शुरु भयो काठमाडौँ ट्रिएनाले

खोज पत्र
खोज पत्र २० फाल्गुन २०७८, शुक्रबार १०:३०
5 Min Read
Aa

कलाको कुम्भ मेला जस्तै स्वरुपमा एक चित्रकला प्रदर्शनी शुरु भएको छ । यस प्रदर्शनीमा धेरै देशका कलाकारहरुको कला समावेश भएको छ । यस प्रदर्शनीमा नयाँ पुस्ताले विश्वमानचित्रमा कस्ता कलाहरुलाई महत्व दिइन्छ भन्ने विषय समेत जान्ने अवसर पाउँछन् । त्यस्ता कलाहरुलाई एकै थलोमा प्रदर्शनी गर्ने उद्देश्यले काठमाडौंमा मार्च  १ तारिखदेखि ‘काठमाडौं ट्रिएनाले’ नाम दिइएको कला प्रर्दनी भइरहेको छ । जुन कला प्रदर्शनीको विधिवत सुरुवात फेबूअरी ११ मा अनलाइनको माध्यमबाट कलाका विषयमा भएका अध्ययनहरुका विषयमा छलफल गर्दै शुरु गरिएको थियो ।

चालीस भन्दा बढी देशका कलाहरु समावेश भएको उक्त कला प्रदर्शनीमा १३० जना भन्दा बढी कलाकारहरुको करिब ३०० भन्दा बढी सिर्जनाहरु समावेश गरिएको छ । श्रव्य दृष्यका माध्यमबाट कलाको प्रस्तुती जसमा कुनै समयमा भएका घटना वा वर्तमानमा घटित भइरहेका विषयलाई डकुड्रामाको तरिकाले समेत प्रस्तुत गरिएका सामग्री काठमाडौं ट्रिएनालेमा समावेश गरिएको छ ।

पुराना सामाग्रीहरुको कलेक्सनलाई समेत आर्टको रुपमा स्थान दिएर त्यस्ता विषयहरुलाई समेत प्रदर्शनीमा राखिएको छ । विभिन्न समुदायका सांस्कृतिक झाँकीहरुलाई पनि विभिन्न स्थानमा समावेश गरिएको छ ।

नेपाली पौभा चित्रकला, प्रिन्टमेकिङमा बनाइएको श्रीकृष्णको जन्म पछि रातको समयमा उनका पिताले कृष्णलाई द्वारिका सम्म कसरी लगे भन्ने देखाउन खोजिएको अर्को चित्रकला पनि यस ट्रिएनालेमा समावेश गरिएको छ । त्यस्तै भक्तपुरमा नाचिने एक नाचलाई समेत चित्रमा प्रस्तुत गरिएको छ ।

विदेशी कलाकारहरुको विशेष कलाकृतिहरुलाई स्थान दिइएको ट्रिएनाले काठमाडौंको पाटन संग्रहालय, पटनकै बहादुरशाह बैठक, सिद्धार्थ आर्ट ग्यालरी, नेपाल आर्ट काउन्सिल र तारागाउँ संग्रहालय गरि पाँच वटा स्थानमा कलाहरु प्रदर्शनीमा राखिएको छ ।

आयोजकले सम्पूर्ण स्थानमा कला प्रदर्शनी निःशुल्क हेर्न सकिने भनेको भएतापनि पाटन म्युजियमले भने त्यहाँ ट्रिएनाले हेर्न जानेहरुसँग टिकट काटेर मात्र जान दिइरहेको छ । यसै विषयमा हामीले त्यहाँका कर्मचारीसँग कुरा गर्दा उनिहरुको भनाइ थियो– ‘हामीलाई कुनै त्यस्तो सूचना छैन जसले गर्दा हामीले यहाँ कला हेर्न आएकालाई निःशुल्क भित्र छिर्न दिन सकौं ।’ यो पक्षमा भने काठमाडौं ट्रिएनालेको कमजोरी रहेको देखियो ।

हरेक ठाउँको कलाहरुलाई छुट्टै थिम दिइएको छ । जसमा सिदार्थ आर्ट ग्यालरीमा भुकम्पको थिममा बनाइएका कलाहरुलाई राखिएका छ भने नेपाल आर्ट काउन्सिलमा जनआन्दोलनको थिम समावेश छन् । त्यसैगरी तारागाउँ संग्रहालयमा लोककलाका विषयलाई बढी स्थान दिइएको पाइन्छ ।

परम्परागत कला अन्तर्गतको थिममा पाटन संग्रहालयमा राखिएको कलाहरु छन् भने बहादुरशाह वैठकमा डरको थिममा बनाइएको चित्रकला तथा संकलित समग्रीहरु राखिएको छ ।

प्रत्येक ३–३ वर्षमा आयोजना गरिने ट्रिएनाले कोरोना महामारीका कारण एक वर्ष ढिला हुन पुगेको आयोजक बताउँछन् । हालको प्रदर्शनीमा विश्वका करिब ४० भन्दा बढी देशका समाज तथा समुदायमा प्रयोग हुने तथा कुनै समयमा प्रयोग भएका विषयहरुलाई प्रतिविम्बित गर्ने कलाहरु समावेश गरिएका छन् ।

प्रदर्शनीमा हस्तकला, दन्त्यकथा तथा परम्परागत कलाकृतीहरुलाई समग्रमा समावेश गरिएको छ । यस्ता किसिमका कलाका अभ्यासहरु समुदायहरुमा भइ नै रहेका हुन्छन् र समयक्रमसँगै परिमार्जित तथा विकास हुँदै गई नै रहेका हुन्छन् । अरु राष्ट्रहरुमा पनि अभ्यास भइ नै रहेको तथा लोप प्रायः हुन लागिरहेका यस्ता कला अभ्यासीहरु जो सिमान्तकृत वर्गमा पर्दछन् र उनीहरुको आवाज आम जनमानसमा पु¥याउन यस ट्रिएनालेले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले विभिन्न उद्घाटन सत्रका कार्यक्रमहरुमा बताउँदै आइरहेका छन् ।

यस ट्रिएनालेमा नेपालका पौभा चित्रकला, पूर्वी एशियाका मसीकला र प्रशान्त महासागरका टापुहरुमा रुखको बोक्राबाट बनेका कपडा देखि संसारभरका विभिन्न बुनाइका विधि र शरिरमा बनाइने छेदना जस्ता हाल क्रियाशील तर समसामयिक कलाको चर्चाबाट प्रायः चर्चाशुन्य बनाइने परम्पराहरुलाई एकै ठाउँमा ल्याउन र बुझ्न उपयुक्त ढाँचाहरुका बारे छलफल गर्ने माहोल यस ट्रिएनालेले दिने विश्वास आयोजकले गरेको छ ।

यस्ता किसिम कलाहरुले अर्थनिर्माणका विभिन्न अवसरहरुलाई खुलाउँदै यी कलाहरुलाई जनमानसमा ल्याउँदै विभिन्न देशका राज्य पक्षबाट यस्ता किसिमका कलाहरुलाई प्रवद्र्धन गर्दै उनीहरुका आवाजहरुलाई सुनाउने जमर्काे समेत यस ट्रिएनालेले लिने विश्वास गरिएको आयोजकले एक कार्यक्रममा बताए ।

अहिलेको विकासक्रमसम्म आइपुग्दा कला क्यानभासमा मात्र सिमित नभई अभिव्यक्तिको अर्काे आयाममा प्रवेश गरिसकेको छ । अहिले क्यानभाासमा उतारिने कलाहरु भन्दा क्यानभास बाहिर गरिने यस्ता प्रयोगहरुलाई पनि कलाको रुपमा लिने जमात विस्तारै आउँदै गरेको र त्यसलाई जगेर्ना गर्नु र त्यस्ता विषयलाई अगाडि ल्याउनुले आगामी दिनमा कला के हो र यसलाई कसरी हेरिनु पर्दछ भन्ने विषयमा बहस चलाउन समेत यस कला प्रदर्शनी कोशेढुङ्गा सावित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्