काठमाडौं—विद्यालयस्तरमै कला र सीपलाई शिक्षा प्रणालीसँग जोड्ने उद्देश्यसहित सुरु गरिएको ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गतको ‘स्केचिङ एन्ड स्क्ल्पचर प्रदर्शनी २०२६’ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरपालिकाको सहकार्यमा आयोजित यस प्रदर्शनीले सार्वजनिक विद्यालयका विद्यार्थीहरूको सिर्जनशील क्षमता र कलात्मक अभिव्यक्तिलाई एकै थलोमा उजागर गरेको छ।
१५ हप्ते तालिममार्फत कला सम्बन्धी आधारभूत ज्ञानदेखि व्यावहारिक सीपसम्म प्रदान गरिएको यस कार्यक्रमअन्तर्गत १७ विद्यालयले ‘स्केचिङ एन्ड स्क्ल्पचर’ मोड्युल रोजेका थिए भने २७ विद्यालयले म्यूरल विधा छनोट गरेका थिए। कार्यक्रम संयोजक तथा प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीका अनुसार करिब १३०० भन्दा बढी विद्यार्थीहरू यस कार्यक्रममा सहभागी भएका थिए। उनीहरूको श्रम, कल्पना र अभ्यासको प्रतिफलस्वरूप तयार भएका चित्रकला तथा माटाका शिल्पकृतिहरू अहिले प्रदर्शनीमा प्रस्तुत छन्।

प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले संयुक्त रूपमा गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै कुलपति नारदमणि हार्तम्छालीले नयाँ पुस्ताका प्रतिभाशाली सिर्जनाहरू अवलोकन गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो। उहाँले अघिल्लो कार्यकालमा काठमाडौँ महानगरपालिकाले अघि सारेको अवधारणा—हालका प्रधानमन्त्री बालेन शाह र कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलको पहल—ले शिक्षामा सिर्जनात्मक अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम सम्भव भएको बताउनुभयो। उहाँका अनुसार, भविष्यका नेतृत्वदायी पुस्तालाई सिर्जनशील सोच र अभिव्यक्तिसँग जोड्नु नै यस्ता कार्यक्रमको मुख्य उपलब्धि हो।
कार्यक्रम संयोजक सौरगंगा दर्शनधारीले ‘स्केचिङ एन्ड स्क्ल्पचर’ कार्यक्रम प्रत्येक वर्ष थप परिष्कृत हुँदै गएको बताउँदै एउटै पाठ्यक्रमभित्र पनि विद्यार्थीहरूको सिर्जनात्मकता र अभिव्यक्ति फरक–फरक रूपमा प्रकट हुने उल्लेख गर्नुभयो। “यस कार्यक्रमले विद्यार्थीलाई आफ्नो सोच, भावना र अभिव्यक्तिको पहिचान गराउँछ,” उहाँले भन्नुभयो। साथै विद्यालय तहबाटै ललितकला शिक्षाको प्रवर्द्धनले दीर्घकालीन रूपमा सिर्जनशील क्षमताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ। हरेक विद्यालयमा कला स्टुडियोको स्थापना हुन सकेमा विद्यार्थीको अभ्यास र सिर्जनामा अझ सशक्त आधार तयार हुनेमा उहाँले जोड दिनुभयो।

काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले प्रतिष्ठान र महानगरबीचको सहकार्यले विद्यार्थीभित्र निहित प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले विद्यार्थीहरूले सिकेका सीपलाई निरन्तर अभ्यासमार्फत अझ सुदृढ बनाउँदै भविष्यमा पेशागत रूपमा समेत अघि बढ्न सकिने बताउनुभये। आगामी दिनमा कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
समारोहमा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, काठमाडौँ महानगरपालिकाका वरिष्ठ सहायक अधिकृत सुशील सुवेदी, विभिन्न विद्यालयका शिक्षक, कलाकार, विद्यार्थी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सह–संयोजन केशवराज खनाल र सम्झना राजभण्डारीले गर्नुभएको थियो।

प्रदर्शनीमा सहभागी श्री शहिद शुक्र मा.वि, विजय स्मारक मा.वि, पद्मकन्या विद्याश्रम मा.वि, भानु मा.वि, महेन्द्र बौद्ध मा.वि, नील बाराही मा.वि, ज्ञानोदय मा.वि, तरुण मा.वि, गीतामाता मा.वि, जुद्धोदय मा.वि, जनकल्याण मा.वि, विश्व निकेतन मा.वि, शितला मा.वि, शारदा मा.वि, सरस्वती निकेतन मा.वि, नेपाल आदर्श मा.वि र रत्नराज्य मा.विका विद्यार्थीहरूले सिर्जना गरेका कलाकृतिमध्ये उत्कृष्ट ठहरिएका सोनिया तामाङ, एलिसा मगर, आकृति कुमारी चौधरी, यामिमा तामाङ, पुष्पाञ्जलि कुमारी, यम मगर, सेलिना घर्तिमगर, प्रमिल खनाल, विनोद चलाउने, सुदीक्षा चौधरी थारु, कोमल विश्वकर्मा, सङ्गम कुमार, सुहसा तामाङ, अदिश बोहरा, ईशा श्रेष्ठ, अजितकुमार र पुष्पाञ्जली कुमारी ठकुरीलाई जनही तीन हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो।

कार्यक्रममा प्रशिक्षकका रूपमा करुणा श्रेष्ठ, जया शर्मा, रिता मानन्धर, सरिना लमिछाने, धु्रवराज शर्मा, कमला खड्का, महेश तामाङ, उमा खड्का, मनरा प्रजापति, किशोर नकर्मी, न्हुज श्रेष्ठ, यशस चन्द्र अर्याल, रतिना वज्राचार्य, विनय हुमागाई, भीम सुब्बा तामाङ, सुरज श्रेष्ठ, रितु थापा मगर तथा सहायक प्रशिक्षकका रूपमा रोजिन तामाङ, करिना जोशी, ममता गुप्ता, सिजल स्थापित, विशााल थामि, कर्मा टासी गुरुङ, दीपक आउजी, जयराम मर्हजन, रमिला महर्जन, अन्जना श्रेष्ठ, आस्मा राई, उसिना महर्जन, सिद्धि, सौरभ श्रेष्ठ, सुस्मिता मोक्तान, आस्मा राई र गङ्गा वस्तीको सक्रिय भूमिका रहेको थियो।
विद्यार्थीहरूको सिर्जनात्मक उर्जा, प्रयोगशीलता र अभिव्यक्तिको सशक्त झल्को दिने यो प्रदर्शनी वैशाख १८ गतेसम्म चल्नेछ, जहाँ कला केवल विषय नभई भविष्य निर्माणको माध्यमका रूपमा स्थापित हुँदै गएको स्पष्ट देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्