पाटन संग्रहालयको ऐतिहासिक परिसरमा पौष २५ गतेदेखि २७ गतेसम्म (जनवरी ९–११) तीनदिने ‘हिटी कला प्रदर्शनी’ आयोजना भइरहेको छ। काठमाडौं उपत्यकाको मौलिक पहिचानसँग गहिरो रूपमा गाँसिएको परम्परागत ढुंगेधारा प्रणाली—स्थानीय रूपमा हिटी भनेर चिनिने—को सांस्कृतिक, ऐतिहासिक र वातावरणीय महत्वलाई समकालीन कलामार्फत उत्सवको रूप दिँदै प्रदर्शनी प्रस्तुत गरिएको हो।
ई–आर्ट्स नेपालले रोटरी क्लब अफ यला र चिवा चैत्य संस्थासँगको सहकार्यमा आयोजना गरेको यस प्रदर्शनीले कला अभ्यास र सम्पदा संरक्षणलाई एउटै साझा मञ्चमा ल्याएको छ। शताब्दीयौँदेखि उपत्यकाका बासिन्दालाई जीवनदायी पानी उपलब्ध गराउँदै आएका यी परम्परागत जलप्रणालीहरू आज संवेदनशील अवस्थामा पुगेका छन्। यही यथार्थलाई केन्द्रमा राख्दै प्रदर्शनीले हिटीहरूको वर्तमान अवस्था, संरक्षणको आवश्यकता र पुनःस्थापनाप्रतिको चेतनालाई व्यापक समाजसम्म पुर्याउने उद्देश्य लिएको आयोजकहरू बताउँछन्।
प्रदर्शनी उद्घाटन समारोहमा रोटरियन बसन्त राज श्रेष्ठले स्वागत मन्तव्य दिँदै यस्तो पहलले कला र समाजबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उल्लेख गर्नुभयो। विशेष अतिथि तथा हिटी विज्ञ पी.एस. जोशीले हिटी प्रणालीको ऐतिहासिक, सामाजिक र प्राविधिक महत्वमाथि प्रकाश पार्दै यसको संरक्षण नगरे भावी पुस्ताले गहिरो क्षति व्यहोर्नुपर्ने चेतावनी दिनुभयो। प्रमुख अतिथि वरिष्ठ कलाकार किरण मानन्धरले हिटीजस्ता ऐतिहासिक विषयलाई समकालीन कलाकारहरूले आफ्नो सिर्जनाको विषय बनाउनु आफैंमा महत्वपूर्ण सांस्कृतिक अभ्यास भएको बताउनुभयो।

हिटीहरू केवल पानी वितरण गर्ने संरचना मात्र होइनन्; ती काठमाडौं उपत्यकाको सामाजिक संरचना, धार्मिक आस्था र सामुदायिक जीवनसँग अभिन्न रूपमा जोडिएका सांस्कृतिक धरोहर हुन्। तर तीव्र शहरीकरण, वातावरणीय क्षय र दीर्घकालीन उपेक्षाका कारण धेरै हिटीहरू आज लोप भइसकेका छन् भने कैयौँ अझै गम्भीर जोखिममा छन्। यही चुनौतीपूर्ण सन्दर्भलाई मध्यनजर गर्दै, आयोजकहरूले जनचेतना अभिवृद्धि, हिटीहरूको संरक्षण, पुनःस्थापना र पुनर्जीवनलाई केन्द्रमा राखेर यो सम्पदा संरक्षण पहल सुरु गरेका हुन्। स्थानीय समुदाय, कलाकार र सरोकारवालाबीच सहकार्यलाई प्रोत्साहन गर्दै परम्परागत जलप्रणालीहरूको दिगो संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित राख्नु नै यस पहलको मूल उद्देश्य रहेको उद्घाटन समारोहमा सहभागी विज्ञहरूले जोड दिएका थिए।
यस हिटी कला प्रदर्शनीमा २० जना समकालीन नेपाली कलाकारका कृतिहरू प्रस्तुत गरिएका छन्, जसले परम्परागत ढुंगेधारा प्रणालीलाई केवल ऐतिहासिक संरचनाका रूपमा होइन, जीवित सांस्कृतिक स्मृतिका रूपमा पुनःव्याख्या गर्छन्। कलाकारहरूले आफ्ना चित्रमार्फत हिटीहरूको कलात्मक सौन्दर्य, सांस्कृतिक अर्थ र ऐतिहासिक पृष्ठभूमिलाई गहिरोसँग अन्वेषण गरेका छन्।
विविध दृश्यात्मक भाषाहरू र व्यक्तिगत अनुभवबाट जन्मिएका यी कृतिहरूले परम्परागत जलपूर्वाधारको संरक्षण किन आजको सन्दर्भमा अझै सान्दर्भिक छ भन्ने प्रश्न उठाउँछन्। प्रदर्शनीले कला र सम्पदाबीचको सम्बन्धलाई उजागर गर्दै, ढुंगेधाराजस्ता संरचनाहरूको संरक्षण केवल प्राविधिक आवश्यकता मात्र नभई सांस्कृतिक उत्तरदायित्वसमेत भएको सन्देश दिन खोजेको छ। यस अर्थमा, प्रदर्शनी सांस्कृतिक सम्पदा संरक्षणबारे गम्भीर संवाद सुरु गर्ने एक प्रभावशाली माध्यम बनेको छ।
प्रदर्शनीमा सहभागी कलाकारहरूमा आशा डंगोल, भाइराजा महर्जन, विधाता के.सी., विनोद प्रधान, विशाल महर्जन, एरिना ताम्राकार, ईशान परियार, कृपा तुलाधर, कृष्ण गोपाल श्रेष्ठ, कृष्ण लामा, मुना भँडेल, प्रधुम्न श्रेष्ठ, प्रदीप कु. बज्राचार्य, प्रतिष्ठा महर्जन, प्रमिला बज्राचार्य, पूजा महर्जन, सागर मानन्धर, सम्झना राजभण्डारी, शइली राणा र श्रीजु शाही रहेका छन्।

समूहगत रूपमा हेर्दा, यी कलाकारहरूको सहभागिताले प्रदर्शनीलाई केवल दृश्यात्मक अनुभवमा सीमित नराखी, स्मृति, पहिचान र दिगोपनको सवाल उठाउने समकालीन कला संवादको रूप दिएको छ। हिटीहरूको संरक्षण र पुनःजीवनबारे सोच्न प्रेरित गर्ने यो प्रदर्शनी समकालीन नेपाली कला अभ्यासमा अर्थपूर्ण हस्तक्षेपका रूपमा देखिन्छ।
सम्झना राजभण्डारीको कृतिमा नावहीः हिटी केवल एउटा ढुंगेधारा होइन, पानीसँग जोडिएको सामाजिक स्मृतिको दृश्य अभिलेख हो। कलाकारका अनुसार ‘ना’ को अर्थ पानी र ‘वहाः’ को अर्थ बहाल हो—अर्थात् पानी भएको बहाल। यही अर्थगत संरचनालाई आधार बनाएर उहाँले चित्र निर्माण गर्नुभएको हो। ढुंगेधारामा कुँदिएका स–साना देवी–देवताका मूर्तिहरूलाई उडकट प्रविधिमार्फत पुनःरचना गरिएको छ, जसले हिटीलाई केवल संरचना नभई जीवित सांस्कृतिक प्रतीकका रूपमा प्रस्तुत गर्छ।

विधाता के.सी.ले कोरेको पाटन सुन्धाराको चित्र समयले खिया लागेको इतिहासजस्तै देखिन्छ। पुरानो समयबाट उत्खनन गरी निकालिएको भित्तो वा पाण्डुलिपिको अवशेष झैं अनुभूति दिने उहाँका कृतिमा चिरिएको सतह, तह–तहमा बनेको बनावट र माटोझैं रङहरूको प्रयोग प्रमुख विशेषता हुन्। कोमल आकृति र क्षतिग्रस्त सतहबीचको द्वन्द्वले नाजुक जीवन, सहनशीलता र विनाशको बीचमा पनि अस्तित्व जोगाइरहने शक्तिलाई प्रतीकात्मक रूपमा उजागर गर्छ।
कृष्ण लामाको कलाकृतिले नेपाली मिथक, भू–दृश्य र समकालीन जीवनलाई एउटै प्रवाहशील कथामा बुन्छ। सर्पाकार आकृतिहरू, देवता, जनावर र शहरी प्रतीकहरू एउटै विशाल दृश्य क्षेत्रमा मिसिँदै चक्रीय समय, आध्यात्मिक निरन्तरता र नेपालमा परम्परा, प्रकृति तथा आधुनिक विकासबीचको तनावलाई संकेत गर्छन्। यस बहुआयामिक संरचनामा नेपालको हिटी प्रणालीको वर्तमान यथार्थ पनि गहिरोसँग प्रतिविम्बित हुन्छ। ईशान परियारले कुम्भेश्वर मन्दिर परिसरको हिटीलाई केन्द्रमा राख्दै चित्र निर्माण गर्नुभएको छ। गोसाइकुण्डबाट कुम्भेश्वरमा जल आउने लोककथाबाट प्रेरित यस कृतिले धार्मिक विश्वास र जलस्रोतबीचको सम्बन्धलाई दृश्यात्मक भाषामा अनुवाद गर्छ। सागर मानन्धरको ढल्को हिटीमाथिको चित्र वर्तमान समयको प्रश्न हो। उहाँका अनुसार नेपालमा हिटीहरू धेरै छन्, तर सार्वजनिक जीवनमा तिनको औचित्य र महत्व क्रमशः घट्दै गएको छ। यही सन्दर्भमा उहाँले हिटीहरू पहिले कस्तो सौन्दर्य र महत्व बोकेका थिए होलान् भन्ने परिकल्पनाबाट चित्र तयार गर्नुभएको छ—सौन्दर्यमार्फत स्मृतिको पुनःआह्वान गर्ने प्रयासस्वरूप।

कृष्ण गोपाल श्रेष्ठले पाटन र काठमाडौंका सुन्धारालाई मिथकीय र सांस्कृतिक प्रतीकहरूसँग जोड्दै चित्रण गर्नुभएको छ। पाटनको सुन्धारामा मकरद्वारा जीव निगलिएको दृश्य, ढकनमा भ्यागुतो र शिवलिङ्ग, तथा पृष्ठभूमिमा पूर्ण कलश र बादलमुनि पानीको संकेतले हिटीको आध्यात्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्छ। काठमाडौंको सुन्धाराको कृतिमा आकाशबाट देखिने दृश्यमा लुँ हिटीको उपस्थिति देखिन्छ। कलाकारका अनुसार, यो प्रदर्शनी हिटीको महत्व, सांस्कृतिक सम्पदा, नेपालीको मौलिक पहिचान र जनजीवनसँग कलाको उपयोगिताबीचको सशक्त मिश्रण हो। प्रमिला बज्राचार्यको नागवहाल हिटीमाथिको कृति बाल्यकालीन स्मृतिसँग गहिरो रूपमा जोडिएको छ। सानैदेखि देख्दै आएको हिटीसँगका व्यक्तिगत सम्झनाका कारण उहाँले यो चित्र बनाएको बताउनुहुन्छ। कलात्मक र पुरातात्विक हिटीहरूको जगेर्ना हुनुपर्छ भन्ने सन्देश सबैमा पुगोस भन्ने उद्देश्य पनि यस कृतिमा निहित छ।
त्यस्तै, विनोद प्रधान र भाइराजा महर्जन तथा अशा डंगोलले आफ्नै टोलका हिटीलाई विषय बनाएर चित्र कोरेका छन्। “मैले बनाएको चित्र मेरो आफ्नै टोलको हो,” उनीहरू भन्छन्, “यसमा मेरो बाल्यकालका भावनाहरू जोडिएका छन्।” यसरी व्यक्तिगत स्मृतिबाट सुरु भएका यी कृतिहरू सामूहिक इतिहास र साझा सांस्कृतिक चेतनामा रूपान्तरण हुन्छन्। कलाकार मुना भँडेलको चित्रमा उनले नेपालको ऐतिहासिक लिच्छवि कालमा निहित हिटीको मौलिक उद्देश्य र यसको सम्बन्धलाई अन्वेषण गरेकी छन् । उनि भन्छिन् ‘आज हिटी इतिहासको ऐनाजस्तै बनेको छ, जसले विगतका जलप्रणालीहरूले दैनिक जीवनलाई कसरी सहयोग गर्थे र आधुनिक जल पूर्वाधारसँग मिल्दोजुल्दो रूपमा कसरी कार्य गर्थे भन्ने बुझ्न मद्दत गर्छ। यस कृतिमा मैले मल्ल कालीन भित्तेचित्रका ढाँचाहरूलाई पुनर्व्याख्या गर्दै वस्त्र, पानीका भाँडा र प्रवाहशील आकृतिहरूसँग संयोजन गरेको छु।’

कलाकार विशाल महर्जन आफ्नो चित्रको बारेमा भन्छन्–‘मैले सिर्जना गरेको चित्र च्यासल हिटीलाई सन्दर्भका रूपमा लिइएको हो, तर त्यसलाई उस्तै नबनाई आफ्नै शैलीमा प्रस्तुत गरिएको छ। दर्शकसँग सहज रूपमा जोडिन र मेरो सन्देश स्पष्ट रूपमा पुगोस भनेर रङहरूलाई अझ जीवन्त बनाइएको छ।’ भ्यागुता र ड्रागनफ्लाइ (डाम्सेल/पुतलीझिँगा) लाई प्रतीकका रूपमा प्रयोग गरी भूमिगत जलमार्गहरूलाई अवरुद्ध गर्ने सहरी विकास, अत्यधिक दोहनका कारण घट्दै गएको भू–जल सतह, तथा प्राचीन जल प्रणालीहरूको कमजोर संरक्षणले ल्याएको संकटबीच पनि जीवनको उपस्थितिलाई चित्रले उजागर गरेको छ। त्यस्तै कलाकार प्रधुम्न श्रेष्ठका कृतिहरू शहरी विकासको नाममा मासिँदै गएका हिटीहरूको प्रतिनिधि हुन्। नयाँ घर र संरचना निर्माणका क्रममा जमिनमुनि पुरिएका ती हिटीहरूको अवस्थालाई उहाँले चित्रका बनावट र टेक्चरमार्फत देखाउन खोज्नुभएको छ। ती टेक्चरहरू आफैंमा जीर्णता, विस्मृति र दबिएको इतिहासको संकेत बनेका छन्।







प्रतिक्रिया दिनुहोस्