आर्ट टुरिजमको विकासकालागि चार देशीय जलरङ्ग कार्यशाला 

सुनिल राज ढकाल
सुनिल राज ढकाल २२ जेष्ठ २०७९, आईतवार ०६:००
3 Min Read
Aa

अन्तर्राष्ट्रिय जलरङ्ग समाज नेपालको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आगामी भदौ ३१ देखि असोज ४ गतेसम्म ’पोखरा आर्ट क्याम्प’ हुने भएको छ । नेपालमा जलरङ्गमा काम गरिरहेका कलाकारहरुको साथै विदेशमा रहेका विदेशी कलाकारहरुको सहभागितामा उक्त क्याम्प हुने आयोजक संस्थाका अध्यक्ष एन.वी. गुरुङले हालै काठमाडौंको महाराजगञ्ज नजिक रहेको मर्थ क्याफे तथा ग्यालरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

नेपाली कला क्षेत्रमा कारोना महामारी पछाडि विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै आइरहेका छन् । जुन कार्यक्रमहरुले चित्रकलामा लागिरहेका कलाकारहरुको विकास र नेपाली कलालाई विश्व बजारमा पुर्याउन मदत पनि गरिरहेको छ ।

चार देशीय कार्यशालामा नेपाल लगायत बङ्गलादेश, इरान र भारतको समेत सहभागिता रहने छ । जसमा इरानले अतिथि देशको रुपमा प्रतिनिधित्व गर्नेछ । ‘पोखरा घुमौं र पोखराको प्रकृतिक सौन्दर्यलाई चित्रण गरौं’ भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको यस कार्यक्रममा आर्ट टुर र आर्ट क्याम्प समेत हुने अन्तर्राष्ट्रिय जलरङ्ग समाज नेपालले जनाएको छ । पोखरामा हुने उक्त अन्तर्राष्ट्रि कार्यशालामा नेपाल तथा विदेशबाट गरी ८० देखि १०० सम्म कलाकारहरुको उपस्थिति हुनसक्ने आयोजकले जनाएको छ ।

विभिन्न समयमा समाजले नेपालमा सामाजिक कार्यमा समेत सहभागिता जनाउँदै आएको तथा बार्षिक रुपमा विभिन्न कार्यक्रमहरु आइरहेको सन्दर्भमा हरेक दुई वर्षमा विशेष कार्यक्रमहरु समेत आयोजना गर्दै आइरहेको छ । कोरोनाको कारण विशेष कार्यक्रम गर्न कठिनाइ भइरहेको कारण अहिलेको कार्यक्रमलाई त्यसैको निरन्तरता नभए पनि यसले कलाकारहरुलाई एक अर्काे देशसँग जोड्ने र कलालाई चिनाउन मदत गर्ने तथा कला पर्यटनमा यसले थप टेवा पुर्याउन मदत पुग्ने आइ.डब्लु.एस. नेपालका अध्यक्ष एन.बी. गुरुङ बताउनुहुन्छ ।

कार्यक्रमको विषयमा अझ प्रष्ट पार्दै गुरुङ थप्छन्–‘हाम्रो कार्यशालामा स्वदेशी तथा विदेशी कलाकारहरुसँगै बसेर पोखराको रमणीय दृष्यलाई क्यानभासमा कैद गर्नेछौं । त्यसका साथै विदेशबाट पाल्नुभएका वरिष्ठ कलाकारहरुको अनुभव र बुझाइहरुलाई एक अर्कासँग बाँड्ने कार्यक्रम समेत राखेका छौं । कार्यक्रमको दौरानमा २० वटा उत्कृष्ट जलरङ्गलाई छनौट गरी पुरस्कृति समेत गरिनेछ ।’

यस्ता खाले कार्यक्रमहरुले कला पर्यटन(आर्ट टुरिजम)मा टेवा पुग्ने तथा विदेशी कलाकारहरुले नेपालमा बसेर बनाएको चित्र उनिहरुको देशमा लगेपछि नेपाल विदेशमा समेत चिनिने तथा विदेशी कलाकारहरुले आफ्नो अनुभवद्वारा नेपालको भ्रमण गर्न अरुलाई समेत प्रोत्साहन गर्न सक्ने अवस्थाको सिर्जना गर्न यो कार्यक्रम महत्वपूर्ण हुनेछ । ‘पहिले गरेको कार्यक्रमहरुले पनि हाम्रो देश तथा देशका कलाको प्रचार प्रसार पहिले पनि भएको अनुभव हामीले लिएका छौं ।’ कलाकार देपेन्द्रमान बनेपालीले बताउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठका अनुसार ‘कला, साहित्य, सङ्गीत तथा संस्कृतिको उर्वर गण्डकी प्रदेश भाषा र संस्कृतिको रमणीय स्थान भएको र यहाँबाट आठहजार फिट भन्दा माथिका तीनवटा हिमाल देख्न सकिने प्रदेशको राजधानी पोखरामा हुने आर्ट क्याम्पले यहाँको सुन्दरतालाई विश्वभरी पुर्याउन मदत गर्ने कार्यक्रमा सहभागी हुन पाएकोमा खुसी लगेको छ ।’

विद्यार्थीहरुलाई समेत सहभागिता गराउने उदेश्य रहेको कार्यक्रमले आगामी दिनमा कला क्षेत्रमा आउने भाइ बहिनीहरुलाई समेत केही कुरा सिक्न मदत पुग्ने अपेक्षा समाजले गरेको छ । विदेशी कलाकारहरुको स्वास्थ्यमा समेत विशेष सजग भइ बसाइ व्यवस्थापनमा समेत सचेत रहेको संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्