सामुहिक चित्रकला प्रदर्शनी

खोज पत्र
खोज पत्र १३ माघ २०८०, शनिबार ०९:२१
3 Min Read
Aa

यहि २०८० साल माघ ०८ गतेदेखि साइकल कल्चर कम्युनिटीको आयोजनामा नेपालका लब्धप्रतिष्ठित कलाकारहरुद्धारा सिर्जित कलाकृतिहरुको सामुहिक चित्रकला प्रदर्शनी सुरु भएको छ । गतिशीलताको विम्ब पाङ्ग्रा शीर्षकसहित चित्रकलामा साइकल संस्कृतिमा प्रदर्शनीका लागि तयार ६ दर्जन सबै चित्रकृतिहरु विसुद्ध साइकल संस्कृति प्रवद्र्धन हेतुले सिर्जिएका छन् ।

साइकल कल्चर कम्युनिटीले नेपाल पर्यटन बोर्डमा गत असोजमा चित्रकलामा साइकल संस्कृति कार्यशाला सम्पन्न गरेको थियो । उक्त कार्यशाला मार्फत सिर्जित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै ख्यातिप्राप्त कलाकारका साइकल संस्कृतिमैत्री विशिष्ट कलाकृतिहरुको प्रदर्शनी नेपाली सन्दर्भमा नवीन उदाहरण मान्न सकिने कार्यशाला तथा प्रदर्शनीका कला–संयोजक रबिन कोइराला बताउछन् । सिर्जिक चित्रकृतिहरु अमुर्त, मुर्त, अर्धमुर्त, यथार्थवादी तथा अतियथार्थवादी शैलीका छन् । कार्यशालामा ललितकला प्रज्ञाप्रतिष्ठानका पुर्वकुलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय, के.के.कर्मचार्य सहित शशी विक्रम शाह, गोविन्द डंगोल, कृष्ण मानन्धर, विजय थापा, जितबहादुर रायमाझी, रतनकुमार राई, मुकेश मल्ल, राकेश श्रेष्ठ, सुनिता राणा, छितेन शेर्पा, सरिता डंगोल लगायत ३२ कलाकार सहभागी भई ऐतिहासिक ६ दर्जन कलाकृति सिर्जिएको कोइरालाले बताए ।

नेपालमा साइकल संस्कृतिमैत्री आधारभूत संरचना र सभ्यता स्थापनाका लागि विविध बौद्धिक–कलात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको साइकल कल्चर कम्युनिटीको संयोजनमा कार्यशाला सम्पन्न भई चित्रकला प्रदर्शनी आयोजना गरिएको हो । कुनै विशेष दाता तथा वैदेशिक सहायता विना एक आपसको सहयोग, सहकार्य र आर्थिक मुठ्ठीदानमार्फत रचनात्मक अभियान अघि बढाइरहेको चित्रकला कार्यशाला तथा प्रदर्शनीका कार्यक्रम संयोजक डा.तारालाल श्रेष्ठले बताए । साइकल संस्कृति विकास र विस्तारका लागि कला, साहित्य, दर्शनसँग जोडेर सिर्जनात्मक अभियानको आवश्यकता बोध भएकाले यस चित्रकला कार्यशाला र प्रदर्शनीको आयोजना गरिएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साइकल संस्कृतिका लागि समर्पित समुहसँग हातेमालो गरि गोकर्णदेखि गोदावरीसम्म साइकल मार्ग स्थापना गर्न आफुले पहल गरिरहेको बताए । कार्यक्रममा नेपाल ललितकला प्रतिष्ठानका पुर्वकुलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय, के.के. कर्मचार्य तथा बरिष्ठ कलाकारहरु शशी शाह, जितबहादुर रायमाझी, मुकेश मल्लले आफ्नो विचार राखेका थिए । कबाडी संकलनमा संलग्न समुदायका अगुवा सञ्जय शाह तथा विश्व साइकल यात्री पुस्कर शाहले साइकलको बहुआयामिक विशेषता तथा महत्वबारे प्रकाश पारेका थिए ।

नेपाल कला परिषद् बबरमहल काठमाडौँमा प्रदर्शनी माघ ८ गतेदेखि माघ १४ गतेसम्म विहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म जारी रहने छ । अदभूत् सफलतासहित सम्पन्न उक्त ऐतिहासिक कार्यशालाबाट सिर्जित चित्राकृति प्रदर्शनी समुदघाटन माघ ८ गते १ः१५ बजे नेपाल कला परिषद्, बबरमहलमा आयोजना हुने कार्यक्रम तय भएको छ । कार्यशालामा ३२ कलाकारका ६० चित्रकृतिहरुको विक्री मार्फत संकलित रकम आधा कलाकारलाई दिई बचत रकम नेपालमा साइकल कानुन निर्माण तथा साइकल संस्कृति अभियान सञ्चालनमा खर्च गरिने डा. तारालाल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array