नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा पाँचदिने भिडियो आर्ट इन्स्टलेसन कार्यशाला नक्सालस्थित प्रतिष्ठान परिसरमा सोमबारदेखि शुक्रबारसम्म सम्पन्न भएको छ। समकालीन कला अभ्यासमा भिडियो माध्यमको वैचारिक, प्राविधिक र सौन्दर्य पक्षबारे केन्द्रित यो कार्यशालाले नेपाली कलाकारहरूलाई नयाँ माध्यमतर्फ उन्मुख गराउने उद्देश्य राखेको थियो। कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कन्टेन्ट, कन्सेप्ट, टुल्स र टेक्निकको सन्तुलनमा आधारित कलात्मक अभ्यासले सामाजिक रूपान्तरणमा योगदान दिन सक्ने उल्लेख गर्दै, सांस्कृतिक सन्दर्भ र सौन्दर्यशास्त्रलाई आत्मसात् गरी कला सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो।
प्रतिष्ठानको बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले कार्यशालालाई विशेष पहलका रूपमा उल्लेख गर्दै सहभागी कलाकारहरूलाई अवधारणागत स्पष्टतामा ध्यान दिन आग्रह गर्नुभयो। यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। साथै उहाँले भिडियो आर्ट इन्स्टलेशन वर्कशपको मूल उद्देश्य नयाँ माध्यम परिचय गराउनु तथा यसले भविष्यमा महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउनुभयो । नेपालमा सधैं नयाँ मिडिया आर्टको कुरा गरिन्छ, तर थोरै कलाकारहरूले मात्र यस विधामा काम गरिरहेका छन् । यस्ता वर्कशपहरूले धेरै कलाकार र सर्जकलाई यसबारे जान्ने र बुझ्ने मौका दिनुका साथै भिडियोलाई कसरी कलाको रुपमा प्रदर्शन गर्न सकिन्छ भन्ने स्पष्ट धारणा बुझाउनु समेत रहेकोमा उहाँको जोड थियो ।
कार्यशालाका सहजकर्ता प्राज्ञ जुपिटर प्रधानले भिडियो आर्ट इन्स्टलेसनको विश्व इतिहास र नेपालमा यसको सुरुवातबारे विस्तृत जानकारी दिनुभयो। नेपालमा सन् १९८७ को पहिलो एनिमेसन आर्ट वर्कसपपछि भिडियो माध्यमले चरणबद्ध रूपमा विकास भएको उहाँको भनाइ थियो। कार्यशालामा सहभागी कलाकारहरूलाई प्राविधिक ज्ञान, कन्सेप्ट डेभलपमेन्ट र कम स्रोत–साधनमै प्रभावकारी भिडियो इन्स्टलेसन तयार गर्ने उपायबारे प्रशिक्षण दिइयो।
नेपालमा भिडियो आर्ट इन्स्टलेसनको प्रारम्भिक अभ्यास सन् १९९० को दशकमा देखिन्छ। १९९२ मा कलाकार मनुज बाबु मिश्रले जर्मनीको डोकुमेन्टा कला महोत्सवमा अन्तर्राष्ट्रिय समकालीन कला अभ्यास अवलोकन गरेपछि, नयाँ माध्यमप्रति नेपाली कलाकारहरूलाई परिचित गराउन महत्वपूर्ण भूमिका खेल्याे। सन् २००० यता नेपालमा भिडियो आर्टको अभ्यास विस्तार हुँदै आए पनि कलाकार र कृतिहरू अझै सीमित छन्। उच्च प्रविधिमा पहुँचको अभाव, उपकरणको लागत र संस्थागत पूर्वाधारको कमी यसको मुख्य चुनौतीका रूपमा देखिन्छ। तथापि, अन्तर्राष्ट्रिय प्रदर्शनी, बिएनाले र रेजिडेन्सीहरूमा यो माध्यम अत्यन्तै सान्दर्भिक मानिन्छ। कर्यशालाका प्रशिक्षक जुपिटर प्रधानका अनुसार यो कार्यशालाको उद्देश्य नेपाली कलाकारहरूलाई भिडियो आर्ट र भिडियो इन्स्टलेसनलाई समकालीन कला माध्यमका रूपमा बुझ्न, प्रयोग गर्न र आफ्नै सन्दर्भअनुसार विकास गर्न सक्षम बनाउनु रहेको थियो । नेपालमा यस माध्यमको अभ्यास सीमित रहेकाले, नयाँ कलाकारलाई आकर्षित गर्नु, प्रयोगात्मक सोच विकास गर्नु र कम स्रोत–साधनमै प्रभावकारी सिर्जना गर्ने सीप प्रदान गर्नु यसको मुख्य लक्ष्य रहेको थियो ।
कार्यशालाले नेपाली कलामा नयाँ प्रस्तुति भाषा र अन्तर्राष्ट्रिय समकालीन अभ्याससँग जोडिने अवसर सिर्जना गर्छ। सहभागी कलाकारहरूले अवधारणा, इतिहास, वैकल्पिक प्रविधि र एआईजस्ता नयाँ माध्यमको कलात्मक प्रयोगबारे ज्ञान हासिल गरेका छन्। यस्ता पहलले भिडियो आर्टलाई नेपाली समकालीन कलामा स्थापित गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीमा यसको प्रभाव विस्तार हुने संकेत गर्छ। कार्यशालामा सहभागी कलाकार सविना तामाङका अनुसार, स्नातक तहमा कलाको अध्ययन गर्दा सिकेका विषयहरूलाई व्यवहारिक र गहन रूपमा प्रयोग गर्ने र सिक्ने अवसर यस कार्यशालाले दिएको छ। समयअनुसार डिजिटल आर्ट सिक्दा पहिलेबाट रहेको सीप अझ सशक्त हुने र सीमित साधन–स्रोतबाट पनि असिमित सम्भावनायुक्त कला सिर्जना गर्न सकिने आत्मविश्वास बढेको उहाँले बताउनुभयो ।
यसैगरी सहभागी कलाकार शुसिला मुक्तानले भिडियो आर्ट इन्स्टलेसनको अवधारणा र अभ्यासबारे विस्तृत रूपमा बुझ्ने अवसर पाएको अनुभव साझा गर्नुभयो । अर्की सहभागी कलाकार सरिना लामिछानेका अनुसार, भिडियो आर्टलाई वैकल्पिक माध्यमका रूपमा कसरी प्रयोग र प्रतिस्थापन गर्न सकिन्छ भन्ने ज्ञान कार्यशालाबाट प्राप्त भयो। साना विषयहरूलाई समेत कलात्मक रूपमा प्रस्तुत गर्ने दृष्टि विकसित भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा यस्ता कार्यक्रमहरूमा एनिमेसनसम्बन्धी विषय समावेश गर्न र कार्यशालाको अवधि थप गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यसैगरी कलाकार करिमा जोशीले यस कार्यशालाले आफूहरूमा रहेको ज्ञान विस्तार गर्नुका साथै प्राविधिक रूपमा भिडियो आर्ट कसरी तयार गर्ने र त्यसलाई प्रभावकारी रूपमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा स्पष्ट ज्ञान विकास गर्न मदत गरेको बताउनुभयो । कार्यशालामा डिभा लिम्बु, सविना तामाङ, सरिना लामिछाने (यस्मीन), करिमा जोशी, शुसिला मुक्तान र क्रिस्टोफरमान सिंह सहभागी थिए। सहभागी कलाकारहरूले भिडियो, ध्वनि, स्थान र दर्शकबीचको सम्बन्ध, वैकल्पिक प्रविधि, र एआईजस्ता नयाँ उपकरणको कलात्मक प्रयोगबारे ज्ञान हासिल गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्