एकै थलोमा ‘अग्रजका बिम्बहरु’

सुनिल राज ढकाल
सुनिल राज ढकाल १९ जेष्ठ २०७९, बिहीबार ०६:००
9 Min Read
Aa

नेपाली कला जगतमा एकाएक अहिले अग्रज कलाकारहरुको चर्चा चल्न थालेको छ । करिब ६० वर्ष भन्दा माथिका ३३ कलाकारहरु जो कला साधनाको क्षेत्रमा आफ्नो जीवन अनि सर्वस्व खर्चिसकेका छन्, उहाँहरु सबैलाई सम्मान तथा कला प्रदर्शनीको आयोजना यहि जेठ १७ गतेदेखि नेपाल आर्ट काउन्सिल बबरमहलमा थालिएको छ ।

प्यागोडा ग्रुप तथा सुशील कोइराला मेमोरियल फाउण्डेसनको संयुक्त आयोजनामा गरिएको यस कला प्रदर्शनीमा सुशील कोइराला मेमोरियल फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाका अनुसार, ‘ सुशील कोइराला मेमोरियल फाउण्डेसनले शिक्षा, स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको र कलाको क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ प्यागोडा ग्रुपसँग सहकार्य गरेको छु ।’ कलाको बारेमा खासै जानकारी नभएतापनि यति धेरै कलाकारहरुको कलाकाकृतिहरु एकै छानोमुनि हेर्दा उनलाई, ‘बारम्बार त्यही ठाउँमा गई फेरी फेरी पनि कलाकृतिहरुलाई हेरौँ हेरौँ’ लाग्ने गरेको बताए । कलाको छुट्टै किसिमको मिठास हुने र त्यो मिठासले आफुलाई मन्त्रमुग्ध बनाइरहेको अनुभव उनले बताए ।

३३ अग्रज कलाकारहरु अनि उहाँहरुको मूर्त तथा अमूर्त चित्रकला तथा मूर्तिकलाहरुलाई समेटिएको यस प्रदर्शनीमा नेपालमा कलाको अध्ययन गरिरहेका विद्यार्थीहरुको लागि फलदायी हुने प्यागोडा ग्रुपका अध्यक्ष तथा कलाकार रोशन प्रधान बताउँछन् । यसै प्रदर्शनीमा भ्रमणमा आएका एक कलाका विद्यार्थीले खोजपत्रसँग कुरा गर्दै भने, ‘अग्रज कलाकारहरुको नामहरु सुन्दै आएतापनि उहाँहरुको कामको अवलोकन गर्नको लागि यस प्रदर्शनीले हामीलाई मद्दत गरेको छ । कतिपय स्वर्गीय कलाकारहरु जस्तै लैन सिंह बाङ्ग्देल, मनुज बाबु मिश्र, तेज बहादुर चित्रकारहरुको नाम कला दिर्घामा सधैँ चासोका साथ लिइन्छ । तर उहाँहरुको कामहरु मैले अहिलेसम्म हेर्न भने पाएको थिइन । त्यसैले पनि मलाई यस कला प्रदर्शनीले बेग्लै किसिमको उर्जा दिएको छ । उहाँहरुको काम गर्ने शैलीले मलाई मेरा कामहरुमा अझ निखारता ल्याउन मद्दत गर्नेछ ।’

प्यागोडा ग्रुप सन् २०१८ मा स्थापना भएको कलाकारहरुको समूह हो । विगत ४ वर्ष देखि कलाको उत्थान तथा कलाको क्षेत्रमा परम्परागत शैली तथा आधुनिक शैलीलाई एकापसमा मिसाउँदै विभिन्न किसिमका सन्देशमूलक प्रदर्शनीहरुको आयोजना गर्दै आइरहेको छ । कलाकार तथा प्यागोडा ग्रुपका अध्यक्ष रोशन प्रधानका अनुसार, ‘लामो समयदेखि कला क्षेत्रमा केही नयाँ कार्यको थालनी गरौँ भनी आफ्नो समूहसँगको छलफल पछि मात्र सम्भव भयो यो कला प्रदर्शनी । यस प्रदर्शनीमा नेपालका ख्यातीप्राप्त अग्रज कलाकारहरुको कामलाई एकै छाना मुनि ल्याउँदै प्रदर्शनी गर्नु आफैंमा चुनौती त छँदै थियो, करिब ६ महिना जतिको अथक प्रयास पछि मात्र यो कला प्रदर्शनी सम्भव भएको हो ।’ वितिसकेका कलाकारहरुको कलाकृतिहरुलाई पनि समावेश गर्न पाउनुले आफुलाई गौरवान्वित बनाएको बताउने प्रधान यस प्रदर्शनीमा नेपाली कलाकारहरुलाई यसरी समावेश गर्न सक्नु र यसरी प्रदर्शनी गर्न पाउनु उनको लागि चुनौतिका साथसाथै रोमाञ्चक क्षण रहेको समेत बताउँछन् ।

यस प्रदर्शनीमा समावेश गरिएका कलाकारहरुः तेज बहादुर चित्रकार, लैन सिंह बाङ्ग्देल, मनुज बाबु मिश्र, शंकर राज सिंह सुवाल, गोविन्द डंगोल, बत्स गोपाल वैद्य, विरेन्द्र प्रताप सिंह, गौतम रत्न तुलाधर, गोपाल कला प्रेमी श्रेष्ठ, प्रा. गोविन्द नारायण ‘ज्यापु’, जीवन राजोपाध्यय, के.के कर्माचार्य, किरण मानन्धर, कृष्ण मानन्धर, प्रा.डा.लय मैनाली, लोक चित्रकार, मदन चित्रकार, मुकेश मल्ल, मुक्ति सिंह थापा, नविन्द्र मान राजभण्डारी, नुनेम राज शाक्य, पुरन खड्का, राधेश्याम मुल्मि, रमेशनाथ खनाल, शशी विक्रम शाह, शशी कला तिवारी, डा. सिमा शर्मा शाह, श्याम लाल श्रेष्ठ, ठाकुर प्रसाद मैनाली, उदय चरण श्रेष्ठ, उमा शंकर शाह, उत्तम नेपाली, विजय थापा रहेका छन् । यसै प्रदर्शनीमा प्यागोडा ग्रुपका कालकारहरु रोशन प्रधान, प्रद्युम्न श्रेष्ठ, पासाङ्ग विक्रम लामा, माला श्रेष्ठ, किशोर नकर्मी र रुद्र बहादुर पुनका कलाकृतिलाई पनि समावेश गरिएको छ ।

नेपाली कलाको विकासका लागि यस कला प्रदर्शनीले थप मद्दत गर्ने कुरा बताउँदै प्रा.डा. केदार भक्त माथेमा यस प्रदर्शनीको बारेमा भन्नुहुन्छ, ‘सन् १९६० र ७० को दशक देखिनै सक्रिय रहेका केही कलाकारहरु अहिले पनि सक्रिय रुपमा चित्रकलामा लागि नै रहनु भएको छ । उहाँहरुको उच्च सम्मान र कदर गर्नका लागि तथा नयाँ पुस्ताले उहाँहरुको कामलाई अवलोकन गर्दै आफ्नो शिपलाई अझ निखार्न तथा साटासाट गर्नको लागि पनि यस प्रदर्शनीले मूख्य भूमिका खेल्ने देखिन्छ ।’

यस प्रदर्शनीमा स्व. तेज बहादुर चित्रकारले बनाउनु भएको बज्रबाराही मन्दिरको चित्र वि.सं २०२७ मा बनाउनु भएको थियो । त्यस ताका बनाइएको त्यो चित्रमा मन्दिरको भव्यता अनि वरिपरिको हरियालीको दृष्यले नेपालमा तेलिय चित्र अनि त्यस बेलाका कालाकारहरुले तेलिय चित्रमा देखाएका आफ्नो निखारता अनि वैभवतालाई आंकलन गर्न सकिन्छ ।

कालाकार लैन सिंह बाङ्ग्देलको विन्टर शीर्षक दिइएको अमूर्त चित्रकलामा रंगहरुको सम्मिश्रण तथा आकृतिहरु आफैंमा विशेष देखिन्छन् । नेपाली कलाको सर्वाङ्गिण विकास तथा त्यस बेलाका नयाँ कलाकारहरुलाई आफ्नो शिप सिकाएका बाङ्ग्देलका चित्रकलाहरु नयाँ पुस्ताका कलाकारहरुका लागि कालजयी छन् किनकी लामो समय देखि यी चित्रहरु बाहिर निस्केका थिएनन् । त्यसैले पनि यी कलाकारको कलाकृति अवलोकन गर्नका लागि विद्यार्थी वर्गका आँखा त्यहाँ तानिइरहेका थिए ।

त्यसै गरी अर्का कलाकार गोविन्द डंगोलको गणेश शीर्षकको कला एक्रेलिक रंगले तयार पारिएको चित्र हो । उहाँ नेपालमा वास पेन्टिङ्ग गर्ने एक मात्र कलाकार हुनुहुन्छ भने, चित्रकलामा चारकोलको प्रयोग गर्ने तथा विशेषतः गणेशका चित्रहरुमा सिद्धहस्त कलाकार गोविन्द डंगोल खोजपत्रसँगको कुराकानीमा आफुले गणेश मात्र नभई, श्रीयन्त्रमा कुन कुन कोण कुन देवताको हो भन्ने हिसावले सानो सानो चित्र त्यस कोणभित्र समेत बनाएको बताउँदै उनले प्राय धेरैजसो गणेशका चित्रहरु बनाएको बताउँछ । आफ्नो काम गर्ने क्रममा कहिले काहिँ थान्का चित्रहरु पनि बनाउने गरेको डंगोलले नेपालको ललितकला क्याम्पस स्थापना हुनुमा महत्वपूर्ण भूमिका निभाउनु भएको थियो ।

अर्की कलाकार शशी कला तिवारीले मिराको चित्र कोर्नु भएको छ । कृष्णलाई असिमित प्रेम गर्ने मिरालाई जव विष दिइएको थियो, त्यो विषलाई मयुरले आइ खाएको बिम्बलाई चित्रकलामा हेर्न सकिन्छ । आफ्नै मौलिक शैलीमा चित्रकला बनाउने शशी कलाका चित्रहरु उत्कृष्ट देखिन्छ ।

अग्रज चित्रकार शशी विक्रम शाह घोडाहरु क्यानभासमा उतार्नु भएको छ । सेता घोडाहरुले जहिले पनि सकारात्मकताको प्रतिकलाई जनाउँदछ । त्यही चित्रको मुनिपट्टि दुःख पाएका मानिसहरुलाई राखिएको छ । उनका चित्रकलामा प्राय सात घोडाहरु हुने गर्दछन् ।

चित्रकार मदन चित्रकार आफ्नो चित्रकलामा अप्रत्यासित जम्काभेट एन अनएक्सपेक्टेड इन्काउन्टर शीर्षक दिइएको चित्रकलामा मन्दिरमा देखिने सिंह, ड्रेगन जस्ता मिथकहरु यदि त्यहाँबाट ब्युँतिएर आउँदा कस्तो अनुभव हुन्छ होला भन्ने कल्पना गरी बनाइएका चित्रहरु राखिएका छन् । त्यस्तै कलाकार कृष्ण मानन्धर ओभरल्याप शीर्षकको चित्रकला सिरिजलाई राखिएको छ । रंगहरुको सम्मिश्रणमा आफ्नो छुट्टै किसिमको मिठास उहाँको चित्रकलामा देख्न सकिन्छ ।

स्व. कलाकार शंकर राज सिंह सुवाल आफ्नो चित्रकलामा गणेश तथा शिवको चित्रहरुलाई प्रदर्शनीमा समावेश गरिएको छ । राता वादलहरु अनि रंगहरुमा फरकपन उहाँको चित्रकलामा नियाल्न सकिन्छ भने अर्का कलाकार पुरण खड्काका अमूर्त चित्रकलाहरुमा रंगहरुको सम्मिश्रणमा फरकपन देख्न सकिन्छ । ह्वोलनेस, समग्रता शिर्षक दिइएको उहाँको चित्रकलामा रंगहरुको सम्मिश्रण वेजोड देखिन्छन् ।

स्व. कलाकार मनुज बाबु मिश्रको चित्रकला सफरिङ्ग नाम दिइएको चित्रकलामा मानिसहरुले पाइरहेको दुःखलाई देखाइएको छ । त्यस्तै, कलाकार के के कर्माचार्य मोसन १३८ शीर्षक दिइएको अमूर्त चित्रकलालाई प्रदर्शनीमा समावेश गरिएको छ । प्रायः रंगमा फरकपन र गति देखाउनका लागि चित्रको छेउमा गोलाकार आकृति बनाउने उहाँको चित्रको विशेषता रहेको छ ।

कलाकार श्यामलाल श्रेष्ठले ग्रामिण भूभागका महिलाहरु अनि त्यहाँको रहनसहनलाई क्यानभासमा उतार्नुभएको छ । ग्रामिण परिवेशको सिर्जना अनि रंगमा थोरै प्राचिनता रंगकै माध्यबाट उतार्न सक्नु उहाँको कलाको विशेषता हो । ठाकुर प्रसाद मैनालीको मूर्तिकला कम्पोजिसन शीर्षकमा बनाइएको छ । उहाँका कम्पोजिसनहरु शैली अनि बनावटका आधारमा भिन्न देखिन्छन् । त्यसैगरी कलाकार डा. लय मैनालीका मूर्तिहरुमा पनि आफ्नै किसिमका विशेषताहरु रहेका छन् ।

कलाकार नुनेम राज शाक्यको वसुन्धरा शीर्षकको मूर्तिकला पनि लामो समयको साधना पश्चात निस्केको भान हुन्छ । प्राध्यपक गोविन्द नारायण ‘ज्यापु’ हिडन शिव विद फिगर वुड शिर्षक दिइएको मूर्तिकलामा काठको प्रयोग गरी बनाइएको उत्कृष्ट मूर्तिकलाको रुपमा लिन सकिन्छ ।

अर्का कलाकार मुक्ति सिंह थापाले आमा शीर्षकको एक चित्रकला प्रस्तुत गरेका छन् । जसमा मानिसको जन्मको प्रक्रिया देखि उसका जीवनको विभिन्न पक्षहरुलाई देखाएर अन्त्यमा पृथ्वीकै गर्भमा जाने विषयलाई समावेश गरी बनाएको चित्रकला प्रदर्शनीको अर्को आकर्षण हो । त्यसैगरी कलाकार गोपाल कलाप्रेमी श्रेष्ठको हरस्कोप नाम दिइएका मूर्तिहरुलाई राखिएको छ । उहाँका नौ वटा मूर्तिहरुमा एक घोडसवार महिलाका भावभङ्गिमाहरुलाई दर्शाइएको छ ।

समग्रमा नेपालका अग्रज कलाकारहरुको कलाकृतिहरुलाई एकै छानामुनि अनि एकैचोटिमा हेर्न सकिने भएकाले पनि यो प्रदर्शनी कलाका पारखीहरुका लागि विशेष चासोको विषय हुनेमा दुुइमत छैन । यो प्रदर्शनी जेठ २३ सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array