काठमाडौंस्थित नेपाल कला परिषद् मा जारी कला प्रदर्शनी “उर्लंदो नदीझैँः महिला र परिवर्तनका कथाहरू” ले समकालीन नेपाली कला क्षेत्रमा नयाँ बहसको ढोका खोलेको छ। यूएन वुमन र फिनल्यान्ड सरकारको सहकार्यमा सृजनालयद्वारा आयोजित यो प्रदर्शनी वैशाख २६ देखि ३१ (८–१३ अप्रिल २०२६) सम्म चल्नेछ। यो प्रदर्शनीको विशेषता यसको संरचनामै निहित छ—यहाँ १५ जना कलाकारहरूले सिर्जना गरेका १० कलाकृतिहरू र १० कथाहरूको एन्थोलोजीलाई सँगसँगै प्रस्तुत गरिएको छ। दृश्य कला र मौखिक कथनलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयासले दर्शकलाई केवल हेर्ने मात्र होइन, सुन्ने र अनुभव गर्ने अवसर पनि दिन्छ। यसले कला र कथालाई एकै ठाउँमा जोड्दै महिलाहरूको जीवनअनुभव, संघर्ष र नेतृत्वका आयामहरूलाई प्रत्यक्ष रूपमा उजागर गर्दछ। कला प्रदर्शनीको क्युरेटिङ पक्ष सशक्त देखिन्छ भने कला हेर्नका लागि जाने दर्शकहरुले निर्धक्क कला हेर्न सकिन्छ ।

प्रदर्शनीको मूल भावलाई स्पष्ट पार्दै यूएन वुमनकी नेपाल प्रतिनिधि पेत्रिसिया फर्नान्डेज–पाचेका भन्छिन्, “कथाले विभिन्न दृष्टिकोणबाट संसारलाई हेर्ने क्षमता दिन्छ, जुन लोकतन्त्रको आधार हो ।” उनको भनाइले यस प्रदर्शनीको सारलाई प्रष्ट बनाउँछ—कला केवल अभिव्यक्तिको माध्यम मात्र होइन, सामाजिक परिवर्तनको शक्तिशाली उपकरण पनि हो ।
“उर्लंदो नदीझैँ” केवल दृश्य अनुभवमा सीमित छैन; यसले महिलाहरूको अदृश्य श्रम, भावनात्मक संसार र सामुदायिक नेतृत्वलाई जीवन्त र दृश्यात्मक बनाउने प्रयास गर्दछ। प्रदर्शनीले महिलाहरूको साहस, सिर्जनशीलता र नेतृत्वलाई सम्मान गर्दै तिनलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउने काम गरेको छ । आयोजकहरूका अनुसार सामाजिक मान्यतामा परिवर्तन ल्याउन कथाहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। जबसम्म नेतृत्व गर्न सक्ने, सुन्न योग्य र मूल्यवान श्रम गर्ने व्यक्तिहरूबारे स्थापित धारणाहरू परिवर्तन हुँदैनन्, तबसम्म संरचनात्मक असमानताको अन्त्य सम्भव हुँदैन। यस सन्दर्भमा प्रदर्शनीले कलामार्फत संवाद सिर्जना गर्दै परिवर्तनको आधार तयार पार्ने काम गरेको देखिन्छ।

यो प्रदर्शनीको अर्को महत्वपूर्ण पक्ष भनेको यसको प्रक्रिया हो। कलाकारहरू स्टुडियोभित्र सीमित नभई विभिन्न जिल्लाहरूमा पुगेर समुदायसँग प्रत्यक्ष संवाद गरेका थिए । कलाकारहरु नेपालका विभिन्न जिल्लाहरुमा पुगेका थिए । उनिहरुले डोटी, कैलाली, सुर्खेत, काभ्रे र सर्लाहीमा पुगेर त्यस क्रममा संकलित कथाहरूलाई आधार बनाएर उनीहरूले आफ्ना कलाकृतिहरू निर्माण गरेका छन् । क्युरेटर सञ्जीव महर्जनका अनुसार ‘यस प्रर्दशनी आफैंमा ठूलो उपलब्धी हो । यस प्रदर्शनीले राज्यको केन्द्रमा दूरदराजका कथा र आवाजहरुलाई चित्रको माध्यमबाट स्पष्ट रुपमा व्यक्त गर्ने काम गरेको छ ।’
यस प्रक्रियाबाट जन्मिएका कलाकृतिहरूमा सिलाइ, कढाइ, वनस्पति फाइबरबाट बुन्ने कला, गोदना (ट्याटु), भित्तेचित्र, ढुंगाको काम, नेपाली कागजको प्रयोग र मौखिक परम्पराहरूमा आधारित विषयहरुलाई समावेश गरिएको छ। यी अभ्यासहरूलाई “घरेलु” सीमाभन्दा बाहिर ल्याउँदै सीप, ज्ञान र नेतृत्वका रूपमा पुनःस्थापित गरिएको छ ।

सम्पादक मुना गुरुङका शब्दमा, “यी कथाहरू केवल कथा होइनन—यी महिलाहरूका वास्तविक जीवनका अनुभव र उनका सपना हुन्।” वास्तवमै, प्रदर्शनीमा समावेश कथाहरूले दलित, मधेसी र आदिवासी महिलाहरूका आवाजलाई विशेष रूपमा अघि ल्याएका छन्। हिंसात्मक सम्बन्धबाट बाहिर निस्कन खोज्ने दलित युवतीदेखि समलैंगिक प्रेम स्वीकार गर्ने थारु महिला, आत्म–हेरचाह रोज्ने तामाङ वृद्धादेखि प्रेमको आकांक्षा व्यक्त गर्ने मुसहर महिलासम्मका विविध अनुभवहरू यहाँ प्रस्तुत छन्। यी कथाहरूले लैंगिक समानतालाई बहुआयामिक प्रश्नका रूपमा उठाउँछन्—जहाँ जात, वर्ग, यौनिकता र उमेरजस्ता तत्वहरू आपसमा गाँसिएका छन्। यसले सामाजिक न्याय र प्रतिनिधित्वको जटिलतालाई दर्शाउँछ।

प्रदर्शनीको उद्घाटनसँगै आयोजित प्यानल छलफलले यसलाई अझ सशक्त बनाएको छ। लेखक तथा विश्लेषक जेबी विश्वकर्मा, समुदाय नेतृ धनसरा बादी, कलाकार सोफिया महर्जन र युवा अभियन्ता अमृता बानियाँले कथा र सामाजिक परिवर्तनबीचको सम्बन्धबारे आफ्ना विचार साझा गरेका थिए । छलफलले स्पष्ट पार्यो कि कला वा व्यक्तिगत अनुभवमार्फत प्रस्तुत कथा सामाजिक मान्यतामा परिवर्तन ल्याउने प्रभावकारी माध्यम हुन सक्छ। यो प्रदर्शनी काठमाडौंमै सीमित रहने छैन। आगामी महिनाहरूमा सुदूरपश्चिम, कर्णाली, मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा यसलाई प्रदर्शनी गरिने श्रृजनालायकी निर्देशिक श्याररे बज्राचार्य बताउँछिन् । यसले समुदायस्तरमै यस्ता कथाहरूले चेतना फैलाउने र संवाद सिर्जना गर्ने सम्भावना बढ्नेमा उनको जोड थियो ।

“उर्लंदो नदीझैँः महिला र परिवर्तनका कथाहरू” समकालीन नेपाली कला क्षेत्रमा एउटा महत्वपूर्ण खुड्किला हो । यसले कला, कथा र सामूहिक अनुभवमार्फत सौन्दर्यसँगै सामाजिक न्याय, समानता र प्रतिनिधित्वका प्रश्नहरूलाई समान रूपमा उठाउँछ । कला र लोकतन्त्रको संगमका रूपमा उभिएको यो प्रदर्शनीले लामो समयदेखि निर्णय प्रक्रियाबाट बाहिर रहेका महिलाहरूका आवाजलाई केन्द्रमा ल्याउँदै नयाँ विमर्शको सुरुआत गरेको छ ।




प्रतिक्रिया दिनुहोस्