प्रदर्शनी हल भित्र प्रवेश गर्दा एउटा अनुभूति तुरुन्तै स्पष्ट भई आउँछ—कलाकार त शरीरले अनुपस्थित छन्, तर उनका रङ्ग, आकृति र प्रतिरोधका भाषा अझै बोलिरहेका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘जीवनका प्रतिध्वनिहरू’ नामक एकल प्रदर्शनी, दिवङ्गत कलाकार जीवन आचार्यको कलासंसारमा फेरि एकपटक डुबुल्की मार्ने अवसर बनेको छ। प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राई, कलाकारकी जीवनसङ्गिनी सङ्गीता आचार्य र साहित्यकार राजेन्द्र सलभले संयुक्त रूपमा गर्नुभएको थियो ।

उद्घाटन समारोहमा कुलपति हार्तम्छालीले आचार्यका कृतिलाई “नवपुस्तामा हस्तान्तरण गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी” भन्दै, उहाँको सिर्जनालाई कलाधरोहरकै रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले जीवन आचार्यजस्ता स्रष्टाको जीवन–कृतित्वलाई समग्र पुस्तासामु प्रस्तुत गर्न प्रतिष्ठान निरन्तर प्रतिबद्ध रहेको जनाउनुभयो । समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राईले जीवनलाई बहुआयामिक, जुझारु र प्रयोगशील कलाकारको रूपमा स्मरण गर्दै, उहाँका रेखाचित्रदेखि प्रतिस्थापन तथा भावभङ्गी कलासम्म फैलिएको सशक्त उपस्थिति आज पनि सान्दर्भिक रहेको टिप्पणी गर्नुभयो । प्रदर्शनीका क्युरेटर जुपिटर प्रधानको भनाइमा, “यो प्रदर्शनी जीवन आचार्यबारे औपचारिक शोध–अध्ययनको प्रारम्भिक ढोका हो।”

नेपाली आधुनिक कला, साहित्य र पत्रकारिताको प्रारम्भिक रूपान्तरणमा विशिष्ट भूमिका निभाउनु भएका जीवन आचार्यको यात्रा छोटो भए पनि प्रभाव अत्यन्त ठूलो छ । २०१५ सालमा जन्मिनु भएका उहाँले पोलियोका कारण दायाँ खुट्टा कमजोर भएकै अवस्थाबाट आफ्नो सिर्जनशील संसार निर्माण गर्नुभयो । शारीरिक चुनौती हुँदाहुँदै पनि अडिग प्रतिभा र निरन्तर कलात्मक बेचैनीले उहाँलाई राजधानीको उदाउँदो सर्जक–घेरामा तीव्र गतिमा अगाडि बढायो । कला जीवनमा अत्यन्तै सबेरै प्रवेश गर्नुभएका कलाकार जीवन आचार्य—कक्षा ८ मा अध्ययनरत हुँदा नै तत्कालीन मुमा बडामहारानी रत्नराज्यलक्ष्मी, चिनियाँ नेता माआत्से तुङ्, महाकवि लक्ष्मीप्रसाद देवकोटा र विलियम वर्डस्वर्थ जस्ता व्यक्तित्वका चित्र कोर्नुभएको जानकारहरु बताउनुहुन्छ । उहाँको बाल्य–युवावस्थाकै चित्रले सूक्ष्म अवलोकन, कौशल र प्रतिनिधि आकृति निर्माणको दक्षता देखाउँथ्यो ।
कलाकार जीवन आचार्यको कला प्रदर्शनीमा विभिन्न स्रष्टाहरुको उपस्थिति थियो । प्रदर्शनीको अवलोकन गर्न आउनुभएका कलाकार तथा तारागाउँ नेक्स्टका डिरेक्टर रोशन मिश्र भन्नुहुन्छ– “जिवनका प्रतिध्वनिहरु” प्रदर्शनीले उहाँका रंगहरू, उहाँका भावहरू, उहाँका कला, लेखन अनि प्रतिस्थापन कलालाई उजागर गरेर अब सदैव नेपाली कलाजगतको स्मरणमा बाँचिरहने बनाईदिएकोछ र भबिस्यमा जीवन आचर्यको जिवनीमा अझ बढी शोधखोज, अध्यन र अनुशान्धन गर्न धेरैलाई यस प्रदर्शनीले प्रेरित पनि गर्नेछ।”

कलाकार आचार्य वि.सं. २०३२ सालतिर विराटनगरस्थित चुलाचुली आर्टमा काम गर्दै चित्रकलाको व्यावसायिक संसार चिन्न थाल्नुभएको थियो । यस अगाडि नै वि.सं. २०२६ सालतिरै कलाकारितामा संलग्न भइसक्नुभएका उहाँले विद्यार्थीकालमै दमकमा मकालु कला केन्द्रको समेत स्थापना गर्नुभएको थियो । जसले उहाँलाई नेपाली कला बजार, संरचना र प्रयोगशीलताको सम्भावनाबारे पहिलो वास्तविक अनुभूति दिलायो । केही वर्षपछि, २०३८ वैशाख १८ मा नेपाल भारत पुस्तकालयको सभाकक्षमा ‘रगतका आला दागमाथि टेकेर’ शीर्षकको व्यक्तिचित्र प्रदर्शनी गर्नुभयो—यो प्रदर्शनी न केवल उहाँको कलात्मक साहसको परिचय थियो, बरु समाजमा चलिरहेका आक्रोश, राजनीतिक दमन, निराशा र परिवर्तनको आकांक्षालाई चित्रभाषामा उतार्ने निर्भीक प्रयोग पनि थियो । उहाँका चित्रहरू त्यस समयको आबेग, असन्तोष र विद्रोहका सजीव दस्तावेज जस्तै थिए । त्यस कला प्रदर्शनीमा उहाँले पैसालाई च्यातेर तयार गरिएको प्रतिस्थापना कला समेत समावेश भएको कलाकार जीवन राजोपाध्याय बताउँनुहुन्छ । त्यस समयमा पैसालाई च्यातेर कला सिर्जना गरेर प्रतिस्थापन कला प्रस्तुत गर्नु आफैंमा ठूलो चुनौतीको विषय थियो ।
साहित्यकार राजेन्द्र सलभ भन्नुहुन्छ–“जीवन कलाकार सँगसँगै साहित्यकार थिए । धेरै मानिसहरुले उनलाई कविका रुपमा चिन्थे । त्यसपछि पत्रकारको रुपमा चिन्थे । उनले कलालाई फरक सिकिमले अनुभव गर्थे, फरक किसिमले प्रस्तुत गर्थे । म, विधान, जीवन आचार्य, सुनिल पोखरेल आरोहणमा हरेक शनिबार नाटक गथ्र्यौं । त्यो नाटकको क्रममा जीवनले कवितामा पेन्टिङ समावेश गरेर राख्थे भने मीन बज्राचार्यले फोटो राख्थे । अहिले जुन हामी प्रतिस्थापन कलाको कुरा गर्छौं त्यतिबेला जीवनले गथ्र्यो । जीवन हामीसँगै छन्, यी चित्रहरुमा, उनले लेखेका कृतिहरुमा ।”

जीवन आचार्य केवल चित्रकार मात्र हुनुहुन्थेन—उहाँ साहित्य, पत्रकारिता र सांस्कृतिक आन्दोलनमा समान उपस्थितिसहित सक्रिय बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । ‘डिजाइन राइटर’ नामक विज्ञापन संस्था सञ्चालनमा राजेन्द्र सलभ, विधान आचार्य समेत जीवनसँगै हुनुहुन्थ्यो । राजधानीमा डिजाईन तथा चित्रात्मक विज्ञापन अभ्यासलाई व्यावसायिक रूप दिन पनि महत्वपूर्ण भूमिका उहाँले निभाउनु भएको थियो ।त्यसै समय, काठमाडौंमा युवा कलाकार र कविहरूको एक नवीन आन्दोलन उठ्दै थियो । दिनेश अधिकारी, दिनेश सत्याल (सौरभ), अविनाश श्रेष्ठ, विष्णु विभु घिमिरे, विधान आचार्य, गोविन्द गिरी ‘प्रेरणा’ लगायतको नेतृत्वमा बनेका समूहहरूले कविता, चित्रकला र वैकल्पिक अभिव्यक्तिको साझा प्रयोगलाई अगाडि बढाउनुभएको थियो । २०३४–३५ सालतिर यो समूह राजधानीको सांस्कृतिक वृत्तमा एक सशक्त उपस्थिति बनिसकेको थियो ।
यसैबीच, द विगिनर्स नामक कतै दर्ता नभएको समूह निर्माणगरी कविताका कार्यक्रमहरुको साथै राष्ट्रिय सभागृहमा एकल चित्रकला प्रदर्शनीको आयोजना भयो । त्यो प्रदर्शनीको उद्घाटन इश्वर बल्लभले गर्नुभएको थियो । यो २०३८ सालतिरको कुरा हो । दिनेश सत्याल(सौरभ), दिनेश अधिकारी र जीवन आचार्य बाहेक अरु पनि यसमा हुनुहुन्थ्यो । यसले युवा कलाकारहरूको ऊर्जा, स्वतन्त्रता र नयाँ संवेदनशीलतामाथि व्यापक ध्यान खिच्यो । सहिदगेट र त्रिचन्द्र क्याम्पसमा आयोजित कविता–चित्र मिश्रित प्रयोगहरू पनि त्यसै समयका महत्वपूर्ण गतिविधिहरू थिए । वि.सं. २०४५ साल भदौ महिनामा दिनेश सत्याल(सौरभ) सँग मिलेर जीवन आचार्यले काठमाडौं सहिदगेट र त्रिचन्द्र क्यापसमा कविता र चित्रकलाको नयाँ प्रयोग प्रस्तुत गर्नुभएको थियो । जसमा अँध्यारो कोठामा आधा पारिएको माटोको घैंटोभित्र सौरभका मुक्तकहरु लेखिएको थियो । यो काम निर्माण गर्न भक्तपुरका कुमालेहरुले बनाएको काँचा माटाका हाँडीहरुलाई आधा पारेर त्यसभित्र सौरभ(दिनेश सत्याल)का मुक्तकहरु खोपिएको थियो र भाँडाहरु सुकेपछि त्यहीँ पोल्न दिनुभएको थियो । यसरी तयार पारिएका सो कलाहरुलाई प्रदर्शनी स्थलमा डोरीको सहायताले झुन्ड्याई प्रतिस्थापन गरिएको थियो ।
जीवन आचार्यले २०३८ तिर दमक र सिक्किममा आफ्नो चित्रकला प्रदर्शनी पनि गर्नुभयो । दमकमा समाजसेवी रामबाबु प्रसाई प्रमुख अतिथि हुनुहुन्थ्यो भने सिक्किमको कार्यक्रममा त्यहाँका मुख्यमन्त्री नरबहादुर भण्डारी । चित्रकला प्रदर्शनी तीनदिन चलेको थियो । यी प्रदर्शनीहरूले उहाँलाई राजधानी बाहिर पनि परिचित बनाउँदै व्यापक कलाक्षेत्रमा स्थापित गराउँदै लग्यो ।

तर उहाँका सिर्जनात्मक वर्ष धेरै लामो टिकेनन् । २०४६ साल वैशाख २३ गते उनको आकस्मिक हृदयघातबाट निधन भयो । करिब १३ वर्ष राजधानीमा बिताउनुभएका यी युवा कलाकार, साहित्यकार, पत्रकार र अभियन्ताको अवसानले नेपाली कलाक्षेत्रमा अपूरणीय रिक्तता छाड्यो । आज, जीवन आचार्यलाई सम्झिँदा उहाँको कलात्मक निर्भीकता, प्रयोगशील मनस्थिति, बहुमुखी प्रतिभा र छोटो समयमै छाडेको गहिरो सांस्कृतिक छाप झनै तेजस्वी देखिन्छ । उहाँको यात्रा छोटो भए पनि योगदान नेपाली आधुनिक कला–साहित्यको इतिहासमा स्थायी अध्याय बनेर बसेको छ । क्यानभास, रेखा र रंगमार्फत उनले छोडेका भावनात्मक हस्ताक्षरहरू आज पनि कलाको इतिहास र स्मृतिबीचको पुल बनेर उभिएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा २०८२ साल मंसीर २० गतेदेखि चलिरहेको चित्रकला प्रदर्शनी मंसीर २६ गतेसम्म चल्नेछ । उक्त कार्यक्रममा कलाकारकी जीवनसङ्गिनी सङ्गीता आचार्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने कार्यक्रममा प्राज्ञपरिषद् सदस्य, कलाकार, साहित्यकार, पत्रकार तथा परिवारजनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्