बोल्ने  वाणी  र  भाषा  बेग्लाबेग्लै  हुन्थ्यो ।  सामन्तवादी   समाजमा  राजा र   तिनका  छेउछाउका   रजौटाहरूका  निम्ति  सर्वसाधारणहरूले  बोल्ने  भाषा  अर्कै  खालको  हुन्थ्यो ।  महाराजहरूका  निम्ति  प्रयोग  गरिने  बोलीमा   आदरार्थी  शब्दको  छेलोखेलो  हुन्थ्यो  भने   सर्वसाधारणका  लागि  धिराजहरूले  बोल्ने  बोलीमा  अपमान  र  तिरस्कारको  आहाल  हुन्थ्यो  ।   राजाहरूको स्तुति  र  पुरुषार्थ वर्णन  गरिएका   साहित्यमा  राजाधिराजहरूको  माहत्म्यको  गुणगान  गाइँदा  मुलुकका  तल्लो  वर्गका   जनताहरू चाहिँ  दासता  र  गुलामीका  मखमली  गाथाहरू  गाइरहेका  हुन्थे। यद्यपि  यही  मानसिकताको  नयाँ  संस्करण  अहिले  पनि  जारी  छ।

हामी मध्ये  कतिले  सार्वजनिक  सवारी  साधनको  सहचालकलाई  तपाईं  भनेर  सम्बोधन  गर्छौं  ?  हामी  मध्ये  कतिले  होटलको  वेटर  जस्ता  वर्गका  कामदारलाई   तपाईं  भन्छौं  ?   विभिन्न  कार्यालयका   कार्यालय  सहयोगीलाई  तपाईं  भन्ने  हाकिमहरू  कति   होलान्  ? अनि  आफूलाई  तिमी  वा  तँ भनेकोमा  प्रतिकार  गर्ने  श्रमिक  मजदुरहरू  कति  होलान्  ?  हामी   हामीजस्तै  अर्को  मान्छेलाई  किन  र  के को आधारमा  तिमी   वा तँ  भनिरहेका छौँ  ? सबै  मान्छे   हाकिम  हुदैनन् । सबै  मान्छे  मालिक  हुँदैनन् ।   सबै  मान्छे  राजा पनि  हुदैनन्  र  हुने  अभ्यास   पनि  गर्नु हुँदैन ।  सङ्घीय  लोकतान्त्रिक  भनिएको  यो  गणतन्त्रले कसैलाई  पनि  दास  र  मालिकको  दर्जा  दिएको  छैन   यद्यपि  पनि  हाम्रो   मेगालोमेनियाको    मानसिकताचाहिँ  नयाँ  नयाँ  भाव  र   भङ्गीमासहित   सुटेड  बुटेड  भएर  प्रतिदिन  बढ्दै   गैरहेको  छ ।  वास्तवमा  मानवशास्त्रीहरूले   ठिकै  भनेका   रहेछन्  :  दुनियाँमा  दासप्रथाको  कहिल्यै   अन्त्य  हुन्न   यो  त  युग अनुसारको  ढाँचामा  जहिलेसुकै  र  जहाँसुकै  पनि   उपस्थित  भइरहेकै हुन्छ।

हाम्रो  सांस्कृतिक   जीवनमा  कसैले  कसैलाई  दिएको  वचनको  ठुलो  मूल्य  हुने   गर्थ्यो  ।  ज्यान  जाला  तर  दिएको  वचन  तोड्दिन  भन्थे   मान्छेहरू  !  अहिले  हेरौँ  नेपाल  कसैले  कसैलाई    दिएको वचन   कहिल्यै  पूरा  गर्नु  नपर्ने  आश्वासन केन्द्र तथा  वचनामृत  विस्मरण  आलय  बनिरहेको  छ।   यहाँ  बोली  र  वचनले  एकले  अर्कालाई  घोच्ने र  घोचाइ खाने त  पुरानै  चलन  हो ।   सार्वजनिक  बसमा  सहचालकलाई  विद्यार्थी  परिचय  काड देखाउँदा  काड धनीले  देखाउने  आडम्बर  र  अहङ्कारको  फुइँको  आयतन  बस भरी  अटाइनसक्नुको  हुन्छ। हुन  त  सहचालक  र  चालकहरू  पनि  सभ्य  छैनन्   तर   सत्यचाहिँ  के  हो  भने  तपाईं  हामी  सभ्य   नभए  सम्म   सहचालकहरू  कहिल्यै  सभ्य   हुँदैनन्।   विद्यार्थी  काड हेरेर  सहचालकले  ठिकसँग  पढ्न   नजान्दा  हामी  उनीहरूलाई  यसरी  अपमानित  गर्छौं  कि  जगतभरिको  विद्या र  ज्ञानको  डिग्री जति  हाम्रै  खल्तीमा  छन् ।  के  कुनै  सहचालक वा  मजदुरले  पढ्न लेख्न  नजान्नु  हाम्रो  लागि  खुसीको  स्रोत  बन्छ  ? आनन्दको  खबर  हुन्छ ?  अनि  त्यही  अर्धपठित  सहचालकले  हाम्रो  परिचय  कार्ड  नक्कली  भएको  पत्तो  लगायो  भनेचाहिँ  जगत  भरिको  हाम्रो  विद्याभूषणको  हाल  के  हुन्छ  ?  त्यसो  त  कार्ड  देखाउँदा  पनि  छुट  नदिने  समस्या  पनि  छ। त्यो पनि  दोहोरिइरहन्छ तर   त्यसको  समाधानको  अर्कै  तरिका  होला   फेरि  पनि  कुरो त  बोल्ने  सभ्यताकै  हो ।

महाधिवेशनको  मौसम  छ।  नेता गणका  बोली , शब्द  र भाषाको   शालीनता  र  शिष्टता  त  हामी   देखिरहन्छौँ।  सुनिरहन्छौं।   पाँच  कक्षामा  बालबालिकाको  स्वाभाविक  ईर्ष्या  र  बालापनको  बदला जस्ता  ढाँचामा  यी  पितृहरूको  काँचो  व्यवहार  देखेर  , यिनको  वाणीको असंयमता  सुनेर   र  यिनको  आरोप प्रत्यारोपको  अनर्गल  प्रलाप  सुनेर   यी  मानवरुपी  वानरहरू  कसरी  र  कुन  मार्गबाट  नेतृत्वको  त्यो  उचाइसम्म  पुगे  हुन्  भन्ने  लाग्छ।   शब्दका  वाण र  भाला  सकेसम्म  तिखा  पार्दै  एउटाले  अर्काको  सिकार  गर्नु  र  शब्दहरूको  अभद्र  प्रस्तुतिको  कीर्तिमान  कायम  गर्नु  नेता  नाम धारीहरूका   निम्ति  नेतृत्व योग्यताको  एउटै  पहिचान  हो  कि  भन्ने  भान   पर्न  जान्छ।

लोकतान्त्रिक  शासन  व्यवस्थामा  शासक  र  सर्वसाधारणले  बोल्ने   शब्द  र  भाषामा  भिन्नता  हुनु हुँदैन  भिन्नता    हुनु हुँदैन   भनेको  असमानता  हुनु  हुँदैन । कुनै  पनि   सामाजिक  जीवन पद्धतिमा  जात , वर्ग , लिङ्ग  , पदीय  सोपान , आर्थिक  हैसियत  अनि  वंशीय  विशेषाधिकारका  आधारमा   भेदभाव भैरहन्छ    त्यहाँ   अलोकतान्त्रिक  संस्कृतिलाई  टेवा  दिने  वाणीजन्य  भिन्नता मात्र हुन्न   यही  भिन्नता  नै  विभिन्न   स्वरूपको  भेदभावको  कारक  पनि  बन्न  पुग्दछ।

Back to top button