प्रकृति र प्रेमको समिश्रण

सुनिल राज ढकाल
सुनिल राज ढकाल ३० चैत्र २०७८, बुधबार ०६:००
6 Min Read
Aa

नेपाली चित्रकलाको जगतमा एउटा छुट्टै पहिचान अनि उचाइ बनाएकी सविता डंगोल करिब पाँच वर्ष निरन्तर गरिएको कामहरुलाई लिएर एकल चित्रकला प्रदर्शनीका साथ आइपुगेकी छिन् । चित्रकलाको यात्रामा उनका कामहरुलाई काइँयो र प्रेमिल जोडिको समिश्रणलाई बढो बेजोड तरिकाले क्यानभासमा उतार्ने कलाकारको रुपमा चिनिन्छ भने उनको यस प्रदर्शनी छैठौं हो ।

सिद्धार्थ आर्ट ग्यालरी, बबहरमहलमा ११ अप्रिल देखि २९ अप्रिलसम्म हुने उनको एकल चित्रकला प्रदर्शनीमा उनले लामो समयसम्म गरेको कामलाई प्रस्तुत गरेकि छिन् । उनका अनुसार उनको अघिल्लो वर्ष नै एकल चित्रकला प्रदर्शनी गर्ने सोच रहेको तर कोरोना महामारीले विश्व नै आक्रान्त भइरहेको कारण प्रदर्शनीलाई अहिले आएर मूर्त रुप लिएको कलाकार डंगोल बताउँछिन् ।

विशेषतः उनका चित्रकलाहरुमा रङ्गको समिश्रण र त्यसमा प्रतिविम्बित गरिने काइँयो र प्रेमलाई अहिले भने प्रकृतिसँग समेत जोडेर काम गरेकी छिन् । ‘जसरी प्रत्येक मानिसको डि.एन.ए. छुट्टा छुट्टै हुन्छ र त्यो कपालको माध्यमबाट पनि हेर्न मिल्छ, त्यही कपाललाई नै सजाउँदा मानिसहरु निकै आकर्षक देखिन्छन् र सजाउनको लागि काइँयोको प्रयोग गरिन्छ त्यसैले पनि प्रतिकात्मक रुपमा हरेक चित्रकलामा काइँयोलाई देखाउन रुचाउँछु,’ डंगोल बताउँछिन् ।

जुनकुनै समाज वा देशमा भएका अस्तव्यस्ततालाई सुधार गर्ने विभिन्न आयामहरु हुन्छन् र त्यस्ता आयामहरुको माध्यमबाट समाज सभ्य र भव्य बन्न मद्दत गर्दछ । त्यस्ता आयामहरुलाई सुधार्ने साधनको रुपमा उनले आफ्नो चित्रकलामा काइँयो प्रतिविम्बित गरेको बताँछिन् ।
कलाको यात्राका दौरानमा एक दिन सविताले निजगढको बारामा कार्यशालामा भाग लिन जाने मौका पाइन् । उक्त स्थानमा एयरपोर्ट बन्न लागेको र त्यहाँ रहेको विशाल एक वृक्ष देखेपछि उनलाई लाग्यो, ‘विमानस्थल बनाउँदा यो वृक्ष पनि काटिनेछ वा ढल्नेछ । तर त्यसको बदलामा अन्य कुनै रुख रोपिएला वा नरोपिएला उनलाई कौतुहलता भइनै रह्यो । त्यसै रुखलाई आफ्नो कलामा विम्बको रुपमा प्रस्तुत गरी आफ्नै शैली प्रेम र काइँयोको प्रतिकलाई प्रकृतिसँग मिसाएर उनले चित्रकला बनाइन् । त्यसपछि उक्त चित्रकलाले बेस्ट नेचर आर्टिष्ट पुरस्कार डब्लु डब्लु एफबाट पायो । आफुलाई पनि मन परेको चित्र भएको कारण उनले त्यही चित्रकलालाई केही ढाँचा बदली पुनः यस प्रदर्शनीमा राखेकी छन् जुन एकदमै मनमोहक पनि छ ।

समय वित्दै गयो, विश्वमा कोरोना महामारी फैलियो । अक्सिनको संकटका विषय ठूलो विषय बनेर सञ्चार माध्यममा पनि आए र मानिसहरुको ज्यान पनि अक्सिन अभावकै कारण गयो । त्यसैले सविताले प्रकृतिमा रहेको रुख कत्ति महत्वपूर्ण छ भन्ने भाव झल्काउने खालका चित्रहरु बनाउन थालिन् । उनका चित्रमा प्रेम र काइँयो मात्र नभई अहिले रुखको महत्व लाई पनि प्रतिकात्मक रुपमा प्रस्तुत गरिरहेकी उनी बताउँछिन् । यस वृक्षको प्रत्येक हाँगाबाट काइँयो फलिरहेको छ र, यसले अहिले भइरहेको समस्यालाई सुल्झाउन मदत गर्ने उनको बुझाइ रहेको छ ।

त्यसैगरी अर्को चित्रकलामा उनले दुई प्रेमिल जोडिहरुको टाउकोबाट एक विशाल वृक्ष बनिरहेको देखाएकी छिन्, कोरोना महामारीले गर्दा मानिसहरु घरभित्रै रहिरहने र त्यस्तो बेलामा राम्रोसँग स्वास फेर्न वृक्ष अनि जंगलहरुले कति सम्म महत्व खेल्छ भन्ने विषयलाई आत्मसाथ गरेर चित्र बनाएको अनुभव सुनाउँदै उनी अगाडि थप्छिन्– उक्त वृक्षमा विभिन्न जनावरहरु पनि छन्, करिब दुईसयवटा जति जनावरहरु त्यस रुखमा बनाएको छु र प्रत्येक जनावरहरुले बनजंगल, जनावर तथा मानिसको अन्तर सम्बन्धलाई प्रतिविम्बित गर्दछ ।
काइँयोलाई नै किन प्रतिकात्मक रुपमा प्रस्तुत गर्नुभएको भन्ने एक प्रश्नमा उनि बताउँछिन्– जुन विम्वले सुधारको प्रतिनिधित्व गर्दछ, त्यसलाई प्रतिकात्मक रुपमा उतार्दा विसंगीत, कुरितिलाई सुधार्न मद्दत गर्ने सन्देश दिनका लागि पनि यस विम्ब महत्वपूर्ण रहेको र त्यसलाई प्रतिस्थापन कलाका रुपमा समेत प्रयोग गर्नुपर्छ भन्ने हेतुले अहलेको काम आएको हो ।

उनले प्रतिस्थापन कला काइँयोलाई प्रस्तुत गर्नको लागि गरेको संघर्ष भने यस्तो छ–‘काइँयोलाई लिएर प्रतिस्थापन कला गर्ने योजना बनाएँ तर धेरै ठाउँ डुल्दा पनि काठको काइँयो बनाइदिने मानिस भेटिएन । केही समयको मिहिनेत पछि ललितपुरको बुँगमतिमा गएर उक्त काइँयो बन्ने अवसर जुर्यो र त्यसलाई ल्याएर आफुले त्यसमा रंगभर्ने र आफ्नो कलालाई फरक ढंगले प्रस्तुत गरी मूर्त रुप दिने काम गर्न सके । जब काइँयो आइपुग्यो तव त्यसमा पुनः विभिन्न अष्ट मङ्गलहरु तथा प्रेमिल जोडिहरुलाई नै शीर्ष स्थानमा राखि आफ्नो कला प्रस्तुत गरें ।’

त्यसैगरी अर्को एक चित्रमा उनले आफुले गरिरहेको काम भन्दा विल्कुल फरक ढंगको अर्धनग्न कला प्रस्तुत गरेकि छिन् र त्यसमा उनले प्रेमपूर्ण तरिकाले कला प्रस्तुत गरेकी छिन् । उक्त चित्र कसरी कोर्न सफल हुनुभयो ? भन्ने अर्को जिज्ञासामा सविता भन्छिन् –‘ग्यालरी एमक्यूबमा कलाकार कपिलमणि दिक्षितसँगको सहकार्यमा एक चित्रकला न्युड सम्बन्धी बनाउनु पर्ने भएको थियो । त्यहाँको लागि बनाइएको उक्त चित्रका र अर्को केही फरक खाले चित्रमा भने छेउमा एउटा श्रीयन्त्र पनि राखेको छु । जसमा त्रिभुजाकार आकृतिहरु रहेका छन् । प्रत्येक त्रिभुजहरु माथि र तल फर्कि रहेकोले पनि प्रेमिल जोडिलाई नै इंगित गर्ने तथा शुभ शाहितलाई दर्शाउने भएकोले यसलाई पनि चित्रमा राखिएको हो ।’

सिद्धार्थ आर्ट ग्यालरीकी संस्थापक निर्देशक संगीता थापाका अनुसार सविताका चित्रकलाहरु आफैंमा अद्भुत हुने गरेका छन् र उनका जुनसुकै प्रदर्शनीमा पनि आफु पुग्ने गरेको जानकारी दिनुभयो । विशेष गरी प्रकृति, प्रेम, जस्ता भावनाहरुलाई चित्रकलामा देखाउने भएकाले सविताका चित्रकलाहरु उहाँका लागि विशेष प्यारो लाग्ने गरेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array