नेपाली कला तथा धर्ममा रमाउँदै अमेरिकी कलाकार पिटर

सुनिल राज ढकाल
सुनिल राज ढकाल ५ भाद्र २०७९, आईतवार ०६:००
8 Min Read
Aa

नेपाली कला, संस्कृति र यहाँका ऐतिहासिक धरोहरहरु कलाकारका अनुपम उपहार हुन् भन्दा अत्युक्ति नहोला । विभिन्न सांस्कृतिक विविधता र कलाको धनि भएकाले होला सायद नेपाल पर्यटकहरुको लागि प्रमुख गन्तव्य बन्दै आइरहेको छ । त्यसो त नेपालमा पर्यटक भएर घुम्न आउने विदेशीहरुलाई यहाँको कलाहरुले लोभ्याउने गरेको नेपाल घुम्न आएका पर्यटकहरु बताउँछन् ।

अर्को महत्वपूर्ण विषय झन् कला तथा संस्कृतिको विषयमा अध्ययन गरिरहेकाहरुका लागि यो एउटा विशाल खानी नै हुनसक्दछ । त्यसैले नेपाल विदेशी कलाकारहरुका लागि पनि एक गन्तव्यको रुपमा परिचित हुँदै आइरहेको छ । यहाँ विभिन्न समयमा विभिन्न विदेशी कलाकारहरु आई आफ्नो कला सृजना गरी रमाएर आफ्नो देश फर्कने गर्दछन् । उनीहरु यहाँ बस्दा यहाँको रहनसहन, कला, सांस्कृतीक धरोहर तथा प्राकृतिक छटाबाट मोहित हुने बताउँछन् । त्यस्तै कलाकार मध्येका एक अमेरिकी नागरिक पिटर मेके पनि एक हुन् । अमेरिकाको फ्लोरिडा शहर भन्दा बाहिरको भागमा निवास गर्ने पिटर अमेरिकन फुलब्राइट फेलोशिप अन्तर्गत नेपालमा आइ चित्रकला बनाउँदै तथा बौद्ध धर्म अध्ययनमा संलग्न छन् । बौद्ध स्थित एक घरको माथिल्लो तलामा खोजपत्रका सम्वाददाताहरुसँगको कुराकानीमा आधारित भएर यो आलोख तयार पारिएको हो ।

पिटरका चित्रकलाहरु

बाल्यकाल

पिटरको आमा पुस्तकालयमा काम गर्नुहुन्थ्यो । समय समयमा आमाले उनलाई पुस्तकालयमा लैजानुहुन्थ्यो र उनि पुस्तकालयका किताबहरु घरमा समेत ल्याई पढ्दथे । कथाका कितावहरु पढ्न रुचाउने उनले विस्तारै उपन्यासहरु पनि पढ्न थाले । पढाइको लत बढ्दै गयो र विस्तारै उमेर बढेसँगै उनी दर्शन, इतिहास तथा कलाका विषयमा लेखिएका कितावहरुमा रमाउन थाले । यसरी कितावहरु पढ्दै र फ्लोरिडामा रहेको पुरानो चर्चहरुमा रहेका चित्रहरु हेर्दै उनी ती चित्रहरु आफ्नो कापी तथा स्केचबुकमा उतार्न थाले । आप्mनो बाल्यकाल यसरी नै वितेको पिटर सम्झन्छन् । उनमा चित्रकला प्रतिको चाख त्यतिबेला देखि नै बढ्दै गयो । शुरु शुरुमा उनले आकृति भएका चित्रहरु बनाउन थाले ।

समय वित्दै गयो, उनमा रङ्ग प्रतिको लगाव पनि विस्तारै बढ्दै गयो र रङ्गहरुको मिश्रण अनि त्यसले चित्रमा पार्ने असरहरुबाट उनि निकै प्रभावित हुन थाले । यसरी कला र रङमा विशेष चाख बढ्न थालेपछि विस्तारै उनि अमेरिकामा रहेका संग्रहालयमा गई घण्टौंसम्म विभिन्न चित्रकारहरुले बनाएका कलाकृतिहरुमा लामो समयसम्म घोत्लिइरहन्थे । सायद त्यहि बेलादेखि नै होला उनमा कलाकार बन्नुपर्छ भन्ने कुराको अंकुरण भएको ठान्दछन् पिटर ।

पिटरका चित्रकलाहरु

किशोरावस्था

विद्यालयको पढाइ सक्काएपछि उनी फ्लोरिडामा रहेकोे एक कलेजमा कला विषय अध्ययन गर्नका लागि भर्ना भए । त्यो बेलामा उनका समकालिन साथीहरु तथा प्राध्यापकहरुको मार्गनिर्देशनमा उनी कलाका विविध पक्षहरु तथा रङ्गहरुको विषयमा अझ थप गहन अध्ययन गर्न थाले । उनले त्यति बेला बनाएका चित्रहरुलाई कलेजका प्राध्यापकहरुले निकै मन पराउने गरेको पिटर सम्झन्छन् ।

एक कलाकारका लागि गैर कलाकारहरुको कहिले काहिँ केही भनाइहरु रहने गर्दछन् कि तपाईले यो चित्रमा यस्तो रङ लगाउनु भएको भए वा यसरी लगाउनु भएको भए अझ आकर्षक हुन्थे र म त्यस चित्रलाई किन्थेँ पनि । यो कुरामा पिटरको जवाफ हुने गरेको छ कि, ‘महोदय, म कुनै इन्टेरियर डिजाइनर होइन, त्यसैले मेरा चित्रहरुमा मैले प्रयोग गर्ने विम्ब र रङहरु मेरो छनौट अनि मेरो भावना उजागर गर्नको लागि हो ।’

त्यस समयमा उनले बनाउने गरेका चित्रहरुमा आकृतीलाई विशेष महत्व दिने गर्दथे । भावनालाई विशेष महत्व दिने उनी उनका कामहरुमा त्यस बेला रङ तथा आकृतीहरु प्रष्ट हुनु पर्ने कुरामा विश्वास राख्दथे ।

सन् २०१४ ताका उनकी आमालाई क्यान्सरको रोग बल्झ्यो। उनकी आमा थला परेपछि मनलाई शान्त गर्नका निमित्त पहिलो पटक बौद्ध दर्शनको विषयमा अध्ययन गर्ने मौका पाए । सानैदेखि जिज्ञासु स्वभावका पिटरलाई बौद्ध धर्म अन्तर्गत पनि बज्रयानका कुराहरुले निकै तानिरहेको थियो र त्यही समयमा उनी पहिलो पटक नेपाल आएका थिए । यहाँ आउँदा उनले विभिन्न गुरुहरुलाई भेटेका तथा विभिन्न ठाउँमा तिर्थाटन गर्ने मौका समेत पाएका थिए ।

आकाशमा देखिने धर्काहरु र जमिनको प्रस्तुती

सन् २०१९ मा जब उनकी आमाको देहावसान भयो उनको जीवन केही समय निकै कष्टकर बन्न पुग्यो । त्यही समयतिर उनी भरमन्टको एक ठाउँमा केही समयको लागि बस्न गए । त्यहाँ बस्दा उनलाई आकाशमा देखिने बादलका विभिन्न आकृतीहरुले तान्न थाल्यो । लामो समय त्यही बादलहरुलाई हेर्दै, केलाउँदै गर्दा उनलाई यस्तै किसिमका चित्रहरु बनाउँदा झन् आकर्षक होलान् भन्ने लाग्न थाल्यो । त्यसपछिको केही समय उनले बादलहरुको चित्रहरु बनाउनमा आफ्ना क्यानभास र ब्रसहरुको सहायताले विभिन्न प्रयोगहरु गर्न थाले । प्रयोगहरु गर्दा कुनै चित्रहरु राम्रा हुन्थे त कुनै नराम्रा । चित्रकलामा रङ्गहरु नै यस्तो वस्तु हुन् जो आफैंमा अव्यक्त हुन्छन् भन्ने सोच राख्ने पिटर कुराकानीको क्रममा रङ्गहरुमा एउटा रङ्गमा अर्काे रंग थप्दा जुन रङ्ग बन्छ, त्यो बताउन निकै कठिन हुने भएकाले पनि यी व्यक्त भएका अभिव्यक्तिहरु उनलाई पनि रहश्यमय लाग्ने गरेको कुरा बताउँछन् ।

यस्तै किसिमको कामहरु गर्दै गर्दाको समयमा अमेरिकाको फेलोशिप अध्ययनका लागि उनले आवेदन दिएका थिए । त्यसमा उनले नेपाललाई नै किन छान्नु परेको भन्ने प्रश्नमा पिटर बताउँछन् कि नेपालमा धेरै सिद्ध पुरुषहरुले ध्यान तपस्या गरेको स्थल हो र यहाँको धर्म संस्कृतीहरु आफैंमा विशेष रहेका छन् । त्यसैगरी यहाँका मानिसहरु पनि उनलाई निकै मन पर्ने गरेको कारण यहाँ आएको पिटर बताउँछन् । उनले नेपालमा यसरी कला अध्ययनका लागि फेलोसिप पाइसकेपछि यहाँ आइ यहाँका विभिन्न बौद्ध धर्म गुरुहरुसँग ज्ञान पनि लिँदै छन् भने नेपाली भाषा पनि सिक्दैछन् । आफ्नो मूख्य समय भने उनले चित्रकला बनाउनकै लागि छुट्याएका छन् । यहाँका विभिन्न कलाकारहरुसँग बेलामौकामा भेट्ने तथा उनीहरुसँग ज्ञान साटासाट गर्ने धोको समेत रहेको कुरा पिटर बताउँछन् ।

निरन्तरताले ल्याएको परिवर्तनः पिटरका चित्रकला

लामो समय आकाशमा देखिने चित्रहरु बनाउँदै जाँदा उनको काम गर्ने शैलीमा अझ निखारता आएको कुरामा विश्वास राख्ने पिटर हाल जमिनको समेत चित्रहरु बनाउने गर्दछन् । झट्ट हेर्दा उनले बनाउने गरेका जमिनहरु धर्तीका हुँदा हुँदै पनि त्यसमा हुने विभिन्न आकृतीहरु तथा रङले गर्दा अर्काे कुनै ग्रह वा लोकलाई इंगित गरिरहेको हुन सक्ने कलाकार पिटरको ठहर रहेको छ ।

नेपालमा नेपाली कलाकारहरुले प्रदर्शनीमा राखेका चित्रहरु अनि ती चित्र बनाउँदाको शैलीले पनि आफुलाई तानिरहेको पिटर बताउँछन् । नेपाली कलाकारहरुले प्रदर्शनीमा राखेका चित्रहरुका विषयमा कुराकानी गर्दै पिटर बताउँछन् कि उनले धेरै प्रदर्शनी त देखेका छैनन् तर नेपाली कलाले जुन उचाइ पाइरहेको छ, त्यो अझ अगाडि बढ्ने कुरामा भने उनी विश्वस्त छन् । कारणः उनलाई नेपाली कलाकारहरुले बनाएका चित्रहरुमा मेहनतीपना तथा रङहरुको प्रयोगमा समेत छुट्टै विशेषता रहने गरेको कुरा उनी बताउँछन् ।

काठमाडौंमा बसिरहँदा पिटरले बनाएका चित्रकलाहरु

नेपालको सांस्कृतिक पक्ष अनि रहश्यमयीपनले पनि उनलाई तानिरहेको हुन्छ । यहाँका धार्मिक गुरुहरु तथा यहाँ प्रचलनमा रहेका जात्रा मनाउने संस्कृती पनि उनलाइ नौलो र आकर्षक लाग्ने गरेको उनि बताउँछन् । नेपालका विभिन्न ठाउँहरुमा घुम्दै यहाँको कला संस्कृतीलाई बुझ्ने तथा मनन गर्नका निमित्त पनि उनको नेपाल बसाइ फलदायी हुनेछ भन्ने लाग्छ पिटरलाई ।

प्रतिक्रिया दिनुहोस्

Array