क्यानको ३१औँ वर्षगाँठ: अरनिको स्मृति दिवसमा १५ सर्जकलाई कदर

सुनिल पौडेल
सुनिल पौडेल January 12, 2026
4 Min Read
Aa

नेपाल व्यावसायिक कलाकार सङ्घले आफ्नो ३१औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवसलाई यस वर्ष केवल औपचारिक उत्सवमा सीमित नराखी नेपाली ललितकलाको ऐतिहासिक यात्रा, निरन्तर अभ्यास र समकालीन सृजनशीलताको समष्टिगत उत्सवका रूपमा मनाएको छ। राजधानी काठमाडौंमा बुधबार आयोजित विशेष समारोहले नेपाली कलाको विगत, वर्तमान र सम्भावित भविष्यबीचको संवादलाई सशक्त बनाउँदै ललितकला क्षेत्रका १५ जना कलाकार तथा सर्जकलाई सम्मान र पुरस्कारमार्फत सार्वजनिक रूपमा कदर गरेको छ। कार्यक्रममा वरिष्ठ कलाकार राशिविक्रम शाह र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, क्यानका अध्यक्ष प्रेम श्रेष्ठ, लगायत विशिष्ट व्यक्तित्वहरूले सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो। पुरस्कारको राशी ५ हजारदेखि २५ हजार रुपैयाँसम्म रहेको थियो।

समारोहले चित्रकला, मूर्तिकला, ग्राफिक डिजाइन, कार्टुन, कला लेखन र अक्षर लेखनजस्ता विविध विधामा सक्रिय कलाकार तथा लेखकहरूको दीर्घकालीन अभ्यास र वैचारिक प्रतिबद्धतालाई उजागर गर्‍यो। हेम–गंगा युवा कला प्रतिभा पुरस्कार युवा कलाकार सुदीप बस्याललाई प्रदान गरिँदा, हेम–गंगा नारी कला प्रतिमा पुरस्कार सम्झना राजभण्डारीलाई हात पारिन्। समकालीन कला अभ्यासमा उल्लेखनीय योगदान पुर्‍याएका अजय देसार क्यान आइडियल कला पुरस्कारबाट सम्मानित भए। जुन पुरस्कारका संरक्षक नेपाली नोटका डिजाइनर सुन्दर श्रेष्ठ रहनुभएको छ।

Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com

यस्तै, दृश्य सञ्चार र डिजाइनको क्षेत्रमा योगदानका लागि मुल्मी ग्राफिक डिजाइन पुरस्कार अशोकमान सिंहलाई दिइये भने परम्परा र नवप्रयोगबीचको सन्तुलन प्रस्तुत गर्ने रत्नकाजी शाक्यलाई अमात्य कला पुरस्कार तथा वैचारिक र आध्यात्मिक आयाम समेट्ने सिर्जनात्मक अभ्यासका लागि मुकुन्द प्रयासलाई निर्वाण कला सम्मान प्रदान गरियो।

दीर्घकालीन साधना र निरन्तर सिर्जनात्मक यात्राको कदरस्वरूप सुरेन्द्र प्रधान दीर्घकला साधक सम्मान वरिष्ठ कलाकार मदन चित्रकारलाई प्रदान गरियो। यसैगरी, क्यान सिग्देल आर्ट पुरस्कार मानकाजी श्रेष्ठलाई र क्रोधकला शिरोमणि सम्मान हरिप्रसाद वैद्यलाई प्रदान गरिएको थियो। कार्टुन विधातर्फ राजेश मानन्धर कार्टुन अवार्ड पानसिंह तोमारलाई प्रदान गरिँदा, मूर्तिकलामा ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तीकला पुरस्कार चन्द्रमणि मगरलाई अर्पण गरियो। ऋचा मैनाली रिमाल स्मृति पुरस्कार युवा कलाकार अनमारी तामाङलाई प्रदान गरियो भने कला लेखनतर्फ नारायणदेवी स्मृति पुरस्कार पत्रकार स्याम स्मृतलाई अर्पण गरिएको थियो। अक्षर लेखन विधामा मनबहादुर जितीमायाँ पुन साइट आर्ट पुरस्कार भूवन गुरुङलाई र दृश्य चित्रतर्फ बालकृष्ण स्मृति कला पुरस्कार लीलाधर केसीलाई प्रदान गरियो। कलाकार डी. राम पाल्पालीलगायत अन्य सर्जकहरू पनि यस अवसरमा सम्मानित भए।

कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ कलाकार शशिविक्रम शाहले यस्ता सम्मान र पुरस्कारहरूले कलाकारको आत्मविश्वास र मनोबल अभिवृद्धि गर्नुका साथै कलाकार, कला सङ्कलक, क्युरेटर र कलाप्रेमीबीच अर्थपूर्ण संवाद र सहकार्यको वातावरण सिर्जना गर्ने उल्लेख गर्नुभयो। उहाँका अनुसार यस्ता पहलहरूले नेपाली ललितकलालाई केवल प्रदर्शनीको सीमाभन्दा बाहिर लैजाँदै सामाजिक र सांस्कृतिक बहसको केन्द्रमा ल्याउन सहयोग पुर्‍याउँछन्।

Parampara Media and Research Center Pvt.Ltd. english.khojpatra.com khojpatra.com

त्यसैगरी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ऐतिहासिक व्यक्तित्व अरनिकोको स्मृति दिवस नेपाल व्यावसायिक कलाकार सङ्घको निरन्तर पहलमा मनाइँदै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा प्रतिष्ठान र सङ्घबीच सहकार्य र समन्वयलाई अझ सुदृढ गर्दै नेपाली ललितकलालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने दीर्घकालीन दृष्टिकोणसहित कार्यक्रमहरू अघि बढाइने धारणा व्यक्त गर्नुभयो।

क्यानका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार ललितकला क्षेत्रका विविध विधामा सक्रिय कलाकारलाई समेट्ने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाले पुरस्कार तथा सम्मान स्थापना गरेका छन्, जसलाई नेपाल व्यावसायिक कलाकार सङ्घले वार्षिक कार्यक्रमका रूपमा निरन्तरता दिँदै आएको छ। उहाँका अनुसार क्यानका जिल्ला–जिल्लामा फैलिएका शाखाहरू पनि सक्रिय रूपमा सञ्चालनमा छन्, जसले देशभरका कलाकारलाई संस्थागत संरचनाभित्र जोड्दै नेपाली कलाको विकास र विस्तारमा भूमिका खेलेका छन्।

 

प्रतिक्रिया दिनुहोस्