अनबाउन्ड भ्वाइसेसः महिला कलाकारका अनुभव, संघर्ष र आत्म–अभिव्यक्तिको समकालीन दस्तावेज

सुनिल पौडेल
सुनिल पौडेल April 12, 2026
7 Min Read
Aa

काठमाडौंको क्लासिक ग्यालरीमा अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर आयोजना गरिएको “अनबाउन्ड भ्वाइसेसः वुमन इन आर्ट” शीर्षकको सामूहिक कला प्रदर्शनीले समकालीन नेपाली कला क्षेत्रमा महिला कलाकारका आवाज, अनुभव र दृष्टिकोणलाई एकै ठाउँमा ल्याउँदै गहिरो संवेदनशील र विचारशील बहसको वातावरण सिर्जना गरेको छ । चैत्र १५ (मार्च २९, २०२६) मा उद्घाटन भएको यस प्रदर्शनीमा १२ जना नेपाली र २ जना मंगोलियन गरी १४ जना महिला कलाकारहरूको सहभागिता रहेको छ, जसले कला केवल सौन्दर्यको विषय नभई अनुभव, संघर्ष, स्मृति र सामाजिक यथार्थको सशक्त माध्यम हो भन्ने कुरा पुनः स्थापित गरेको छ।

“UNBOUND VOICES: WOMEN IN ART ” at Classic Gallery, Chakupat, Lalitpur english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.
‘हु इज रियल्ली एक्स्पोज’: सुबिस्ता कायस्थ

संस्कृति क्षेत्रसँग आबद्ध तथा युनेस्को नेपालमा कार्यरत नभा बस्नेत थापाले उद्घाटन गरेको यस प्रदर्शनीमा ठमेल पर्यटन बोर्डकी सल्लाहकार गीता गुरुङको पनि उपस्थिति रहेको थियो, जसले यसको संस्थागत र सांस्कृतिक महत्वलाई अझ सुदृढ बनाएको देखिन्छ । क्लासिक ग्यालरीले आफ्नो स्थापना कालदेखि नै नेपाली कला संरक्षण र प्रवद्र्धनलाई केन्द्रमा राख्दै स्थापित कलाकारहरूसँगै युवा, महिला तथा फरक क्षमता भएका कलाकारलाई पनि समान अवसर दिने अभ्यासलाई निरन्तरता दिँदै आएको ग्यालरी संचालक सरिता डंगोल बताउछिन् । उनका अनुसार नेपाली कला इतिहासमा महिला कलाकारको उपस्थिति लामो समयसम्म सीमित रहँदै आएको भए पनि पछिल्लो समय उनीहरूको सहभागिता बढ्दो क्रममा छ, यद्यपि पारिवारिक र सामाजिक जिम्मेवारीका कारण उनीहरू पूर्ण रूपमा आफ्नो कला अभ्यासमा समर्पित हुन कठिनाइ भोगिरहेका छन् । यही सन्दर्भमा सक्रिय र निष्क्रिय दुवै प्रकारका महिला कलाकारलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले यस्तो प्रदर्शनी निरन्तर आयोजना हुँदै आएको छ, जसको यो बाह्रौं संस्करण हो ।

“UNBOUND VOICES: WOMEN IN ART ” at Classic Gallery, Chakupat, Lalitpur english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.
चित्रकार अञ्जली तामाङको ‘हार्मोनी इन ट्रान्जिसन–I’

यस प्रदर्शनीको विशेषता यसको विविधता र विषयगत गहिराइमा निहित छ। यहाँ प्रस्तुत कृतिहरू कुनै एक शैली वा सौन्दर्यबोधमा सीमित छैनन्, बरु प्रत्येक कलाकारले आफ्नो व्यक्तिगत अनुभव, सामाजिक यथार्थ र आन्तरिक यात्रालाई फरक–फरक दृश्य भाषामार्फत अभिव्यक्त गरेका छन्।

“UNBOUND VOICES: WOMEN IN ART ” at Classic Gallery, Chakupat, Lalitpur english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.
बायाँ चित्रकार नम्रता सिंह दनुवारको चित्र ‘द वीसीङ ट्री’ र दायाँ चित्रकार अनामिका गौतमको चित्र ‘द इन्फीनाइट’

अञ्जली तामाङका चित्रहरूले बसाइँसराइको मौन प्रभावलाई संवेदनशील ढंगले उजागर गरेकी छिन्, उनको कलामा गाउँमा रहेका अभिभावक, बालबालिका र ज्येष्ठ नागरिकहरूले निरन्तरता र सम्झनाको भार बोकेको देखिन्छ। उनका कृतिहरूले परम्परा र आधुनिकताको बीचको जटिल सम्बन्धलाई एक जीवित क्यानभासका रूपमा प्रस्तुत गर्छन्, जहाँ प्रत्येक ब्रस स्ट्रोकले समय, स्मृति र सहनशीलताको कथा सुनाउँछ।

लाछेन न्यार्टेन तामाङका कृतिहरूमा दिदीबहिनीबीचको सम्बन्ध, आध्यात्मिकता र “तेस्रो आँखा” को रूपकमार्फत आत्म–चेतनाको खोजी देखिन्छ। प्रेम, भक्ति र आत्म–अन्वेषणलाई एकै साथ समेट्दै उनका चित्रहरूले भौतिक संसारभन्दा परको सत्यतर्फ संकेत गर्छन् ।

“UNBOUND VOICES: WOMEN IN ART ” at Classic Gallery, Chakupat, Lalitpur english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.
दायाँ चित्रकार प्रमिला बज्राचार्यको चित्र ‘वुमन एक्सप्रेसन’ र बायाँ चित्रकार लाछेन न्यार्तेन तामाङको चित्र ‘अवेकेन्ड’

नम्रता सिंह दनुवारले रुखलाई जीवन र पुनर्जागरणको प्रतीकका रूपमा प्रस्तुत गर्दै मिथिला संस्कृतिको दार्शनिक पक्षलाई उजागर गरेकी छिन्, जहाँ मानव र प्रकृतिबीचको अन्तरसम्बन्धलाई गहिरो रूपमा अनुभूत गर्न सकिन्छ । रबिता किसीका कृतिहरू संघर्ष र आत्म–उत्थानको कथा हुन्, जहाँ अँध्यारोबाट उज्यालोतर्फको यात्रा कमल र चैत्यजस्ता प्रतीकमार्फत व्यक्त गरिएको छ। यसैगरी रशना बज्राचार्यले पश्चिमी कला इतिहासको प्रसिद्ध कृति “द बर्थ अफ भेनस” लाई पुर्नःव्याख्या गर्दै समकालीन समाजमा व्याप्त बलात्कार संस्कृति र महिलामाथिको हिंसालाई प्रश्न गरेकी छन् । मिथकीय संरचनालाई जोगाउँदै त्यसमा नयाँ सन्देश भर्दै उनले परम्परागत कथनलाई चुनौती दिएकी छन्, जसले दर्शकलाई असहज तर आवश्यक संवादतर्फ धकेल्छ ।

“UNBOUND VOICES: WOMEN IN ART ” at Classic Gallery, Chakupat, Lalitpur english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.
‘फेडिङ हिटि’: टिसा श्रेष्ठ

टिशा श्रेष्ठका चित्रहरूले काठमाडौंका परम्परागत हिटीहरूको संकटपूर्ण अवस्थालाई उजागर गर्दै तीव्र शहरीकरणका कारण हराउँदै गएको सांस्कृतिक पहिचानप्रति चिन्ता व्यक्त गर्छन्। अनामिका गौतमको कलाले आत्म–अन्वेषण, ऊर्जा र सन्तुलनको यात्रा देखाउँछ, जसले दर्शकलाई आफ्नै भित्री संसारसँग संवाद गर्न प्रेरित गर्छ। सुबिस्ता कायस्थको कृतिले ‘हेर्ने’ प्रक्रियालाई नै प्रश्न गर्दै दर्शकलाई आफ्नै दृष्टिको आलोचना गर्न बाध्य बनाउँछ, जहाँ निर्दोषता र समाजको व्याख्याबीचको तनाव स्पष्ट रूपमा देखिन्छ। यो कला कृति हेर्दा सुरुमा बालसुलभ र आकर्षक देखिए पनि यसले गहिरो अर्थ बोकेको छ। पर्दाले ढाकिएको चित्रले हेर्ने प्रक्रियालाई नै सक्रिय बनाउँदै “खोल्ने” अनुभव दिन्छ। टुक्रिएको शरीरले पहिचान र अपूर्णताको संकेत गर्छ भने साना किरा असहजता र हस्तक्षेपको प्रतीक बनेका छन्। उज्यालो रङ र नरम बनावटभित्र लुकेको असहज भावले सौन्दर्य र बेचैनीबीच सन्तुलन सिर्जना गर्छ, जसले दर्शकलाई सोच्न बाध्य बनाउँछ।

“UNBOUND VOICES: WOMEN IN ART ” at Classic Gallery, Chakupat, Lalitpur english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.
दायाँ चित्रकार लाछेन न्यार्तेन तामाङको चित्र ‘लस्ट इन लफ–राधा’ र बायाँ चित्रकार सरिता डङ्गोलको चित्र ‘पल्स अफ नेचर, चिल्ली’

सरिता डंगेलका कृतिहरूमा स्मृति, बाल्यकाल र नेवारी घरहरूको आत्मीयता जीवित हुन्छ। खुर्सानीलाई प्रतीकात्मक माध्यम बनाउँदै उनले जीवनको चक्र—जन्मदेखि अन्त्यसम्म—लाई रंग र बनावटमार्फत प्रस्तुत गरेकी छन्। प्रमिला बज्राचार्यका अर्ध–अमूर्त चित्रहरूले महिलाको संघर्ष, साहस र आन्तरिक शक्तिलाई अभिव्यक्त गर्छन्, जबकि रुकमिनी श्रेष्ठले नेपालको विविध जीवनशैली र समयसँगै हुने परिवर्तनलाई दृश्यात्मक रूपमा समेटेकी छन्।

चन्द्र श्रेष्ठका चित्रहरूमा समुद्रको ऊर्जा, गहिराइ र गतिशीलता देखिन्छ, जसले प्रकृतिको शक्तिशाली र स्वतन्त्र स्वरूपलाई उजागर गर्छ। अर्कोतर्फ, मंगोलियन कलाकार बिलिग्ट एन्खतैवानका कृतिहरू जीवन, मृत्यु र समयजस्ता अस्तित्वगत प्रश्नहरूमा केन्द्रित छन्, जहाँ मानव, प्रकृति र ब्रह्माण्डबीचको सम्बन्धलाई ‘अनन्त नीलो आकाश’ को दर्शनमार्फत व्याख्या गरिएको छ।

“UNBOUND VOICES: WOMEN IN ART ” at Classic Gallery, Chakupat, Lalitpur english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.
दायाँ चित्रकार अनामिका गौतमको चित्र ‘द फ्लेम र बायाँ रुकमिणी श्रेष्ठको चित्र ‘सँगी’

यस प्रदर्शनीले राष्ट्रिय सीमाभन्दा बाहिरको संवाद पनि सम्भव बनाएको छ, जहाँ नेपाली र मंगोलियन कलाकारहरूको सहभागिताले कला भाषाको सार्वभौमिकता र साझा मानवीय अनुभवलाई जोड दिएको छ। अनबाउन्ड भ्वाइसेस शीर्षक आफैंमा एक घोषणाजस्तो लाग्छ—महिला कलाकारका आवाज अब सीमित छैनन्, बरु ती समकालीन कला विमर्शका केन्द्रमा छन्।

“UNBOUND VOICES: WOMEN IN ART ” at Classic Gallery, Chakupat, Lalitpur english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.

चैत्र १५ देखि वैशाख ७ गते सम्म सञ्चालन हुने यो प्रदर्शनी केवल कला अवलोकन गर्ने ठाउँ मात्र होइन, समाज, पहिचान र अस्तित्वबारे गहिरो रूपमा सोच्न प्रेरित गर्ने स्थल बनेको छ। समग्रमा, यसले नेपाली कला क्षेत्रमा महिला प्रतिनिधित्व, अनुभव र अभिव्यक्तिको एउटा महत्वपूर्ण दस्तावेज निर्माण गर्दै कला र सामाजिक यथार्थबीचको सम्बन्धलाई नयाँ ढंगले पुनर्परिभाषित गरेको छ।

“UNBOUND VOICES: WOMEN IN ART ” at Classic Gallery, Chakupat, Lalitpur english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.
चित्रकार विलिज्ट ऐन्खटैभनको चित्र फादर स्काई, मदर अर्थ

“UNBOUND VOICES: WOMEN IN ART ” at Classic Gallery, Chakupat, Lalitpur english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.

प्रतिक्रिया दिनुहोस्