क्यामराको युग

सुनिल राज ढकाल
सुनिल राज ढकाल १८ पुष २०७९, सोमबार ०६:००
5 Min Read
Aa

सामान्यतयाः कलाकारहरु समाजका ऐना हुन् । उनीहरुले देखेका र भोगेका कुराहरुलाई पृथक ढंगबाट अभिव्यक्त गर्नका लागि सदा नयाँ नयाँ तरिकाहरु खोजी नै रहेका हुन्छन् । बाहिरबाट हेर्दा कलाकारहरु कुनै सोचमा मग्न भइरहेको देख्दा कस्तो टोलाएर बसेका होलान् भन्ने भान हुन सक्छ तर उनीहरु भने आफ्ना अनुभव तथा अनुभूतिहरुलाई पृथक ढंगबाट अभिव्यक्त गर्नमा तल्लिन हुन्छन् ।

‘यदि तपाई राजनीतिमा रुचि राख्नु हुन्न भने राजनीति तपाईमा रुचि राख्दछ ।’ –पेरुक्लिज

यस पटक भने सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा सुरेश बस्नेतको पहिलो एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नव कलाकारहरुलाई सिद्धार्थ आर्ट ग्यालरीले समय समयमा प्रदर्शनीहरु मार्फत सहयोग गर्दै आइरहेको परिप्रेक्षमा यो प्रदर्शनी पनि त्यस्तै किसिमको नव कलाकारहरुलाई भविष्यमा अझ राम्रो कामहरु गर्न उत्प्रेरणा मिलोस् भन्ने उद्देश्य रहेको सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगिता थापा बताउनु हुन्छ । यो प्रदर्शनी पुष १२ देखि माघ २ सम्म रहने बताइएको छ ।

ग्यालरीको भुइँ तलामा भने कलाकार सुरेशले एक्रेलिकको माध्यमबाट बनाएका व्यंग्य चित्रहरुलाई समावेश गरिएको छ । तराइमा बाढी आइ हरेक वर्ष मानिसहरु डुबानको शिकार हुने गर्दछन् तर सरकार भने मौन जति सहयोग गरिनु पर्ने हो, त्यो नगरी मौन रहन्छन् । त्यही विषयलाई कटाक्ष गर्दै उनले एक अग्लो कुर्सिमा निदाइरहेको मानिस बनाएका छन् । जसलाई उठाउन पिडामा परेका मानिसहरुले विभिन्न तरिकाले कुम्भकर्णलाई निद्राबाट ब्युँझाउन गरेको प्रयास जस्तै विभिन्न प्रयोगहरु गरिरहेको देख्न सकिन्छ । “निदाएको मानिसलाई उठाउन सजिलो हुन्छ तर निदाएको भान गर्ने मानिसलाई उठाउनै सकिँदैन,” आफ्नो कामको विषयमा कलाकार सुरेश बताउँछन् ।

त्यसै गरी उनले अर्काे चित्रमा भने विस्तारै मानिसहरुले खेतीयोग्य जमिनमा घर बनाइरहेको सन्दर्भमा कौशी खेतीतिर लागिरहेको देखिन्छ । अझैं पनि मानिसहरु आफुलाई चाहिने तरकारी तथा मकैहरु कौशीमा नै खेती गरी उत्पादन गर्न खोजिरहेको चेष्टालाई क्यानभास उतारेका छन् ।

उनले बनाएको अर्काे चित्रमा चिन्तामग्न सत्ता, हर्षित सत्ता र सोचमग्न सत्ता को चित्र क्यानभासमा उतारेका छन् । यी चित्रहरुमा भने उनले गधाको टाउको जडित एक कुर्सीमा बसिरहेको जीवको चित्र बनाएका छन् । जसको पाश्र्व भागमा भने नेपालका सबै चर्चित राजनैतिक पार्टीहरुको चुनाव चिन्हलाई अंकित गरिएको छ । सत्तामा पुगेका सबै नेताहरुको भुँडी पुक्क उठेको हुने र अहिलेको राजनैतिक माहोललाई व्यंग्य गर्नको लागि यो चित्र बनाइएको कलाकार बताउँछन् ।

त्यसै गरि उनले अर्काे चित्रमा भने अहिलेको युवा पुस्ताको मोबाइल अनि टिकटक मोहलाई व्यंग्य गरेका छन् । जसमा एक अर्धनग्न युवती आफ्नो अनुहार क्यामरामा हेर्दै गर्दा दंग पर्दै हुन्छिन् र उनको अगाडि दुइवटा बोकाको चित्र बनाएका छन् । जसले हालको समाजमा भइरहेको विकृतीलाई देखाउन खोजिएको कलाकार बताउँछन् ।

माथिल्लो तलामा भने उनले एक अर्काे अर्धनग्न युवतीको तस्वीर बनाएका छन् जसलाई क्यामराको आँखाले हेरिरहेको बनाइएको छ । वर्तमान समयमा यसरी मानिसहरु आफ्नो क्यामराले आफ्नो फोटो खिच्दै गर्दा पनि इन्टरनेटको माध्यमबाट मानिसहरुले हेर्न सक्ने कुरालाई तस्वीर मार्फत बनाएको कलाकार बताउँछन् ।

उनले अर्काे चित्रमा भने विस्तारै मानिसहरुले गरिरहेको विकासको कामले रहेका जमिनहरु मरुभूमिकरण हुँदै गइरहेको छ । यसरी मरुभूमिकरण हुँदै गर्दा त्यस स्थानमा रहने जनावरहरु विस्तारै लोप हुँदै गइरहेका छ । त्यही जनावरहरुलाई पिँजडामा राखिदै गरेको परिदृश्यलाई मानिसको शरीरभित्र पिँजडा बनाइ देखाएका छन् ।

अर्काे चित्रमा एक हवाइजहाजको माथिपट्टि विभिन्न प्रजातिका जनावरहरुलाई देखाएका छन् । जमिनमा डोजरले खनिरहेको देखाइएको छ भने रुखहरु पनि फँडानी भइरहेको देखाइएको छ । विस्तारै लोप हुँदै गएका जनावरहरु अब कुनै अर्काे लोकतिर पो यी जनावरहरु बसाइ सराइ गर्दै जाने त होइनन् ? भन्ने प्रश्न कलाकारको मनमा उब्जिरहेको विचारलाई क्यानभासमा उतारेको बताउँछन् ।

नयाँ नयाँ प्रविधिहरुले मानिसहरुलाई सधैँ अकर्षित अनि अचम्मित बनाउने गर्दछ । भर्खरै हुर्किदै गरेको बालकको हातमा मोबाइल दिई बच्चालाई भुलाउने गरेको परिदृश्यलाई देखाइएको छ । यसरी बालबालिकाहरु मोबाइलमा भुल्न थाले पछि उनीहरुको सिर्जनशिलतामा ह्रास आउने गरेको कलाकार बताउँछन् ।

नेपाल सरकारले तुइनलाई नेपालबाट हटाएको कुरा बताएका छन् । नेपालको ग्रामिण भूभागमा बालबालिकाहरु अझैं पनि तुइनकै सहायताले विद्यालय जान बाध्य छन् । यहि कुरालाई क्यानभासमा उतार्दै तारको माथि कछुवा राखिएको छ । कछुवाको माथि भने कागजले बनाइएको डुंगा राखिएको छ जसको माथि एउटा पोलमा स्पिकर राखिएको छ । नेपाली जनजीवनमा चालिरहेको यो परिदृश्यलाई क्यानभासमा उतारेको कलाकार बताउँछन् ।

उनको अर्काे चित्रमा भने नेपालमा बढी चर्चा हुने गरेको रेलको चित्रलाई राखिएको छ । जसलाई एक मानिसको शिरमा राखिएको छ अनि रेल छोप्नलाई राखिएको कपडा भने घाम पानीले खिइँदै गइरहेको छ । नेपालमा रेल चल्छ भनी लामो समयदेखि हल्ला चलिरहेको छ तर पनि हाल सम्म त्यो मानिसहरुको मगजमा मात्र सिमित रहेको कुरालाई व्यंग्य गरेको कलाकार बताउँछन् ।

सन् २०२२ को ‘द हिमालयन लाइट आर्ट’ छात्रवृत्ति समेत पाएका यी कलाकार भविष्यको दिनमा अझ राम्रो चित्रकलामा समय बिताउने योजना रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्