नेपाली परम्परागत धातु मूर्तिकलाका अग्रज कलाकार तथा ‘क्रोधकला शिरोमणि’ प्राज्ञ कालु कुमालेको ९४ वर्षको उमेरमा निधन भएको छ । हात्तीवनस्थित निजी निवासमा मंगलबार, असोज ६ गते उहाँको निधन भएको हो । क्रोध मुद्रामा आधारित बौद्ध तथा हिन्दु देवीदेवताका विशालकाय धातु मूर्ति निर्माणमा विशिष्ट पहिचान बनाएका कुमाले नेपाली परम्परागत मूर्तिकलाका महत्वपूर्ण साधकका रूपमा परिचित हुनुहुन्थ्यो । सात दशकभन्दा लामो समय कला–साधनामा बिताउनुभएका उहाँले आफ्नो सिर्जनाका माध्यमबाट नेपाली मूर्तिकलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा परिचित गराउन महत्वपूर्ण योगदान पु¥याउनुभयो। उहाँ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका मानार्थ प्राज्ञ सदस्यसमेत हुनुहुन्थ्यो ।
वि.सं. १९९० जेठ २७ गते ललितपुरको ओकुबहालमा जन्मनुभएका कुमाले विशेषगरी उग्र वा क्रोध भावभङ्गीमा प्रस्तुत गरिने देवीदेवताका मूर्ति निर्माणमा दक्ष हुनुहुन्थ्यो । उहाँका कलाकृतिमा धार्मिक आस्था, परम्परागत मूर्तिशिल्प, शिल्प–कौशल र भावनात्मक अभिव्यक्तिको विशिष्ट संयोजन देखिन्छ । उहाँका सिर्जना नेपालका विभिन्न मठमन्दिर तथा गुम्बामा मात्र नभई बेलायत, अमेरिका, जापान, भुटान, कोरिया, इटली, मंगोलिया, भारत र अन्य देशसम्म पुगेका छन् । बेलायतको भिक्टोरिया एन्ड अल्बर्ट म्युजियममा समेत उहाँका कृति संग्रहित छन् ।

कुमालेका चर्चित सिर्जनामा ललितपुरको क्वाछेँ बालकुमारी मन्दिरको भैरव, धँटल मन्दिरको धन्वन्तरि वाराही, त्यागल बालकुमारी मन्दिरका गणेश र भैरव तथा महाबुद्धको ठूलो वज्रलगायत छन्। सतुङ्गल विष्णुदेवी मन्दिरका गणेशभैरव, अजिमा, पद्मपाणि, बोधिसत्व, वज्रयोगिनी, वज्रभैरव, चक्रसम्बर, हयग्रीव, कालभैरव र श्वेत महाकाललगायतका मूर्तिहरू पनि उहाँको सिर्जनासँग जोडिएका छन्। पछिल्लो समय पाटन संग्रहालयमा उहाँले निर्माण गरेको ६ फिट ४ इन्च अग्लो बाराही योगिनीको मूर्ति पनि स्थापित गरिएको थियो।
कला क्षेत्रमा पु-याएको योगदानका लागि कुमालेले गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला प्रज्ञा सम्मान, प्रबल जनसेवाश्री पदक तथा अन्य विभिन्न सम्मान र पुरस्कार प्राप्त गर्नुभएको थियो । वि.सं. २०७३ मा उहाँलाई ‘क्रोधकला शिरोमणि’ उपाधिबाट सम्मान गरिएको थियो । उहाँको जीवन र कलायात्रामाथि आधारित ‘देउता बनाउने मान्छे’ नामक जीवनीसमेत प्रकाशित छ ।
राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ
कुमालेको पार्थिव शरीरलाई असोज ७ गते बिहान नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ तथा सांसद जगदीश खरेलले उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
श्रद्धाञ्जलीपछि उहाँको पार्थिव शरीरलाई पुल्चोक तथा ओकुबहालस्थित पुख्र्यौली घर हुँदै ललितपुरको बालकुमारीस्थित घाटमा पु¥याइएको थियो । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पनि श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । पारिवारिक संस्कारसहित उहाँको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ सम्पन्न गरिएको थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव कैलाशकुमार श्रेष्ठले क्रोधकला शिरोमणि कालु कुमालेको निधनसँगै नेपाली परम्परागत धातु मूर्तिकलाको एउटा महत्वपूर्ण पुस्ताको अवसान भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “कुमालेले मूर्तिकलामार्फत संरक्षण, निरन्तरता र पुस्तान्तरण गर्नुभएको शिल्प–परम्परा उहाँका कलाकृतिसँगै नेपालका मठमन्दिर, गुम्बा, संग्रहालय तथा अन्तर्राष्ट्रिय कला–संग्रहमा जीवित रहनेछ।”

प्रतिक्रिया दिनुहोस्