स्मृति र सृजनशीलताको निरन्तरता : ‘शिवता ३१’ ले कोर्दै नयाँ पुस्ताको कलात्मक यात्राको रूपरेखा

सुनिल पौडेल
सुनिल पौडेल April 25, 2026
4 Min Read
Aa

काठमाडौं—समकालीन नेपाली कला परिदृश्यमा उदाउँदा कलाकारहरूका लागि सशक्त मञ्चका रूपमा स्थापित हुँदै आएको शिवता लभ फाउन्डेसन नेपालले आफ्नो नवौँ वार्षिक कला प्रदर्शनी ‘शिवता ३१’ आयोजना भइरहेको छ। स्मृति, संवेदना र सृजनात्मक उर्जाको संगमका रूपमा विकसित यो प्रदर्शनी वैशाख ९–१५ सम्म  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा सञ्चालन भइरहेको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुला रहने प्रदर्शनीको उद्घाटन वैशाख ९ गते भएको थियो ।

Shivata-31
english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.

वि.सं. २०७३ सालमा स्थापित प्रतिष्ठान स्वर्गीय शिवता उपाध्यायको स्मृतिमा सुरु गरिएको एक संवेदनशील पहल हो, जसले व्यक्तिगत शोकलाई सामाजिक र सांस्कृतिक योगदानमा रूपान्तरण गरेको छ। केवल २० वर्षको अल्पायुमा बितेकी शिवताको सम्झनाबाट प्रेरित यो अभियान आज युवा कलाकारहरूका लागि सिर्जनात्मक अभिव्यक्तिको भरपर्दो प्लेटफर्मका रूपमा विकसित भएको छ। हरेक वर्ष आयोजना हुँदै आएको प्रदर्शनीमार्फत नयाँ पुस्ताका कलाकारहरूलाई आफ्नो काम प्रस्तुत गर्ने, पहिचान बनाउने र कला समुदायसँग जोडिने अवसर प्रदान हुँदै आएको छ। प्रतिष्ठानले यस वर्षको ‘शिवा–रागिनी पुरस्कार’ कलाकार डेविड महर्जनलाई प्रदान गरेको छ भने उक्त पुरस्कारको राशी नगद १० हजार रुपैयाँ रहेको छ । प्रतिष्ठानले हालसम्म ३५ जनाभन्दा बढी विद्यार्थी तथा युवाहरूलाई छात्रवृत्ति प्रदान गरिसकेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति प्राज्ञ नारद मणि हार्तम्छाली प्रमुख अतिथि र संगीता थापा विशेष अतिथिको रूपमा सहभागी थिए । प्रतिष्ठानले नक्सालस्थित नेपाल ललित कला प्रज्ञाप्रतिष्ठानको चन्द्रमान मास्के हलमा युवा कलाकारहरूको चित्रकला प्रदर्शनी गरिरहेको छ।

Shivata-31
english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.

यस वर्ष ‘शिवता ३१’ मा ३१ जना कलाकारहरूको सहभागिता छ, जसले विविध शैली, माध्यम र दृष्टिकोणमा आधारित कलाकृतिहरू प्रस्तुत गरेका छन्। यी कृतिहरूले व्यक्तिगत अनुभूति, सामाजिक यथार्थ र कल्पनाशीलताको अन्तरसम्बन्धलाई उजागर गर्दै समकालीन नेपाली कलामा भइरहेको प्रयोग र खोजलाई एकै थलोमा प्रस्तुत गरेका छन् । प्रदर्शनी केवल दृश्य सौन्दर्यमा सीमित नभई, दर्शकलाई गहिरो चिन्तन र संवादतर्फ उन्मुख गराउने प्रयासका रूपमा पनि देखिन्छ।

यस अभियानको केन्द्रमा सह–संस्थापक तथा अध्यक्ष रागिनी उपाध्यायको भावनात्मक प्रतिबद्धता रहेको छ। आफ्नी छोरीको स्मृतिलाई जीवित राख्दै उनले नयाँ पुस्ताका कलाकारहरूको सृजनशीलतामा शिवताको उपस्थितिलाई निरन्तरता दिन खोजेकी छन्। उनका लागि ‘शिवता’ केवल प्रदर्शनी होइन, स्मृति र सम्भावनाबीचको एक जीवित संवाद हो, जहाँ हरेक कलाकृतिमा आत्मीयता र ऊर्जा प्रतिध्वनित हुन्छ।

Shivata-31
english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.

समयसँगै ‘शिवता’ प्रदर्शनीले आफूलाई वार्षिक कार्यक्रमभन्दा माथि उठाएर एक सशक्त सांस्कृतिक अभियानका रूपमा विस्तार गरेको छ। विशेषगरी नेपाली कला क्षेत्रमा अवसर सीमित भइरहेका बेला यसले युवा कलाकारहरूलाई आत्मविश्वास, पहिचान र व्यावसायिक यात्रातर्फ अघि बढ्ने आधार प्रदान गर्दै आएको छ।

फाउन्डेसन स्वयं पनि शिक्षा, महिला सशक्तीकरण र कला प्रवर्द्धनलाई एकीकृत गर्दै समाजमा दिगो परिवर्तन ल्याउने लक्ष्यमा क्रियाशील छ। छात्रवृत्ति, सचेतना कार्यक्रम र विभिन्न सामाजिक पहलहरूसँगै कला प्रदर्शनी, कार्यशाला र सांस्कृतिक कार्यक्रममार्फत यसले उदाउँदा कलाकारहरूलाई निरन्तर मञ्च प्रदान गर्दै आएको छ। साथै, मिथिला र अवधी जस्ता परम्परागत कलाको संरक्षण र प्रवर्द्धनमा पनि यसको सक्रियता देखिन्छ।

यस सन्दर्भमा ‘शिवता ३१’ केवल एक प्रदर्शनी होइन, नयाँ सोच, सृजनात्मक अन्वेषण र सामूहिक संवादको थलो हो। यसले कला पारखी, समीक्षक र सर्वसाधारणलाई एकै ठाउँमा ल्याउँदै समकालीन नेपाली कलाको गतिशीलतालाई अनुभव गर्ने अवसर प्रदान गर्नेछ। शिवता लभ फाउन्डेसनले सम्पूर्ण कला प्रेमीहरूलाई यस विशेष प्रदर्शनीमा सहभागी भई नयाँ पुस्ताको सृजनशीलता साक्षात्कार गर्न हार्दिक आमन्त्रण गरेको छ।

Shivata-31
english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd. Shivata-31
english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd. Shivata-31
english.khojpatra.com khojpatra.com copyright Parampara Media and Research Center Pvt.Ltd.

प्रतिक्रिया दिनुहोस्