मृगौला रोगीहरुको सहयोगार्थ चित्रकला प्रदर्शनी

खोज पत्र
खोज पत्र ३० फाल्गुन २०७८, सोमबार १६:५१
7 Min Read
Aa

नेपालमा विश्व मृगौला प्रत्यारोपण दिवसको अवसर पारेर किष्ट अस्पतालले चित्रकला प्रदर्शनी आयोजना गरेको छ । विभिन्न रोगहरुको माध्यमबाट मृगौलाले काम गर्न नसक्ने हुनु विश्वव्यापी रुपमा बढ्दै गइरहेको परिप्रेक्षमा किष्ट अस्पतालले जनचेतना जगाउने हिसावले कार्यक्रम गरेकोमा कलाकारहरुले खुसी व्यक्त गरे ।

किष्ट अस्पतालकी डिन प्रा.डा. दिव्या सिंह शाहका अनुसार सन् २००८ मा पहिलोपटक त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा मृगौलाको सफल प्रत्यारोपण भएको जनाउँदै र हाल दश वटा अस्पतालहरुमा मृगौला प्रत्यारोपण सेवा सुचारु भएको तथा हाल सम्म २५०० जनामा सफल मृगौला प्रत्यारोपण भइसकेको बताउनुभयो ।

यस्ता मृगौला सम्बन्धी समस्याबाट नेपाल पनि अछुतो नरहेको र बढ्दो शहरीकरण, व्यायाम नगर्नु, सामान्य सुगर, प्रेसर रोगहरुको समयमा उपचार नुहुनु वा निरन्तर स्वास्थ्य जाँच नगर्नाले पनि अन्ततोगत्वा मृगौलालाई असर पार्ने विज्ञहरु बताउँछन् । यसै परिप्रेक्ष्यमा किष्ट अस्पतालले मृगौला दान  तथा अंग दानलाई प्रोत्साहन गर्नको लागि सप्ताहव्यापी रुपमा कला प्रदर्शनी तथा मृगौला दिवस मनाइरहेको अस्पतालका डा. नारायण प्रसाद भुसालले बताउनुभयो ।

चित्रः किरण मानन्धर

यस कार्यक्रमको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँड तथा नेपाल कलापरिषद्का अध्यक्ष वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रम किष्ट अस्पताल र नेपाल कला परिषद्को संयुक्त आयोजनामा विश्व मृगौला दिवस सप्ताहव्यापी कार्यक्रमको अवसर पारेर गरिएको हो ।

कार्यक्रममा नेपाल कला परिषद्का अध्यक्ष वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भन्नुभयो, ‘जसरी भित्रीं अंग देखिँदैन त्यसरी नै कलाकारहरुले भित्री मनमा रहेका भावनाहरुलाई यस कला मार्फत व्यक्त गरेका छन् । पहिले पनि मानिसहरु विरामी हुन्थे, त्यस बेलामा उपचार गर्न शैव परम्परा मान्नेहरुले धन्वन्तरीको पुजा गर्ने गर्दथे र बौद्ध धर्ममा वैसज्य बुद्धलाई पुजा गर्ने चलन थियो । राणाकालिन समयसम्म आइपुग्दा त्यो विस्तारै परिवर्तन हुँदै बंगाली डाक्टरहरुले विरामीहरुलाई  उपचार गर्न नेपाल भित्रिएका थिए । वि.सं. २००७ साल अघि सम्म वीर अस्पतालले विरामीहरुलाई गुठीको पैसाले खाना खुवाउने चलन थियो । अहिले विस्तारै त्यो लोप भइसकेको छ र अहिले धेरै नै डाक्टरहरु नेपालमा उत्पादन भइसकेका छन् । यो धेरै नै खुसीको कुरा हो ।’

यस कला प्रदर्शनीमा नेपालका प्रख्यात २० जना कलाकारहरुबाट बनाइएको चित्रकलाहरुलाई किष्ट अस्पतालको नयाँ भवनको भुइँतलामा प्रर्दशनीमा राखिएको छ । कला प्रदर्शनीको अवसरमा सम्पूर्ण जीवित मृगौला दाता तथा इच्छुक अंगदाताहरुलाई प्रोत्साहन, सम्मान तथा चेतना अभिवृद्धिका लागि कार्यक्रम गरिएको आयोजकको तर्फबाट सुप्रिना प्रजापतिले बताउनुभयो ।

वरिष्ठ मृगौला सर्जन डा. नारायण प्रसाद भुसाललका अनुसार नेपालमा मृगौला रोगीहरुको पहिचान अन्तिम चरणमा मात्र थाहा हुन्छ किनकी यस रोगको कुनै पनि लक्ष्यणहरु सुरुमा नै थाहा नहुने र अन्तिम अवस्थामा मात्र विरामीहरु अस्पतालमा पुग्ने बताए । डाइलासिस गर्नुभन्दा प्रत्यारोपण गर्दा जीवन लम्बिने भएको हुँदा यस्तो कार्यलाई प्रोत्साहन गर्नको लागि यस कलाप्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।

चित्रः जीवन राजोपाध्याय

चित्रहरुका माध्यमबाट शब्दले भन्दा बढी कुराहरु अभिव्यक्त हुने तथा वरिष्ठ कलाकारहरुका चित्रकला समावेश भएकोले यसले जनमानसमा राम्रो चेतना जगाउन मदत गर्नेमा डा. नारायण प्रसाद भुसालल विश्वस्त छन् ।

अर्का मृगौला विशेषज्ञ डा. सन्तोष क्षेत्रीका अनुसार नेपाल जस्तो विकासोन्मुख मुलुकमा धेरै मानिसहरु सडक दुर्घटनामा परि मृत्युवरण गर्दछन् र उनीहरुको आफन्तजनहरुले यदि यसरी मृगौला तथा अन्य अंगहरु दान दिन चाहेमा आठ जना रोगी मानिसहरु स्वस्थ जीवनयापन गर्न सफल हुनेछन् । तर कसैले दान गरेको अंग कसलाई प्रत्यारोपण गर्नुपर्ने हो भन्ने विषयमा अझै स्पष्ट कानुनी बाटाहरु नखुलेको उनको गुनासो छ । यही कुरालाई अन्य किसिमका क्रियाकलापहरुबाट जनचेनना जगाउनु भन्दा चित्रकलाको माध्यमबाट जनचेतना जगाउँदा धेरै मानिसहरुमा पुग्ने र यही चित्रकलाहरु पनि आकर्षणको केन्द्रविन्दु बनाइ विरामीहरु नयाँ उर्जा प्रदान गर्न मदत गर्ने उनले बताए । साथै, विपन्न विरामीहरुलाई समेत सहुलियत दरमा सेवा सुविधा दिन यी चित्रकलाहरु प्रयोग हुनसक्ने उनको कथन छ ।

चित्रकारहरु किरण मानन्धर, सागर मानन्धर, नवीन्द्र राज भण्डारी, सरिता ढंगोल, सुनील रञ्जित, सुनिता राणा, प्रमिला बज्राचार्य, भाइराजा महर्जन, जीवन राजोपाध्याय, हरि खड्का, नरेश सुन्दर सैंजु, बुद्धि गुरुङ, डी.राम पाल्पाली, मुकेश श्रेष्ठ, शंकरनाथ रिमाल, रमेश श्रेष्ठ, मणिक होरा, पृथ्वी श्रेष्ठ, संगी श्रेष्ठ र रोशन प्रधान गरी २० जना कलारहरुको चित्रकला कार्यशालामा समावेश गरिएको छ ।

वरिष्ठ कलाकार किरण मानन्धरका अनुसार कुनै पनि अस्पतालले मृगौला सम्बन्धी चित्रकला प्रदर्शनी गरेको यो पहिलो पटक हो र यस्ता कामहरुले कलाहरुको समेत हौलसा बढाउन मदत गर्ने र भविष्यमा पनि यस्ता कार्यहरु अस्पतालहरुले गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

अर्का कलाकार संगी श्रेष्ठका अनुसार ‘यस्तो किसिमको कार्यक्रमहरु भइराख्दा कलाकारहरुलाई थप हौसला मिल्ने तथा यसबाट अस्पताललाई पनि सहयोग पुग्ने छ ।’

चित्रः सुनिता राणा

आफ्नो मनको अन्तरकुन्तरबाट सिर्जना गरिएका यी कलाकृतिहरु लामो समयदेखि सिर्जनाको क्यानभासमा नै कुचि र रङहरु चलाइरहेका हातहरु भएका कारण यी चित्रकलाहरु आफैंमा उत्कृष्ट छन् । प्रत्येक क्यानभासमा कोरिएका रङहरुले ‘अंग दान नै जीवन दान हो’ भन्ने भाव झल्काएको कलाकार नरेश सुन्दर सैजु बताउँछन् ।

नेपालमा हिन्दु जातीहरुको बाहुल्यता रहेको र उनीहरुले मृत्युपश्चात अंगदान गर्न नहुने रुढीवादीहरु मनग्य रुपमा रहेको हुँदा पनि यस्तो किसिमको दान दिन कमै मानिसहरु इच्छुक हुने गरेको परिप्रेक्षमा यस्ता किसिमका तालिम प्राप्त परामर्शदाताहरुले यदि यस्ता मानिसहरुलाई दान दिन राजी गराउन सकेको खण्डमा अझ धेरै मानिसहरुलाई बचाउन सकिने मृगौलाको क्षेत्रमा लामो समयसम्म काम गर्ने प्रा.डा. दिव्या सिंह शाहले बताइन् । दान दिनको लागि सुझाव दिन विज्ञ डाक्टरहरुले नमिल्ने गरेको सूचना पनि छ किनकी यदि यस्तो किसिमको दान दिन डाक्टरहरुको सुझाव दिन लगाउँदा आफैंले काम गरिरहेका विरामीहरुलाई मात्र अंग दानबाट फाइदा पुर्याउने खतरा भएको र यसो गर्दा अरु विरामीहरुलाई मर्का पर्न सक्ने कुरा पनि अन्तत्वागत्वा आउन सक्ने हुन्छ । त्यसैले पनि प्रत्यारोपण गरिनुपर्ने मानिसहरुको यकिन तथ्यांक संकलन गरी नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले त्यसका तथ्यांक राखी जनचेतनामूलक ढंगले परामर्शदाताहरुलाई पनि खटाउन सकेमा धेरै मृगौला रोगीहरुले नयाँ जीवन पाउने डा. सन्तोष क्षत्रीले बताउनुभयो ।

चित्रः रोशन प्रधान

प्रतिक्रिया दिनुहोस्