भदौ २३ र २४ गते देशले एउटा असहज र पीडादायी समयको सामना ग¥यो । जेन–जी आन्दोलनका क्रममा भएको राज्यको दमन, हिंसा र मानवीय क्षतिले नेपाली समाजमा गहिरो छाप छोड्यो। त्यस घटनामा ज्यान गुमाउनेमध्ये नेपाली कला क्षेत्रका युवा कलाकार विनोद महर्जन र घटनाको दृश्य अभिलेख गरिरहेका फोटो पत्रकार दीपेन्द्र ढुंगाना पनि थिए। उनीहरूको सिर्जना, संघर्ष र योगदानको स्मरणमा काठमाडौंमा ‘प्रतिध्वनि’ शीर्षकको विशेष कला प्रदर्शनी सुरु भएको छ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा चन्द्रमानसिंह मास्के ग्यालरीमा सुरु भएको प्रदर्शनीमा विनोद महर्जनका कलाकृति तथा दीपेन्द्र ढुंगानाले आन्दोलनका क्रममा खिचेका तस्वीरहरू प्रस्तुत गरिएका छन् । भदौ २४ गतेदेखि सुरु भएको प्रदर्शनी भदौ २८ गतेसम्म सञ्चालन हुनेछ। यसले दुई स्रष्टाको व्यक्तिगत स्मृतिलाई मात्र होइन, एउटा निर्णायक सामाजिक घटनालाई कला र दृश्य दस्तावेजमार्फत सम्झने प्रयास गरेको छ ।

ललितपुरको पाटनमा जन्मिएका विनोद महर्जन बहुप्रतिभाशाली कलाकार थिए। मूर्तिकला, काष्ठकला, धातुकला, चित्रकला तथा परम्परागत कलामा सक्रिय उनले परिवारबाट प्राप्त सीपलाई आफ्नो सिर्जनात्मक यात्रासँग जोड्दै लगेका थिए। विशेषगरी धातुका देवी–देवताका मूर्ति निर्माण, मुहार चित्रण र अन्तिम रुप दिनेमा उनको विशेष दक्षता थियो । काठमा मूर्ति तथा फाइवर ग्लासमा काम गर्ने र एक्रेलिक तथा क्यानभासमा चित्र सिर्जना गर्ने काममा समेत उनी सक्रिय थिए।
परम्परागत मूर्तिनिर्माणको जटिल प्रक्रियामा समेत उनको गहिरो अनुभव थियो । मैनबाट मूल आकृति तयार गर्ने, त्यसको साँचो बनाउने, माटो तथा गोबरबाट मोल्ड तयार पार्ने र धातु ढालेर मूर्ति निर्माण गर्ने प्रक्रियामा उनी निपुर्ण थिए । करिब दुई दशकदेखि देवी–देवताका मूर्ति निर्माणमा सक्रिय उनका सिर्जनाहरू नेपालबाहेक मलेसिया, चीन, थाइल्यान्ड तथा युरोपका विभिन्न मुलुकसम्म पुगेका थिए । उनका लागि कला केवल पेशा थिएन; यो पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सीप, संस्कृति र पहिचानसँग जोडिएको जीवन–अभ्यास थियो ।
प्रदर्शनीको अर्को महत्वपूर्ण पक्ष फोटो पत्रकार दीपेन्द्र ढुंगानाको दृश्य अभिलेख हो । काठमाडौंलाई केन्द्र बनाएर दुई दशकभन्दा बढी समयदेखि फोटो पत्रकारितामा सक्रिय ढुंगानाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि काम गरेका छन् । आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ अघि बढिरहेको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा भदौ २३ गते उनी गोली लागी घाइते भएका थिए । उनी अहिले हामी माझ सकुल छन् ।

‘प्रतिध्वनि’मा उनले आन्दोलनका क्रममा खिचेका तस्वीरसँगै उनी घाइते भएपछि अन्य फोटो पत्रकारहरूले खिचेका केही दृश्यहरू पनि समावेश छन् । ती तस्वीरहरू आन्दोलनका क्षणलाई मात्र अभिलेख गर्ने माध्यम बनेका छैनन; तिनमा त्यस समयको सामाजिक वातावरण, जनआक्रोश र परिवर्तनको आकांक्षासमेत देखिन्छ । क्यामेरामार्फत घटनाको साक्षी बनेका ढुंगानाका तस्वीरहरू आज स्वयं एउटा समयको स्मृति र दस्तावेज बनेका छन् ।
विनोद महर्जनका कलाकृति र दीपेन्द्र ढुंगानाका तस्वीरलाई एउटै प्रदर्शनीमा प्रस्तुत गरिनुले ‘प्रतिध्वनि’लाई थप अर्थपूर्ण बनाएको छ । एकातर्फ सिर्जनामार्फत समाज, संस्कृति र परम्परासँग संवाद गर्ने कलाकार छन् भने अर्कोतर्फ क्यामेरामार्फत समय र घटनालाई अभिलेख गर्ने फोटो पत्रकार । माध्यम फरक भए पनि दुवैको सिर्जनात्मक यात्रा समाज र समयको स्मृति निर्माणसँग जोडिएको देखिन्छ ।

कलाकार तथा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा बहुआयामिक कला विभागका प्रमुख जुपिटर प्रधान यस प्रदर्शनीले एउटा कलाकारको दैनिकी, उनी बसेको घर, उनको जीवनशैलीलाई समेत यस प्रदर्शनीले समेट्न सफल भएको बताउँछन् । विनोद महर्जनले आफ्नो घर र आफु बस्ने कोठालाई कलामय बनाएको दृष्यहरु फोटामा कैद गरी फ्रोजेक्टर मार्फत समेत प्रस्तुत गर्न सकियो । अब यी कैद भएका दस्तावेजहरु वास्तविकतामा मेटिइसकेको छ । राज्यले यस्ता विषयलाई उचित सम्मान दिनु आवश्यक छ, प्रधानको जोड थियो ।
यस अर्थमा ‘प्रतिध्वनि’ दुई स्रष्टाको सम्झनामा आयोजित श्रद्धाञ्जली मात्र होइन, कला, पत्रकारिता र सामाजिक चेतनाबीचको सम्बन्धलाई पुनःस्मरण गराउने प्रदर्शनी पनि हो। उनीहरूका कलाकृति र दृश्य दस्तावेजमार्फत प्रदर्शनीले एउटा पुस्ताको आवाज, संघर्ष र समयको साक्ष्यलाई आगामी पुस्तासम्म पु-याउने प्रयास गरेको छ। मृत्युले उनीहरूको भौतिक यात्रा रोकिए पनि सिर्जना र दस्तावेजमा बाँचेका उनीहरूका आवाज आज पनि प्रतिध्वनित भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्