नेपालका देवीदेवताहरु नामक वृहत कला प्रदर्शनी

सुनिल राज ढकाल
सुनिल राज ढकाल १३ मंसिर २०७९, मंगलवार ०६:००
9 Min Read
Aa

नेपाल आर्ट काउन्सिल, बबरमहलमा नेपालका देवीदेवताहरु नामक बृहत कला प्रर्दनी शुरु भएको छ । मंसिर ११ गते देखि २५ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा नेपालका देवीदेवताहरुको लोक, परम्परागत र समसामयिक कलाका साथसाथै हस्तकलालाई समेत एउटै धरातलमा राखि प्रस्तुत गरिएको छ । संयोगले नेपाल हस्तकला महासंघको ५० औँ वार्षिकोत्सव तथा नेपाल आर्ट काउन्सिलको ६० औँ वार्षिकोत्सवको अवसरमा दुवै किसिमका कलालाई एकै ठाउँमा प्रदर्शनी गरेको नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमसेर जबराले पत्रकारसम्मेलनमा दिनुभएको थियो ।

आयोजकले कला प्रदर्शनीको लागि देशभरिका कलाकारहरुलाई केही महिना अगाडि देखि नै समय दिएर आफ्ना सिर्जनाहरु माग गरेको थियो । जुन एउटा विषयकेन्द्रित हुनुपर्दछ भनेर तोकिएको थियो । त्यसैले कलाकारहरुले यहि प्रदर्शनीलाई नै केन्द्रविन्दुमा राखि कला श्रृजना गरेका थिए । कलाकारहरुले पठाएका कलाकृतिहरुलाई एउटा समितिले छनौट प्रक्रियामा लगेर विषयवस्तुसँग मेल खाने कलाकृतिहरु छानिएको थियो । ‘यस प्रदर्शनीमा विगतका प्रदर्शनी भन्दा केही फरकपन ल्याउनको लागि भुइँ तलाको देब्रे भागको प्रदर्शनी कक्षलाई पृथ्वीको शुरुआती दिनहरुलाई देखाउने तथा ब्रह्मा, विष्णु, महेश्वर तथा श्रृष्टि कसरी शुरु भयो भन्ने देखाउनका लागि बनाइएको छ । त्यसपछि भने दर्शकहरुलाई माथिल्लो तलाको बाहिरपट्टि गणेशका चित्रहरु अवलोकन गर्न पाउँछन् । पहिलो तलाको भित्री कक्षमा भने देवी, देवताहरु, बुद्ध तथा परम्परागत चित्रहरुलाई समावेश गरिएको छ । माथिल्लो तलामा भने तराइ, पहाड र काठमाडौंको लोक संस्कृति झल्काउने कलाका विभिन्न पक्षलाई समावेश गर्दै हस्तकलालाई पनि समावेश गरिएको छ ।’ क्युरेटर स्वस्ती राजभण्डारी बताउनुहुन्छ ।

यस प्रदर्शनीको भुइँ तलामा भने पृथ्वीको उत्पत्तिको समयलाई झल्काउने कलाहरुलाई राखिएको छ । कलाकार गोविन्द शाह आजादको ब्रह्माण्डमा सूर्यको महत्व झल्काउन एक ज्वाजल्यमान सूर्यलाई निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ । त्यसैगरी अर्की कलाकार शुष्मा शक्यको विज उत्पत्तिका केही दृश्यहरुलाई प्रिन्ट मेकिङ्गको कामलाई राखिएको छ । कलाकार एस.सी सुमनले भने ॐ नै पृथ्वी उत्पत्तिको पहिलो विज मन्त्रको रुपमा मान्दै ब्रह्माण्ड उत्पत्तिलाई नै दर्शाउँदै आफुले बनाउँदै आएको मिथिला कलाको दायराबाट अझ पृथक शैलीको चित्रकला यहाँ समावेश गरिएको छ ।

कलाकार जीवन राजोपाध्याय लामो समयदेखि अमूर्त चित्रकलामा खेल्दै आउनुभएका कलाकार हुन् । यस प्रदर्शनीमा भने कलाकारको मूर्त चित्रकलामा ब्रह्मा, विष्णु महेश्वरको चित्रलाई क्यानभासमा उतार्नु भएको छ जसलाई यहाँ प्रदर्शनीमा राखिएको छ । अर्की कलाकार संगी श्रेष्ठले भने क्यानभासमा निलो पृष्ठभूमिमा एक कमलको फूलबाट निस्किरहेको ज्योती भौतिक संसारबाट बाहिर अवलोकन गर्नको लागि प्रेरित गर्दछ भन्ने सन्देश दिने खालको चित्रकला समावेश छ।

त्यसै गरी पहिलो तलाको प्यासेजमा भने विभिन्न कलाकारहरुको गणेश सम्बन्धी चित्रहरुलाई प्रदर्शनीमा राखिएको छ । कलाकार रविन्द्र शाक्य, प्रकाश ज्योती तथा शुष्मा राजभण्डारी लगायत अरु थुप्रै कलाकारहरुले बनाएका गणेशहरुलाई अवलोकन गर्न सकिन्छ । त्यसै गरी अर्का कलाकार प्रदिप शाक्यले भने तामा तथा चाँदिको फिलिग्रीले कुँदेर बनाइएको कला प्रदर्शनीमा राखिएको छ ।

 

आकर्षक देखिने उक्त ऐनालाई बुद्ध धर्म संघ ऐनाको शीर्षक दिइएको छ । भित्रपट्टिको कोठामा भने नेपालमा पुजिने विभिन्न देवी देवताहरुलाई झल्काउँदै परम्परागत तथा आधुनिक शैलीका चित्रकलाहरुलाई समावेश गरिएको छ । जसमा कलाकार मदन चित्रकारले बनाउनुभएको चित्र निकै अकर्षक देखिन्छ । मिथकमा देखिने कुनै एक प्राणी जस्तो लाग्ने उहाँको चित्रमा रंगहरुको सन्तुलन तथा लामो समयदेखिको साधना देख्न सकिन्छ ।  त्यसै गरी अर्का कलाकार नरेश सुन्दर सैँजुले गरुडको चित्र बनाउनु भएको छ। भगवान विष्णुको वाहनको रुपमा पुजिने गरुढलाई यसरी देखाउँदा उहाँले क्यानभासमा रंग सम्मिश्रण गर्दा बनाउनुभएकोको कला बेजोडको देखिन्छ ।

त्यसैगरी कलाकार मुक्ति सिंह थापाले बनाउनुभएको महादेवको नाचको चित्र आकर्षक देखिन्छ । लामो समय परम्परागत शैलीका चित्रहरुमा देखिएको उहाँको सिद्धहस्ततालाई यस चित्रकलामा समेत अवलोकन गर्न सकिन्छ । अर्की कलाकार एकता जजोदिया बुधियाले बनाउनुभएको अर्धनारेश्वरको चित्र निकै आकर्षक देखिएको छ । श्यामश्वेत पृष्ठभूमिमा बनाइएको यो चित्र झट्ट हेर्दा नै दर्शकको मन खिच्न सफल हुने देखिन्छ  यस प्रदर्शनीमा राखिएको अर्काे आकर्षक चित्र भने स्व.कलाकार तेज बहादुर चित्रकारको रहेको छ । शिव पार्वतीको आनन्दको क्षणलाई चित्रित गरी बनाइएको यस चित्र रंग तथा विषयवस्तुको सुक्ष्म अध्ययनले गर्दा आकर्षक देखिन्छ ।

कलाकार रागिनी उपाध्यायको उँडिरहेको लक्ष्मिको आकर्षक चित्र प्रदर्शनी कक्षको भित्रि भागमा नियाल्न सकिन्छ । सामान्यतयाः धनकी देवी लक्ष्मीको पुजा औंशीको रात्रीमा गरिने भएकाले पनि पाश्र्व भागमा देखिने कालो रंगले गर्दा अझ आकर्षक देखिएको छ भने परम्परागत कलाकार समुन्द्र मान श्रेष्ठले बनाउनुभएको चित्रकलालाई यहाँ अवलोकन गर्न सकिन्छ । कलाकार सुनिल रंजितले भने यस पटक महाकाली नाचको चित्रलाई दर्शक सामु पस्कनु भएको छ । अमूर्तता तथा जलिय तरंगबाट निस्केको जस्तो लाग्ने उक्त चित्र आफैंमा आकर्षक देखिएको छ । अर्का कलाकार उमेश श्रेष्ठले भने यस पटकको प्रदर्शनीमा ‘माने’को चित्रलाई आकर्षक ढंगबाट प्रस्तुत गर्नुभएको छ । थ्री डि जस्तो लाग्ने उहाँका चित्रहरु दर्शकहरुलाई आर्षक लाग्न सक्छ । त्यसै गरी कलाकार उजय बज्राचार्यको भने बुद्धसँग सम्बन्धित पौभा चित्रलाई यस प्रदर्शनीमा समावेश गरिएको छ । मूर्ति तर्फ भने कलाकार धर्मदत्त बज्राचार्यको काठमा बनाएको समन्तभद्रको चित्र आकर्षक देखिएको छ । बुद्धले आफ्नो शक्तिलाई आलिङ्गन गरिरहेको जस्तो देखिने उक्त मूर्तिमा कुँदिएका बुट्टाहरु पनि आकर्षक देखिन्छन् ।

अर्काे मूर्ति भने कलाकार राजेन्द्र शाक्यले तामा, चाँदि तथा सुनको जलप लगाएर बनाउनुभएको कर्म चैत्य अकर्षक देखिन्छन् । सामान्यतयाः यस्ता किमिमका कामहरु दर्शकहरुका लागि नौलो लागेको प्रदर्शनी हेर्न आएका दर्शकहरु बताउँछन् । अर्का कलकार श्याम लाल श्रेष्ठले बनाउनुभएको बुद्धको बाटो शीर्षकको चित्रकलाले पनि दर्शकहरुलाई अकर्षित पार्ने देखिन्छ । बुद्धको बाल्यावस्था देखि जीवनको सम्पूर्ण महत्वपूर्ण घटनाक्रमहरुलाई उहाँले चित्रमा समावेश गर्नुभएको छ । कलाकार लोक चित्रकारले भने पञ्चबुद्धका बिम्बहरुलाई आफ्नो चित्रकलामा चित्रित गर्नुभएको छ ।

अर्का कलाकार वाङ्ग लामाले भने बुद्धको एक मूर्तिमा पलाइरहेको झाडिहरुहलाई चित्रमा उतार्नुभएको छ । अनौठो तर रंगहरुको सम्मिश्रणले गर्दा उक्त चित्र आकर्षक देखिएको छ । मूर्ति तर्फ भने चाँदीबाट बनेको मैत्रेय बुद्धको मूर्ति कलाकार शान्त रत्न बज्राचार्यले बनाउनुभएको छ । सानो सानो विवरणमा समेत निकै ध्यान पुर्याइएको देखिने उक्त मूर्तिले पनि धेरै मानिसहरुको मन लोभ्याउन सक्छ । कलाकार प्रकाश मिजारले भने छ्वालीलाई नै सुनको जलप दिइ आफ्नो कला प्रस्तुत गर्नुभएको छ । हेर्दा निकै आकर्षक देखिने उक्त कला पनि प्रदर्शनीको अर्को केन्द्रविन्दु मान्न सकिन्छ ।

उपल्लो तलामा भने संस्कृती झल्काउने हिसाबले कलाकार हरिओम मेहताले तराइमा मनाइने नागपञ्चमीलाई केन्द्रविन्दुमा राखि नाग पञ्चमी मनाउँदाको समयमा गरिने विभिन्न धार्मिक कृयाकलापहरुलाई प्रतिस्थापन कला मार्फत प्रस्तुत गर्नुभएको छ भने त्यो भन्दा माथिल्लो तलामा भने इन्द्रजात्राको समयमा हुने विभिन्न कृयाकलापहरुलाई प्रतिस्थापन कला मार्फत देखाइएको छ । जसको केन्द्र भागमा इन्द्रको मूर्ति समेत देख्न सकिन्छ । हस्तकला तथा चित्रकला दुवैलाई सम्मिश्रण गरि बनाइएकाले पनि माथिल्लो तलमा भने हस्तकलाबाट निर्मित विभिन्न सामाग्रीहरुलाई पनि उच्च स्थानमा राखि प्रदर्शनी गरिएको छ ।

यो सबै कलाकृतिहरुको दृश्यावलोकन पश्चात भने दर्शकहरुलाई भुइँ तलामा आउँदा देब्रे पट्टिको प्रदर्शनी कक्षमा राखिएका मूर्तिकला, परम्परागत कला तथा समसामयिक कला अवलोकन गर्न सक्दछन् । जसमा क्रोध कला शिरोमणिका नामले प्रख्यात मूर्तिकार कालु कुमालेको मेघसम्भराको एक विशाल मूर्ति देख्न सकिन्छ । कलाकार विधाता केसीको भने श्याम श्वेत पृष्ठभूमिमा चक्र शीर्षकमा समयचक्रलाई नै विम्बित गर्ने एक चित्रकला समावेश छ ।

अर्का कलाकार राजन पन्तले बनाउनुभएको काठमाडौँ दरबार स्क्वाएरमा रहेको एक मन्दिरको चित्रलाई क्यानभास उतार्नुभएको छ । सामान्यतयाः कलाकारहरुले प्रयोग गरिरहने रंगहरु भन्दा पृथक देखिने उहाँको चित्रकला पनि यस प्रदर्शनीको आकर्षणको रुपमा देखिन्छ । त्यसै गरी अर्का कलाकार आङ्ग छिरिङ्ग शेर्पाले भने कला सम्मिश्रणको आधारमा बनाइएको चित्रलाई समावेश गरिएको छ । सुनौलो रंगको पृष्ठभूमिमा मानिसको विभिन्न अवयवहरुलाई जोडेर बनाइएको चित्रकला समावेश छ ।

नयाँ तथा पुराना कलाकारहरुको कलाकृति समावेश गरिएको यसप्रदर्शनीमा करिव २०० भन्दा बढी कलाकृतिलाई समावेश गरिएको छ । अवलोकनकर्ताहरुका लागि यस कला प्रदर्शनीले नेपाली देवीदेवताका चित्रकलाहरु कस्ता कस्ता बन्दछन् भनेर हेर्न तथा त्यसबाट सिक्ने अवसर समेत मिल्दछ । प्रायजसो चित्रकला प्रदर्शनीमा नदेखिने चित्रकला तथा मूर्तिकलाहरु यहाँ समावेश गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array