रणभूमिमा युद्ध लड्न हिँडेको एउटा योद्धा तब सम्म थाक्दैन जब सम्म उसको शरीरले मृत्युशैय्यामा मृत्यु वरण गर्दैन, ठिक त्यसरी नै चित्रकलामा साधनारत एक कलाकार/योद्धाको नाम हो किरण मानन्धर । उमेरले ७३ वर्ष लागेका मानन्धरका सिर्जनाहरु आफैंमा भिन्न हुने कलाका जानकारहरु बताउँछन् ।

उनका कला कहिल्यै पनि एउटै शैलीमा अडिग भएर बसेनन् । उनलाई कुनामा बसेर एउटा आयाममा मात्र सिमित हुन मन लागेन । चराको पखेंटाले आकासमा जसरी गमन गर्दै विश्व चहार्दछ र नयाँ नयाँ फलहरुको रस्वास्वादन गर्दछ ठिक त्यसरी–त्यसरी नयाँ–नयाँ आयामहरुमा काम गर्दै आफ्ना क्यानभासमा विचरण गर्दै रमाउने कलाकार किरण मानन्धरको चित्रकला सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा श्रावण ८ गतेदेखि एक महिनाको लागि प्रदर्शनी भइरहेको छ ।

कलाकार एउटा विषयवस्तुमा मात्र सिमित भएर बस्न नहुने मान्यता राख्ने मानन्धरका अनुसार कुनै पनि कलाकारले निरन्तर कला सिर्जना गरिरहने हो भने उसले पक्कै पनि शिखर चुम्नेछ भन्ने विश्वास राख्नुहुन्छ । ६ दशकभन्दा बढी समय चित्रकलामा विताउनु भएका मानन्धरका कृष्णसँग सम्बन्धित चित्रहरु बढी प्रख्यात छन् भने उनले सिर्जना गर्ने अमूर्त कलाहरु पनि भिन्दै प्रकारका छन् । किरण मानन्धरका अनुसार ‘मैले नेपाली लोक्ता कागजमा चित्र बनाउने भएता पनि मैले कुनै माध्यमलाई आफ्नो विचार पोख्ने पेवा बनाइन । म जुनसुकै माध्यमबाट पनि चित्रकला बनाउन रुचाउँछु ।’
कहिले अण्डाका क्रेटहरुमा त कहिले बालुवाका ढिस्काहरुमा उनका कलाले स्थान बनाइरहे । उनका सिर्जनाहरु एउटा विषयमा मात्र सिमित भएर बस्न सकेनन् त्यसैले पनि उनका रङ्गहरुले सिमित घेरामा बस्न रुचाएनन् । सन् १९८१ अक्टोबर ३१ तारिखका दिन कान्तिपथमा आफुले खोलेको पल्पसा आर्ट ग्यालरीमा छैटौं एकल कला प्रदर्शन गरेका किरणको करिब १८० भन्दा बढी प्रदर्शनीहरु भइसकेका छन् ।फिगरेटिभ, ल्यान्डस्केप, पोट्र्रेट, सेमिएब्स्ट्रयाक्ट, एब्सट्रयाक्ट, पेन्सिल वीथ इन्क, वाटर कलरमा समेत दख्खल भएका मानन्धरका कामहरु निकै मौलिक देखिन्छन् । सन् १९७५मा उनले भारतको खजुरामा भ्रमण गर्दा बनाएका चित्रहरु छुट्टै प्रकारका थिए । कुनैमा टाउको थिएन, कुनैमा खुट्टा थिएन त कुनैमा हात थिएन । तर, उनका कलामा मिठास भने थियो भन्छन् कला पारखीहरु ।

सन् १९८३ मा बनाएका बुद्धको जीवन चक्रमा आधारित चित्र पनि उनका प्रख्यात सिर्जनामा पर्दछन् । त्यसो त उनले स्टील लाइफ पनि नबनाएका होइनन् । मन्दिर, मानिसहरु, सामाजमा भइरहने घटनाहरुलाई समेत उनले चित्रमा उतारेका छन् । मानिसका दुःख, सुखहरुलाई समेत चित्रमार्फत जीवन्त रुपमा उतार्न उनका हातहरु सिद्धहस्त नै छन् ।
उनले सन् १९७० ताका आफ्नो पढाइका दौरानमा ट्रेडिसनल मोटिभहरुलाई प्रयोग गरेर कोरेका स्केचहरु हेर्दा उनले अहिले बनाएका चित्रहरुसँग तुलना गर्ने हो भने पत्याउन गाह्रो पर्छ । उनको विशेषता भनेको सामाजिक परिवेशका परिघटनाहरुलाई आफ्नो क्यानभासमा मौलिक तरिकाबाट प्रस्तुत गर्न माहिर छन् । चित्रकार किरण मानन्धरका अहिलेका कामहरु पनि छुट्टै किसिमका छन् । कलाका गुरुहरु भनेको साना साना बालबालिकाहरु हुन् भन्न रुचाउने मानन्धरका चित्रहरु नेपाल लगायत विदेशका विभिन्न म्युजिम, ग्यालरी तथा मानिसहरुको घरको भित्तामा सजिएका छन् । उनले अहिले बनाएका चित्रकलाहरु सबैको लागि नौलो विषय हो । यस चित्रकलामा प्रयोग गरिएको भगवानका चित्रहरुले कुनै पनि धर्म तथा सम्प्रदायलाई प्रश्रय दिनेभन्दा पनि ती देवी तथा देवताहरुमा भएको शक्ति जसरी नै हरेक कलाकारहरुले पनि काम गर्नुपर्ने कलाकारको कथन छ । आप्mनो प्रदर्शनी समर्पणको विषयमा कुराकानी गर्दै उहाँ थप्नुहुन्छ, ‘यस प्रदर्शनीमा राखिएका देवी देवताहरुसँग मेरो साक्षातकार भएको छैन, त्यसैले दर्शकहरुले यी चित्रहरु हेर्दै फलानो देवी देवता बनाउनु भएको रहेछ, भन्दा मलाई पनि आनन्द लाग्छ । कलाकार र कलाप्रेमीको भावना त्यहाँनिर मिल्यो नि ।’

कलाको उत्थानका लागि वा कलाको हितका लागि हरेक कलाकारहरुले आफ्नो लगनशीलता देखाउनुपर्दछ । जुन जुन समयमा जे जे गर्नुपर्ने अवस्था त्यसमा कलाकारहरु ती देवी देवताका शक्ति जस्तै गरी अगाडि निस्कनु पर्ने बुझाइलाई मानन्धरले विम्वको रुपमा प्रयोग गरेको बताउनुहुन्छ । नेपालको देवी देवताहरुको चित्रलाइ आधुनिक ढंगबाट प्रस्तुत गरिएको र यस प्रदर्शनी सम्पूर्ण देशवासी, आफ्नो कुलदेवता तथा नेपाल भूमिलाई गर्न सकेको आफ्नो योगदानका हिसावले प्रदर्शनीको शीर्षक पनि समर्पण राखिएको उनी बताउँछन् ।
यस प्रदर्शनीमा राखिएको भैरवलाई आक्रोसको विम्वका हिसावले प्रस्तुत गरिएको छ । कुनै पनि मानिसले जुनकुनै काम गर्दा चाहे त्यो किसान होस् या कुनै अन्य काम गर्ने व्यक्ति उसमा भैरवको जस्तो आक्रोस भएन भने उसले सफलता पाउन सक्दैन । त्यसैले कुनै पनि काम गर्न देखाउनुपर्नु आक्रोस भैरवको जस्तो हुनुपर्छ जसले सफलता चुम्छ भन्ने हिसावले भैरवको चित्र सामयिक हिसावले कोरिएको छ ।

हाम्रा समाजमा भएको विभिन्न देवी देवतालाई विम्वको रुपमा प्रयोग गर्दै कलाकारले आफ्ना कला सिर्जना दर्शक सामु पस्किनु भएको छ । ‘लाखे’ लाई काठमाडौं बासीले रक्षकको रुपमा लिने गरेका छन् । त्यससँग सम्बन्धित धेरै किम्बदन्तीहरु छन् । मन, मस्तिष्क शुद्ध भयो भने चार धाममा धाइराख्नु पर्दैन आफुले गरेको कामबाट त्यो सन्तुष्टि र आशिर्वाद मिल्दछ भन्ने कुरामा मानन्धर विश्वास राख्नुहुन्छ ।
यस प्रदर्शनीको अर्काे विशेषता भनेको पहिले पहिले कलाकारले बोरालाई नै सामग्रीको रुपमा प्रयोग गर्नुहुन्थ्यो भने यस पटक क्यानभासमा नै आलोपन ल्याउनको लागि सिधै रङ्गहरुलाई प्रयोग गर्नुभएको छ । त्यसैले पनि प्रयोग गरिएका रङ्गहरु निकै ताजा देखिन्छन् । उहाँका चित्रहरुमा रातो र पहेंलो रङ्गको विशेष प्रयोग गरिएको छ । कलाकार मानन्धरका अनुसार मानिस सदैव पहिलेको र अहिलेको कुरालाई तुलना गरि नै रहेको हुन्छ । पहिलेका कामहरु र अहिलेको कामहरुविचको सामिप्यतालाई हेर्दा नेपालमा राजाको समयमा राणा राम्रो भन्ने गरेको जस्तै, गणतन्त्र आइसकेपछि राजतन्त्र नै ठीक लागे जस्तै हो । सबैका आ–आफ्नै विशेषता हुन्छन् जस्तो लाग्छ उहाँलाई ।

नेपालमा रावणलाई नराम्रो मानिन्छ भने श्रीलंकामा रावणलाई उनको विद्वाताको कारण पुजा गरिन्छ । भूगोल, समाज, समय अनुसार विषयवस्तुहरुले मानस पटलमा फरक धारणा बनाउन मद्दत गर्दछ । त्यसैले नयाँ प्रयोग यस प्रदर्शनीमा गरिएको हो उहाँ बताउनु हुन्छ किनकी अमूर्ततामा मात्र सिमित हुनुभन्दा उमेर अनि शरिरले साथ दिउन्जेल काम निरन्तर गरि नै रहने र आप्mना कामको मूल्यांकन कुनै समिक्षकले पछि गरिदिँदा राम्रो हुने उहाँको धारणा रहेको छ ।
कलाका अनुयायीहरुलाई अझ प्रोत्साहन दिन उहाँ भन्नुुहुन्छ, ‘जसरी विष्णुले बराहको अवतार धारण गरी आफुले गर्नुपर्ने काम फत्ते गर्नुभयो, हामी कलाकारहरुले पनि विभिन्न समयमा विभिन्न अवतार लिएर आफ्नो काम सिद्धताका साथ फत्ते गर्नुपर्छ, जुन विल्कुलै नयाँ रहोस् ।’ उहाँका पहिलेका प्राय चित्रहरुमा देखिने चित्रहरुमा महिलाको एउटा आँखा मात्र हुने गर्दथ्यो भने अहिलेको कुनै कामहरुमा पनि एउटा आँखा प्रयोग भएका चित्रहरु छन् । उहाँका अनुसार, एउटा आँखा, दुईटा आँखा वा तेस्रो आँखा जे भने पनि त्यसले हेर्ने नै हो र फरक ढङ्गबाट हेर्ने चक्षुलाई यसले इंगित गर्दछ ।

चक्र, शंख गधा पद्य्म धारण गरेको विष्णुको वाहन गरुढ हुन् । कहिलेकाहिँ ती आयुध तथा वाहनहरुमा आकर्षणमा ल्याउनको लागि पनि रङ्गहरुको धब्बा जसलाई प्याचेज भनिन्छ, यी कुराहरुको प्रयोग गरी विष्णुको त्यस अवतारलाई बनाएको कलाकार मानन्धर बताउनुहुन्छ । विष्णुको छातीमा रहेको पात्रलाई पनि बडो आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ । कुनै देवीको वहानको रुपमा मयुर, परेवा, हात्ती, स्याल जस्ता चराहरु र जनावरको समेत प्रयोग गर्नुभएको छ कलाकारले । वास्तवमा यी चराहरु ती देवीहरुको वहान नभएता पनि देवी तथा देवताहरुलाई नदेखिएको भएर कलाकारको दृष्टिबाट यी बिम्वहरुलाई प्रयोग गरिएको कलाकार बताउनुहुन्छ ।

करिव ६ दशकदेखि कलाकार किरण मानन्धरको कला यात्रा जारी छ । उहाँले प्रयोग गरेका रङ्गहरुमा कालो, पहेंलो, सेतो रातो बढी छन् । उहाँलाई कालो रङ्ग आफु जस्तै लाग्छ किनकी सबै रङ्गहरुको समिश्रण नै कालो हो । त्यस्तै पहेंलो रङ्गलाई भने कलाकार सुनसँग तुलना गर्नुहुन्छ । बैभव अनि भव्यतालाई यस रङ्गले विम्बित गर्ने कलाकारको भनाइ रहेको छ । त्यसै गरी सेतो रङ्गले चाँदीको तथा रातो रङ्गले ज्वाला वा आक्रोशलाई देखाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्