एमक्युबमा प्रियमको कल्की

सुनिल राज ढकाल
सुनिल राज ढकाल २४ भाद्र २०७९, शुक्रबार ०६:००
4 Min Read
Aa

कला प्रत्येक मानिसहरुका लागि छुट्टाछुट्टै किसिमका अभिव्यक्ति दिने माध्यम हो । केही कलाकारहरु आफ्नो चित्रमा केही बाहिरी कुराहरु वा दृश्य तथा परिदृश्यहरुलाई खोजिरहेका हुन्छन् भने कोही आफु भित्रका अभिव्यक्तिहरुलाई प्रस्फुटन गर्ने माध्यमको रुपमा कलालाई हेरिरहेका हुन्छन् । त्यस्तै कलाकारहरु मध्येमा केही भने ललितकलाको विषयलाई नै मूल विषय बनाइ अध्ययन गरिरहेका हुन्छन् भने कोही यसलाई सौख तथा मूल अभिव्यक्तिको रुपमा लिई काम गरिरहेका हुन्छन् । यिनै कलाको विविध पक्ष मध्ये कलालाई बुझाइका आधारमा तथा अभिव्यक्तिको रुपमा लिई काम गर्न रुचाउने नवकलाकार हुन् प्रियम प्रधान जो पहिलो पटक आफ्नो कामहरुलाई ‘कल्की’ शिर्षक दिई एमक्युब ग्यालरीमा राखिरहेका छन् ।

कलाकार तथा एमक्युब ग्यालरीका निर्देशक तथा यस प्रदर्शनीको कला क्युरेसन गर्ने समेत जिम्मा पाएका कलाकार मनिष लाल श्रेष्ठ प्रियमका कामहरु बारे बताउँदै ‘पहिलो पटक प्रदर्शनीमा राखिएको कलाकार प्रियमको कामहरु आकर्षक नै देखिन्छन् र यसलाई भविष्यका दिनमा अझ निरन्तरता दिँदै जाँदा उनी राम्रो कलाकार बन्ने कुरामा दुइमत छैन ।’

अर्का कलाकार कपिल मणि दिक्षित भने प्रियमको कामहरुमा अझ निखारता र निरन्तरताको आवश्यक रहेको कुरा बताउनुहुन्छ ।

एमक्युबको माथिल्लो तलामा भने कलाकार प्रियमका क्यानभासहरुलाई राखिएको छ । कल्कीलाई विष्णुको दशौँ अवतारको रुपमा लिइन्छ । कलीलाई अन्त्य गर्नको निमित्त विष्णुले लिने अवतारको रुपमा लिइने कल्कीलाई कलाकार प्रियमले भने आफु भित्रको अन्र्तसंघर्षसँग जोडेका छन् । सानो बेलामा सुनेको महाभारत तथा भागवत गिताको श्लोकहरुले गर्दा नै आफुलाई चित्रकलामा केही गरौँ भन्ने भाव आएको बताउने कलाकार प्रियम प्रधानले दुइ दुइ ठूला ठूला क्यानभासमा भने अमूर्त चित्रकलाहरुलाई देखाएका छन् ।

त्यसै गरी उनको अर्काे चित्रमा भने ब्रह्मा र सरस्वतीलाई देखाएका छन् । ब्रह्मालाई चित्रको माध्यबाट निकै कम देखाइने तर उनलाई हिन्दु धर्म अनुसार सृष्टिकर्ताका रुपमा चित्रण गरिएका कारण समेत यो चित्र आफुले बनाएको बताउँछन् कलाकार प्रियम ।

त्यसै गरी उनको अर्काे क्यानभासमा भने कृष्णको सुदर्शन चक्रले अन्धकारलाई चिर्दै उज्यालो तर्फ लागिरहेको भान दिनलाई चित्र बनाएका छन् । त्यस्तै उनको अर्काे चित्रमा भने उनकी आमाले उज्यालो तर्फ तानिरहेको भन्ने थिममा काम गरेका छन् । चित्रमा मात्रै नभई आफ्नो दैनिक जीवनमा समेत आमाले महत्वपूर्ण भूमिका खेलेको र त्यही भूमिकालाई चित्र मार्फत देखाएको कलाकार बताउँछन् ।

एमक्युबको तलको तलामा भने कलाकार प्रियमले सानो सानो चित्रहरुलाई फ्रेममा हालेर देखाएका छन् । मूलतः भागवत् गिता तथा देवी देवताहरुको कथाहरुमा आधारित कामहरुलाई देखाएका यी कलाकारका कामहरुमा विविधता देखाइएको छ । विविध विषयवस्तुमा गरिएका उनका कामहरु मध्ये कुनैमा महादेवले शिर छेदन गरिसके पश्चात हात्तीको टाउको लगाएको चित्र त कुनैमा नेपालको राजनैतिक माहोलले गर्दा सिर्जना भएको कलाहललाई समेत उतारेका छन् । उनले बनाएका यी कलाहरुमा कुनैमा एक्रेलिक त कुनैमा पेन मार्करहरुको समेत प्रयोग गरेका छन् ।

आफ्नो कला प्रदर्शनीको बारेमा कलाकार प्रियम यसरी बताउँछन्, ‘सुरुआती दिनहरुमा म केही समय कला सिक्न सिर्जना कलेजमा भर्ना भएको थिएँ तर विविध कारणहरुले गर्दा मैले आफ्नो पढाइ भने सकाउन सकिन, त्यसैले पनि कुलत तथा व्यसनको नशाबाट छुटकारा पाई प्रत्येक मानिसहरु भित्र कल्की अवतार रहेको र त्यसलाई चिन्दै आफ्नो काम अनि लक्ष्यमा अझ दृढताका साथ लाग्नको लागि मद्दत पुगेको छ । आगामि दिनहरुमा अझ राम्रा र परिस्कृत कामहरुलाई प्रदर्शनीमा राख्ने योजना छ ।’

केही समय ठमेलमा ट्याटु बनाउने पसल समेत खोेलेर बसेका कलाकार प्रियम हाल भने एनिमेसन सम्बन्धी पढाइ गरिरहेका छन् र भविष्यका दिनमा आफुले पढेको विधालाई कलामा कसरी ढाल्ने भन्ने सम्बन्धमा समेत घोत्लिरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array