काठमाडौंको व्यस्त सहरबीच, जहाँ गति र धुलोले मानिसलाई कहिलेकाहीँ थकित बनाइदिन्छ, त्यही सहरका बीचमा एक दिन यस्तो प्रदर्शनी हुन्छ—जहाँ मानिसको थकान रंगले बगाउँछ, जहाँ आँखाले शब्द सुनिन्छ, र जहाँ मनले कला बोल्न थाल्छ । म्यारियट काठमाडौंको कोशी हलभित्र यही वातावरण देखियो—शान्त, अनुभूति–भरिएको, तर उत्साहले भरिएको एउटा संसार, जहाँ ४० भन्दा बढी कलाकारका सपना, संघर्ष, स्मृति र दर्शन एउटै आकाशमुनि सँगै उभिएका थिए ।
तीन दिनसम्म चलेको प्रदर्शनी केवल ‘कला हेर्ने’ ठाउँ थिएन; यो एक प्रकारको अनुभव थियो—दर्शक र कलाकारबीचको संवाद । आत्मा र आकृतिबीचको भेट, समुदाय र संवेदनासँगको पुनः परिचय । प्रदर्शनीको पहिलो दिन विशेष मानिसहरुलाई आमन्त्रित गरिएको थियो । जसमा व्यापारी, कला पारखी, पत्रकार तथा प्रदर्शनीमा सहभागि कलाकारहरुलाई डाकिएको थियो ।

“अन्डर द सेम स्काइ”—शीर्षक सुनेर नै मनमा एउटा प्रश्न जन्मिन्छः अन्ततः हामी सबै एउटै आकाशमुनि छौँ भने, के हाम्रो भावना पनि एउटै होइन? यही शीर्षकले यस प्रदर्शनीको मूल मन्तव्य बोकेको थियो । प्रिज्मा स्टेशनरी र म्यारियट काठमाडौंको सहकार्यमा जन्मेको यो कला–उत्सवले मानवीय करुणा, हेरचाह, समुदायप्रतिको जिम्मेवारी र साझा अस्तित्वलाई कलात्मक रूपमा अभिव्यक्त ग-यो । प्रदर्शनी गरिएका कृतिहरू एउटा क्यानभासभन्दा धेरै थिए—केही कथा थिए, केही चिच्याइरहेका प्रश्न, केहि मौनता । कलाकारहरूले आफ्नो भित्री संसार खोलेर दर्शकलाई आफ्नो मनोभूमिमा प्रवेश गराए—कहिले ग्रामीण खेतबारी हुँदै, कहिले सहरका कठोर भित्ताहरू हुँदै, कहिले आकाश छेड्न खोज्ने आफ्नो आकांक्षा त कहिले परम्परागत आधारभूमि ।
नेपाली समाज विस्तारै परिवर्तित भइरहेको छ । परम्परा र आधुनिकता, पहिचान र विश्वव्यापीकरण, मूल्य र अपेक्षाबीचको संघर्ष कलाकारहरूको कृतिमा स्वाभाविक नै झल्किएको थियो । कसैको क्यानभासमा जग्गाहरु प्लटिङहुँदै टुक्रिरहेका जसले कृषियोग्य जमिन मासिँदै गएको देखाउँथ्यो, कसैको कलाकृतिले माटोको शब्द बोल्थ्यो, कसैको कलाकृतिले पौराणिक गाथा बोल्थ्यो । यी कृतिहरू केवल कलात्मक मात्र होइनन्, समयका साक्षी पनि हुन् । आम मानिसको कथा, संस्कृतिको रूपान्तरण र नेपालीपनको नयाँ रूप ।

कलाकारका आवाजले भरिएको प्रदर्शनीमा केवल चित्रहरू बोल्दै थिएनन्, कलाकारहरू पनि बोल्दै थिए । यही हिस्साले प्रदर्शनीलाई जीवित दस्तावेजीकरण गरिरहेको थियो । कलाकारहरूले आफ्ना कृतिको सृजनात्मक यात्रा दर्शकसँग बाँड्दा, हलभित्र मानिसहरू चुपचाप उनीहरूको मनका कुरा सुनिरहेका थिए । कतिपय कला अनुरागीहरु कलाकारहरुको अन्तरमनसँग सम्बाद गरिरहेका थिए । त्यसैको आधारमा होला कतिपय कलाकृतिमा रातो टिका लगाइरहेका पनि थिए ।
केही कलाकारहरू भावुक हुन्थे, केही हाँसाइदिने प्रसङ्ग सुनाउँथे, र केहीले दर्शकलाई गहिरो प्रश्नहरू सोध्थे—
“हामी कहाँ जाँदै छौँ?”
“हाम्रो संस्कृति कसरी बदलिँदै छ?”
“कला किन आवश्यक छ?”
कलाकार र दर्शकबीचको यो प्रत्यक्ष संवादले प्रदर्शनीलाई ‘कला हेर्ने’ भन्दा ‘कला महसुस गर्ने’ बनाइदियो । पुस्ताबीचको भेट—वरिष्ठ र युवा एउटै छानामुनि थिए । म्यारियटको उज्यालो हलमा वरिष्ठ कलाकारहरुको अनुभवी दृष्टि र युवा कलाकारहरुको ताजा भावना एकसाथ धड्किरहेको थियो । युवाहरूका क्यानभासमा खोज, प्रयोग, प्रश्न थिए । वरिष्ठ कलाकारको क्यानभासमा अनुभूति, स्मृति र वर्षौँको अभ्यासको परिपक्वता ।

किरण मानन्धर, लोक चित्रकार, समुन्द्रमान सिंह श्रेष्ठ, मुकेश श्रेष्ठदेखि युवा विद्यार्थी कलाकारसम्म एउटै प्रदर्शनीमा हुनु—नेपाली कला समुदायको बुढ्यौली र बाल्यावस्थाको साझा उत्सव थियो । वरिष्ठ कलाकार किरण मानन्धर डेमोस्ट्रेसन दिँदै थिए, खुला आकाशमुनि, छेउमा बगेका पानीको आवाजसँगै उनी सहज, सरल तर उर्जायुक्त ढंगले क्यानभास समाउँछन् र भन्छन्— “जब म रंग पाउँछु, म पागल हुन्छु।”
“म पनि मेरो कला बुझ्दिन । कला त भावनाले बुझिन्छ।”
उनको उपस्थितिले प्रदर्शनीमा एउटा ‘मानवीय गर्मी’ थपिदियो—कलाकार, दर्शक र कला बीचको दूरी बिलकुलै न्यून गरिदियो । दोस्रो दिन डिराम पाल्पालीले दिएको डेमोस्ट्रेसनमा जलरङ्ग कसरी बग्छ, पानी र पिगमेन्टले क्यानभासमा कसरी जीवन दिन्छ—दर्शकहरूले आफ्नै आँखाले देखे । तेस्रो दिन, सौगत श्रेष्ठको हातमा माटो बिस्तारै आकृतिमा रूपान्तरण भयो—माटोले भाषा बोल्न थाल्यो ।

यी डेमोहरूले एउटा सन्देश दियो— “कला केवल परिणाम होइन, प्रक्रिया पनि सुन्दर हुन्छ।” परम्परागत कला—आध्यात्मिकता र सांकेतिक भाषाले भरिएको थियो भने समकालीन कला—विचार, प्रश्न, नव–दृष्टिको संसार थियो । त्यस्तै सेरामिक्स कला—रूप, बनावट र मूर्तिको भौतिक संवेदना । प्रत्येक कृति आफ्नै सौन्दर्यसँग हलभरि फैलिएको थियो । प्रिज्मा स्टेशनरीका अनुसार ३७ कृतिहरू बिक्री हुनु—नेपाली कला बजारका लागि उत्साहजनक संकेत हो । यस प्रदर्शनीले एउटा महत्वपूर्ण सन्देश दिइरहेको थियो— कला केवल सजावट होइन, समाज सुधारको माध्यम पनि हो । बिक्रीबाट संकलित रकम शिक्षा, परोपकार र सामाजिक काममा लगाउने निर्णयले आयोजकहरूको उद्देश्यलाई अझै गहिरो बनायो । यसले कलालाई समुदायसँग पुनः जोड्यो ।
परिकल्पनाकार क्योहेई डोइडोईले प्रदर्शनीलाई केवल कृतिहरूको जमघट बनाइदिएनन, उनले यसलाई प्रतीकात्मक यात्रा बनाए । उनी प्रत्येक कलाकारको आवाजलाई संतुलित रूपमा प्रस्तुत गर्ने, कृतिहरूलाई सहज संवाद हुने गरी राख्ने, र दर्शकलाई कथा अनुसार अघि बढाउने दायित्वमा अत्यन्त सफल रहे । “अन्डर द सेम स्काइ” केवल तीन दिनको प्रदर्शनीमात्र थिएन । यो मानवीयता, कला र समुदायको लामो, अर्थपूर्ण कथा थियो ।
यसले देखायो—
कला केवल क्यानभासमा होइन,
हाम्रो साझा आकाशमा,
हाम्रो संवेदनामा,
र हाम्रो जिम्मेवारीमा पनि बास गर्छ ।
नेपालको कला–दृश्यमा जन्मिएका यस्ता कार्यक्रमहरूले भविष्यमा अझ धेरै संवाद, खोज र सिर्जनाका ढोका खोलिरहेका छन् । म्यारियट होटलको कोशी हलमा भएको कला प्रदर्शनी मंसरी ६ गतेदेखि ८ गतेसम्म चलेको थियो । प्रदर्शनीमा बरिष्ठ कलाकार लोक चित्रकार, किरण मानन्धर, समुन्द्रमान सिंह श्रेष्ठ, मुकेश श्रेष्ठ, सागर मानन्धर, अनिल शाही, सौरगंगा दर्शनधारी, कृष्ण लामा, अनमारी तामाङ, भुवन थापा, विद्यमान तामाङ, डिराम पाल्पाली, सुजन ढंगोल, नवेन्द्र लिम्बु, पुजा रिजाल, सम्झना राजभण्डारी, कृष्णगोपाल श्रेष्ठ, सौगत श्रेष्ठ, सुन्दर लामा, सुशाङ्क श्रेष्ठ, सुमित्रा बराल सहित अन्य कलाकारहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्