हिमालय, बौद्ध दर्शन, आध्यात्मिकता, करुणा र सांस्कृतिक सम्बन्धलाई कलामार्फत अभिव्यक्त गर्दै चिनियाँ कलाकार सिल्भियाको एकल कला प्रदर्शनी ‘इकोज अफ द सेक्रेड’ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ । प्रदर्शनीले नेपाल र चीनबीच लामो समयदेखि कायम सांस्कृतिक सम्बन्ध, पारस्परिक सम्मान र सिर्जनात्मक सहकार्यलाई कलाको माध्यमबाट प्रस्तुत गरेको छ ।
प्रदर्शनी उद्घाटनका क्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति चन्द्रश्याम डंगोलले कला कुनै एक देश, भाषा वा भौगोलिक सीमाभित्र सीमित नहुने बताए । उनका अनुसार कला मानव सभ्यता, भावना, संस्कृति र आध्यात्मिक अनुभवको सार्वभौम भाषा हो । “आजको प्रदर्शनीले नेपाल र चीनबीच लामो समयदेखि कायम सांस्कृतिक सम्बन्ध, पारस्परिक सम्मान र सिर्जनात्मक सहकार्यलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ,” डंगोलले भने ।

उनले सिल्भियाका सिर्जनामा कलाप्रतिको समर्पणसँगै बौद्ध दर्शन, संस्कृति र परम्पराप्रतिको गहिरो आस्था अभिव्यक्त भएको उल्लेख गरे । उनका अनुसार प्रस्तुत कलाकृति सौन्दर्यको अभिव्यक्ति मात्र नभई शान्ति, करुणा, मानवता र सांस्कृतिक संवादको सन्देशसमेत बोकेका छन् । डंगोलले नेपाली कला र कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुका साथै विभिन्न देशका कलाकारसँग सहकार्य विस्तार गर्दै कला कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने दिशामा प्रतिष्ठानले काम गरिरहेको बताए ।
चिनियाँ कलाकार सिल्भियाले नेपालसँग आफ्नो कला–सम्बन्ध करिब १६ वर्षअघि सुरु भएको बताइन् । पहिलोपटक नेपाल आएदेखि पटक–पटक नेपाल र चीनबीच यात्रा गर्दै आएको उल्लेख गर्दै उनले हिमालयलाई आफ्ना सिर्जनाको प्रमुख प्रेरणास्रोतका रूपमा प्रस्तुत गरिन् । “हिमालय कलाको विशाल खजाना हो, जसले मलाई निरन्तर प्रेरणा दिइरहेको छ,” उनले भनिन् । नेपाललाई आध्यात्मिकता, प्रेम, करुणा र आशीर्वादले भरिएको अलौकिक देशका रूपमा अनुभूति गरेको बताउँदै सिल्भियाले नेपालको भूमिबाट प्राप्त प्रेरणाबिना प्रस्तुत कलाकृति सिर्जना गर्न सम्भव नहुने धारणा व्यक्त गरिन् । “कलालाई व्याख्याको आवश्यकता हुँदैन । मेरा कलाकृतिमा मेरा सबै आशीर्वाद र शुभेच्छाहरू समेटिएका छन्,” उनले भनिन् ।
नेपालले भोगेका पीडा र दुःखलाई आफूहरूले नजिकबाट देखेको उल्लेख गर्दै उनले भविष्य अझ उज्यालो हुने विश्वास व्यक्त गरिन् । प्रदर्शनीको अवसर प्रदान गरेकोमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, उपकुलपति चन्द्रश्याम डंगोल, प्रदर्शनीका लागि खटिएका कर्मचारी तथा नेपाली र चिनियाँ साथीहरूप्रति उनले आभार व्यक्त गरिन् ।

उद्घाटन समारोहमा चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक लिउ झान पिङले कला आफैंमा एउटा छुट्टै भाषा भएको बताए । कलाकार नभए पनि कलाले मानिसलाई जोड्ने र फरक दृष्टिकोण तथा संस्कृतिलाई बुझ्न सहयोग गर्ने उनको भनाइ थियो । “कला बोल्छ, मानिसलाई जोड्छ र विभिन्न दृष्टिकोण तथा संस्कृतिलाई बुझ्ने अवसर दिन्छ,” उनले भने । नेपाल र चीनका कला, संस्कृति र मानिसलाई एउटै मञ्चमा जोड्ने यस्ता कार्यक्रमले दुई देशबीचको मित्रता तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उनले बताए । आगामी दिनमा नेपाल र चीनका कलाकार तथा सांस्कृतिक समुदायबीच थप सहकार्य, संवाद र सिर्जनात्मक सम्बन्ध विस्तार हुने अपेक्षा पनि उनले व्यक्त गरे । समारोहमा विशिष्ट अतिथिहरूलाई खादा अर्पण गरी स्वागत गरिएको थियो । त्यसपछि चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक लिउ झान पिङ, कलाकार सिल्भिया तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति एरिना ताम्राकारले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी प्रदर्शनीको औपचारिक उद्घाटन गरेका थिए ।

समारोहमा ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति एरिना ताम्राकार, हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यलगायत कलाकार, कला–प्रेमी, सञ्चारकर्मी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो । प्रदर्शनीका सहयोगी सेन्स कन्स्ट्रक्सन प्रालिका तर्फबाट शर्मिला डंगोलले ल्याएको सम्मान–चिनो चन्द्रश्याम डंगोलमार्फत चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक लिउ झान पिङलाई प्रदान गरिएको थियो । प्रदर्शनीलाई खोकाना स्टोन कार्भिङ र सेन्स कन्स्ट्रक्सन प्रालिको सहयोग रहेको हो ।
‘इकोज अफ द सेक्रेड’ प्रदर्शनी भाद्र ३० गतेदेखि अशोज २ गते (१५ देखि १८ सेप्टेम्बर) सम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चन्द्रमान मास्के ग्यालरीमा सञ्चालन भइरहेको छ । प्रदर्शनीमा सिल्भियाका आध्यात्मिकता, हिमालय, बौद्ध दर्शन तथा नेपालसँगको उनको सिर्जनात्मक सम्बन्धबाट प्रभावित कलाकृति प्रस्तुत गरिएका छन् ।प्रदर्शनीले कला केवल सौन्दर्य अभिव्यक्तिको माध्यम नभई दुई देशका संस्कृति, अनुभव, भावना र मानिसबीच संवाद निर्माण गर्ने माध्यम पनि हुनसक्ने सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्