५९ औँ अन्तराष्ट्रिय भेनिस विएनालेमा नेपालको सहभागिता

सुनिल राज ढकाल
सुनिल राज ढकाल १० बैशाख २०७९, शनिबार ०६:००
6 Min Read
Aa

कलाकाको एक कुम्भ मेला इटालीको भेनिसमा शुरु भएको छ । जुन मेला भेनिस विएनाले भनेर परिचित छ । हरेक दुई वर्षमा हुने यस प्रदर्शनीमा नेपालको सहभागिता पहिलो हो । यस विएनाले सन् १८९५ देखि शुरु भएको र एउटै मञ्चमा विश्वभरीका कलाकृति प्रदर्शित हुने गर्दछ ।

सिद्धार्थ फाउन्डेनसकी संस्थापक निर्देशक संगीता थापाका अनुसार– ‘करिब १२७ वर्ष पछि नेपालले उक्त स्थानमा आफ्नो सहभागिता जनाइ रहेको छ । यसले हाम्रो नेपाली समाज र नेपाली कलाकृतिलाई विश्व बजारमा पु-याउन समेत मदत पुग्नेछ ।’

पहिलो पटक नेपालमात्र होइन, क्यामरुन, कानजिस्तान, किर्गिकिस्तान, नामविया, ओमान, र युगान्डाको सहभागिता रहेको छ ।

विश्व धेरै देशका कलाकृतीहरुलाई अन्तराष्ट्रिय मञ्चमा देखाउन र विश्व भरिकै कलाकारहरुको जमघट हुने विश्वास लिइएको छ । यस विएनाले २३ अप्रिल २०२२ देखि २७ नोभेम्बर २०२२ सम्म चल्नेछ । मूलभुत रुपमा विश्वभरिकै कलाको प्रवद्र्धन गर्दै मौलिक कलालाई अझ उजागर गर्न यस विएनालेले महत्वपूर्ण भूमिका खैल्दै आइरहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के कर्माचार्य बताउँछन् ।

रुविन म्युजियम अफ आर्टले यस महोत्सवमा नेपाली कला प्रदर्शनीका लागि एउटा प्रदर्शनी कक्ष नेपाल पेभिलियनको व्यवस्था गरिदिनुको साथै प्रदर्शनीका लागि इटालीमा हुने सम्पूर्ण आयोजना र प्रचार प्रसार खर्चको समेत व्यवस्था गरिदिएको विज्ञप्तिमा उल्लेख छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा सिद्धार्थ आर्ट फाउन्डेशनको संयुक्त प्रयासबाट यस भेनिस विएनालेमा नेपालको सहभागिता हुन सकेको नाफाका कुलपति के.के.कर्माचार्य बताउँछन् ।

महोत्सवमा रहेको नेपाल पेभेलियनको क्युरेटिङ हितमान गुरुङ र शिलासा राजभण्डारीले गरेका छन् । कलाकार आङ्छिरिङ शेर्पाको अगुवाइमा बनाइएको नेपालको लोककला झल्किने कलालाई मूर्त रुप दिनका लागि कलाकार आशा राई, विजय महर्जन, दुर्गा श्रेष्ठ, कर्म लामा, मउण्ट रिफ्युज, पासाङ्ग लामा, फुर्वा ह्योल्मो, रमेश श्रेष्ठ, सजल शिवाकोटी, संगीता महर्जन, सुनिल बहादुर मोक्तान, हिमालयन आर्ट ग्यालरी, भुटि उख्याव, जाङ्बु लामा, ङ्वाङ्ग लुढुपर उर्गेन दोर्जे शेर्पाको महत्वपूर्ण भूमिका रहेको कलाकार आङ्छिरिङ शेर्पाले जानकारी दिए ।

हाम्रो देश खुला कला संग्रहालयका रुपमा परिचित छ र नेपाली कलालाई अन्य मूलुकले हेर्दा अभैm पनि सदियौँ पूराना पौभा र थान्का चित्रकलालाई मात्र बुझ्ने गरेको क्युरेटर मध्येकी एक सिलाशा राजभण्डारी बताउँछिन् । उनको तर्क छ– हामी त्यसमा मात्र सिमित नभई हाम्रा विषयवस्तुहरुलाई जुनसुकै कुनामा, जुनसुकै शैलीमा पनि प्रस्तुत गर्न सक्षम छौ भन्ने सन्देश पनि यस विएनालेले दिने प्रयास गर्नेछ ।

अर्का क्युरेटर हितमान शाक्यका अनुसार नेपालका चित्रकलाहरुले नेपालका सुन्दर हिमाल, मुहार चित्र, पौभा र थान्कालाई मात्र प्रतिविम्बित गर्दैन । हाम्रा कलाहरु प्नि विश्वभरिका कलाकारहरुले बनाएका कलाहरुसंँग तुलना गर्न सकिन्छ र नेपालको विकासको लागि कलाको पनि उत्तिकै महत्व रहेको हुन्छ भन्ने कुराको जानकारी दिए ।

काठमाडौंमा जन्मेका आङ्छिरिङले १३ वर्षको उमेरदेखि थान्का बनाउन सुरु गरेका र यसो हुनुमा उनको बुबाको प्रभाव रहेको उनि बताउँछन् । आफु अमेरिका बसेर काम गर्दाको सम्बन्धले अन्तर्राष्ट्रिय जगतमा नेपाली कलालाई प्रस्तुत गर्न केही हदसम्म सहज भएको र कला बुझ्ने मौका पाएको अनुभव उनि सुनाउँछन् ।

नेपालमा सन् २०१५ मा गएको विनाशकारी भूकम्प पछि पुनःनिर्माणको काममा अहिलेका पुस्ताले पनि महत्वपूर्ण भूमिका खेलेको आङ्छिरिङ  बताउँछन् । जसको सम्बन्ध नयाँ पुस्ताले पनि हाम्रा कलाकृति र सांस्कृतिक धरोहर निर्माणको क्षेत्रमा दक्षता हासिल गरेको प्रमाण दिन्छ । यस्तै विषयलाई समेटेर नेपालले आप्mनो कलाकृतिहरुलाई विश्वसामु देखाउनु आपैmमा गौरव रहेको कलाकार आङ्छिरिङ बताउँछन् ।

कस्ता कलाहरुलाई समावेश गरिएको छ त यस विएनालेमा ?

एउटा बनिनसकेको कार्पेटः कार्पेटको आफ्नै लामो संस्कृती रहेको छ नेपालको लागि । कार्पेट बुनेर जिविकोपार्जन गर्ने जमात यहाँ छ, रोजिरोटिको व्यवस्थाका लागि मानिसहरु कार्पेट बुनिरहेका हुन्छन् । नेपालमा कसरी कार्पेट बुनिन्छ र त्यसमा निकालिएको कलाकृतिले छुट्टै स्थान बनाउन सफल भएका पनि छन्, त्यस कुरालाई समेत भेनिसमा भइरहेको विएनालेमा दर्शाउन खोजेको कलाकारहरु बताउँछन् ।

आत्माका प्रतिस्थापनः आत्माको प्रतिस्थापन ‘इन्स्टलेसन अफ स्पिरिट’ नाम दिइएको यस कलाको शिर्षक भने म्युटेड स्पिरिट दिइएको छ । धातुबाट बनेको कलामा कलाकारहरु दुर्गा श्रेष्ठ, रमेश श्रेष्ठ, सजल शिवाकोटी र सङ्गिता महर्जनले काम गरेका छन् । हिमाली भेगका शेर्पाहरु काम अनि सुनौलो भविष्यको लागि बसाइ सरेर अन्यत्र जाँदा उनिहरुको पदचाप त्यहि पूराना ठाउँहरुमा अझै पनि रहन्छन् वा रहँदैनन् होला भन्ने अन्र्तभावनाहरुलाई यस कलाले अभिव्यक्ति गर्न खोजेको यसमा संलग्न कलाकारहरु बताउँछन् ।

विश्वमा कलाको विकास तिव्र गतिमा भइरहेको छ । कलालाई क्यानभासमा मात्र सिमित नराखि श्रव्य दृश्य, प्रतिस्थापन जस्ता अभिव्यक्तिका माध्यमहरुलाई पनि कलाको रुपमा बुझ्न थालिएको छ र यो नयाँ प्रयोग नेपालमा पनि गरिएको कुरामा क्युरेटर सिलाशा राजभण्डारीले जोड दिन्छिन् ।

सन् १८९५ देखि शुरु भएको विएनालेको यो ५९ औँ प्रदर्शनी हो । यसमा भाग लिन नेपाललाई किन यति धेरै समय लाग्यो होला त भन्ने कुराको एक जिज्ञाशामा सिद्धार्थ आर्ट फाउन्डेसनका निर्देशक सङ्गिता थापा बताउनुहुन्छ कि यो सपना उनले धेरै अगाडि नै देखिसकेकी थिइन् कि नेपालले पनि कुनै दिन यस्तो अन्तराष्ट्रिय प्रदर्शनीमा भाग लिने छ । तर यसपाली भने कलाकार आङ्छिरिङ शेर्पाको पनि सोहि सपना रहेकोले पूरा भएको हो ।

छिमेकी राष्ट्र भारतले सन् २०१० बाट यस विएनालेमा भाग लिन थालेको यस यस्ता पर्वहरुले कलालाई अन्तर्राष्ट्रिय स्तरमा देश, कला र कलाकारहरुको पहिचान बनाउन मदत गर्ने रजा फाउन्डेसनका संस्थापक सदस्य मनिस पुसकलेले बताउनुभयो ।

यस महोत्सवमा नेपालको तर्फबाट कमिश्नर भने ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के कर्माचार्य तथा उपकुलपति गोपाल चित्रकार तथा सिद्धार्थ आर्ट फाउण्डेशनका निर्देशक संगीता थापा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्